जैविक उर्जा : सम्भावना भएकाे स्वदेशी उर्जा


कुनै पनि देशको विकासको अवस्था के कस्तो छ ? भन्ने कुरा त्यस देशले गर्ने ऊर्जा खपतले बताउँछ । विकसित देशको कुल ऊर्जा खपत विकासशील देशको तुलनामा निक्कै धेरै रहेको हुन्छ । के तपाईंलाई थाहा छ ? नेपालको वार्षिक ऊर्जा खपत कति रहेको छ ? सन् २०१० को तथ्याङ्कअनसार आ.व. २००८।०९ मा नेपालको कुल ऊर्जा खपत ९३०० हजार टन तेल ऊर्जा बराबर (ToE: Tonnes of Oil Equivalent) रहेको थियो । (WECS, 2010) यसमा ८७ प्रतिशत योगदान परम्परागत, १२ प्रतिशत व्यवसायिक तथा १ प्रतिशत भन्दा कम वैकल्पिक ऊर्जाका श्रोतहरूको रहेको थियो । त्यस्तै आर्थिक सर्वेक्षणअनुसार सन् २०१७÷१८ मा कुल ऊर्जा खपत १३४८३.९१ हजार टन तेल ऊर्जा बराबर (ToE: Tonnes of Oil Equivalent) रहेको छ । यसमा परम्परागत श्रोतहरूको ६८.८८ %, व्यवसायिक श्रोतहरूको २७.८६ % तथा वैकल्पिक ऊर्जाका श्रोतहरूको योगदान ३.२५ % रहेको छ । (GoN, MoF, 2019) ऊर्जाका परम्परागत श्रोतहरू अन्तर्गत दाउरा, कृषिजन्य अवशेष, गँुइठाआदि पर्दछन् । त्यस्तै ऊर्जाका व्यवसायिक श्रोतहरू अन्तर्गत कोइला, पेट्रोलियम पदार्थ तथा विद्युत पर्दछन् भने वैकल्पिक ऊर्जाका श्रोतहरू अन्तर्गत साना तथा लघु जलविद्युत, सौर्य ऊर्जा, सुधारिएको पानी घट्ट, बायोग्यास, सुधारिएको चुलो आदि पर्दछन् ।

के हो जैविक ऊर्जा ?

यसरी झन्डै एक दशकको अन्तरालमा देशको कुल ऊर्जा खपतमा व्यवसायिक श्रोतहरूको योगदान दोब्बरभन्दा बढी तथा वैकल्पिक ऊर्जाका श्रोतहरूको योगदान तेब्बर बढी बढेको छ । यसका बावजुद कुल ऊर्जा खपतमा परम्परागत श्रोतहरूको योगदान अझै आधा भन्दा बढि रहेको छ । ऊर्जाका यी परम्परागत श्रोतहरू जैविक ऊर्जा अन्तर्गत पर्दछन् । जैविक ऊर्जा भनेको बोटविरूवा तथा जीवजन्तुहरूबाट प्राप्त हुने जैविक पदार्थहरू जस्तै काठ, दाउरा, कृषिजन्य अवशेष, गोबर आदिबाट निस्किने ऊर्जा हो । यो ठोस, तरल तथा ग्यास तीनवटै रूपमा उपलब्ध छ ।  जैविक ऊर्जा विशेषतः सूर्यबाट प्राप्त हुने ऊर्जाको एक रूप भएकाले यो नवीकरणीय ऊर्जा नै हो ।  समुचित प्रयोग तथा व्यवस्थापनका माध्यमबाट यसलाई दिगो ऊर्जाको श्रोत बनाउन सकिन्छ ।

जैविक ऊर्जा भान्सामा खाना पकाउने, घर न्यानो बनाउने तथा औद्योगिक प्रयोजनमा तापशक्तिका लागि प्रयोग हुने गरेको छ ।  नेपालको जनगणना २०६८ का अनुसार नेपालका ५४ लाख घरधुरीहरूमध्ये ४० लाख घरधुरीहरूले खाना पकाउनका लागि मुख्य इन्धनका रूपमा दाउरा प्रयोग गर्दछन् । शहरी क्षेत्रमा २७.२ %, ग्रामिण क्षेत्रमा ८५.६ % तथा समग्रमा ७४.४ % घरधुरीले दाउरा तथा गुइठा प्रयोग गर्छन् । त्यस्तै ६८ %  शहरी घरधुरी, तथा १० % ग्रामिण क्षेत्रका घरधुरीले एलपीजीलाई मुख्य खाना पकाउने इन्धनका रूपमा प्रयोग गर्दछन् । (CBS, 2011) परम्परागत रूपमा अदक्ष चुलोहरूको प्रयोगले ठूलो परिमाण उर्जा खेर जानुका साथै वायु प्रदुषण पनि निम्त्याउछ ।  भान्सामा प्रयोग हुने ठोस इन्धन तथा मट्टितेल घरभित्रको वायु प्रदूषणको एक प्रमुख कारणका रूपमा लिइन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ३८ लाख मानिसहरू घरभित्रको वायु प्रदूषणका कारणले हुने रोगहरूका कारण अकालमा मर्छन् । (WHO, 2014) महिला तथा ५ वर्ष मुनिका बालबच्चाहरू यसबाट बढी प्रभावित हुने गरेका छन् । सजिलै तथा नजिकै सस्तो मूल्यमा उपलव्ध हुने कारणले गर्दा औधोगिक क्षेत्रमा ताप शक्तिका लागि जैविक ऊर्जाको प्रयोग प्रशस्त हुने गरेको छ ।

जैविक ऊर्जाको श्रोतहरूलाई आधुनिक रूपमा उन्नत प्रविधिहरू प्रयोग गरी अझ दक्ष तथा किफायती रूपमा प्रयोग गर्न सकिन्छ । जैविक पदार्थहरूलाई प्रशोधन गरी ठोस, तरल तथा ग्यासका इन्धनका रूपमा परिवर्तन गरी घरायसी तथा औधोगिक प्रयोजनका लागि ताप तथा विद्युत शक्ति उत्पादन गर्न सकिन्छ । उदाहरणका रूपमा सुधारिएको चुलो तथा फर्नेस प्रयोग गरी उर्जा दक्षता वृद्धि एवं प्रदुषण न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै काठ, काठको धुलो, कृषिजन्य अवशेषहरू जस्तै भूस, पराल आदि, वनमारा झार, बाँस, नर्कट आदिबाट ब्रिकेट÷पेलेटजस्ता ऊर्जा घनत्व बढी भएका इन्धनहरू उत्पादन गर्न सकिन्छ । त्यस्तै बायोडिजल, इथानोलजस्ता तरल जैविक इन्धन उत्पादन गर्न सकिन्छ । शहर बजारबाट सङ्कलित गरिएका फोहर तथा पशुपंक्षी तथा मानव मल÷मलमूत्रबाट बायोग्यास उत्पादन गर्न सकिन्छ ।

सम्भावना

नेपालका ७५ प्रतिशत घरधुरीको खाना पकाउने प्राथमिक इन्धनको रूपमा रहेको जैविक ऊर्जाका प्रविधिको दक्षता वृद्धि गरी घरभित्रको वायु प्रदूषण न्यूनीकरण तथा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । स्वच्छताको हिसाबले विधुतीय चुलो सबभन्दा उत्तम हो । तर अहिलेको विद्युत उत्पादनको अवस्था तथा यसको प्रति इकाई मूल्यका कारण सबै घरधुरीहरूका लागि यो उपाय तत्काल सम्भव नहुन सक्छ । यसका लागि जैविक ऊर्जामा आधारित स्वच्छ चुलो तथा घरेलु वायोग्यास उत्तम विकल्प हुन सक्छन् ।

आ. व. २०७४÷७५ मा नेपालमा १,१०० हजार मेट्रिक टनभन्दा बढी कोइलाको  खपत भएको छ । (GoN, MoF, 2019) वायु प्रदूषणका हिसाबले हेर्ने हो भने कोइला एक कमसल इन्धन हो । त्यसका अलावा कोइला अधिकांशरूपमा आयात गरिन्छ । इँट्टाभट्टा तथा अन्य उधोगहरूमा व्रिकेट पेलेटजस्ता जैविक ऊर्जा प्रविधिहरू कोइलाको विकल्पका रूपमा प्रवद्र्धन गर्नसके आयात न्युनीकरण, वातावरण तथा पर्यावरण संरक्षण, रोजगारी बृद्धि, स्थानीय कच्चा पदार्थको समुचित प्रयोग लगायतका फाइदाहरू प्राप्त गर्न सकिन्छ । एउटा अध्ययन अनुसार कृषिजन्य अवशेषबाट मात्रै पनि नेपालमा वार्षिक ५६ लाख मेट्रिक टन व्रिकेट पेलेट उत्पादन गर्न सकिन्छ । (Kafle, et al., 2016) त्यस्तै वार्षिक २७.६ लाख मेट्रिक टन व्रिकेट पेलेट काठ तथा अन्य वन पैदावरबाट उत्पादन गर्न सकिन्छ। (Kafle, et al., 2018)

शहर बजारबाट सङ्कलित गरिएका फोहर तथा पशुपंक्षी तथा मानव मल÷मलमुत्रबाट बायोग्यास उत्पादन गरी फोहर मैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै जैविक मल उत्पादन गरी कृषि उत्पादकत्व बृद्धि गरी फोहरबाट मोहर कमाउन सकिन्छ ।

जैविक पदार्थहरू हाम्रै वरिपरि सित्तैमा वा सस्तो मूल्यमा उपलब्ध हुने गर्दछ । काठ, काठको धुलो, कृषिजन्य अवशेषहरू जस्तै भुस, परालआदि, वनमारा झार, बाँस, नर्कट, बगासेजस्ता जैविक पदार्थहरू सस्तो ऊर्जाको श्रोत हुन सक्छन । यसले उत्पादन लागत न्यनीकरण गरी बजारमा प्रतिस्पर्धा क्षमतामा बृद्धि गर्न मद्दत गर्दछ । चिनी मिल, प्लाइ उद्योग, इँट्टाभट्टा आदिमा यसको प्रयोग अहिले पनि गरिँदै आएको छ ।

चुनौतीहरू

अपार सम्भावनाहरूसँगै जैविक ऊर्जा प्रविधिको उपयोगको केही चुनौतीहरू पनि रहेका छन् । यी चुनौतिहरू विशेषतः प्रविधिको आयात, पार्टपुर्जा, दक्ष जनशक्ति, अध्ययन अनुसन्धानको कमी, कच्चा पदार्थको सङ्कलन तथा ढुवानी, प्रतिस्पर्धी इन्धनको मूल्य, नीतिगत अस्पष्टता तथा प्रविधि सम्बन्धी जनचेतना आदिसंग सम्बधित रहेका छन् ।

यी चुनौतीहरूका बाबजुद जैविक ऊर्जा प्रविधिहरूले नेपालको समृद्ध अर्थतन्त्र निर्माणमा ठूलो योगदान रहन सक्दछ ।

 

CBS. (2011). NEPAL LIVING STANDARDS SURVEY 2010/11 STATISTICAL REPORT VOLUME TWO. Kathmandu: Central Bureau of Statistics.
GoN, MoF. (2019). Economic Survey 2018/19. Kathmandu: Government of Nepal, Ministry of Finance.
Kafle, S., Parajuli, R., Adhikari, K., Euh, S. H., Oh, K. C., Choi, Y. S., & Kim, D. H. (2018). Forest-based biomass supply potential and economics for the pellet production in Nepal. International Journal of Green Energy, 1-7.
Kafle, S., Parajuli, R., Euh, S. H., Oh, K. C., Choi, Y. S., Adhikari, K., . . . Kim, D. H. (2016). Potential biomass supply for agro-pellet production from agricultural crop residue in Nepal. Energy Sources, Part A: Recovery, Utilization, and Environmental Effects, 149-153.
WECS. (2010). Energy Sector Synopsis Report. Kathmandu: Water and Energy Commission Secretariat (WECS).
WHO. (2014, March 25). 7 million premature deaths annually linked to air pollution. Retrieved March 18, 2020, from www.who.int: https://www.who.int/news-room/detail/25-03-2014-7-million-premature-deaths-annually-linked-to-air-pollution
(फाेटाे स्राेत  : urjakhabar.com)

 


प्रकाशित : २०७७ आश्विन १८, आईतवार

धेरै पढिएको

ताजा समाचार