ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल पुस्तक लोकार्पण (भिडियो सहित)


काठमाडौँ, ५ असाेज । जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक असाेज ४ गते लोकार्पण गरिएको छ ।

जरो किलो प्रतिष्ठान नेपालको कार्यालय जमलमा आयोजित लोकार्पण कार्यक्रममा प्रतिष्ठाका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारी, पुस्तकका लेखक प्रा.डा. विद्यानाथ कोइराला र समीक्षकद्वय डा. गोविन्दशरण उपाध्याय र डा. जानुका पौडेलले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भएको थियो ।

लोकार्पण कार्यक्रमका सभापति तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरण हेतु गरिरहेका विभिन्न कार्यहरु मध्ये मौलिकतामा आधारित पुस्तकहरुको प्रकाशन प्राथमिकताका साथ गरिरहेको बताउनुभयो । विविधता नेपालको मौलिकता भएको र विविधतामा सहृदयताको सम्बन्ध हुनु नेपाली समाजको मौलिक विशेषता भएको डा. अधिकारीले बताउनुभयो । आयातित अवधारणाहरुले नेपालको मौलिक विशेषतालाई समस्याका रुपमा देखाएको कारण मौलिक अवधारणाहरुको मूलप्रवाहीकरण गरेर नेपाली नेपाली बिचको सहृदयतालाई सदृढ गर्नुपर्ने बताउनुभयो ।

पुस्तकका लेखक प्रा.डा. विद्यानाथ कोइरालाले नेपालका विभिन्न ज्ञान परम्पराहरुको बारेमा विद्यार्थी तथा सर्वसाधारणले जानकारी पाऊन् भनेर पुस्तकको तयार पारिएको बताउनुभयो । पुस्तक आफैमा नेपालका मौलिक ज्ञान परम्पराको बारेमा पूर्ण ज्ञान नभएर नेपालको मौलिकतामा रहेको ज्ञान भण्डार तर्फ लम्कन प्रेरित गर्ने कडीको रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

पुस्तकको समीक्षा गर्नुहुँदै डा. गोविन्दशरण उपाध्यायले नेपालका विविध क्षेत्रको ज्ञानलाई एकत्रित गरेर संक्षेपमा प्रस्तुत गर्नु प्रशंसनीय कार्य भएको बताउनु भयो । पुस्तकमा नेपालका तराई, पहाड र हिमाल सबै क्षेत्रका मूलभूत ज्ञानपरम्परा र पद्धतिका कुराहरु समट्न प्रयास भए पनि यसलाई अझ समावेसी बनाउन सकिने बताउनुभयो ।

अर्का समीक्षक डा. जानुका पौडेलले पुस्तकमा सबै नेपालीले जान्नै पर्ने र धेरैले जान्न नपाएका, पाठ्यक्रममा नअटाएका ज्ञानका कुराहरु, दर्शनका कुरा, व्यक्तित्वहरुका कुरा समेटिएको बताउनुभयो । पुस्तकका नेपालको सबै क्षेत्रका सामाजिक व्यक्तित्व, भाषा, कला तथा साहित्य क्षेत्रका व्यक्तित्व, धर्म दर्शनका ज्ञानहरुका साथसाथै राजनीतिक व्यक्तित्वहरुको बारेमा अत्यन्तै सरल तरिकाले व्याख्या भएको बताउनुभयो ।

कार्यक्रममा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक सदस्यहरु बलराम प्रजापति र नम्रता उप्रेतीले पनि नेपालको मौलिकताको पुनर्जागरणका विविध आयामबारे प्रकाश पार्नुभयो । जरो किलो प्रतिष्ठान नेपालले प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘उपनिषद्मा विज्ञान’ पुस्तक पनि प्रकाशन गरेको थियो ।

 

 


प्रकाशित : २०७८ आश्विन ५, मंगलवार

धेरै पढिएको

ताजा समाचार