बाघचाल खेलका यी हुन् १० फाईदाहरु


संसारमा घरै बसेर खेल्न सकिने विभिन्न खेलहरु रहेका छन् । ति मध्ये सबै भन्दा प्रशिद्ध खेल चेस हो । यो खेलको बारेमा धेरैलाई थाहा होला । तर चेस जस्तै तर नेपालको मौलिक खेलको बारेमा थाहा छ कि छैन ? उक्त खेल हो – बाघचाल ।
बाघचाल नेपालको मौलिक खेल हो । नेपालकै गाउँ शहर, हिमाल, पहाड, तराई सबैतिर यो खेल खेलिन्छ । बाघ र बाख्राको रुप भएका गोटी प्रयोग गरेर खेलिने यो रणनीतिक खेल क्रमश हराउँन लागेपछि प्रगतिवादी युवा समाज नेपालको आयोजनामा वि. सं. २०७५ सालको श्रावणमा बाघचाल खेलको राष्ट्रिय प्रतियोगिता समेत भैसकेको छ । बाघचाल खेलका १० वटा फाईदाहरु यी हुन् ।

१.  यो खेल खेल्दा धेरै दिमाग चलाउनुपर्ने हुन्छ । दिमाग चलाउनुको अर्थ हो दिमागका कोषिकाहरुको अभ्यास । जति जति यी कोषिकाहरुको अभ्यास हुन्छ । अल्झाईमरस र डिमेण्टिया जस्ता रोगको जोखिमलाई कम गर्छ ।

२.  मष्तिस्कमा ८६ अर्व न्युरोन हुने गर्छ । प्रत्येक न्युरोनमा डेण्ड्राइटका हाँगाहरु निस्किएका हुन्छन । यी हाँगाहरु जति लामो हुन्छ त्यति धेरै सूचना ग्रहण गर्नसक्छ । बाघचाल खेल खेल्दा दिमागको अभ्यास हुने क्रममा डेण्ड्राईटको लम्बाई बढ्छ । जसले गर्दा डेण्ड्राईटले धेरै भन्दा धेरै सूचना ग्रहण गर्छ । डेण्ड्राईटको लम्बाईले गर्दा बालबालिका धेरै भन्दा धेरै कुरा सिक्नसक्ने क्षमताको वृद्धि हुन्छ ।

३.  दिमाग लगाउनुपर्ने खेल खेल्ने बालबालिकाको बौद्धिक स्तर अर्थात इन्टेलिजेन्स क्वेटिएण्ट बढी भएको कुरा भेनेजुएलामा ४००० जना विद्यार्थीमा गरिएको परिक्षणले देखाएको छ । खेलमा प्रयोग हुने स-साना वस्तुहरु सार्ने, योजना बनाउने, अवस्थितिको ज्ञान लिने जस्ता कार्यहरुले बालबालिकाको बौद्धिक स्तर अर्थात आइक्युमा वृद्धि गराउँछ ।

४. हरेक मानिसको जीवनमा धेरै खालका साना ठुला समस्याहरु आइरहन्छन् । बाघचाल खेलमा विपक्षीले ल्याएको बाधा अड्चन र सम्भावित परिस्थितिबाट कसरी जोगिने भनेर सोच्न बाध्य बनाउँछ । जसले गर्दा बालबालिकाहरुमा सानै उमेरदेखि नै समस्यासंग जुध्ने र समाधानको उपाय खोज्न सकिने क्षमताको विकास गर्छ ।

५. यो खेलमा अहिले चाल, पछि चल्नुपर्ने चाल, र आफुलाई पायक नपर्ने चाल चलेको खण्डमा लिनुपर्ने वैकल्पिक चालसम्म सबै कुरा याद राख्नुपर्ने हुन्छ । एउटै बिषयमा धेरै किसिमबाट सोंच्नुपर्ने भएकोले यो खेलले सम्झन सक्ने क्षमताको विकास अर्थात मेमोरी पावर बढाउँछ ।

६. बाल्यकालमा गरिएका कतिपय कार्यहरुको कारण पछि पछुताएको घटना धेरैमा देखिन्छ । बाघचाल खेल रणनीतिक खेल हो । यो खेल खेल्ने क्रममा विपक्षी ल्याएको बाधा अड्चनलाई कसरी पन्छाउने, फेरी त्यस्तो परिश्थिति न आवोस भनेर सोंच्ने र कथमकदाचित आइपरेमा कसरी समाधान गर्ने भन्ने बिषयमा व्यवहारिक ज्ञान दिन्छ । यसले गर्दा बालबालिकामा वास्तविक जीवनमा पनि रणनीतिक तरिकाले सोंच्ने, योजना बनाउने क्षमताको विकास गर्छ ।

७. दिमाग लगाउनुपर्ने खेल खेल्दा यसको आकार प्रकार, वस्तुस्थिति, चाल, पछि आउने परिस्थितिको आंकलन गर्नुपर्ने भएकोले यो खेलले मस्तिष्कको दाँया र बाँया दुवै भागलाई सक्रिय गराउँछ । जर्मनीका वैज्ञानिकहरुले गरेको खोजमा के देखियो भने बालबालिकाले जब दिमाग लगाउने खेल खेल्छन, खेल सम्बन्धि विविध कारणले गर्दा मस्तिस्कको दायाँ र बायाँ दुवै भाग सक्रिय हुँदो रहेछ । मस्तिष्कको बायाँ भागले सम्झन सक्ने, विज्ञान र गणित सम्बन्धि कार्य गर्दछ । भने दायाँ मस्तिस्कले कला र सिर्जनशीलता सम्बन्धि कार्य गर्दछ ।

८. कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई दुई समूहमा विभाजित गरेर एउटा समूहलाई अन्य दैनिक जीवनमा गरिने सबै कार्य गर्न लगाईयो भने अर्को समूहलाई अन्य कार्यका साथ साथै दिमाग लगाउनुपर्ने खेल नियमित खेल्न लगाईयो । ३२ हप्तापछि दुई समूहलाई जाँच्दा दिमाग प्रयोग गर्नुपर्ने खेल खेलेका विद्यार्थी अति नै सिर्जनशील भएको पाईयो । यस अधययनले के देखाउँछ भने बाघचाल खेल खेल्ने विधार्थीको सृजनशीलतामा वृद्धि ल्याउँछ ।

९. बालबालिकाहरु एउटै बिषयमा लामो समयसम्म ध्यान दिन नसक्ने समस्या त सुन्नुभएकै होला । बाघचाल खेल खेल्न ध्यान नदिई यो बुझिन्न र जित्न पनि सकिन्न । त्यसकारण यो खेल खेल्दा एकोहोरो हेरिरहनुपर्ने हुन्छ । यसले गर्दा बालबालिकालाई लामो समयसम्म एकोहोरो ध्यान दिईरहने क्षमताको व्यवहारिक ज्ञान दिन्छ । यसको प्रभाव पढाई तथा अन्य क्षेत्रमा पनि पर्छ ।

१०. विपक्षीको चाल, सम्भाव्य स्थान र गोटीको अवस्था बारे निरन्तर थाहा पाउनुपर्ने हुँदा बालबालिकामा दिक ज्ञान अर्थात Spatial knowledge को वृद्धि गराउन मद्दत गर्छ ।

बाघचाल खेल दिमाग लगाउनुपर्ने खेल त हुँदै हो साथ साथै नेपालको आफ्नो मौलिक खेल पनि हो । संसारका विभिन्न भागमा विकास भएका खेलहरु नेपाल आगमन भएका छन् तर नेपालमै विकास भएको खेल बाघचाल जस्तो बालबालिकाको मस्तिस्कको क्षमता बढाउने खेल भने लोप हुने अवस्था रहेको छ । यो खेलको संरक्षण र प्रवर्धन गर्नु आवश्यक छ ।

 

 


प्रकाशित : २०७७ आश्विन १०, शनिबार

धेरै पढिएको

ताजा समाचार