कर्णालीवासी कहिलेसम्म ठगिने हो ?


महेन्द्र मल्ल ठकुरी

आदरणीय मुगुवासी दाजुभाई तथा दिदीबहिनीहरू,
एकदमै वियोगमा यो लेख लेख्दै छु।

भावपूर्ण श्रद्धान्जली छ जसले चाडपर्वको यो समयमा दुर्घटनामा ज्यान गुमाउनुपर्यो । शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु जो अस्पतालमा रहन बाध्य हुनुहुन्छ।

आज म स्तब्ध छु । सारा देश दसैंको रौनकमा छ । मेरो गृह क्षेत्र कर्णाली शोकमा डुबेको छ । यो पहिलो घटना होइन र अन्तिम पनि हुनेछैन । सडकको दुरावस्था र यातायात क्षेत्रमा रहेको चरम सिण्डिकेटले फेरी पनि यस्ता घटना दोहोरिनेछन् । अरुलाई दसैं लागेको होला, मलाई मनमनै दशा लागेको छ । सहपाठी बितेका छन्, आफन्त बितेका छन् । हिजोसम्म ओई के छ भन्ने साथी बितेका छन् ।

मेरो लागि मात्रै होइन । मिति २०७८ असोज २६ गतेको बस दुर्घटना समग्र मुगुवासीका लागि कालो दिनको रुपमा रहेको छ । ३२ जनाले मृत्युवरण गर्नुपरेको छ । १३ जनाले अस्पतालमा बाँच्ने आशा गर्दै छन् । यस घटनाको मुख्य जिम्मेवारी केन्द्र तथा प्रदेश सरकारले लिनुपर्छ । वर्षेनी कर्णालीका सडकमा बस दुर्घटना र मानिसहरूको अकालमै मृत्युवरण गरिरहेका छन् । राजधानी तथा प्रमुख शहरमा अर्बौं खर्चेर भ्युटावर बनाउने नेपाल सरकारले कर्णालीको जीर्ण अवस्थाको सडक सुधारमा कहिल्यै ध्यान दिएको छैन ।

कल्पना गर्छु म आफै घर जादैं छु । कुर्दा कुर्दा बल्ल तल्ल बस गुड्छ । बस ड्राइभरको मनलाग्दी छ । बसमा थोरै यात्रु छ भने रोकेर बस्छ, अरुलाई हतार होस् नहोस् मतलब छैन । भेटिएको जति यात्रु खाँदेर हाल्छ, अरुलाई अप्ठेरो होस् नहोस् के मतलब । उसलाई पैसा आउँछ । बस भइगयो । परैबाट आफ्नो घर देख्छु । घर पुग्न ४/५ मिनेट मात्रै बाँकी छ । गमगढी पुग्न अझै केही समय बाँकी छ । बस छायाँनाथ रारा नगरपालिका वडा न. ७, पिनास्थित तपनेखोलामा पुग्छ । सडक साँघुरो छ । मोड्न कठिन छ । उताबाट अर्को सवारी आए, बस पछाडी गर्नुको विकल्प छैन । एक त साँघुरो सडक त्यसमाथि वर्षाको पानीले तल्लो भाग मक्केको छ । कुनै पनि बेला भासिन सक्छ ।

चालक साँघुरो सडक पार गर्न खोज्छ । छेउको पाङ्ग्रा जुन ठाउँबाट अघि बढ्दै छ, त्यो वर्षाको पानीले मक्किएको छ । पाङ्ग्रा भासिन्छ । बस अनियन्त्रित हुन्छ । अग्लो भीरबाट बस गुल्टिञ्छ । मेरो टाउको बसको छतको माथिल्लो डण्डीमा ठोक्किन्छ । म झल्यास्स हुन्छु । म बसमा छैन तर मेरो आङ्ग जिरिङ्ग हुन्छ । आफ्नो घर छायाँ रारानाथ नगरपालिका जाँदा बसमा यस्तो डरलाग्दो कल्पना मनमा आएको छ । तर यस पटक कल्पना गरेजस्तै घटना भएको छ । ३२ जना चिनेजानेकाले ज्यान गुमाएका छन् ।

देशमा नयाँ संविधान बनेको छ । स्थानिय निकाय, प्रादेशिक र संघिय संरचना बनेको छ तर मेरो घर जाने बाटो उस्तै छ । बाटोको अवस्था यस्तो जीर्ण छ कि कुनै पनि बेला दुर्घटना हुनसक्छ । नियमन गर्ने निकाय सुतेर बसेको छ या त यातायात क्षेत्रमा आफ्नै ज्वाईं र जेठानको लगानी भएको कारण चुप लागेको छ ।

दसैं हर्षोल्लासपूर्ण तरिकाले मनाउनुपर्ने हो तर यो घटनाले मेरो आङ्ग जिरिङ्ग गरेको छ । सडकको अवस्था र सिन्डिकेटको अवस्था यस्तै रहने हो भने म पनि अहिले नभएपछि यसैगरी भीरबाट गुल्टिएर मर्नेछु । हाम्रा कर्णालीका थुप्रै दाजुभाई दिदीबहिनी यसै गरी मर्नेछन्।

वर्तमान प्रदेश सांसद एवं केन्द्रीय सांसदले कर्णाली राजमार्ग अन्तर्गतको नाङ्ग्मा – मुगु सडक खण्डको विस्तार एवं स्तरोन्नति नै एकमात्र एजेण्डा हो भन्दै भाषण गरेको मेरो कानले पटक पटक सुनेको छु । यही भाषण गर्दै चुनाव जितेर पदभारको सपथ ग्रहण गरेको देखेको छु । कर्णालीवासी भीरबाट बस पल्टेर मृत्युवरण गर्न बाध्य हुने क्रम रोकिएको छैन । चुनाव जितेर गएपछि दुर्घटनापछि शोक वक्तव्य र प्रेस विज्ञप्ति अवश्य पढ्न पाइन्छ तर सडकमा सुरक्षित यात्रा गर्न पाइदैन।

अब फेरी समाचार आउनेछ । कर्णाली प्रदेशका मूख्य मन्त्रीले यस्तो भन्नुभयो, सांसदले त्यस्तो भन्नु भयो भनेर तर मुगुवासीले दिनुहुँ भोग्नुपर्ने यस्तो पीडा कम गराउन मैले यस्तो निर्णय गरें, यस्तो कार्य सुरु गरें भनेर आउँदैन । के हामी मुगुवासी तिमीहरूको भोट बैंक मात्रै हौँ ? हाम्रो जीवनको मूल्य छैन ? विकास बजेट खर्च गर्न नसकेर रकमान्तर गर्छौ तर हाम्रो सुरक्षित यात्रा गर्न पाउने अधिकारको लागि त्यहि रकम किन खर्च गर्दैनौ ? तिम्रा चुनावी एजेण्डा चुनावमा भोट माग्नको लागि मात्रै हो ? हे जनप्रतिनिधि भनौदाहरू हो, कति जुठो आश्वासन देखाउँछौ ? तिम्रो नजिकको आफन्त यो दुर्घटनामा बितेको भएको कस्तो हुन्थ्यो एकपटक सोंच । हामी जस्तै सार्वजनिक बसमा यात्रा गरेर खुकुरीको धारमा ज्यान राखेर हिंड, अनि बुझ्छौ वास्तविक कर्णालीवासीको पीडा।


प्रकाशित : २०७८ आश्विन २७, बुधबार

धेरै पढिएको

ताजा समाचार