जरो किलो महाअभियानको छैठौं संकल्प दिवस सम्पन्न


काठमाडौँ, २२ असोज । जरो किलो महाअभियानले घटस्थापनामा संकल्प दिवस मनाएको छ । २०७२ सालमा युगद्रष्टा डा. निर्मलमणि अधिकारीले सदम्पत्ति मौलिक प्रतिमानको पुनर्जागरणको लागि संकल्प लिनु भएको दिन पारेर तिथि अनुसार जरो किलो महाअभियानले घटस्थापनाको दिन पारेर संकल्प दिवस मनाउँदै आएको छ ।

यस वर्ष राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा जरो किलो महाअभियानका अभियानकर्ता, शुभचिन्तक तथा समर्थकहरुले विविध कार्यक्रमहरुको आयोजना गरी संकल्प दिवसलाई भव्यता पूर्वक मनाएका छन् । संकल्प दिवसको मुख्य कार्यक्रम जमल स्थित युग निर्माण समाज नेपालको सभा कक्षामा सम्पन्न भएको थियो ।

जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न सत्संगमा युगप्रवर्तनको मार्गमा कृतसंकल्पित रहनेमा उपस्थित सम्पूर्णले सामूहिक रुपमा संकल्प गरेका थिए । संकल्प सत्संगलाई सम्बोधन गर्नुहुँदै युगद्रष्टा डा. निर्मलमणि अधिकारीले छोटो समयमा जरो किलो महाअभियान देशविदेश सबैतिर फैलिएर अशा, अत्मीयता र आत्मविश्वको सम्वाहकको रुपमा अगाडि बढिरहेको बताउनुभयो । जरो किलो महाअभियानमात्रै मौलिक ऋषिहरुको, बुद्धहरुको, तिर्थंकरहरुको, तोन्पाहरु लगायतका मौलिक गुरुकुलको उत्तराधिकारीको रुपमा रहेको बताउनु हुँदै मौलिकताको पुनर्जागरणको नारा दिएर भ्रममा पार्ने समूहहरु पछिल्लो समय निकै बढिरहेको कारणले यसमा समयमै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

संकल्पकर्ता उर्मिला खनाल अधिकारीले ७२ सालमा दुईजना भएर संकल्प लिएको कुरा आज सबैतिर जरो किलो महाअभियानको रुपमा फैलिने क्रममा रहेकोमा खुसी लागेको बताउनु भयो । युगद्रष्टा गुरुको संकल्पलाई सार्थक बनाउन मौलिक प्रतिमानको मूलप्रवाहीकरणको लागि अझ धेरै सक्रियताका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । संकल्प दिवस सत्संगलाई सम्बोधन गर्नुहुँदै जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले संकल्प लिने मात्रै होइन संकल्प लिएको कुरालाई कार्यन्वयनमा लिने भनेर सबै अभियानकर्ताहरु कृतसंल्पित हुनुपर्नेमा जोड दिनु भयो । सत्संगलाई सम्बोध गर्नुहुँदै मौलिक जरोकिलो पार्टी अध्यक्ष सुशिल गौतमले नेपाली जनतालाई वैचारिक जालमा पारेर भ्रम छरिएको बताउँदै त्यसलाई चिर्ने संकल्प लिनुभयो ।

संकल्प दिवसमा सहृदयता समाज नेपालका अध्यक्ष तिलक प्रसाद लुइटेल, सनातन धर्म महासंघका महासचिव माधवप्रसाद लामिछाने, युगनिर्माण महिला समाज नेपालका उपाध्यक्ष चाँदनी वि.क. प्रगतिवादी युवा समाज नेपाल अध्यक्ष टेकराज कोइराला, जरो किलो प्रतिष्ठान नेपालका जेष्ठ सदस्य विष्णुमाया आचार्य, मौलिक जरोकिलो पार्टी समता विभाग संयोजक रामकृष्ण परियार, सहृदयता उद्यमशीलताका अध्यक्ष जोनसोन थापाले नेपाललाई समृद्ध र अग्रणी बनाउने संकल्प लिनुभयो ।

त्यसै गरी मौलिक जरोकिलो पार्टी लुम्बिनी प्रदेशका संयोजक प्रकाश श्रेठ, सहृदयता उद्यमशीलता, प्रबन्ध संचालक कृष्णराम प्रजापति, सहृदयता अन्तराष्ट्रियका सचिव राजन अधिकारी, नागरिक फाउण्डेशनका अध्यक्ष अरुण पौडेल, अखिल नेपाली विद्यार्थी संघका संयोजक भुवन खत्री, अखिल नेपाली युवा संघका संयोजक प्रविण बस्नेत, मौलिक जरोकिलो पार्टी महासचिव लिला बहादुर बानियाँ, मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष बलराम प्रजापति र मौलिक जरोकिलो पार्टीका केन्द्रिय सदस्य यमनाथ उपाध्यायले पनि युगद्रष्टाको संकल्पलाई साकार पार्ने संकल्प लिनु भएको थियो ।


प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार

धेरै पढिएको

ताजा समाचार