तल्लो जात र माथिल्लो जात होइन, वंशियार र अंशियार हौँ


सुशील गौतम

आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस हो । वि. सं. २०६३ सालमा नेपाल सरकारले जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र भनेर घोषणा गरेपछि यो दिवस मनाउँदै आइएको छ । कागजमा भेदभाव र छुवाछुतमुक्त राष्ट्र भनेपनि अझै पनि जातकै आधारमा मन्दिर जानबाट रोकिएका छन्, धारा छोएको भन्दै कुटपिटमा परेका छन् । जुनसुकै कारण देखाएर इतिहासमा तल्लो जात र माथिल्लो जात भनेर बनाइएको भए पनि आजको समयमा जन्मकै आधारमा कोही तल्लो हुने कोहि माथिल्लो हुने । कसैले छोएको खान मिल्ने, कसैले छोएको खान नमिल्ने कुप्रथा स्वीकार्य छैन । छुवाछुत तथा भेदभाव (कसुर तथा सजाय) ऐन २०६८ बनेको छ तर प्रभावकारी रूपमा पालना भएको छैन ।

लामो इतिहास भएको सभ्यतामा राम्रा विषय पनि हुन्छन् नराम्रा विषय पनि हुन्छन् । अथर्ववेदमा भनिएको ‘ माता भूमि: पुत्रो अहं पृथिव्या’ अर्थात पृथ्वी आमा हुन्, हामी सबै पृथ्वीका सन्तान हौँ । ‘ भन्ने मान्यतालाई आत्मसाथ गरेर हामी तल्लो जात र माथिल्लो जात होइन – हामी वंशियार र अंशियार हौँ भन्ने चेतना विद्यालयका साना केटाकेटीदेखि नै दिने हो भने यो छुवाछुत र विभेदको समस्या घट्दै जानेछ भन्ने हाम्रो मान्यता रहेको छ । नेपाल राष्ट्र निर्माणमा शिल्पी समूह (दलित पनि भनिने गरेको छ ) ले सक्रिय योगदान पुर्याएका थिए । विश्व नगची (विशे), धार्ने कामी, कालु मणिराम, गाइने साकी, बानादार दमाईं लगाएतका शिल्पी समूहको सक्रिय योगदानको कारण वैदिककालदेखिको नेपालको भू-राजनीतिक- वैधानिकता आज पनि स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा अस्तित्वमा छ । जुनसुकै जातमा जन्मिएको भए पनि नेपाल आमामाथि बराबर अधिकार लाग्छ । हामी तल्लो जात र माथिल्लो जात भन्ने भावना हटाऔँ – हामी वंशियार र अंशियार हौँ भन्ने भावना जगाउन विद्यालयहरूमा प्रशिक्षणात्मक कार्यक्रमहरू गरिरहेका छौं । आउनुस् तपाईं हामी पनि छुवाछुत र विभेद हटाएर सहृदयतापूर्ण समाजको निर्माण गर्न योगदान गरौँ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको शुभकामना !

(सुशील गौतमको फेसबुकबाट साभार गरिएको )


प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार

धेरै पढिएको

ताजा समाचार