आयातित विचारको परिणाम


डिल्ली राम तिमिल्सिना

राजनीतिलाई सम्पूर्ण नीतिहरूको राजा मानिन्छ । आधुनिक राज्य प्रणालीमा राष्ट्रको सिमानाभित्र वा पुरानो जमानामा कुनै दर्शन, धर्म र विश्व दृष्टिकोण बोक्ने सांस्कृतिक समुहको आफ्नै राष्ट्रिय धर्म र संस्कृति रहेको हुन्छ । आजभोली नेपाली राजनैतिक बजारमा दिन दुईगुणा, रात चार गुणाले राजनैतिक दल, नेता र कार्यकर्ता बदनाम भएका छन् भने आम नागरिक निरास । प्रश्न उठ्छ किन होला ? उत्तर लगभग सबैलाई थाहा छ ।

राजनीति हाम्रो सोचाई, विचार , ज्ञान, दर्शन र भावाना अनुकुल छैन । हाम्रा ऋषिमुनि, पुर्खा र सामाजिक चिन्तकले हजारौंवर्षदेखि प्रयोगमा ल्याएको विचार हो सबैलाई समेट्ने, कसैलाई निषेध नगर्ने वा कसैलाई भेद नगर्ने । यो प्रणालीमा मानिसलाई पारिवारिक इकाईदेखि उसको व्यक्तित्व निर्माण गर्दै, समाज , राष्ट्र , वैश्विक अनि देवत्व ज्ञान दिंदै ब्रम्हत्वसम्म सम्म पुग्ने मार्ग प्रशस्त गरिएको छ । अहिले हाम्रो समाजमा पश्चिमा विचार घुसेर हाम्रो परिवार, समाज , देश र विश्व दृष्टिकोण प्रदुषित बनाएको छ । हाम्रो व्यवस्थामा पनि अहिले घुन पुत्ला लागेका छन् । हरेक सांस्कृतिक समूहमा केही कमजोरी पक्कै छन् । मूल प्रश्न के हो भने हाम्रो दर्शनले अरूलाई निषेध गर्ने खालको छ या समेट्ने ?

ऋग्वेददेखि अहिलेसम्मका हरेक सनातन पूर्वीय ग्रन्थको अन्तर्यमा अध्ययन गर्ने हो भने हामीले त्यस्तो विभाजन, भेद र घृणा भेटिन्न । हाम्रो संस्कारमा जब वर्ण व्यवस्थालाई जातीय व्यवस्थामा बदलेर शासन गर्ने प्रपन्च शुरु भयो । हाम्रा कुरा सबै ठिक भनेर पाखण्डी व्यवहार र आँचरण अँगाल्नु हुँदैन । त्याज्य कुरा जातीय व्यवस्था, बाल विवाह, छुवाछुत लगायत निश्चय नै लाई हटाउनुपर्छ नत्र त्यो कमजोरी ठहर्छ । अमानवीय वा मानिसको सर्वाङ्गिण विकास र प्रगति रोक्ने यस्ता व्यवस्था घातक छन् । अब हिजोको जस्तो तरबारको जमाना छैन, नैतिक बल र समन्वयकारी दर्शन र भूमिका जुन सभ्यतासंग छ त्यहि दीर्घकालिन रहन्छ । नेपालमा आजभोली राजनीतिक दुष्चक्र चलेको छ । सामान्य नागरिकलाई कुहिरोको काग बनाएर छट्टु स्यालहरू आफ्नै मात्र भुँडी भर्न व्यस्त छन् । प्रजातन्त्र वा लोकतन्त्र नामको दुर्व्यसनमा जनता भुलेर / भुलाएर आफ्नो कर्तव्य, भूमिका अनि वैचारिक धरातल भुलेका छौं । देशमा मत्स्य न्याय चलेको छ । आफुलाई समाजशास्त्री वा मानवशास्त्री भनेर पश्चिमाको हण्डी खाएका कथित मनुवाहरू पश्चिमको डार्बिन वा हर्बट स्पेंसरको जो अनुकुल हुन्छ उही बाँच्नुपर्छ भन्ने विचार प्रक्षेपण गर्दछन् । सनातन धर्मलाई बुझ्दै नबुझी केहि मानिसको समाजिक व्यवहारको आधारमा समग्र समाज नै ‘भाग्यवादी’ छ भन्ने जस्ता कुतर्क दिने पश्चिमाका मतियारलाई मानवशास्त्रका पिता मानेर चल्नुपर्ने शिक्षा नीतिले समाजमा राज गरेको छ ।

नेपाली कांग्रेस लगायत केही समाजवादी भन्ने दलको राजनीति “बहुतन्त्र” दर्शनमा हिडेको छ जहाँ ५१% भोट पाउनेले ४९% मतलाई निषेध गरेर प्रजातन्त्रको व्यापार गरेको छ । ५१% ल्याउनेले राज्यको दोहोन गर्ने ४९% ले विपक्षी बनेर राम्रै गरे पनि आलोचना गर्नुपर्ने राजनैतिक समाजीकरण प्रक्रिया छ । आफू जसरी पनि विजयी बन्ने प्रक्रियाले राष्ट्र र राष्ट्रियताको आत्मा, संस्कार र नैतिक बल गिरेको छ । व्यक्तिगत स्वतन्त्रताको नाउँमा हक अधिकार मात्र खोज्दा समाज बिल्कुल व्यक्तिकेन्द्रीत बन्दै गएको छ । त्यस्तै गरी नेपालका सर्वहारा, गरिब र निमुखाको दर्शन पनि पुरै आयातित, अमिल्दो र राष्ट्रले व्यक्तिको स्वतन्त्रता कुचल्ने खालको छ । सर्वहारा जनताले मालिक वर्गलाई शासन गर्नुपर्छ भन्ने दर्शन त झन् पुरै विभेदकारी, निषेध गर्ने अनि जताततै तथाकथित क्रान्ति र शोषण बाहेक केही देख्दैन । यति सम्मकी परिवारवादले गर्दा मानिसले सम्पति थुपार्न लागेका हुन् त्यसैले परिवार भन्ने इकार नै हटाउनुपर्छ , मानिसहरुलाई कम्युनमा राख्नुपर्छ । सन्तान पनि को कसको भन्ने थाहा दिनु हुँदैन भनेर झन्डै भेडी गोठ जस्तो विचार एंगेल्सले ” द ओरिजिन ओफ फ्यामिली, प्राइभेट प्रोपर्टी एंड द स्टेट” मा राखेका छन् । कम्युनिस्ट व्यवस्थामा पनि अनेकौं कमजोरी छन्, भए फलस्वरूप अहिले यो व्यवस्था पनि पूँजीवादी धारमा विलय हुन लागेको छ, विश्व व्यवस्था हेर्ने हो भने । त्यस्तै गरी कुरा गरौँ, राजावादी चिन्तकहरूको मेकियाबेली दर्शनले राजालाई कानून भन्दा माथि राखौं, राजाले जहिले पनि देश र जनताको हित गर्दछन भन्ने । त्यस्तै प्लेटोले राजा आफैंमा दर्शनशास्त्री हुनुपर्ने विचार व्यक्त गरेका छन् । राजावादी व्यवस्थामा पनि राष्ट्रियता मजबुत भएपनि जनताको विचार अनि फरक विचार र दृष्टिकोणलाई ठाउँ छैन ।

अब विचार राखौं, समधान के त ? कार्ल मार्क्सले भनेझैं , दर्शनशास्त्रीको काम समाजको व्याख्या वा आलोचना गर्नु मात्र मात्र गर्ने होइन समाजका समस्याहरूको सामधान गर्नु हो । समस्याको समाधान गर्ने उपाय खोज्न धरै टाढा जानु पर्दैन । हामीले राष्ट्रको पनि संस्कार र संस्कृती वा धर्म हुन्छ भन्ने मान्यता राख्दछौं । पश्चिमा जगतका केही देशले अहिले आफुलाई बहुधार्मिक देश भने पनि उनीहरुको राष्ट्रिय संस्कार विभाजनकारी, विभेदकारी र निषेध गरेर जाने अन्तर्निहित ढाँचामा छ । पश्चिमा राष्ट्रहरू बन्ने वेस्ट फ्यालियाको सन्धि हेर्नुस्, परिवार भित्रका श्रीमान श्रीमतीको अधिकार विभाजन गर्ने म्याग्नाकार्टा सन्धि हेर्नु कति विभाजनकारी र विद्वेष फैलाउने खालका छन् । हामीसंग हरेक कुरालाई आफ्नो माटो, देश, समाज, परिवेश सुहाउँदो बनाएर ग्रहण गर्ने विश्व दृष्टिकोण हाम्रा धर्म शास्त्र र पुर्खाले छोडेर गएका छन् । हाम्रा समाजमा रहेका हरेक विचार र दर्शनलाई समेट्न सक्ने ल्याकत राख्दछौं जुन हाम्रो राष्ट्र , समाज र परिवारको आत्मा हो ।

हामी कुन कुराले सबैलाई समेटेर जान सक्छौं ” बहुजन हिताय” वा “वशुधैव कुटुम्बकम्” ? मानिस मात्र नभई चराचर जगत लगायत सबैलाई हित हुने दर्शनको पुर्खाले छोडेर गएका छन्। जैन, बौद्ध , बोन , किराँत , हिन्दु धर्म दर्शनमा आधारित हाम्रो समाजमा समन्वय, आपसी भाइचारा , समावेशिता, विश्व बन्धुत्व, पारिवारिक जिम्मेवारी, कर्तव्यबोध, देश प्रेम, मानवता सबैको समिश्रण छ । यो मात्र नभएर सामाजिक हित गर्ने मुस्लिम र इशामसिका विचार पनि हामीले अपनाउन कुनै हिचकिचावट छैन । तर हामी बाहिरिया विचारलाई लिंदा यसले समाज र राष्ट्रको आत्मामा पार्ने असरको मुल्यांकन गर्नपर्ने हुन्छ । जसरी इन्डियामा दीन दयाल उपाध्याय लगायतले इन्डियन संविधानमा भएका पश्चिमा तत्व र भारतीय दर्शनको महत्वको बारेमा प्रवचन दिए । नेपालमा पनि निर्मलमणि अधिकारी लगायतले अहिलेको विश्वमा भइरहेको डार्बिनवादी ” व्यवस्थामा उपयुक्त हुने मात्र बाँच्ने” विचारलाई ‘कपूतन्त्र’ भन्ने नामकरण गर्दै सबलाई समेट्ने सामाजिक न्यायको लागि “राज्यराष्ट्र” सिद्धान्तको निर्माण गर्नु भएको छ ।

हरेक मानवका न्युनतम आवश्यकता समाजले पुरा नगर्ने वा बलिया बाङ्गाको मात्रै राज चल्ने हो भने हामी कसरी सामाजिक प्राणी हुन्छौं ? भन्ने गम्भीर प्रश्न उठाउनु भएको । समाधानमा, सहृदयी बनेर आफ्नो अन्य वर्ग, समूह साथै विश्वको सबैको हित गर्न सक्ने उच्चतम मानवीय दृष्टिकोण पस्कनु भएको छ । मलाई लाग्दछ, अहिलेका राजनैतिक समुह र चोर , गुन्डा वा कुनै नकारात्मक काम गर्ने समुहमा खासै के अन्तर छ र ? त्यहाँ पनि आफ्नो समुहको नाइकेको लागि काम गर्ने अनि समुहका सदस्यमा एकता र गोपनियता त रहन्छ नै । नयाँ संविधानले किन निकाश दिन सकेन त ? हेर्दा अत्यन्तै राम्रो देखिने हाम्रो देशको संविधान पश्चिमा विचारधारा, दर्शन र शिक्षा नीतिमा आधारित भएर बनाइएको छ। केही कुरा फ्रान्सका, केही कुरा रसियाका, अमेरिका , बेलायत र दक्षिण अफ्रिकाका संविधानको तानतुन पारेर बनाइएको पाईन्छ। यो संविधान कुराहरू बरु नेपालमा संचालित विदेशी गैह्र सरकारी निकायसंग मेल खालान् तर हाम्रो सनातन पूर्वीय दर्शनसंग कोसौं टाढा छन्। व्यक्ति एक स्वतन्त्र इकाई हो तर उसको अस्त्तित्व परिवार र समाजसंग जोडिएको हुन्छ । हामीसंग व्यक्तिलाई परिवारसंग, समाजसंग, राष्ट्रसंग अनि विश्वसंग जोड्ने सुत्र छ।

धर्म, अर्थ , काम र मोक्ष वैदिक मार्ग निर्देशन लगायत, कर्तव्य बोध, मानवता , नैतिकता , भाइचारा , सह-अस्तित्व, आपसी सहयोग, आपसी निर्भरता , सहृदयता नै व्यक्तिवादी समाज अनि राष्ट्रको थिचोमिचोबाट बच्ने राम बाण हुन् । इन्डियामा पनि यस्तै गरी बनाइएको संविधान ७२ चोटी संशोधन गरियो होला, यसले आम भारतीय जनताको हित गर्न सकेको छैन । न यो संविधानले छिमेकीसंग सुमधुर सम्बन्ध बनाउन प्रेणा दिएको छ। त्यस्तै नेपाल र नेपाल राष्ट्रको निर्माण प्रक्रिया नबुझी लहैलहैमा आएको संविधान कागजी रुपमा जति नै राम्रो भएपनि यसलाई चाँडो भन्दा चाँडो बिदाइ गर्नुपर्ने नै हुन्छ, किनकि यो विभाजनकारी छ । यो हाम्रो राष्ट्रको लागि एटम बम हो । यो संविधानको कोखमा हिनताबोध, संकट र विभाजन साथै बगरे प्रकृती छ। हाम्रो संस्कार , धर्म , दर्शन , मानवता अनि विश्व दृष्टिकोणसंग मेल नखाने अनि व्यक्तिलाई उच्चतम मानवीय विचार र ज्ञानको लागि छेकवार गर्ने ( कथित प्रजातन्त्र वा राज्य नियन्त्रित व्यवस्था ) /यो विभेदी छ,संकुचित छ, अधिकारको नाउँमा हामीलाई जुधाउने, टुक्राउने, फुटाउने अनि हाम्रो क्षमतामा ह्रास ल्याउने खालको । यसले हामीलाई परिवार, समाज, राष्ट्र अनि वैश्विक नागरिक बन्न दिंदैन । यो कुनै हालतमा हाम्रो सनातन पूर्वीय दर्शनसंग मेल खान्न । जय शम्भू !


प्रकाशित : २०७८ आश्विन २०, बुधबार

धेरै पढिएको

ताजा समाचार