कपूतन्त्र भनेको के हो ?


यमनाथ उपाध्याय

कपूतन्त्र भनेको के हो ? यसको प्रकृति कस्तो हुन्छ ? यसका विशेषताहरु के के हुन् ? यसका नकरात्मक पक्षहरु के के छन् ? चार वटा प्रश्नहरूलाई समेटेर यसको यो लेख तयार गरिएको छ । नेपाली राजनीतिमा देखिएको अस्थीरता, असमझदारी र असक्षमताको कारकतत्त्वको रूपमा कपूतन्त्रलाई लिइएको छ ।

कपूतन्त्र भनेको के हो ?

कपूतन्त्र भनेको दुई विश्वव्यवस्थाको रूपमा रहेको कम्युनिष्ट र पूँजीवादको संक्षेपिकरण हो । कम्युनिष्टको क र पूँजीवादको पू अक्षरलाई लिएर बनाइएको तन्त्र नै कपूतन्त्र हो । कम्युनिष्ट र पूँजीवादको विषालु तत्त्वहरूलाई घालमेल बनाई संक्रमणको स्थिति पैदा गर्ने राजनीतिशंकरको सिद्धान्त नै कपूतन्त्र हो । कपूतन्त्रले नेपालको सार्वभौम, राष्ट्रियता, धर्म, संस्कृति, शिक्षा, चिन्तन पद्धति, व्यावहारिक क्रियाकलाप, दार्शनिक चिन्तन, सैद्धान्तिक पक्ष, अर्थ लगायत विविध विषयलाई कमजोर, पराधिन, वैचारिक दासतामा मार्ग निर्देश गरेको छ । बुँदागत रूपमा कपूतन्त्रलाई निम्नानुसार बुझ्न सकिन्छ।

१. दार्शनिक चिन्तन कमजोर बनाएर मूल सभ्यताबाट विच्छिन्न पार्ने तत्व कपूतन्त्र हो ।

२. सैद्धान्तिक दृष्टिकोणबाट पृथक रही नमिल्ने सिद्धान्तलाई आत्मसात् गरी व्यक्तिगत लाभमा राष्ट्रलाई बन्धक बनाउने तत्व कपूतन्त्र हो ।

३. नेपाली नागरिकलाई विभाजन गरी बाह्य प्रतिमान स्थापित बनाएर सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई कमजोर बनाउने मतियार कपूतन्त्र हो ।

४. शिक्षाको माध्यमबाट राष्ट्रको सभ्यता, संस्कृतिलाई कमजोर बनाई विधर्मी परिवेशलाई स्वीकार गर्नु कपूतन्त्र हो ।

५. समग्र रुपमा राजनीतिमा घुसेको बाह्य गतार्थ दर्शन र सिद्धान्तलाई चिन्तन गरी राष्ट्रलाई कमजोर र बन्धक पार्ने दृष्टिकोण कपुतन्त्र हो ।

यसको प्रकृति कस्तो हुन्छ ?

नेपालको सन्दर्भमा कपूतन्त्र एक जटील समस्या हो । यसको आयाम बृहत्तर रहेको छ । व्यक्ति, परिवार, समाज र राष्ट्रको हरेक क्षेत्रमा यसको प्रभाव देखिन्छ । राजनीतिमा षड्यन्त्रको सिद्धान्तलाई जुन रूपमा प्रयोग गरिन्छ, त्यो भन्दा रहस्यमय र मन्दविषको रूपमा कपूतन्त्रको प्रयोग भइरहेको छ । नेपाली काङ्ग्रेसको राजनीतिक सिद्धान्त प्रजातान्त्रिक समाजवाद, नेकपा एमालेको राजनीतिक सिद्धान्त मार्क्सवाद र लेनिनवाद, माओवादीको राजनीतिक सिद्धान्त माओवाद, राप्रपाको राजनीतिक सिद्धान्त संवर्धनवाद, उदारवाद र अन्य नयाँ वैकल्पिक भनिएका पार्टीहरूले अवलम्बन गरेको समाजवाद वा संवैधानिक समाजवादले नेपालको परिवेशमा समग्ररूपमा कपूतन्त्रको प्रतिनिधित्व गरेका छन् । नेपालको मौलिक ज्ञान पद्धतिलाई ध्वस्त बनाएर धर्मसंकर किसिमको व्यवस्था निर्माण गर्नु नै यसको प्रकृति रहेको हुन्छ । जुडायो क्रिश्चियन सभ्यता, अब्राहमिक सभ्यता र मजहबमा मूल दार्शनिक र सैद्धान्तिक चिन्तन रहेको कपूतन्त्रले नेपालको मौलिक सभ्यता, संस्कृति, धर्म र यहाँको विशिष्ट चिन्तन पद्धतिलाई कमजोर बनाइ वैचारिक दासता स्वीकार गर्न बाध्यात्मक परिस्थिति बनाएको छ । जानेर वा नजानेर कपूतन्त्रको पक्षमा वकालत गर्ने, पक्षपोषण गर्ने र वैचारिक जाललाई सघन रूपमा बलियो बनाउने र राष्ट्रको विविध आयामलाई कमजोर बनाउने यसको मुख्य चरित्र नै हुन्छ । यसको प्रकृति बहुआयामिक रहेको हुँदा जुनसुकै क्षेत्रमा पनि यसले सहजै आफ्नो प्रभुत्व जमाउन सफल रहन्छ ।

यसका विशेषताहरु के के हुन् ?

कपूतन्त्रका चार मुख्य विशेषताहरूलाई निम्नानुसार हेर्न सकिन्छ ।

१. धर्म, संस्कृति, सभ्यतालाई कमजोर बनाई यहाँको रैथाने ज्ञान पद्धतिलाई नष्ट गर्दछ ।

२. शिक्षा, भाषा, कला, साहित्य आदिमा वैचारिक जाललाई सघन रूपमा प्रवेश गराइ राष्ट्रको अस्तित्वलाई समाप्त पार्न मद्दत पुराउँदछ ।

३. अर्थतन्त्र, रोजगार, उद्यमशिलता, विकासलाई परजीवी बनाएर राष्ट्रका युवाहरूलाई पलायन गराउन मुख्य भूमिका निर्वाह गर्दछ र नेपालको अर्थतन्त्रलाई ध्वस्त बनाउँछ ।

४. राजनीतिमा रहेको एक प्रकारको सिण्डिकेटले नेपालको मौलिक दर्शन र सैद्धान्तिक पक्षलाई प्रत्यक्ष परोक्षरूपमा निषेध गर्नको लागि भूमिका खेलेको छ ।

यसका नकरात्मक पक्षहरु के के छन् ?

कपूतन्त्र आफैँमा एक नकरात्मक लक्ष्यार्थ हो । यसले समाजको सम्पूर्ण अङ्गलाई ध्वस्त बनाउनको लागि शासनतन्त्रको महत्वपूर्ण निकायमा रहेर प्रभाव पारिरहेको हुन्छ । कपूतन्त्रबाट जकडिएको समाज भ्रमपूर्ण स्थितिमा रहेको हुन्छ । वैचारिक जालले मानिसहरूलाई वैचारिक दासतामा बाँच्न सिकाएको छ । सैद्धान्तिक रूपमा चिन्तन गर्न सक्ने क्षमतावान व्यक्तिहरू समाजबाट पलायन गराउनको लागि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । आफ्नो मूल सभ्यताबाट विच्छिन्न गराएर विधर्मीहरूको संस्कार संस्कृतिलाई प्राथमिकतामा राख्ने र मूलधारमा ल्याउने कार्य गर्दछ । कपूतन्त्रले मिलेर बसेको नेपाली समाजलाई जाति, प्रजाति, नश्ल, धर्म, भाषा, भुगोलको आधारमा घृणात्मक रूपले विभाजन गर्ने कार्य गर्दछ । राष्ट्रियताको परिभाषा नै घृणामा आधारित बनाएर मूलधारमा ल्याएर स्थापित गराउने कार्य गर्दछ ।

निष्कर्ष

कपूतन्त्र नेपाली समाजको क्यान्सर हो । यसलाई जति सक्यो चाँडो नेपालबाट समूल अन्त्य गर्नुपर्दछ । कपूतन्त्रको कारणले गर्दा नेपालको अस्तित्व नै धरापमा परेको स्थितिलाई नजरअन्दाज गर्न सकिँदैन । जुडायो क्रिश्चियन सभ्यता, मजहब र अब्राहमिक सभ्यतामा आधारित विभिन्न राजनीतिक दलहरूले बोकेका आयातित गतार्थ दर्शन, सिद्धान्तको मुख्य कारणले गर्दा नेपाल कमजोर भइरहेको यथार्थलाई बिर्सिन सकिँदैन । नेपालको आफ्नै मौलिक दर्शन, सिद्धान्त, अर्थतन्त्र, शिक्षानीति लगायत नेपाल केन्द्रित वैश्विक दृष्टिकोण राख्ने युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षानीति लगायत मौलिकतालाई केन्द्रबिन्दुमा राखेर वैश्विक दृष्टिकोण रहेको मौलिक व्यवस्थालाई स्थापित गराए मात्र नेपालको सम्पूर्ण आयाममा समुचित विकास गर्न सकिन्छ ।


प्रकाशित : २०७९ असार ८, बुधबार

धेरै पढिएको

ताजा समाचार