विश्वविद्यालय पाठ्यक्रममा पश्चिमीकरण र विपश्चिमीकरण : सञ्चार विधाको सन्दर्भ


डा. निर्मलमणि अधिकारी
सहप्राध्यापक, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय

नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । संसारमा यो विधाको पठनपाठन सञ्चार, सञ्चार अध्ययन, आमसञ्चार, मिडिया अध्ययन, पत्रकारिता वा अन्य कुनै मिल्दाजुल्दा संज्ञा दिएर गराइन्छ । नेपालमा आमसञ्चार र पत्रकारिता शब्दावली बढी प्रचलित देखिन्छन् । छिमेकी देश भारतमा जनसञ्चार भन्ने गरिन्छ । सञ्चार विधाको इतिहास लेख्नेहरूले यसको प्राचीनता र अभिनवताको द्वैधतापूर्ण अवस्थालाई उल्लेख गर्ने गरेका छन् । स्रोत सामग्रीहरुलाई हेर्ने हो भने यो निकै प्राचीन विधा हो भने आधुनिक औपचारिक विधाका रुपमा यो अभिनव (नयाँ) हो । विश्वविद्यालयका पाठ्यक्रममा पृथक् औपचारिक विधाका हैसियतमा यसको पहिचान र मान्यता दोस्रो विश्वयुद्ध लगत्तैजसो संयुक्त राज्य अमेरिकामा प्रारम्भ भएको मानिन्छ । यद्यपि सञ्चार चिन्तन वा सिद्धान्तीकरणको प्रारम्भ धेरै पहिल्यै भएको थियो ।
कसरी सञ्चारले काम गर्छ र आफ्नो सञ्चार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा मानिसले पाँच हजार वर्षभन्दा अगाडिको बखतमा समेत जान्न चाहेका कुरामध्ये एक थियो भनिन्छ । त्यसैले स्वाभाविकै हो — सञ्चार चिन्तनको जरो खोज्दा प्राच्य र पाश्चात्य दुवै परम्परामा भेटेसम्म पुरानो स्रोतमा पुग्ने प्रवृत्ति देखिन्छ । वेद वाङ्मयमा वाणी, मुहार भाव, प्रतीक चिह्न आदि बारे समृद्ध चिन्तन पाइन्छ । शब्दका चार तह (चत्वारि वाक्) सम्मको विशिष्ट ज्ञान वेदमा समावेश देखिन्छ । संस्कृतमा नाट्यशास्त्र र वाक्यपदीयका साथसाथै दर्शन, काव्यशास्त्र तथा अन्य विधाका अनेकौँ ग्रन्थहरुमा आजको दृष्टिबिन्दुबाट सञ्चार सिद्धान्त सम्बद्ध अन्तर्वस्तु पाइन्छ । इजिप्टमा इ.पू. २६७५ तिर सञ्चारसम्बन्धी पहिलो पुस्तक लेखिएको र इ.पू. ५ सय वर्षतिर प्राचीन ग्रीस र रोममा सञ्चारको व्यवस्थित बौद्धिक चिन्तन विकास भएको तथ्य इतिहासकारहरुले उजागर गरेका छन् । पाँचौं शताब्दी इ.पू.मा लेखिएका कोराक्स र टिसियासका वाक्कलात्मक (अभिप्रेरणात्मक) सञ्चारबारेका कृति त्यसभन्दा एक÷डेढ शताब्दीपछि अरस्तुद्वारा लिखित कृति (रेटोरिक्) लाई पाश्चात्य सञ्चार सिद्धान्तको इतिहासमा विशेष उल्लेख्य मानिन्छ ।
यसरी सञ्चार विधाको प्राचीनताको आधार पूर्व र पश्चिम दुवैतिर रहेको देखिन्छ । तथापि विश्वविद्यालयमा पठनपाठन हुने र शैक्षिक उपाधि प्रदान गरिने औपचारिक विधाको हैसियतमा सञ्चारलाई संस्थानीकरण गरिएको एक शताब्दी पनि बितेको छैन । अंग्रेजी भाषामा ‘सञ्चारसिद्धान्त’ जनाउने शब्दावली सन् १९४० को दशकभन्दा अगाडि व्यापक प्रयोगमा रहेको देखिँदैन । सं.रा. अमेरिकामा पत्रकारिताजस्ता प्रायोगिक विषयहरू इसवीय बीसौँ शताब्दीको सुरुवाती समयमा विश्वविद्यालयमा स्थापित गरिएको, तर ‘सञ्चार’ अन्तर्गत राखी अध्ययन भने दोस्रो विश्वयुद्धपश्चात् हुन थालेको देखिन्छ । विल्बुर स्रामलाई सञ्चार अध्ययनको क्षेत्रको संस्थापक तथा मिसिगन स्टेट युनिभर्सिटीको सञ्चार विभागलाई सं.रा. अमेरिकामा सञ्चार अध्ययनको निम्ति बीज संस्था भनी उल्लेख गरेको पाइन्छ । अमेरिकाका विश्वविद्यालयहरूले आमसञ्चार अध्ययनमा शैक्षिक कार्यक्रम सुरु गरेपछि सञ्चारको अध्ययन एक विधाका रूपमा हुन थाल्यो । रोचक तथ्य के हो भने विश्वविद्यालयमा आफ्नो विधा संस्थानीकृत भएको केही वर्षमै सञ्चारविद्हरुले यो निकै प्राचीन विधा हो भन्ने दाबी र पुष्टिकरणको प्रयास गर्न सुरु गरिहाले । स्रोत सामग्रीहरुको प्राचीनताले नै उनीहरुलाई त्यस्तो आधार दिएको थियो ।
अमेरिकामा सञ्चारको बृहत्तर दायरामा पर्ने विषयवस्तुलाई सञ्चारसिद्धान्त, सञ्चार अध्ययन, मिडिया अध्ययन, आमसञ्चार, पत्रकारिता आदि विशिष्टिकृत पृथक्करण सहित पठनपाठन गर्ने गरेको र युरोपमा चाहिँ मिडिया अध्ययन (मिडिया स्टडिज्) संज्ञा बढी लोकप्रिय रहेको देखिन्छ । नेपाल, भारत, चीन लगायतका देशमा पत्रकारिता प्रशिक्षण÷शिक्षण हुँदै आमसञ्चारको अध्ययनको गोरेटो खनिएको हो । आधुनिक सञ्चारसिद्धान्तलाई ‘पश्चिमाहरूले पश्चिमाहरूका लागि बनाएको’ आधुनिक विधा वा अध्ययनक्षेत्रका रूपमा ‘कम्युनिकेसन’को पहिचान, परिभाषा, स्वीकार्यता एवं संस्थागत संहतिसमेत सर्वप्रथम सं.रा. अमेरिकामै भएकाले सञ्चारको सिद्धान्तीकरणमा यसको निर्णायक प्रभाव परेको अध्येताहरूको निष्कर्ष देखिन्छ । जस्तै ः अरब मुलुकका विश्वविद्यालय र शैक्षिक संस्थाहरूले उनीहरूका सञ्चारसम्बन्धी पाठ्यक्रमलाई पाश्चात्त्य परिमान अनुरूप नै निर्धारण गरेको र अनुसन्धानमा पनि पश्चिमाभिमुखी कार्यसूची कै दबदबा देखिन्छ । भारतमा अझैसम्म पनि पाश्चात्त्य ज्ञान र पुस्तकहरूलाई नै सही, प्रामाणिक र मानकीकृत मान्ने प्रवृत्ति रहेको एवं सञ्चार शोधका क्षेत्रमा भारतीय प्रवृत्ति र प्रभावको अध्ययन गर्दा नक्कल गर्ने प्रवृत्ति रहेको र ‘भारतीय योगदान’को अभाव रहेको अवस्था केही वर्ष पहिले अध्येताहरुले उजागर गरेका थिए । अरब मुलुकहरुमाझैँ भारतमा पनि सञ्चारको अध्ययन तथा सिद्धान्तीकरणको प्राज्ञिक अभ्यासलाई विचार गर्दा अद्यापि ‘युरोप–केन्द्रितता’, ‘पश्चिम–केन्द्रितता’ वा ‘अमेरिकी बर्चस्व’ भनिने प्रवृत्तिको नै प्रभुत्व रहेको छ र सोही अवस्थाबाट नेपाल पनि मुक्त हुन सकेको छैन ।
नेपालमा पाश्चात्त्य प्रतिमानअनुरूपको आधुनिक शिक्षा पहिलो चरणमा भारत हुँदै भित्रिएको हुनाले सञ्चार र यससम्बद्ध विभिन्न क्षेत्रहरूमा सिद्धान्तीकरणलगायतका प्राज्ञिक अभ्यासमा त्यहाँको प्रवृत्तिलाई यहाँ पनि अनुसरण गरेको अवस्था थियो । दोस्रो चरणमा त झन् बेलायत, अमेरिका, फ्रान्स, जर्मनी आदिको सोझो अनुकरण गर्ने प्रवृत्ति अगाडि आयो । पत्रकारिता तथा आमसञ्चारका प्रशिक्षणमा पाश्चात्य मुलुकका सरकारी र गैरसरकारी लगानी नेपालमा धेरै मात्रामा भएको तथ्य यहाँ उल्लेख्य छ । नेपालका परिप्रेक्ष्यमा सञ्चार (कम्युनिकेसन) नामक आधुनिक औपचारिक ज्ञानको विधा वा अध्ययन–क्षेत्रको अवस्थिति मौलिकता र पराईपनाको द्वैधतापूर्ण जटिलताका कारणले समस्याग्रस्त रहिआएको छ । एकातिर नेपालमा सञ्चारसम्बन्धी आफ्नै मौलिक अवधारणाहरू रहिआएका छन् र अनादि कालेदेखि यहाँ सञ्चार व्यवहृत हुँदै आइरहेको छ भने अर्कोतिर आधुनिक औपचारिक ज्ञानको एक विधा वा अध्ययन–क्षेत्रका हैसियतमा ‘कम्युनिकेसन’ लाई परोक्ष वा प्रत्यक्ष रुपमा पश्चिमबाटै आयात गरिएको हो । सञ्चार आफ्नो सभ्यताको अभिन्न अंश रहिआएको र आफ्ना धर्म, संस्कृति एवं दर्शनका प्राचीनतम ग्रन्थहरूमासमेत सञ्चारको अवधारणा, दृष्टिकोण एवं सिद्धान्तीकरण विद्यमान रहनुले यस विधा वा अध्ययनक्षेत्रमा मौलिकता रहनु पर्ने वा रहन सक्ने अवस्था भए तापनि पश्चिमी (विशेषतः अमेरिकी) अनुकरण गर्नु नै आधुनिक एवं वैश्विक हुनु हो भन्ठानेर सञ्चार, मिडिया अध्ययन, आमसञ्चार तथा पत्रकारिताका पाठ्यक्रमहरूमा अन्धानुकरणले प्रश्रय पायो र सञ्चारको अध्ययनको क्षेत्र मौलिक अन्तर्दृष्टिबाट वञ्चित रह्यो । यस्तो पृष्ठभूमिलाई विचार गर्दा सञ्चारका सिद्धान्त र व्यवहारहरूबारे गरिने अध्ययन मूलतः पश्चिम—केन्द्रित नै रह्यो भन्दा अत्युक्ति हुँदैन । यद्यपि, सञ्चारको साधारणीकरण ढाँचाको अभिनिर्माणपछि नेपालको परिस्थितिमा केही अन्तर परेको छ र सञ्चारको संस्कृतिसापेक्ष मौलिक अध्ययन हुनसक्ने र हुनुपर्ने पक्ष पनि उजागर भएको छ ।
यसरी, आधुनिक विधा वा अध्ययन–क्षेत्रका रूपमा ‘कम्युनिकेसन’को विस्तार सं.रा. अमेरिकाबाट अन्य मुलुकतर्फ रेखीय तवरले भएकाले प्राज्ञिक÷शैक्षिक संस्थाका पाठ्यक्रम तथा विद्वतवर्गका सिद्धान्तीकरणका प्रयत्नहरूमा पाश्चात्त्य (विशेषतः अमेरिकी) प्रभुत्व रहेको देखिन्छ । सञ्चार विधाको पहिलो चरणको यस्तो प्रवृत्तिलाई पश्चिमीकरण भनिन्छ । पश्चिमीकरणको आलोचना गर्दै खडा भएको हो विपश्चिमीकरण (डिवेस्टर्नाइजेसन) दृष्टिकोण । विपश्चिमीकरणले पश्चिमकेन्द्रित पूर्वाग्रहलाई चुनौती दियो र एकदमै भिन्न तरिकाले सञ्चारसिद्धान्तीकरण हुनुपर्ने सुझायो ।  विपश्चिमीकरणले रेखीय विस्तार हुँदै फैलिएको पश्चिमीकरणलाई आलोचना गरी प्रतिमान परिवर्तनका लागि बौद्धिक÷प्राज्ञिक आवाज उठायो ।
विपश्चिमीकरणले पाश्चात्य सिद्धान्त, ढाँचा र दृष्टिकोणको एकल वर्चस्व र प्रभुत्वमाथि खरो प्रश्न खडा गर्न सफलता पाएको छ । सञ्चारको अध्ययन एवं सिद्धान्तीकरणलाई आधुनिक विधा वा अध्ययनक्षेत्रका रूपमा पश्चिमी (विशेषतः अमेरिकी) दृष्टिकोण, सिद्धान्त एवं ढाँचाहरूको वाहकका रूपमा राख्ने हो भने यसको प्रायोगिकतामाथि नै अनौचित्यको खतरा खडा हुने तथ्यतर्फ विपश्चिमीकरणले ध्यानाकर्षण गराएको छ । विपश्चिमीकरणको अवधारणासँगै सञ्चार विधाको पाठ्यक्रममा पाश्चात्य प्रतिमानको एकल रजगज हट्नु पर्छ भन्ने माग संसारभरि नै उठेको छ किनभने एउटैमात्र संस्कृतिबाट निःसृत सिद्धान्तले सार्वजनीनता बोक्न सक्दैन । ‘युरोप–केन्द्रितता’, ‘पश्चिम–केन्द्रितता’ वा ‘अमेरिकी बर्चस्व’ संज्ञा दिइएको प्रवृत्तिबाट सञ्चार विधा वा अध्ययनक्षेत्र पूरै मुक्त नभइसकेको भएतापनि विपश्चिमीकरणले उक्त पाश्चात्त्य प्रतिमानको विस्थापनका लागि कार्यसूची (एजेण्डा) स्थापित गरी दह्रो आधारशिला तयार पारेको छ ।
सञ्चारको अध्ययनमा अन्तरसांस्कृतिक अन्तर्दृष्टि स्वीकार्नु पर्ने, वैकल्पिक दृष्टिकोणहरू समेट्नु पर्ने तथा प्रतिमान परिवर्तन ल्याउनु पर्ने आदि मुद्दा इसवीय बीसौँ शताब्दीमै मुखर भएको देखिन्छ । सन् १९८० मा हवाईस्थित इस्ट–वेस्ट कम्युनिकेसन इन्स्टिच्युटले आयोजना गरेको ‘कम्युनिकेसन थ्योरीः इस्टर्न एण्ड वेस्टर्न पर्सपेक्टिभ्स्’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी यहाँनेर स्मरणीय छ । सञ्चारको सिद्धान्तीकरणमा पाश्चात्य संस्कृतिको एकल राइँदाइँलाई अवाञ्छित ठहर्याइएको केही दशक भइसकेको छ । अब त अन्तरसांस्कृतिकता मात्रैले पनि पुग्दैन भन्दै अन्तरसांस्कृतिकताबाट अगाडि बढेर बहुसांस्कृतिकताको अन्तर्दृष्टिलाई समेट्नु पर्ने पक्षमा जोड दिन थालिएको पनि देखिन्छ । सञ्चारको अध्ययन एवं सिद्धान्तीकरण गर्दा विनिर्माण (डिकन्स्ट्रक्सन) लाई होइन, सांस्कृतिक ज्ञानको पुनः निर्माण (रिकन्स्ट्रक्सन) लाई जोड दिनु पर्ने मान्यता अगाडि सारिएको पनि पाइन्छ । कुनै पनि देशका विश्वविद्यालयका पाठ्यक्रममा सोही देशका संस्कृति सापेक्ष अन्तर्वस्तु, सिद्धान्त, ढाँचा, पद्धति आदिलाई उपेक्षा गर्न र बहिष्कृत गर्न पाइँदैन भन्ने आवाजलाई विपश्चिमीकरणले अगाडि ल्याइदिएको छ । मौलिक दर्शन, सिद्धान्त, ढाँचा, पद्धति आदिलाई पाठ्यक्रममा समुचित स्थान मिल्नु पर्छ भन्ने यसको अन्तर्य हो । नेपाल र भारतमा पनि विपश्चिमीकरणको परिचर्चा बढ्दो क्रममा छ र त्यसको केही सकारात्मक प्रभाव देखिएको पनि छ ।

गोरखापत्र दैनिकबाट साभार


प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार

धेरै पढिएको

ताजा समाचार