भूमिगत पानी पुन:भण्डारण र वृक्षारोपण कार्यक्रम सम्पन्न


जेठ २२ / काठमाडौँ

सिथि नख: तथा विश्व वातावरण दिवसको अवसरमा प्रगतिवादी युवा समाज नेपाल र अल्पाईन एकेडेमीको संयुक्त आयोजनामा भूमिगत पानी पुन:भण्डारण तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको डाँछीस्थित अल्पाईन एकेडेमी प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष टेकराज कोइरालाले काठमाडौँमा भुमिगत पानी बोरिङ्ग गरेर बाहिर निकालिने तर त्यहि दर पुन:भण्डारण नहुँदा पानीको मूल सुक्दै गएको बताउनुभयो । सिमेन्ट र कंक्रिटका संरचनाले काठमाडौँ उपत्यका ढाकिएको हुँदा जमिनमा पर्याप्त पानी पुन:भण्डारण हुन नसकेको भन्दै प्रत्येक राजधानीवासीले स्वक्रियात्मक रूपमा भूमिगत पानी पुन:भण्डारण गर्नुपर्ने बताउनुभयो । एकेडेमीका विद्यार्थीहरूलाई भूमिगत पानी पुन:भण्डारणको महत्व बारेमा बुझाउँदै सानो सानो स्केलमा घरमै भूमिगत पानी पुन:भण्डारण गर्न अनुरोध गर्नुभयो।

त्यस्तै एकेडेमीका वातावरण विषयका शिक्षक चिरन्जीवी भट्टराईले वृक्षारोपण जस्तै भुमिगत पानी पुन:भण्डारण वातावरणको लागि अत्यन्त महत्वपूर्ण रहेको हुँदा सबैले वृक्षारोपण र भूमिगत पानी पुन:भण्डारणमा योगदान पुर्याउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा मौलिक जरोकिलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेल, अल्पाईन एकेडेमीका प्रधानाध्यापक अनन्त राम ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पोखरेलले जलवायु परिवर्तनको कारण नेपालमा पनि पर्यावरणीय जोखिम बढेको भन्दै विद्यालयहरू सानै उमेरदेखि पर्यावरणसँग तादात्म्यता राख्ने जीवनपद्धति सिकाउनुपर्ने कुरामा जोड दिनुभयो।

.10.0

 


प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार

धेरै पढिएको

ताजा समाचार