रानाथारूको पहिचान


२००९ मा लागू भए तापनि रानाथारू जातिले २०२७ तिर मात्र नागरिकता प्राप्त गरेको पाइन्छ । तत्पश्चात् २०३२ सालतिर गाउँगाउँमा टोली गएर अस्थायी नागरिकता वितरण गरेको पाइन्छ । त्यस भन्दाअघि नागरिकता नभए पनि जग्गा खरिदबिक्री गर्न सकिन्थ्यो । राजनीतिमा भाग लिनुपर्दा मात्र नागरिकताको आवश्यकता हुन्थ्यो । रानाथारूको पूर्वजहरू प्राकृतिक श्रोतहरूको उपलब्धता हेरेर विना रोकटोक बसाई सराई गरिरहन्थे । औलो, हैजा, बिफरजस्ता प्राण घातक महामारीसँग सामना गर्दै स्थान परिवर्तन गरिरहन्थ्यो रानाथारू जाति ।

पृष्ठभूमि
नेपालमा कन्चनपुरदेखि झापासम्म विभिन्न ७६ भन्दा बढी थारूहरूको जातिमध्ये रानाथारूको आफ्नै संस्कृति, भाषा, लिपि, रितिरिवाज भएकोले ६०औँ जनजातिको रूपमा सूचीकृत भएको छ । रानाथारूहरूको भारतको खिरी, उत्तराखण्ड जिल्लामा पनि बसोबास रहेको पाइन्छ । भौगोलिक हिसाबमा नेपालका थारूलाई तीन भागमा वर्गीकरण गरिएको छ, डँगरा, चितौनिया र मोरंगिया । वास्तवमा थारू कुनै जात होइन, भारतीय शासक अकबरको जीवनीमा “तराईबाट कर असुल गर्ने गरेको” उल्लेख छ । मुगलपछि इष्ट इण्डिया कम्पनी आयो । अङ्ग्रेजहरूले तराईलाई ‘थराइ’ भनेर उच्चारण गरेको र थराइमा बस्ने ‘थारू’ हुन गएको पाइन्छ (इतिहासविद् डा. नरेश सिं राणा) । राजनीतिक नक्सा परिवर्तन भएपनि थारूहरूको बसोबास यथास्थानमा प्राचीनकालदेखि नै छ । (राजाराम सुवेदी, १२) यसरी तराईबासी सबैले थारूको उपमा पाएको देखिन्छ ।
रानाथारूको पहिचान उसको अभिवादन गर्ने तरिकाबाट थाहा हुन्छ । रानाथारू महिला–पुरुष जो सुकैले भेट्ने बित्तिकै ‘रामराम’ भनेर अभिवादन गर्छन् । आफ्नो नाता पर्ने व्यक्तिसँग रामराम गर्दा खेरि झुकेर पाउ छुने र सम्बन्धित नाता उच्चारण गरेर रामराम भन्छन् । जस्तै “रामराम भैया रामराम” । रानाथारू सामान्यतः मझौला कदका गहुँगोरा हुन्छन् । उनीहरू सरल व्यवहारका हुन्छन् । सभा, बैठक वा पारिवारिक जमघटमा कोही व्यक्ति फुर्तीफार्ती गर्ने, उफ्रिने, चञ्चल स्वभावका छन् भने तिनलाई अभद्र मानिन्छ । गम्भीर स्वभावको, वाद–विवाद नगर्ने रानाथारूको पहिचान हो । रानाथारूको परिवार अधिकांश संयुक्त किसिमको हुन्छ । जसमा घरमूलीलाई ‘मुखिया’ भनिन्छ । घरको सम्पूर्ण बाहिरी कामको चाँजोपाँजो मुखियाले नै गर्छन् भने बाँकी काम घरको सदस्यले नै गर्छन् । घरको काम गर्दा पनि मुखियाले नै नेतृत्व गर्छन् । घरको सदस्यको चाहना अनुसार काम गर्न नसकेमा मुखिया परिवर्तन पनि हुन्छ ।
वर्णाश्रमभित्र रानाथारू अटाउँदैन् । विक्रम सम्वत् १९१० मा मुलुकी ऐन जारी गरिसकेपछि श्री ३ जङ्ग बहादुर राणाले रानाथारू जातिलाई पानीचल्ने मतवाली जातिको रूपमा वर्गीकरण गरेको पाइन्छ । जातीय हिसाबमा रानाथारू कसैसँग पनि विभेद गर्दैनन् । रानाथारूहरू पार्वती, कृष्ण, राम, शिवको पूजा गर्छन् । कामको विभाजन गर्दा उमेर अनुसार गरिन्छ । गहुँगो काम वयस्कले, केटाकेटी–बुढापाकाले गाई, बाख्रा चराउने गर्छन् । अप्ठ्यारो काम पुरुषले गर्छन् भने घरभित्रको काम महिलाले गर्छन् ।
खाना पकाउनुभन्दा पहिले भान्सामा लिपपोत (चौका) गरिसकेपछि बाहिरको मान्छेलाई प्रवेश गर्न दिइँदैन । भान्साबाट निक्लेको जुठो थाली पुनः भान्सामा लगिन्न । भान्सा भन्दा अघि मझेरीमा राखेर खाना थप्न सकिन्छ । पुरुषले घर भित्र–बाहिर, खेत, जङ्गलमा जहाँ पनि खाना खाँदा हुन्छ तर महिलाले खाना भान्सामा नै खाने चलन छ, महिलाले घर बाहिर खाना खाएमा घरको देवता रिसाउने मान्यता छ, किनकि घरमा देवतालाई पूजा गर्ने जिम्मा महिलाको नै हुन्छ । विवाहित छोरी मान्छे माइतीको कोला (पूजा कोठा) भित्र प्रवेश गर्न हुँदैन ।
रानाथारू जातिमा काम भनेको शारीरिक कामलाई मात्र बुझिन्छ । काम नगर्ने कुरा मात्र गर्ने मानिसलाई हेला गर्छन् रानाथारू सामाजमा ।
२.१ नेपालको इतिहासमा रानाथारू
रानाथारूको बासस्थान, जीवनशैली तथा पहिरनबाट के अनुमान लगाउन सकिन्छ भने यिनीहरू कुनै युद्धबाट परास्त भएर अनकन्टार जङ्गलभित्र लुकेर बसेका क्षेत्रिय जस्तो देखिन्छ । मध्ययुग कालसम्म राज्यको सम्पर्कमा नआएको हुँदा नेपालको इतिहासमा रानाथारूको बारेमा त्यति चर्चा गरेको पाइँदैन । प्राचीन नेपालमा तत्कालीन कर्णाली राज्य (सिन्जा), नेपाल राज्य(काठमाडांै) र (सिम्रौनगढ) मगध राज्य गरी तीन राज्यद्वारा शासित थियो । रानाथारूको बारेमा कर्णाली राज्य (डोटी राज्य), मगध राज्य कसैले पनि उल्लेख गरेको पाइँदैन । सर्वप्रथम १६ औँ प्रधानमन्त्री जुद्धशम्शेर जबराको पालामा (सन् १९३२) कैलाली, कञ्चनपुरमा सरकारको सवारी हुँदा व्यवस्थापन गर्नको लागि रानाथारू पनि सामेल भएको पाइन्छ । प्रथम नेपालको नागरिकता ऐन विक्रम संवत् २००९ मा लागू भए तापनि रानाथारू जातिले २०२७ तिर मात्र नागरिकता प्राप्त गरेको पाइन्छ । तत्पश्चात् २०३२ सालतिर गाउँगाउँमा टोली गएर अस्थायी नागरिकता वितरण गरेको पाइन्छ । त्यस भन्दाअघि नागरिकता नभए पनि जग्गा खरिदबिक्री गर्न सकिन्थ्यो । राजनीतिमा भाग लिनुपर्दा मात्र नागरिकताको आवश्यकता हुन्थ्यो । रानाथारूको पूर्वजहरू प्राकृतिक श्रोतहरूको उपलब्धता हेरेर विना रोकटोक बसाई सराई गरिरहन्थे । औलो, हैजा, बिफरजस्ता प्राण घातक महामारीसँग सामना गर्दै स्थान परिवर्तन गरिरहन्थ्यो रानाथारू जाति ।
आधुनिक युगमा पनि रानाथारू बस्तींमा सरकारको उपस्थिति थिएन । प्रहरी प्रशासन नहुँदा चोरी डकैतीको समस्या थियो । जन–धनको सुरक्षा थिएन । कैलाली–कञ्चनपुरको लागि एक जना बडाहाकिम बस्नु हुन्थ्यो । उहाँको सुरक्षाको लागि केही प्रहरी हुन्थे, प्रहरीको निशानीको रूपमा टोपीमा रातो–सेतो दुईटा सानो कपडाको टुक्रा झुण्ड्याइएको हुन्थ्यो ।
रानाथारूको बासस्थान जङ्गल, नदीको किनारमा हुन्छ । सुरक्षाको व्यवस्था थिएन । भारतबाट आएर मुसलमानहरू कुनै बेला पनि डकैती गर्न सक्ने खतरा थियो । दिउँसो महाजन भएर काम गर्ने राति नकाबधारी बनेर लुटपाट गर्थे मुसलमानहरू । स्वास्थ्यको प्रबन्ध नभएकोले हजारौँ आमा–शिशुहरू अकालमै यस धर्तीमा पुरिएका छन् । अहिलेको कोरोनाभन्दा खतरनाक महामारीसँग जुधेर यस कैलाली–कञ्चनपुरको माटोलाई अँगालेर बसेको भूमिपुत्र हुन् रानाथारू ।
घामपानी, हिलो, शीत केही प्रवाह नगरी आफ्नो किसानको धर्म पालना गर्दै कहिल्यै नथाकेर एकोहोरो यो पवित्र धर्तीमा हलो जोतिइरह्यो । वर्षात्मा हिलो नै हिलो भएको अवस्थामा सबैजना ओभानो स्थान खोजिरहेको बेलामा, रानाथारू माटो–पानीसँग कुस्ती खेल्दै खेतमा काम गरेर नेपालको इतिहासमा किसानको रूपमा पहिचान बनाएको छ ।

पदम राना

(प्रकाशोन्मुख पुस्तक भूमिपुत्र ‘रानाथारूको इतिहासको’ अंश)


प्रकाशित : २०७८ भाद्र २६, शनिबार

धेरै पढिएको

ताजा समाचार