तन्त्रसाधनामा त्रिविध आचारको व्यवस्था


माधवप्रसाद लामिछाने
(विद्यावारिधि)
उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय,
पूर्वमीमांसा तथा तन्त्रविभाग,
वाल्मीकि विद्यापीठ

विषयप्रवेश
तन्त्रसाधनामा मूलतः दक्षिणाचार, वामाचार र कुलाचार गरी तीन प्रकारका आचारहरूको व्यवस्था गरेको पाइन्छ । यी तीन प्रकारका आचारहरू क्रमशः पशुभाव, वीरभाव र दिव्यभावका आधारमा व्यवस्थित भएका हुन् । प्रस्तुत लेखमा तन्त्रसाधनामा व्यवस्था गरिएका तिनै आचारहरूको बारेमा चर्चा गरिन्छ ।

दक्षिणाचार
श्रुतिस्मृति अनुकूलको आचार नै दक्षिणाचार हो । दक्षिणामूर्तिले सर्वप्रथम यस आचारअनुसार साधना गरेकाले यसको नाम दक्षिणाचार रहन गएको हो भन्ने वचन पाइन्छ । दक्षिणाचारलाई पश्वाचार पनि भनिन्छ । पशुभावमा स्थित साधकहरूको आचार भएकाले यसलाई पश्वाचार भनिएको हो । तन्त्रशास्त्रमा व्यक्तिलाई पशुभावापन्न बनाउने पाश आठ प्रकारको बताइएको छ । कुलाणर्वतन्त्रमा भनिएको छ —
घृणा शङ्का भयं लज्जा जुगुप्सा चेति पञ्चमी ।
कुलं शीलं तथा जातिरष्टौ पाशाः प्रकीर्तिताः ।। (१३ उल्लास ९० श्लोक)
अर्थात् घृणा, शङ्का, भय, लज्जा, जुगुप्सा, कुल, शील र जाति यी आठ प्रकारका पाशहरू हुन् । यिनै पाशहरूले बाँधिएको अवस्थामा जीवले आफूलाई शिवभन्दा भिन्न ठान्छ । यिनै पाशहरूलाई साधनाद्वारा काट्तै शिव वा पराशक्तिका साथ आफ्नो अभिन्नता बोध गर्नु नै साधनाको चरम लक्ष्य हो । जबसम्म साधक पशुभावले बाँधिएको हुन्छ तबसम्म उसले पश्वाचारकै अवलम्बन गर्नु श्रेयस्कर हुन्छ । उदाहरणका लागि जेलमा रहेका कैदीहरूले जेलका नियमहरूको पालना गर्नु नै उनीहरूका लागि श्रेयस्कर हुन्छ अन्यथा उनीहरूले थप कष्ट भोग्नुपर्ने हुन जान्छ । जबसम्म साधकमा पशुभाव विद्यमान रहन्छ तबसम्म उसले पशुभावभन्दा भिन्न तरिकाले उपासना गर्नै सक्तैन । पशुभावरूपी पाशलाई नछिनालेसम्म शक्तिसाधनाको यात्रामा दोस्रो सिँढीका रूपमा रहेको वीरभाव र उक्त भावअनुसार व्यवस्थित वामाचारमा उसले पाइला टेक्नै सक्तैन । अतः पशुभावमा रहेर साधना गर्दै जाँदा जब उसमा निहित पशुत्वको जालो नष्ट हुन्छ तब ऊ शक्तिसाधनाको यात्रामा वीर कहिन्छ । त्यतिखेर उसको आचार वीराचार वा वामाचार बन्न पुग्छ । अतः तन्त्रशास्त्रमा साधनाको प्रारम्भिक सोपानका रूपमा पशुभावलाई ग्रहण गरिएको छ । पशुभावमा स्थित साधकहरूको आचारका रूपमा व्यवस्थित दक्षिणाचार वा पश्वाचारमा साधकले सेतो वणर्को देवताको ध्यान, त्रिकाल सन्ध्या एवं देवपूजन, वेदपुराण आदि शास्त्रमा श्रद्धा, नित्य श्राद्ध, ब्रह्मचर्यको पालना, आत्मप्रशंसा र परनिन्दाको त्याग आदि आचारहरूको कट्टरतापूर्वक पालना गर्नुपर्ने उपदेश दिएको देखिन्छ (मेरुतन्त्र, ७।५—१०) । दक्षिणाचार वा पश्वाचारका सभावपश्वाचार र विभावपश्वाचार गरी मूलतः दुईवटा भेद रहेका छन् । सभावपश्वाचारमा पञ्चमकारको प्रयोग सर्वथा निषिद्ध मानिन्छ । कुलाणर्वतन्त्रमा भनिएको छ —
अनाघ्रेयमनालोक्यमस्पृश्यञ्चाप्यपेयकम् ।
मद्यं मांसं पशूनान्तु कौलिकानां महाफलम् ।। (२ उल्लास १२४ श्लोक) ।
अर्थात् सभाव पाशवकल्पका साधकहरूले मद्य र मांस सुँघ्न, हेर्न, स्पर्श गर्न र पिउन वा खान वर्जित छ । त्यही कुरा दिव्यभावमा स्थित कौल साधकका लागि भने महाफलप्रद मानिन्छ । सभावपाशवकल्पका साधकहरूका लागि मद्य वा सुराको दर्शनादि दोषनिवृत्तिको उपाय कुलाणर्वतन्त्रमा यस्तो बताइएको छ —सुरादर्शनमात्रेण कुर्यात् सूर्यावलोकनम् ।
तत्समाघ्राणमात्रेण प्राणायामत्रयं चरेत् ।।
आजानुभ्यां भवेन्मग्नो जले चोपवसेदहः ।
ऊध्र्वं नाभेस्त्रिरात्रन्तुमद्यस्य स्पर्शने विधिः ।।
सुरापाने कामकृते ज्वलन्तीं तां विनिक्षिपेत् ।
मुखे तथा विनिर्दग्धे ततः शुद्धिमवाप्नुयात् ।। (२ उल्लास १२७—१२९ श्लोक) ।
अर्थात् सुरा देखियो भने मात्रै पनि सूर्यको दर्शन गर्नुपर्छ, त्यसको गन्ध नाकमा पर्‍यो भने तीन पटक प्राणायाम गर्नुपर्छ तथा शरीरको घुँडादेखि तलको भाग पानीमा डुबाएर दिनभरि उभिनुपर्छ, सुराको स्पर्श गर्‍यो भने नाभिदेखि तलको भाग पानीमा डुबाएर उपवासपूर्वक तीन रात उभिनुपर्छ, सुराको सेवन गरेमा सुरालाई उमालेर मुखमा कोचिदिनुपर्छ । सो उम्लिएको सुराले मुख डढेपछि मात्रै मद्यसेवनको दोष
हट्तछ । यहाँ मद्य उपलक्षणका रूपमा आएको छ । मद्यका साथै मांस, मत्स्य, मुद्रा र मैथुनसमेत सभावपाशवकल्पका साधकहरूका लागि निषिद्ध ठहर्दछ । ब्रह्मचर्याश्रममा रहँदासम्म द्विजहरूले सभावपाशवकल्पबाट उपासना गरी गृहस्थाश्रममा प्रवेश गरेपछि शाक्त दीक्षा लिएर विभावपाशवकल्पबाट उपासना गर्नुपर्ने हुन्छ (ज.ब.रा., वि.सं. २०२०, पृ. ११२) । अतः ब्रह्मचर्याश्रममा रहँदासम्म द्विजहरूले वेदमाता गायत्रीको मात्रै उपासना गरे पुग्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
विभावपश्वाचारमा भने पञ्चमकारको अनुकल्पीय प्रयोगद्वारा उपासना गरिन्छ । वेदोक्त मार्गबाट मद्य, मांस आदिको प्रतिनिधिस्वरूप अनुकल्पीय द्रव्यको प्रयोग गरी इष्टदेवताको पूजा गर्नु नै विभावपश्वाचार हो (ज.ब.रा., वि.सं. २०४६, पृ. ९) । विभावपश्वाचारमा खजूरीको रस, गाई र भैँसीको दूधमा चाकु र पानको पातको धुलो मिलाएर पकाएको झोल, घिउमा नुन हालेर पकाएको आमान्नको तरकारी मद्यको अनुकल्प हुन्छ । गहुँ, हलेदो, अदुवा, सेतो तिल, शरद्कालमा पाक्ने अन्नको बिउ, रातो अन्नको बिउ र कुभिन्डो मांसको अनुकल्प हुन्छ । पोलेको नरिवल, बेल, अमला वा हर्रो मत्स्यको अनुकल्प हुन्छ । नुन र पानी नहाली भुटेको अन्नको बिउ मुद्राको अनुकल्प हुन्छ । विभावपश्वाचारमा मैथुनको अनुकल्पीय बाह्य द्रव्य नहुने भएकाले आफ्नो सहस्रारचक्रमा शिवशक्तिको समन्वय सम्झेर शिवशक्तिको सामरस्यजन्य अमृतले परदेवतालाई तर्पण गर्नु मैथुनको अनुकल्प हो (ज.ब.रा., वि.सं. २०२०, पृ. ११४—११५) ।
पश्वाचार वा दक्षिणाचारमा द्वैतभावको प्राधान्य रहने भएकाले यस आचारको अवलम्बनद्वारा गरिने पूजाउपासना अपरापूजाको कोटीमा पर्दछ । पशुभावअनुसार पश्वाचार वा दक्षिणाचारको अवलम्बन गरी उपासना गर्दै गएपछि पशुभावका बन्धनहरू शिथिल बन्दै जान्छन् । साधक सदा प्रसन्न, सन्तुष्ट, निद्र्वन्द्व, मात्सर्यरहित, कुलसम्बन्धी ज्ञानमा तत्पर, शान्त, कालीभक्त, कुलज्ञानको चर्चा गर्दा आनन्दातिरेकका कारण रोमाञ्चित हुने, हर्षले गद्गद् स्वर हुने, खुसीको आँसु खस्ने आदि लक्षणले युक्त बन्न पुग्छ । यी लक्षणहरू उत्तम कौलिकका लक्षणहरू हुन् । यसै प्रसङ्गमा कुलाणर्वतन्त्रमा भनिएको छ—
निवृत्तदुःखसन्तुष्टा निद्र्वन्द्वा गतमत्सराः ।
कुलज्ञानरताः शान्तास्त्वद्भक्तास्ते च कौलिकाः ।।
अमदक्रोधदम्भाशाहङ्काराः सत्यवादिनः ।
कौलिकेन्द्रा ह्यपचला ये नेन्द्रियवशानुगाः ।।
कीत्र्यमाने कुले येषां रोमाञ्चो गद्गदस्वरः ।
आनन्दाश्रु पतेद्देवि कथिताः कौलिकोत्तमाः ।। (९ उल्लास ८४—८६ श्लोक) ।
उपर्युक्त लक्षणहरूले साधक वीरभावमा आरूढ भएको जनाउँछन् । यसपछि उक्त साधकको साधना वीरभावमा व्यवस्थित वामाचारबाट प्रारम्भ हुन्छ ।

वामाचार
वीरभावमा आरूढ साधकहरूले अवलम्बन गर्ने आचारलाई नै वामाचार भनिन्छ । वाम अर्थात् श्रेष्ठ आचार भएकाले यसलाई वामाचार भनिएको हो । निरुक्तमा ‘वाम’ शब्दको अर्थ ‘प्रशस्य’ भन्ने दिइएको छ —अस्रेमा, अनेमा, अनेद्यः, अनवद्यः, अनभिशस्ताः, उक्थ्यः, सुनीथः, पाकः, वामः, वयुनमिति दश प्रशस्यनामानि (श्रीतारानन्दतीर्थ ः वि.सं. २०६२ ः १६७) । प्रशस्य भनेको के हो भन्ने प्रश्नको उत्तरमा भनिएको छ— य एव हि प्रज्ञावन्तस्त एव हि प्रशस्या भवन्ति (पूर्ववत्) अर्थात् जो प्रज्ञावान् छन् तिनीहरू नै प्रशस्य हुन्छन् । अतः प्रज्ञावान् प्रशस्य योगीलाई नै वाम भनिन्छ र उक्त योगीको आचारलाई नै वामाचार भनिन्छ । मेरुतन्त्रमा वामाचारको अधिकारीको लक्षण बताउने प्रसङ्गमा भनिएको छ —
परद्रव्येषु योऽन्धश्च परस्त्रीषु नपुंसकः ।
परापवादे यो मूकः सर्वदा विजितेन्द्रियः ।।
तस्यैव ब्राह्मणस्यात्र वामे स्यादधिकारिता । ( १०।४५)
अर्थात् जो परद्रव्य, परस्त्री एवं परापवादबाट विमुख छ त्यस्तो निर्लोभी, रागवर्जित, संयमी, जितेन्द्रिय ब्राह्मण (ब्रह्मसाक्षात्कार गर्न समर्थ) व्यक्ति नै वाममार्गमा अधिकारी हुन्छ । वेदशास्त्रको अर्थ एवं तत्वलाई जान्ने, बुद्धिमान्, जितेन्द्रिय, तन्त्रको गूढ रहस्य एवं भावलाई तर्कशक्तिद्वारा मन्थन गरेर उद्धार गर्न (प्रकाश गर्न) सक्षम ब्राह्मण (ब्रह्मसाक्षात्कार गर्न समर्थ) नै वाममार्गमा अधिकारी हुन्छ । त्यसबाहेक अन्य व्यक्ति यस मार्गमा दुःखभागी हुन्छ भनिएको छ —
ब्राह्मणो वेदशास्त्रार्थतत्वज्ञोे बुद्धिमान् वशी ।
गूढतन्त्रार्थभावश्च निर्मथ्योद्धरणे क्षमः ।।
वाममार्गेऽधिकारी स्यादितरो दुःखभाग् भवेत् । (भावचूडामणि ः कल्याण, शक्तिउपासना अङ्क, पृ. १६७ मा उद्धृत) । वामाचारअनुसार साधना गर्नका लागि दृढ भक्ति चाहिन्छ र त्यस्तो दृढ भक्तले नै यस मार्गमा सिद्धि प्राप्त गर्दछ । तन्त्रचिन्तामणिमा भनिएको छ —
निन्दन्तु बान्धवाः सर्वे त्यजन्तु स्त्रीसुतादयः ।।
जना हसन्तु मां दृष्ट्वा राजानो दण्डयन्तु वा ।
रोगदारिद्र्यदुःखाद्यैः पीडितोऽप्यनिशं त्वहम् ।।
लक्ष्मीस्तिष्ठतु वा यातु न मुञ्चामि पथं त्विदम् ।
एवं यस्य दृढा भक्तिः स वामे सिद्धिमाप्नुयात् ।। (१२ प्रकाश १७१—१७३ श्लोक) ।
अर्थात् चाहे बन्धुबान्धवहरूले निन्दा गरून्, चाहे पत्नी तथा छोराछोरीहरूले साथ छोडून्, चाहे मलाई देखेर मानिसहरू हाँसून्, चाहे राजाहरूले दण्ड दिऊन्, चाहे म सधैँ रोग, दारिद्र्य, दुःख आदिले पीडित बनूँ, चाहे धन रहोस् वा नरहोस् तर म यस मार्गलाई छोड्दिनँ भन्ने दृढ भक्ति जसमा हुन्छ त्यही व्यक्तिले वामाचारमा सिद्धि प्राप्त गर्दछ ।
उपासनामा पञ्चमकार अर्थात् मद्य, मांस, मत्स्य, मुद्रा र मैथुनको उपयोग वीराचार अर्थात् वीरहरूले अवलम्बन गर्ने वामाचार हो र यो साधकका लागि साधनाको बीज हो । वीरभावमा पनि विभाववीर र सभाववीर गरी दुई प्रकारको भेद हुन्छ । विभाववीरहरूले मानसभावले पञ्चतत्वले अथवा पञ्चमकारको प्रतिनिधिका रूपमा अनुकल्पीय द्रव्यको प्रयोगद्वारा उपासना गर्दछन् । मानसभावले पञ्चतत्वको उपयोग गर्दा मांसका रूपमा पृथ्वीतत्व, मत्स्यका रूपमा जलतत्व, मद्यका रूपमा तेजतत्व, मुद्राका रूपमा वायुतत्व र मैथुनका रूपमा आकाशतत्वको उपयोग गरिन्छ । विभाववीरका लागि पञ्चमकारको अनुकल्पीय द्रव्य भने यसप्रकार रहेका छन् — गाईको दूध, पान, ताम्रकूट, गाँजा, ताड, अफिम, खजूरको चोप, धतुरो र भाँङ यति आठ थोक मद्यको अनुकल्प; नुन मिलाएको अदुवा, प्याज, तिल, गहुँ, मास र लसुन मासुको अनुकल्प; डढेको खाना मत्स्यको अनुकल्प; भुटेको चना वा भटमास मुद्राको अनुकल्प र हाँसको फुल मैथुनको अनुकल्प हुन्छ । कसैको मतमा गुरुले बताएबमोजिम तन्त्रोक्त मन्त्रोच्चारण गर्दै अपराजितापुष्प र करवीरपुष्पमा रक्तचन्दन र श्रीखण्ड मिसाएर भगलिङ्गामृत बनाई परदेवतालाई तर्पण गर्नु मैथुनको अनुकल्प हो (ज.ब.रा., वि.सं. २०२०, पृ. २८६—२८७) ।
सभाववीरले चाहिँ पञ्चमकारको प्रत्यक्ष प्रयोग गर्दछन् । वामाचारमा कस्ता व्यक्तिहरूको अधिकार रहन्छ भन्ने विषयमा माथि उल्लेख गरिएको विवरणबाट यो आचार अत्यन्त कठिन र मर्यादित आचार हो भन्ने कुरा स्पष्ट भइसकेको छ । अल्पज्ञताका कारण प्राकृतजन (अदीक्षित व्यक्ति)हरूले सोचेजस्तो स्वच्छन्दरूपले पञ्चमकारको प्रयोग यस आचारमा हुँदैन । पञ्चमकारको प्रयोग वामाचारमा केवल साधनाका अवसरमा गरिन्छ । कुलाणर्वतन्त्रमा भनिएको छ —
वृथा पानन्तु देवेशि सुरापानं तदुच्यते ।
तन्महापातकं ज्ञेयं वेदादिषु निरूपितम् ।। (२ उल्लास, १२३ श्लोक) ।
अर्थात् साधनाकालमा बाहेक अन्य समयमा गरिने मद्यपान निषिद्ध सुरापान कहिन्छ । त्यस्तो मद्यपान महापातक हो भनेर वेदादि शास्त्रमा निरूपण गरिएको छ । श्रीमद्भागवत महापुराणमा भनिएको छ —
लोके व्यवायामिषमद्यसेवा
नित्यास्तु जन्तोर्न हि तत्र चोदना ।
व्यवस्थितिस्तेषु विवाहयज्ञ—
सुराग्रहैरासु निवृत्तिरिष्टा ।। (११ स्कन्ध, ५ अध्याय, ११ श्लोक)
अर्थात् संसारमा मैथुन, मांस र मद्यका प्रति प्राणीहरूको स्वाभाविक प्रवृत्ति रहेको देखिन्छ । जुन वस्तुप्रति स्वाभाविक प्रवृत्ति हुन्छ त्यसमा प्रवृत्त गराउनका लागि कुनै विधिको आवश्यकता पर्दैन । यस्तो स्थितिमा विवाह, यज्ञ र सौत्रामणि यज्ञमा मैथुन, मांस र मद्यको जुन व्यवस्था बताइएको छ त्यो वास्तवमा उच्छृङ्खल प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि र त्यसमा मर्यादा स्थापनाका लागि नै गरिएको हो । त्यसमा निवृत्ति नै श्रुतिको अभीष्ट हो । अतः वामाचारमा पञ्चमकारको सेवनको व्यवस्था सोही उद्देश्यमा आधारित रहेको छ त्यसैले कुलाणर्वतन्त्रमा भनिएको छ —
सेवेत स्वसुखार्थं यो मद्यादीनि स पातकी ।
प्राशयेद्देवताप्रीत्यै स्वाभिलाषविवर्जितः ।। (५ उल्लास ८८ श्लोक) ।
अर्थात् जसले आफ्नो सुखका लागि मद्य आदि द्रव्यको सेवन गर्दछ त्यो पातकी हो । साधकले आफ्नो तृप्तिका लागि नभई देवताको प्रीतिका लागि मद्य, मांस आदि द्रव्यको सेवन गर्नुपर्दछ । कुलाणर्वतन्त्रमै अगाडि भनिएको छ —
मादिपञ्चकमीशानि देवताप्रीतये सुधीः ।
यथाविधि निषेवेत तृष्णया चेत् स पातकी ।। (१० उल्लास ६ श्लोक) ।
अर्थात् हे पार्वती ! बुद्धिमान् व्यक्तिले देवताप्रीतिका लागि शास्त्रोक्त विधिपूर्वक पञ्चमकारको सेवन गरोस् । यदि कुनै व्यक्ति तृष्णापूर्वक पञ्चमकारको सेवनमा प्रवृत्त हुन्छ भने त्यो पातकी कहिन्छ ।
जब पशुभावबाट मुक्त वीरभावमा स्थित साधकले शास्त्रोक्त विधिपूर्वक आफ्नो तृष्णापूर्तिका लागि नभई देवताप्रीतिका लागि पञ्चमकारको सेवनद्वारा साधना गर्दै जाँदा उसमा इष्टदेव र आफूबीच ऐक्यबोध हुन जान्छ र ऊ साधनाको अन्तिम सोपानस्वरूप दिव्यभावमा प्रवेश गर्दछ । वामाचारको अवलम्बनद्वारा गरिने कालीको उपासना परापरा कोटीको पूजा वा उपासना हो ।
कुलाचार
सम्पूणर् भेदप्रथालाई परिहार गर्न सक्षम निर्विकल्प दशामा आरूढ साधकमा जब आफू भन्ने भावसमेत हटेर दिव्यभावको उदय हुन्छ त्यस्तो निर्विकल्प दिव्यभावमा स्थित साधकको आचारलाई नै कुलाचार भनिन्छ । दिव्यभावमा स्थित साधकमा पूणर् ज्ञानको उदय र राजाधिराजयोगसमेत सिद्ध भइसकेको हुन्छ त्यसैले त्यस्तो साधकले अपनाउने कुलाचारमा पञ्चमकारको प्रयोग प्राकृत रूपमा नभई अर्कै किसिमले अन्तर्यागद्वारा गरिन्छ । मद्यका विषयमा कुलाणर्वतन्त्रमा लेखिएको छ —
आमूलाधारमाब्रह्मरन्ध्रं गत्वा पुनः पुनः ।
चिच्चन्द्रकुण्डलीशक्तिसामरस्यसुखोदयः ।।
व्योमपङ्कजनिस्यन्दसुधापानरतो नरः ।
सुधापानमिदं प्रोक्तमितरे मद्यपायिनः ।। (५ उल्लास १०७—१०८ श्लोक) ।
अर्थात् मूलाधारचक्रमा रहेकी चैतन्यरूपिणी कुण्डलिनीशक्ति त्यहाँबाट जागृत भएर ब्रह्मरन्ध्रमा अवस्थित सहस्रारचक्रमा पुगी परमशिवका साथ समरसभावमा प्राप्त हुँदा त्यहाँबाट चुहिएको अमृतपान गर्ने व्यक्ति नै वास्तविक सुधापान गर्ने व्यक्ति हो अरू त मद्यपान गर्नेहरू हुन् । मांसका बारेमा आगमसारतन्त्रमा भनिएको छ —
कामक्रोधसुलोभमोहपशुकांश्छित्वा विवेकासिना ।
मांसन्निर्विषयं परात्मसुखदं खादन्ति तेषां बुधाः ।।
ते विज्ञानपरा धरातलसुरास्ते पुण्यवन्तो नराः ।
नाश्नीयात् पशुमांसमात्मविमते हिंसां परं सज्जनः ।। (आगमसारतन्त्र, ज.ब.रा., वि.सं. २०२०, पृ. १६ मा उद्धृत) ।
अर्थात् विवेकी विद्वान् साधकहरू काम, क्रोध, लोभ र मोहरूपी पशुलाई विवेकरूपी तरवारले काटेर परम सुख प्रदान गर्ने निर्विषयरूप मासु खान्छन् । तिनीहरू नै परम रहस्यवेत्ता, पृथ्वीका वास्तविक देवता र पुण्यवान् हुन् । सज्जन व्यक्तिले आफ्नो तृप्तिका लागि प्रत्यक्ष पशुको मासु नखाओस्, त्यस्तो हिंसा नगरोस् । मांसकै विषयमा कुलाणर्वतन्त्रमा भनिएको छ —
पुण्यापुण्यपशुं हत्वा ज्ञानखड्गेन योगवित् ।
परे लयं नयेच्चित्तं पलाशी स निगद्यते ।। (५ उल्लास १०९ श्लोक) ।
अर्थात् योगवित् साधकले पुण्य र पापरूपी पशुलाई ज्ञानरूपी खड्गले काटेर चित्तलाई परम तत्त्वमा लीन गरोस् । त्यसो गर्ने व्यक्ति नै मांसभोजी भनेर चिनिन्छ । मत्स्यका विषयमा कुलाणर्वतन्त्रमा लेखिएको छ—
मनसा चेन्द्रियगणं संयम्यात्मनि योजयेत् ।
मत्स्याशी स भवेद् देवि शेषाः स्युः प्राणिहिंसकाः ।। (५ उल्लास ११०लोक) ।
अर्थात् बाह्य विषयमा रमाइरहेका चञ्चल इन्द्रियसमूहलाई मनले नियन्त्रणमा लिएर बाह्य विषयवृत्तिबाट विरत सो मनलाई आत्मामा लगाउनू । यसो गर्न सक्ने साधक नै मत्स्यभोजी हो, अरू त प्राणीको हिंसा गर्ने हुन् । त्यसैगरी मुद्राका विषयमा कुलाणर्वतन्त्रमा लेखिएको छ—
अप्रबुद्धाः पशोः शक्तिः प्रबुद्धाः कौलिकस्य च ।
शक्तिं तां सेवयेद् यस्तु स भवेत् शक्तिसेवकः ।। (५ उल्लास १११ श्लोक) ।
अर्थात् पशुभावमा स्थित साधकको शक्ति अप्रबुद्ध(सुषुप्त) अवस्थामा रहेको हुन्छ भने दिव्यभावमा स्थित कौल साधकको शक्ति प्रबुद्ध(जाग्रत) हुन्छ । जुन साधक यस्तो प्रबुद्ध शक्तिको सेवन गर्दछ त्यो नै शक्तिसेवक हो । मैथुनका विषयमा कुलाणर्वतन्त्रमा भनिएको छ—
पराशक्त्यात्ममिथुनसंयोगानन्दनिर्भरः ।
य आस्ते मैथुनं तत् स्यादपरे स्त्रीनिषेवकाः ।। (५ उल्लास ११२ श्लोक) ।
अर्थात् पराशक्ति र आत्माको मिथुनभावस्वरूप संयोगसुखको शाश्वत आनन्दमा निमग्न हुनु नै वास्तविक मैथुन हो । त्यसअतिरिक्त दैहिक सुखोपलब्धियुक्त मैथुन त स्त्रीसेवन मात्रै हो ।
दिव्यभावमा स्थित साधकले पालना गर्ने कुलाचार परापूजाको कोटीमा पर्दछ जुन परब्रह्मरूपिणी पराशक्तिका साथ अद्वयबोध जगाउने बाह्य एवं आन्तर विषयमा आफ्नो चिन्मय स्वरूपलाई अभिन्नरूपले देख्ने उपासनापद्धति हो ।

उपसंहार
यसप्रकार तन्त्रशास्त्रको अध्ययनबाट हामी के देख्दछौँ भने साधकले अवलम्बन गर्ने आचार उसको भावद्वारा निर्दिष्ट हुन्छ । साधकमा जस्तो किसिमको भाव हुन्छ त्यस्तै किसिमको आचारको अवलम्बन गर्नुपर्दछ । साधनाको प्रारम्भिक अवस्थामा साधकमा पशुभाव विद्यमान हुने हुनाले तदनुकूल दक्षिणाचारको अवलम्बन गर्नुपर्दछ । जब साधकको साधनाको स्तर उन्नत बन्दै जान्छ तब उसमा स्वाभाविक रूपले वीरभावको उदय हुने भएकोले साधकले वाममार्गको अवलम्बन गर्न सक्दछ । साधनाको स्तर अझै उन्नत बन्दै जाँदा जब साधकमा दिव्य भावको उदय हुन्छ तब उसले कुलाचारको अवलम्बन गर्दछ र परब्रह्मरूपिणी पराशक्तिका साथ आफूलाई ऐक्यबोध गर्दै तज्जन्य आनन्दमा निमग्न हुन्छ । शिवमस्तु ।

सन्दर्भग्रन्थसूची
ओझा, रघुनाथ (सं.) (वि.सं. १९६५), मेरुतन्त्र, मुम्बई ः क्षेमराज—श्रीकृष्णदास ।
ज.ब.रा., धनशमशेर (वि.सं. २०२०), प्रबुद्धसनातनरहस्यम्, काठमाडौँ ।
ज.ब.रा., धनशमशेर (वि.सं. २०४६), कुलाणर्वरहस्य, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान ।
तारानन्दतीर्थ (वि.सं. २०६४), वाममार्ग का यथार्थ स्वरूप (कल्याण, शक्ति अङ्क), गोरखपुर ः गीताप्रेस ।
महर्षि वेदव्यास, श्रीमद्भागवतमहापुराण, गोरखपुर ः गीताप्रेस ।
मिश्र, परमहंस(सं.)(ई.संं.२००२), कुलाणर्वतन्त्र, दिल्ली ः चौखम्बा विद्याभवन ।


प्रकाशित : २०७८ भाद्र २१, सोमबार

धेरै पढिएको

ताजा समाचार