सडक अवरुद्ध हुँदा महँगियो तरकारीको भाउ


बाढिपहिरोका कारण सडकहरु अवरुद्ध हुँदा उपत्यकामा हरियो तरकारी लगायतका खाद्यान्नहरुको मूल्यमा वृद्धि भएको छ । देशभरका मुख्य सडकहरु अवरुद्ध भएकोले नियमितरुपमा तरकारी आयात गर्न सकिएको छैन । जसकारण तरकारीको भाउ आकाशिएको छ ।
निषेधाज्ञाको अन्त्य भएको र नजिकिदै गरेको महिलाको महानपर्व तीजका कारण जारमा मानिसको चहलपहल बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिन देखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपैयाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपैयाँ पुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपैयाँबाट बढेर ८० देखि ९० रुपैयाँ पुगेको छ । काउली, बन्दा, घिरौला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।
गोलभेँडा भने प्रतिकेजी २५/३० रुपैयाँबाट घटेर थोकमा २०/२२ रुपैयाँमा झरेको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आयात घटेरभन्दा पनि माग बढेर भाउ महँगिएको बताउनुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ । व्यवसायीले पसलैपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक शिवप्रसाद सेढाईंले यथाशिघ्र कृषिसँग सहकार्य गरेर तरकारी र फलफूलको मूल्य अनुुगमन गर्ने बताए पनि प्रभावकारी अनुगमन नहुँदा सर्वसाधारणहरुले सास्ति भोगिरहेका छन् ।


प्रकाशित : २०७८ भाद्र २१, सोमबार

धेरै पढिएको

ताजा समाचार