मिडिया प्रभावको सैद्धान्तिक आयाम


डा. निर्मलमणि अधिकारी
सहप्राध्यापक, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय

मिडियालाई समाजको यथार्थ प्रतिबिम्ब दिने ‘ऐना’ मान्ने कि भ्रमित पार्ने ‘जादूको ऐना’ ठान्ने भन्नेमा मिडिया–अध्येताहरूमा लामो समयदेखि मत–वैभिन्न्य रहिआएको छ । यसलाई समाजको ‘ऐना’ मान्नेहरूले मिडियाका अन्तर्वस्तुलाई समाजको यथार्थ प्रतिबिम्बका रूपमा लिन्छन् । तर अर्काथरीका अनुसार मिडियाले कहिले सामान्य कुरालाई एकदमै ठूलो मुद्दा बनाइदिन्छ भने कहिले ठूलो कुरा पनि सामान्य बनाइदिन्छ । मिडियाले गर्ने यस्तै कौतुकका कारण यसलाई सामान्य ‘ऐना’ मान्न नसकिने, प्रत्युत यसलाई त ‘जादूको ऐना’ का रूपमा बुझ्नु पर्ने उनीहरूको तर्क छ । यस दृष्टिकोणमा वास्तविकता र मिडियाले प्रस्तुत गरेको तथाकथित वास्तविकताको तुलना गर्दा कहिलेकाहिँ त आकाश–जमीनको अन्तर पनि हुन सक्छ । वास्तवमा मिडिया प्रभाव बारे अनेकौँ सिद्धान्तहरू अभिनिर्माण गरिएका छन् र तिनीहरूले अनेक दृष्टिकोणहरू प्रस्तुत गरेका छन् ।
मानव समाजका सबै क्षेत्रमा मिडियाको उपस्थिति बढ्दो छ । मिडिया आधुनिक मानवजीवनका अभिन्न अंग बनिसकेका छन् । मिडियाको पहुँचमा भइरहेको विस्तारसँगै यसप्रतिको सरोकार पनि स्वतः बढ्दै गएको छ । मिडियाले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायतका पक्षमा खेल्न सक्ने भूमिका तथा पार्ने प्रभाव त्यस्तै सरोकारका विषय–वस्तु हुन् । यस्तो सरोकारको सुसम्बद्ध प्रकटीकरण संयुक्त राज्य अमेरिकामा इशवीय बीसौँ शताब्दीको प्रारम्भतिरै समाजमा मिडियाले पार्न सक्ने नकारात्मक असरबारेका चासोबाट प्रारम्भ भएको मानिन्छ जसले मिडिया–प्रभावको अध्ययन÷अनुसन्धान परम्परालाई जन्मायो । मिडिया–प्रभाव अनुसन्धानको प्रारम्भिक कालमा तत्कालीन समाजमा सांस्कृतिक विचलन मूल्य–मान्यताको ह्रास र बालबालिका एवं युवा पुस्तामा नैतिक पतनका लागि मिडियालाई दोषी ठहर्याउने प्रवृत्ति देखियो । यसलाई ‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान–दृष्टिकोण भनिन्छ । कालान्तरमा मिडियाका सकारात्मक प्रभाव हुन्छन् भन्ने पक्ष पनि अगाडि आयो । यसलाई ‘मिडियाको सकारात्मक प्रभाव’ अनुसन्धान–दृष्टिकोण भनिन्छ । अघिल्लो अनुसन्धान–दृष्टिकोणभन्दा फरक निष्कर्ष निकाली पछिल्लो अनुसन्धान–दृष्टिकोणले मिडियालाई समाजमा सकारात्मक परिवर्तन विकास सचेतना लोकतान्त्रिकरण आदिको संवाहक मान्यो ।
शैक्षिक÷प्राज्ञिक क्षेत्रबाट गरिएका कतिपय स्वतन्त्र अनुसन्धानहरूले पूर्ववर्ती ‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान–दृष्टिकोणलाई पुष्टि गर्ने गरी निष्कर्ष निकालेका भएतापनि मिडिया विज्ञापन जनसम्पर्क आदि उद्योगहरूले प्रायोजन गरेका प्रायः अनुसन्धान परियोजनाहरूले मिडियाको सकारात्मक प्रभावको पाटोलाई जोड दिए । दोस्रो विश्वयुद्धपश्चात् योजनाबद्ध विकासको प्रबद्र्धनका क्रममा मिडियालाई विकासको प्रभावकारी संवाहकका रूपमा प्रयोग गर्न सकिने रहेछ भन्ने मान्यताको पुष्टि व्यावहारिक रूपमै भएको पनि कतिपय स्थानमा देखियो । योजनाबद्ध विकासको अवधारणालाई बल पुर्याउने भएकाले मिडियाको सकारात्मक प्रभावलाई पुष्टि गर्ने व्यावहारिक साक्ष्यहरू स्वाभाविक रूपमा बढी प्रचारित भए ।
मिडिया अनुसन्धानमा कार्यरत व्यावसायिक अनुसन्धानकर्ताहरूलाई बारम्बार आइपर्ने समस्याहरूमध्ये एउटा त “अपेक्षित मिडिया–प्रभाव किन नभएको होला ?” भन्ने पनि हो । जस्तै — संचारमाध्यमहरूले महिलामाथि हुने हिंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँदा–बनाउँदै, त्यस्ता हिंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित÷प्रसारित भइरहँदा–भइरहँदै एवं महिलामाथि हुने हिंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरू सञ्चालित हुँदाहुँदै पनि किन तिनको अपेक्षित परिणाम नआइरहेको होला भन्ने सवाल धेरैले सोधेको पाइन्छ । त्यस्ता प्रश्नलाई मिडिया–प्रभावसम्बन्धी विभिन्न अनुसन्धान एवं सिद्धान्तहरूका आलोकमा विश्लेषण गर्न सकिन्छ ।
‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान–दृष्टिकोणलाई मान्नेहरूले नकारात्मक कुरा फैलाउनमा मिडिया निकै प्रभावकारी हुने मान्यता राख्छन् । यस अनुसार समाजमा सांस्कृतिक विचलन मूल्य–मान्यताको ह्रास र बालबालिका एवं युवा पुस्तामा नैतिक पतन आदिका लागि मिडियाका अन्तर्वस्तु जिम्मेवार हुन्छन् । यस दृष्टिकोणले मिडियाको सकारात्मक प्रभाव प्रायः नहुने वा अति कम हुने दाबी गरेको देखिन्छ । मिडिया नकारात्मक असरको स्रोत हो र जनताका आचार र विचारमा सकारात्मक परिवर्तन ल्याउनचाहिँ मिडियाले सक्दैनन् भन्ने सोचलाई यसले अगाडि सार्छ ।
समाजमा सकारात्मक प्रभाव पुर्याउने उद्देश्य मिडिया उद्योगको अर्थ–राजनीतिका कारण प्राथमिकतामै पर्दैन भनेर तर्क गर्नेहरू पनि छन् । नवमाक्र्सवादी परम्पराका आलोचनात्मक÷सांस्कृतिक दृष्टिकोणबाट हेर्दा मिडिया बृहत्तर सांस्कृतिक परिवेशको एक अंश मात्र हो । यस दृष्टिकोणमा समाजमा विद्यमान आर्थिक–राजनीतिक सम्बन्धको आधारमा मिडिया उद्योगको प्रकृति र प्रवृत्ति निर्धारित हुने मानिन्छ । मिडिया उद्योग समाजको ‘आधार’ नभई ‘अधिरचना’ भएकाले यसो भएको मानिएको हुन्छ । मिडियाले आफ्नो अर्थ–राजनीतिअनुकूल साचालित भई नाफा कमाउनुलाई प्राथमिक उद्देश्य मान्ने शक्ति–संरचनामा ठालुवर्गको सेवा पुर्याउने र यथास्थितिवादको पक्षपोषण गर्ने निष्कर्ष यस दृष्टिकोणबाट भएका अनुसन्धानहरूले निकालेको पाइन्छ । यस दृष्टिकोण अनुसार मूलतः नाफामुखी बजारवादको पक्षधर भएको हुनाले मिडिया उद्योगले जे बिक्छ त्यही पस्कनुलाई प्राथमिकतामा राख्छ ।
मिडिया प्रभावको अभाव वा न्यूनता त मिडिया र जनसामान्यका बीचमा रहने ‘वैचारिक नेतृत्व’ को अविद्यमानता वा असफलताका कारणले हो भन्ने दृष्टिकोण पनि रहेको छ । सञ्चारको द्विचरणात्मक प्रवाह सिद्धान्त (‘टु–स्टेप फ्लो थ्योरी अफ् कम्युनिकेसन’) ले मिडियाको सन्देश दुई चरण पार गरेर मात्र सर्वसाधारण जनतासम्म पुग्ने र समाजमा मत निर्माण गर्नमा मिडियाको प्रत्यक्ष भूमिका कम र ‘वैचारिक नेताहरू’ (ओपिनियन लिडर्स) को भूमिका बढी महत्वपूर्ण हुने बताउँछ । यहाँ ‘वैचारिक नेताहरू’ भन्नाले समाजका अग्रणी÷पढे–लेखेका, मिडियाद्वारा प्रकाशन÷प्रसारण गरिएका सन्देशसम्म प्रत्यक्ष पहुँच भएका ‘टाठाबाठा’ व्यक्तिहरू भन्ने बुझ्नु पर्छ । शिक्षक, राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, समाजसेवी, धर्मगुरु, पुरोहित, ग्रामीण स्वास्थ्य कार्यकर्ता, कानुन व्यवसायी आदि वैचारिक नेताका उदाहरण हुन् । तर एक विषय वा सन्दर्भको वैचारिक नेता अर्को विषय वा सन्दर्भमा वैचारिक नेताको हैसियतमा नहुन सक्छ । यो सिद्धान्तका अनुसार, मिडियाद्वारा प्रकाशन÷प्रसारण हुने सन्देशसम्म सर्वसाधारण जनताको प्रत्यक्ष पहुँच हुँदैन र सूचनाको प्राप्तिका लागि उनीहरूले वैचारिक नेताहरूमाथि निर्भर रहनु पर्ने हुन्छ । प्रकाशित÷प्रसारित सन्देश वैचारिक नेतासम्म पुग्नु सञ्चारको पहिलो चरण हो । यसपछि वैचारिक नेताबाट सर्वसाधारण जनतासम्म उक्त सन्देश पुग्नु सञ्चारको दोस्रो चरण हो । कुनै सन्दर्भमा जनताको मत कस्तो हुने हो भन्नेमा वैचारिक नेताहरूको भूमिका निर्णायक हुन्छ भन्ने यसको तर्क हो । यस सिद्धान्तको आलोकमा हेर्दा मिडिया–प्रभावको अपेक्षित सफलता नहुनुमा वैचारिक नेताहरूको अविद्यमानता वा असफलतालाई कारण मान्नु पर्ने हुन्छ । मिडिया–अन्तर्वस्तुलाई अपेक्षित प्रभावकारी बनाउनका लागि वैचारिक नेताहरू अगाडि आउनु पर्ने अन्यथा उनीहरूको असफलता ठहरिने यस सिद्धान्तको आशय देखिन्छ ।
मिडियाले कुनै विषयवस्तुलाई महत्त्वपूर्ण बनाउन सक्ने, तर आचार र विचारमा परिवर्तन ल्याउनमा मिडिया एकल निर्णायक तत्व नभएकाले मिडियाको सीमित प्रभाव मात्र हुन्छ भन्ने कार्यसूची निर्धारण सिद्धान्त (‘एजेण्डा सेटिङ्ग थ्योरी’) पनि यहाँ उल्लेख्य छ । समाजमा चर्चा गर्न सकिने वा चासो दिन आवश्यक अनेक विषय–वस्तुमध्ये तत्काल कुनलाई महत्व दिने भन्ने कुरा नै कार्यसूची हो । यो सिद्धान्तले कुनै पनि विषय–वस्तुले तत्काल महत्व पाउने वा नपाउने भन्ने कुरामा मिडियाको अहम् भूमिका रहने बताउँछ । विविध विषय–वस्तु वा मुद्दाहरूमध्ये कुनचाहिँलाई जनमानसमा प्रमुख तुल्याउने भन्ने निर्धारण गर्नमा मिडियाको ठूलो भूमिका रहेको हुन्छ । कार्यसूची निर्धारणको सन्दर्भमा कुनै विषय–वस्तुलाई मिडियाले कति र कति महत्वपूर्ण ‘कभरेज’ दिएको छ यी दुवै पक्षको भूमिका हुन्छ । जनताले सामान्यतया बेवास्ता गर्ने विषयमा पनि मिडियाले चाहेमा उनीहरूको ध्यानाकर्षण गराउन तथा प्रमुख चासोको विषय तुल्याउन सक्छ । यस सिद्धान्तले बताउँछ — जनताका लागि साँच्चै नै चासोका विषय हुनु पर्ने कुरा मिडियाको उपयुक्त ‘कभरेज’ नपाउँदा छायामा पर्न सक्छन् ।
कार्यसूची निर्धारित हुनु र आचार एवं विचारमा परिवर्तन आउनु फरक कुराहरू हुन् । सञ्चारको कार्यसूची निर्धारण सिद्धान्तले मिडियाको प्रभावकारिता जनतालाई ‘केबारे सोच्ने’ भन्नेमा अभिमुख गराउनमा मात्र सीमित रहेको मान्यता राख्छ । यसभन्दा पर ‘के सोच्ने’ वा ‘के गर्ने’ भन्ने सवालमा निर्देशित गर्नका लागि मिडिया एकल निर्णायक तत्व होइन । उपर्युक्त सवालहरूमा व्यक्ति वा व्यक्तिहरूले आफ्ना पृष्ठभूमि मूल्य–मान्यता संस्कृति रीतिथिति सामाजिक सम्बन्धहरू मताग्रह आदि थुप्रै पक्षका समष्टिबाट निर्देशित भएर निर्णय गर्छन् ।
मिडियाको विश्वसनीयता कम छ भने त्यसले पार्ने प्रभाव पनि कम नै हुन्छ । मिडिया–प्रभाव अनुसन्धानहरूले के देखाएका छन् भने पाठक–स्रोता–दर्शकले सबै मिडियाका सबै कुरा पत्याउँदैनन् । उनीहरूले कुनै मिडियाका अन्तर्वस्तुलाई विश्वास गर्ने वा नगर्ने तथा त्यसका आधारमा कार्यसूची निर्धारण गर्ने वा नगर्ने र दृष्टिकोण÷विचार बनाउने वा नबनाउने भन्ने कुरा मिडियाको विश्वसनीयताको आँकलनका आधारमा गर्छन् । मिडियामार्फत् अभियानहरू साचालित हुँदाहुँदै पनि तिनको अपेक्षित परिणाम आइरहेको छैन भने त्यो सञ्चारमाध्यमहरूको विश्वसनीयताको अभावको द्योतक हो भन्ने मत कतिपय अध्येताहरूको रहेको देखिन्छ । साथै, मिडियाको प्रभावमा मिडिया–अन्तर्वस्तुको सम्प्रेषण–गुणले पनि प्रत्यक्ष असर पार्छ ।
आमसञ्चारको खेल सिद्धान्त (‘द प्ले थ्योरी अफ् मास कम्युनिकेसन’) ले मिडियाको मनोरञ्जनात्मक प्रयोगको पक्षलाई ठूलो महत्व दिएको छ । यो सिद्धान्तले मिडियालाई जनताको विचारधारामाथि प्रभाव पार्न वा उनीहरूको सोचलाई नै परिवर्तन गर्न सक्ने शक्तिशाली तत्व भन्ठान्ने सोचलाई खारेज गर्छ । मिडियाको प्राथमिक काम आफ्ना लक्षित प्रापकलाई मनोरञ्जन गराउनु नै हो भन्ने खेल सिद्धान्तका सिद्धान्तकारको मत देखिन्छ ।
गोरखापत्र दैनिकबाट साभार


प्रकाशित : २०७९ असार ३, शुक्रबार

धेरै पढिएको

ताजा समाचार