छुवाछुत उन्मूलनमा जोसमनी सन्तहरूको योगदान


डा. गोविन्दशरण उपाध्याय

छुवाछुत उन्मुलनका क्षेत्रमा जोसमनी सन्तहरू, बझांगी राजा जयपृथ्वी बहादुर सिंह तथा राजा महेन्द्रको योगदानलाई समाजले बिर्सनु हुँदैन । विदेशीहरूको सहयोग बिना छुवाछुत निर्मूल हुनै सक्दैन भन्ने मनोविज्ञान बोक्नेहरूको सङ्ख्या बढ्दो छ र यस्तो मनोविज्ञानका पछि धर्मपरिवर्तन गराउने शक्तिहरू, छुवाछुतको समस्यालाई आजीविकाको साधन बनाउनेहरू (डलरजीवि), छुवाछुतलाई राजननीतिक मुद्दाका रूपमा जीवित राखेर भोट ब्यांक बनाउनेहरू र जातीय उन्माद फैलाएर देश तथा समाजलाई अस्थिर बनाउनेहरू पर्छन् । इसाई तथा भारतीय अम्बेडकरवादीहरूको उद्देश्य छुवाछुत उन्मूलन होइन । उनीहरू दलितको परिचयको नकारात्मक प्रयोग गरेर धर्मपरिवर्तन गराउँछन् ।

निर्विकल्प रूपमा शिल्पीहरू सनातन धर्मका वंशीयार र अंशियार हुन् । विभेद र छुवाछुत हाम्रो सामाजिक संरचनाको मूल समस्या हो । केही विदेशीहरूको चिन्तन र क्रियाकलाप सकारात्मक नै भए पनि “छुवाछुत र जातीय व्यवस्थाका बीचको पार्थक्य थाहा नहुँदा उनीहरू अल्मलिएका छन् भने मिसनरी र अम्बेडकर ब्राण्डका बौद्धहरूको उदेश्य नै धर्मपरिवर्तन गराउने रहेको हुँदा साम, दाम, दण्ड तथा भेदको प्रयोग केवल धर्मपरिवर्तनका लागि गर्छन् । यिनले हिन्दू संस्कृतिको खैरो खनेर सिल्पी समुदायको मनमा आफ्नै मौलिक पहिचानप्रति बितृष्णा उत्पन्न गराउँछन् । सबै विदेशीको नियतमा शंका गर्नु हुँदैन र सबै स्वदेशीहरू छुवाछुत निवारण आन्दोलनका निरपेक्ष योद्धा हुन् भनेर विश्वास पनि गर्न सकिन्न । सत्य के हो भने सत्यका पक्षधरहरू थोरै छन्, पेसाजीविहरू बढी छन् ।

पेसाजीविहरूका लागि दलित समस्या जीवित रहनुपर्छ, भोटका लागि राजनैतिक शक्तिका लागि दलित पहिचान रहनै पर्छ, धर्मपरिवर्तनकारी शक्तिहरूका लागि छुवाछुत नै धर्मपरिवर्तनका लागि बलियो साध्य हो – तेसैले उनीहरू यसलाई हरहालतमा जीवित राख्न चाहन्छन् । जोसमनीहरू र राज जयपृथ्वी बहादुर सिंहहरू छुवाछुतरहित समाज चाहन्छन् तर जोसमनी सन्तलाई महत्व दिंदा भोट र डलर दुवै बन्द हुन्छन् भने सिंहको बाटो अवलम्बन गर्दा “इस्यू”हरू सधैंका लागि समाप्त हुन्छन् । विदेशीको गुणगान गरेर आफ्नो भलो हुने बाटो भला कसले त्याग्ने !

नेपालको अर्घाखाँचीमा जन्मेका शशीधर स्वामीबाट आरम्भ भएको जोसमनी परम्परामा जात, भूगोल तथा वर्ण विचार नगरी दीक्षित गरिन्छ । जोसमनीहरू शाकाहारी, तुलसी कन्ठीधारी र निर्गुणका उपासक हुन्छन् । जातीय छुवाछुतको लागि यस सम्प्रदायमा कुनै ठाउँ छैन भन्ने तत्थ्य योगमाया (योगमाया एकजना सार्की युवकसंग भागेर असममा लामो समय निवास गरेर एउटी छोरीसंग नेपाल फर्केकी थिइन् । पछि उनी जोसमनी सन्तसंग दीक्षित भएर गुरूआमा समेत बन्न सफल भइन्) को जोसमनी सम्प्रदायमा दीक्षित हुनाले सिद्ध हुन्छ । अचम्मको तत्थ्य के हो भने कन्ठीधारी जोसमनी सम्प्रदायमा दीक्षित भएर साधना गरेकी योगमायालाई आजभोली “नारीवादी आन्दोलन”का मुकुण्डोका रूपमा स्थापित गरिंदै छ । योगमायाको गुण गाउने तर उनी दीक्षित भएको “जोसमनी” सन्त परम्पराले छुवाछुत विरुद्ध चलाएको निर्गुण भक्तिका वारेमा एक शब्द पनि खर्च नगर्नु उचित होइन ।

मलाई लाग्छ, जोसमनी सन्त परम्पराले स्थापित गरेका छुवाछूत विरोधी मानकहरूलाई छुवाछुत निवारणका लागि उयायोग गर्ने हो भने नेपाली समाजबाट सोंचे भन्दा तीव्र गतिमा छुवाछुत उन्मूलन सम्भव छ । जोसमनीहरूले छुवाछुत उन्मुक्तिका लागि सकारात्मक कामलाई नजरअन्दाज गर्ने तर जातजातिका बिध आपसी कलह मचाएर (अधिकारवादी दृष्टिकोण)ले छुवाछुत उन्मूलनका घृणावादी आन्दोलनहरूलाई समर्थन गर्नुको (सबै गलत हुँदैनन्) धर्मपरिवर्तन गर्ने शक्तिहरूलाई शक्तिशाली बनाएर आफ्नै समाजलाई कमजोर बनाउनु हो ।

जोसमनी सम्प्रदायमा अनेकौं सिल्पी समुदायबाट दीक्षित भएका गुरूहरू छन् । ती गुरूहरूलाई बिना छुवाछुत सबै जातजाति र वर्गले श्रद्धा गर्छन् । स्वामी दिलदासले प्रष्ट रूपमा भनेका छन् “जातपात नसोध्ला कोइ, हरि भजने हरिको होइ” अर्थात् जसले हरिको भजन गर्ने भनेर जोसमनी सन्तसंग दीक्षा ग्रहण गर्छ, उसको जातपात केही रहन्न उ हरिकै हुन्छ, सबैको लागि पुज्य हुन्छ । आज पनि राई समुदायबाट दीक्षित भएका व्यक्तिनै जोसमनी सम्प्रदायका सर्वोच्च गुरू छन् र
बिना भेदभाव इच्छुक व्यक्तिलाई निर्गुण दीक्षा दिइनै रहेका छन् ।

अन्त्यमा, जोसमनी सन्तहरू समाज सुधारका लागि गरेका आध्यात्मिक कार्यको मैले जतिसुकै बखान गरे र यो जतिसुकै छुवाछुत निवारण र समानता स्थापित गर्नका लागि उपयुक्त भए पनि डलरवादी, भोटवादी, धर्मपरिवर्तनवादी तथा आजीविकावादीहरूले ध्यान दिने छैनन् । तर यिनले महत्व नदिंदैमा जोसमनी सन्तहरूले छुवाछुत निवारणका लागि गरिरहेका योगदानहरूको मूल्य कम हुँदैन । प्राडा नोवल किसोर राई, जनकराज शर्माआदि विद्वानहरूले अनुसन्धान गरेर जोसमनी सन्तहरूका सत्प्रयासहरूलाई उजागर गरेकै छन् । जोसमनी सन्तहरूले नेपालमा छुवाछुत निर्मूल पार्न “निर्गुण” आन्दोलन आरम्भ गरेका थिए । जोसमनी सन्तहरूको आदर्श स्वीकार गरौँ र छुवाछुत रहित सामाजिक व्यवस्थाको निर्माण गरौँ ।

फोटो : स्व. स्वामी श्यामदास जी, (वि.स.१९१०-२००३) राइ परिवारमा जन्मिएका थिए र करिव २८ वटा पुस्तकहरू लेखेका थिए |


प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार

धेरै पढिएको

ताजा समाचार