स्थितिगत्यात्मक समाधानका लागि जरोकिलो महाअभियान


अर्विन धिताल

नेपाल रुपान्तरणको नयाँ युगमा प्रवेश गरिसकेको छ तर पनि सशक्त रूपले मौलिकता तथा आत्मगौरवका यावत पक्षहरूमा अझै पूर्ण रूपले आइसकेको छैन। नेपालको असली पहिचान चिन्न जति छिटो हुन्छ, पुनर्जागरणको गति त्यति नै तीव्र हुन्छ । नेपालको मौलिकता चिनाउने शक्तिहरू एकपछि अर्को गर्दै खडा हुँदै गएको समाचार पक्कै पनि सुखद संकेत हो । वैचारिक हिसाबले अहिले देशको इतिहास, मौलिकता र आत्मसम्मान प्राप्त गर्ने शक्तिहरू सतहमा देखापर्नुले राजनीति, शिक्षा, अर्थतन्त्र, समाजको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको अवस्थामा आशाको किरण पलाएको छ।

आफ्नो मुहान चिन्न सकेमा हामी संसारमा आफ्नो उच्च महत्व कायम राख्न सक्षम हुनेछौं । आफ्नो मुहान धेरै समयसम्म चिन्न नसक्नु हाम्रो लागि विडम्बना थियो तर अब टाढा रहेर दुषित भएकाहरू पनि छिट्टै मूलधारतिर फर्कने परिस्थिति बन्दैछ । यसमा हामी सबै सकारात्मक हुनुपर्छ । पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी ओलिले दिएका विचार अनि भर्खरै रविन्द्र मिश्रले व्यक्त गरेका चिन्तनहरूले पनि उनीहरूको भित्री हृदयमा मुलुकको जरोकिलोसंग अविच्छिन्न रहनुपर्दो रहेछ भन्ने बुझाईको रूपमा लिन सकिन्छ ।

नेपाली समाजको निर्माणको प्रक्रियालाई युरोपेली मताग्रह ( European ideology) को आधारमा विश्लेषण गर्नु ठिक होइन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको यसमा स्वीकारोक्ति देखिन्छ । यहि कुरा युगद्रष्टा गुरु डा. निर्मलमणी अधिकारी ज्युले लामो अनुसन्धान पश्चात् हामीलाई भन्दै आउनुभएको कुरा हो । ढिलै भएपनि कम्युनिस्ट पृष्ठभुमीका राजनीतिज्ञले यस किसिमको विचार व्यक्त गर्नुमा युगद्रष्टा गुरुको प्रभावको देखिन्छ । त्यस्तै नयाँ खुलेका पार्टीहरू पनि मौलिकताको पक्षमा खुलेर लागेको देखिन्छन् । यसलाई जरो किलो महाअभियानको वैचारिक जितको रूपमा लिनुपर्छ । सुरु भलै जरो किलो महाअभियानले गरेको भएता पनि वास्तवमा यो नेपालको सभ्यता, संस्कृति र आफ्नोपनको जित हो ।

तर यो सुरुवात मात्रै हो । यात्रा अझै लामो छ । हाम्रो देश कुनै एक जात, कुनै एक भाषा, कुनै एक नश्ल मात्रै मिलेर बनेको राष्ट्र होइन । सैयौं भाषा, जाति, प्रजाति, सम्प्रदायहरू आपसमा अन्तरघुलित भएर युगौँदेखि एकीकृत र सहृदयतामा बसिरहेका छौं । युरोपेली एकल जातिय राज्य, द्विराष्ट्रिय राज्य वा बहुराष्ट्रिय राज्यको अवधारणामा नेपाल बनेको होइन । त्यता लागू गरिएका गतार्थ अवधारणाको चस्मा लगाएर नेपाली राष्ट्रियताको विश्लेषण गर्नु घातक हुन्छ । मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले कैयौं भिडियोहरूमा पटक पटक यो कुरा बताउनुभएको छ ।

गोराले गरेको सबै विज्ञानसम्मत हुन्छ भन्ने नेपालमा गलत मानसिकता हावी रहेको हुँदा अझै पनि नेपालको राष्ट्रियताको बारेमा नेपालको मौलिक सिद्धान्त अर्थात राज्यराष्ट्र सिद्धान्तको आधारमा व्याख्या गर्ने, बुझ्ने र सम्भाव्य समस्याको समाधानको लागि तयार हुने जनशक्ति निर्माण भइसकेको छैन । युरोपमा पानी पर्दा नेपालमा छाता ओढ्ने फोटोकपीधारीहरूले नेपालको राष्ट्रियताको सम्बन्धमा दिग्भ्रमित गर्ने कार्य जारी राखेका छन् । आफ्नो मौलिक सिद्धान्त चटक्क छोडेर गतार्थ युरोपेली मान्यतामा हिंड्न खोज्दा युगोस्लाभियादेखि इथियोपियासम्मको हविगत हाम्रो समाजले भोग्नुपर्ने हुनसक्छ भनेर चेतना नपलाउने हो भने हाम्रो अवस्था चुंडिएको चङ्गाको जस्तो अवस्था हुन्छ । जताबाट हावा चल्छ त्यसैको आधारमा बतासिने । न आफ्नो गति, न गन्तव्य ।

त्यसैले त मुहानसंग हामी आज धेरै टाढा भएका छौं । धर्म, संस्कृति, ज्ञान, शिप, कर्तव्य, नीति, नैतिकता, प्रज्ञा, विश्वदृष्टिकोण जस्ता हाम्रा मौलिक चिन्तन हुने विषय ओझेलमा परेका छन् । गतार्थ एवं असान्दर्भिक विदेशी वादलाई लाद्ने प्रवृत्तिले गर्दा आज यी ओझेलमा परेका छन्।

हो, हाम्रो समाजमा समस्या छन् । समस्या यहि समाजमा खडा भएको हो भने समाधान पनि यहि समाजबाट खोजिनुपर्छ । समाधानको बाटोमा अघि बढ्ने हुनुपर्छ ।
समाधानको बाटो यथास्थितिवादी, हिजोवादी, अराजकतावादी, प्रतिक्रियावादी, ध्वंशवादी, पराईवादी होइन । तिनीहरूको पक्ष वा विपक्षमा अल्मलिनु हुँदैन हामी ।
समाधानको बाटो स्थितिगत्यात्मक हुनुपर्छ । स्थितिगत्यात्मक समाधानले नै आफ्नो पहिचानसंग पनि जोड्छ र समाधानका नयाँ बाटाहरू पहिल्याउन पनि मद्दत गर्छ । पुरानैसंग मात्र जकडिएर बस्नु पनि उचित होइन र नयाँ नयाँ भन्दै बतासे जस्तो अस्तित्व बनाउनु पनि हुन्न । पुरानो र नयाँको समूचित संयोजन नै स्थितिगत्यात्मकता हो ।

वर्तमान नेपालको संविधानबाट मुलुकमा व्याप्त समस्याहरूको समाधान गर्न सकिदैन भन्ने कुरा घाम जस्तै छर्लंङ्ग भइसकेको छ । अझै पनि छन् त्यस्ता जो यहि संविधान नै च्यापेर केही होला कि भनेर लागिपरेका छन् । ढिलो चाँडोको कुरा हो, सत्य कुरा तिनीहरूले पनि बोध नगरी सुखै छैन । जति चाँडो बुझ्न र बुझाउन सकियो, निकास त्यति नै चाँडो निस्किन्छ । तर संविधानमा देखिएको समस्या समाधान गर्न २०४७ साल वा २०१९ साल वा त्यो भन्दा अगाडी नै संविधान नै ठिक भनेर हिजोवादी चिन्तन गर्ने हो भने समस्याको समाधान होइन, हिजोमै रुम्मलिनु बाहेक अरु उपाय हुँदैन । नेपालमै जरो (मूल) र नेपालमै किलो (केन्द्र) भएको स्थितिगत्यात्मक संविधानले मात्रै नेपाललाई समाधान दिन सक्छ । नेपालको सभ्यता, संस्कृति, मौलिकतामाथि गर्व गर्न सकिने वातावरण निर्माण गर्छ । नेपाललाई समृद्ध, शान्त र सुखी बनाउन नेपाल केन्द्रीत संविधान अपरिहार्य भइसकेको छ।

जरो किलो महाअभियानले यसको अग्रसरता लिइसकेको छ । नेपाललाइ यस दिशाहिन जर्जरताबाट मुक्त गराउन, अहिलेको पराजित मानसिकताबाट माथि उठाई परिवर्तनको लागि हिम्मतिलो बनाउन, देशको परम्परा, संस्कृति र सभ्यताको रक्षा गर्न कूल र मूल सुहाउँदो शिक्षा, अर्थतन्त्र, राजनीति, समाज, शासन व्यवस्था, नेतृत्त्व पद्धति एवं संगठन पद्धति सहित पूर्ण प्रतिमान परिवर्तनको दिशामा जरो किलो महाअभियान अघि बढिसकेको छ । जति बढी होस्टेमा हैंसे गर्न सकियो, नेपालको गौरव त्यतिनै चाँडो स्थापित हुने हो। आउनुस्, हातेमालो गरौँ।

अघि बढौँ यो युग हाम्रो हो ।


प्रकाशित : २०७८ आश्विन १८, सोमबार

धेरै पढिएको

ताजा समाचार