चीनको रणनीतिक संस्कृति र नेपाल


सन् १९६२ मा चीनले भारतसँगको सीमा विवाद आफूभन्दा कमजोर मानिएको भारतलाई अनेपेक्षित आक्रमण गरी ठूलो भूभाग कब्जा गरेको, तर केही समयपछि कुनै पनि ठोस आर्थिक, राजनितिक तथा भौगोलिक लाभ नलिकनै कब्जा गरेको जमिन भारतलाई फिर्ता गरिदियो । कस्तो स्वार्थ पूरा गर्न चीनले भारतलाई आक्रमण गरेको थियो होला ? त्यसै गरी, जब चीनले १९६९ मा सामान्य सीमा विवादमा सोभियत सङ्घमाथि आक्रमण गर्यो । त्यसले दुनियाँलाई चकित पारेको थियो । चीन आणविक शक्ति सम्पन्न भएता पनि उसको तत्कालीन आर्थिक, राजनितिक तथा सैन्य क्षमता त्यसबेलाको सुपरपावर सोभियत युनियनको तुलनामा धेरै नै कमजोर मानिन्थ्यो । तर चीनले ठुलो दुर्घटनाको जोखिम मोल्दै रुसलाई आक्रमण गरेको थियो । यी दुई घटनाले चीनको शक्ति प्रयोगको विचित्रको तौरतरिका रहेको बुझ्न सकिन्छ । यसको अन्तर्य के थियो होला ? यी माथिका उदाहरणले चीनको शक्तिको प्रयोगमा भिन्न शैली रहेको बुझिन्छ । त्यसै गरी, नेपालसँगको चीनको आर्थिक सहायता सन् १९५६ बाट सुरु भइसकेपछि, उसको भिन्न शैली बुझ्न तत्कालिन समयका उसको बढी प्रथामिकता रहेको सडक निर्माणलाई लिन सकिन्छ । महेन्द्र पि लामा (१९८९) ले आफ्नो थेसिसमा चिनियाँ ‘नदी केन्द्रित’ सडक निर्माणका बारे उल्लेख गरेका छन् । जसमा चीनले तत्कालीन नेपालमा सडक सञ्जाल विस्तारमा नदीहरूलाई विशेष प्रथामिकता दिएको देखिन्छ । चाहे त्यो अरनिको राजमार्ग होस् या पृथ्वी राजमार्ग । अरनिको राजमार्ग जुन रोशी, जिकु, सुनकोशी, भोटेकोशी लगायतका नदीहरूलाई छिचोल्दै चिनियाँ सिमानालाई नेपालको राजधानी सँग जोडेको छ । त्यसै गरी पृथ्वी राजमार्गले सेती, मस्र्यांदी, तथा त्रिसुली नदीहरूको किनारै किनार अघि बढेर राजधानीलाई मध्य नेपालको ठूलो पहाडी सहर पोखरासँग जोडेको छ । त्यसलाई मध्य तराईंकै नारायणघाट गोर्खा सडकसँग जोडेर काठमाण्डौलाई तराई तथा पोखरासँग जोड्ने आधार उपलब्ध गरेको थियो । यसरी ‘नदी केन्द्रित’ चिनियाँ प्रथामिकताका पछाडि निर्माण सामाग्रीको सर्वसुलभता, सहजता पनि हुन सक्छ । तर यस्ता सडक पहिरो तथा मर्मत सम्भारका लागि बढी जोखिमयुक्त हुदाँहुदै पनि चिनियाँहरूले यस प्रकारको भिन्न र रहस्यमय शैली किन अपनाएका होलान ? यसमा कस्तो स्वार्थ हुन सक्ला ?
नेपालसँग चीनको स्वाशासित क्षेत्र तिब्बत (Tibet) लगभग १४०० किमिले जोडिएको छ, तर उत्तरी हिमालयले दुई छिमेकीलाई छुट्यायको, र चिनियाँ भाषा तथा सभ्यता नेपालको भन्दा फरक रहेकाले चीनसँग नेपालको भारतको जस्तो जनस्तरमै बहुआयामिक सम्बन्ध रहेको छैन, यद्यपि, बढ्दो डिजिटल प्रविधि, चीनको अप्रत्यासित आर्थिक सामर्थ र प्रविधिले उत्तरी हिमाललाई छेड्न खोजेसँगै चीन अब उत्तरी हिमालयबाट नेपाल झर्न खोजिरहेको देखिन्छ । जसले यस क्षेत्रमा विश्व शक्तिहरूको ध्यानाकर्षण भएको छ । जसले गर्दा यस क्षेत्रको भूराजनीतिक जटिलता बढिरहेको देख्न सकिन्छ ।
यस जटिलतामा आफ्ना अस्तित्व बचाई राख्न र बाह्य शक्तिहरूलाई सन्तुलनमा राख्न नेपालमा अत्यन्तै सुझबुझ हुनु जरुरी छ, त्यसका लागि विश्व शक्तिहरूका स्वार्थ तथा प्रथामिकता के–के रहँदै आइरहेका छन्, तिनीहरूको रणनीतिक शैली तथा स्वरूप कस्ता–कस्ता छन् ? तिनीहरूको चिन्तन तथा कार्यप्रणाली कस्तो छ ? जसले उनीहरूका रणनीतिक व्यवहारको अन्तर्य बुझ्न मात्र सघाउँदैन, आफू स्वक्रियात्मक भइ उनीहरूसँग तालमेल मिलाएर आफूलाई सबल बनाउँदै कम्तिमा यस क्षेत्रको केन्द्र हुने आधार निर्माण गर्न सकिन्छ ।
रिचर्ड निस्बेतको (2002) चर्चित किताब “जियोग्रफि अफ थट”मा भन्छन्, कुनै पनि देशको विशिष्ट चिन्तन तथा कार्यप्रणाली त्यस देशको भिन्न भौगोलिक, सामाजिक तथा सांस्किृतिक पक्षले प्रभावित तथा निर्देशित गर्दछ । निस्बेतले उनको किताबमा प्राचीन चिनियाँ र ग्रीकको फरक ऐतिहासिक, मौलिक चिन्तन तथा कार्यप्रणालीको विकासक्रमबारे विभिन्न उदाहरणसहित प्रकाश पारेका छन्, जुन उनीहरूको भिन्न भौगोलिक परिवेशका कारण अहिले भिन्न रूपमा विकसित भएको कुरा लेखकले अघि सारेका छन् । उनको किताबको निष्कर्ष छ, फरक भौगोलिकता र त्यससँग सम्बन्धित सभ्यताले उनीहरूको भिन्न व्यवहारको प्रतिनिधित्व मात्र गर्दैन, बरु त्यसै अनुरूपको चिन्तन पद्धति निर्माण गरी, समग्रमा सोच्ने तरिकामा नै फरकपन स्वाभाविक हुन जान्छ ।
बढ्दो चीन र अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धाका सन्दर्भमा चर्चित अमेरिकी परराष्ट्रविद् हेनरी किसिन्गर (2012) ले उनको चर्चित किताब “अन चाइना”मा चीनलाई बुझ्न पश्चिमा चस्मा पर्याप्त नभएको कुरा गरेका छन् । उनले चीनलाई र उसका रणनीतिहरूलाई बुझ्न उसको प्राचीन चिनियाँ रणनीतिक संस्कृति तथा उनीहरूको शक्ति प्रयोगको चिन्तन पद्धति ‘शि’ लाई बुझ्न जरुरी रहेको कुरा उल्लेख गरेका छन्, अन्यथा, अमेरिकालाई चीनको बढ्दो प्रभाव रोक्न अप्ठेरो हुने कुरा गरेका छन् ।
यस आलेखमा, चीनको रणनीतिक संस्कृतिमा निहित मौलिक चिन्तन तथा कार्य पद्धतिका बारे चर्चा गरिनेछ । जसले उसको अस्वाभाविक व्यवहारका बारे जानकारी दिनेछ, जुन पश्चिमाको चिन्तन पद्धतिभन्दा भिन्न छ । र अन्त्यमा, चीनको व्यवहार नेपालका सन्दर्भमा कसरी विकसित तथा प्रकट भएको छ भन्ने बारे चर्चा गर्नेछु ।
चिनियाँ शैलीलाई बुझ्न उनीहरूको प्राचीन दर्शन तथा संस्कृति जुन समान्यतया कन्फ्युसियस (Confucius) र टाओइज्म (Taoism) बाट प्रभाभित देखिन्छ, र मुख्य गरी उनीहरूको शक्तिको मौलिक परिभाषा “शि” (Shih) ले व्यवहार निर्देशित गरेको देखिन्छ ।
कन्फुसियसले मूलत, सामाजिक तथा मानव सम्बन्धहरू, तथा तिनीहरूको राज्यसँगको सम्बन्धका र नैतिकताका बारेमा व्याख्या गरेको छ, जसमा सामाजिक तथा राज्यसँगको सम्बन्धहरू श्रेणीबद्ध (hierarchical) हुन्छन् र त्यो सद्भाव र अडरका (order) लागि गरिन्छ । उनीहरूको यस बुझाइ, विश्वलाई बुझ्ने सवालमा पनि देखिन्छ, उनीहरू आफूलाई विश्वको मध्य तथा केन्द्र राज्यका रूपमा र शान्ति तथा सद्भाव प्रीय मान्छन् । अहिलेको उनीहरूको शान्तिमय वृद्धि (peaceful rise) यसैमा आधारित छ, र कुनै पनि युद्ध अथवा शक्तिको प्रयोगलाई सदभाव तथा शान्ति कायम गर्नका लागि भनेर परिभाषित गरेको पाइन्छ ।
त्यसै गरी, “शि” लाई विभिन्न चिनियाँ दार्शनिकले विभिन्न सन्दर्भमा परिभाषित गरेको पाइन्छ । चर्चित दार्शनिक, शून जु (Sun Tzu) ले उनको किताब “आर्ट अफ वार“ (The Art of War) मा चिनियाँ युद्धको बुझाइलाई परिभाषित गरेका छन्, उनी लेख्छन्, साँचो अर्थमा युद्ध जित्नु भनेको लडाइँ नलडिकनै युद्ध जित्नुलाई भनेका छन् र लड्नै पर्ने भए पनि न्युनतम् शक्ति तथा स्रोत प्रयोग गरेर युद्ध जित्नुलाई मान्दछन् । यसका लागि उनले “शि” लाई परिभाषित गरेका छन् जसले युद्धलाई सहज रूपमा जित्नका लागि सहायता गर्दछ, यसमा मुख्यतया परिवेश, मानव तथा विपक्षीलाई प्राथमिकता दिएर त्यसै अनुरूप रणनीति तथा कार्यनीति तर्जुमा गर्ने कुरा गर्दछन् । जसमा विपक्षीहरूको अवस्था तथा उनीहरूको मनोविज्ञान बुझ्ने, उनीहरूको कमजोरी पहिल्याई त्यसको उपयोग गर्दै, आफ्ना एजेण्डा तथा स्वार्थहरू स्वीकार गर्न बाध्य पार्न विभिन्न छोटो तथा लामो समयका लागि रणनीतिहरू बनाउन प्रथामिकता दिएको पाइन्छ ।
त्यसकारण, “शि” भौतिक (Materials), विचारात्मक (Ideational), मानव संसाधन (Human), तथा प्राकृतिक स्रोतहरूलाई एकीकृत (Integrate) तथा उनीहरूको उचित तालमेल (Synergize) बाट उत्पन्न हुने गत्यात्मक (Dynamic) शक्ति हो, जसले शक्तिको समग्रतामा (Holistic) मौलिक व्याख्या गरेको छ ।
“शी” को प्रभावकारी सञ्चालन तथा कार्यान्वयनका लागि टाउइस्म (Taoism) सान्दर्भिक रहन्छ, टाओ (Tao) भनेको प्राकृतिक बाटो (Natural way) हो । यसमा उनीहरू विश्वको मध्य राज्य भएता पनि प्रकृतिमाथि जित्न सकिँदैन, तसर्थ विद्यमान प्राकृतिक शैली (Tao) सँग तालमेल गरेर मात्र सद्भाव कायम रहन्छ भन्ने विश्वास गर्दछन् । यसरी प्राकृतिक बाटो पछ्याउनाले राष्ट्रिय मात्र नभइ विश्व शान्ति, खुसी, सद्भाव तथा order कायम रहिरहने चिनियाँ बुझाइ छ ।
चिनियाँ युद्ध तथा प्रभावको अर्को उनीहरूको महत्त्वपूर्ण शैली पूर्ण विजयी (absolute victory) भन्दा पनि आफ्नो हातमाथि भइरहोस भन्ने चाहना, किन कि उनीहरू निर्णायक शक्तिको प्रयोगलाई प्रथामिकता नदिई, न्युनतम स्रोत तथा शक्ति प्रयोग गरी बढी लाभ होस भन्ने चाहन्छन्, जुन अमेरिकी (decisive victory) भन्दा उल्टो मानिन्छ । आफ्नो हातमाथि रहिराख्न उनीहरू धैर्यतापूर्वक लामो समय सम्मलाई रणनीतिहरू निर्माण तथा कार्यावयन गर्दै आफ्नो राष्ट्रिय “शि” लाई मजबुत गर्दै लैजान्छन्, भलै साना साना रणनीतिमा असफलता झेल्न किन नपरोस्, त्यसलाई लामो खेलका रूपमा बुझ्ने उनीहरूको अनौठो शैली देखिन्छ । यस सँगै जोडिएको, चिनियाँहरू कुनै पनि देशसँग सहकार्यमा दुवै पक्षको लाभ हुने (Absolute gain) गरी योजना प्रस्तुत गर्छन्, भलै त्यसमा आफ्नो हातमाथि हुनु स्वाभाविक मान्छन् ।
उनीहरू आफ्नो राष्ट्रिय “शि” मजबुत बनाउन जस्तोसुकै जोखिम तथा अस्वाभाभिक व्यवहार देखाउनपछि पर्दैनन्, त्यसकारण चिनियाँहरूसँगको रणनीतिक सम्बन्धमा कसले जितिरहेको छ, र कसले हारिरहेको छ भनेर भन्न धेरै नै कठिनाइ हुन्छ ।
यस अर्थ, भारतमाथिको १९६२ को चिनियाँ आक्रमणलाई ‘ छोरी कुटेर बुहारी तर्साउने’ नेपाली उखानले बुझ्नु सान्दर्भिक हुनेछ, ब्यान्डुङ कन्फरेन्स (Bangdung conference, 1955) सँगै भारत तेस्रो मुलुकहरूको क्षेत्रीय नेता भइरहेको समयमा आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वीलाई पाठ सिकाई चीनले विश्वको ध्यान आफूतिर खिच्न सफल भएको थियो ।
रुसमाथिको आक्रमणलाई उनीहरू राष्ट्रिय “शि” लाई विश्व मञ्चमा फर्काउन र विश्व शक्ति बन्ने उनीहरूको निहित चाहनाको निर्णायक पाइला रहेको बुझ्न सकिन्छ । त्यसअघि भियतनाम युद्धमा चीन अमेरिकी प्रतिद्वन्द्वी रहेको थियो । रुस र अमेरिका बिचको शीत युद्धको लाभ उठाउन चिनियाँ आक्रमण रहेको थियो भन्ने कुरा १९७१ को चीन अमेरिका सहकार्य र संयुक्त राष्ट्रसङ्घमा (United Nations) चीनले पाएको प्रतिनिधित्वले जनाउँछ ।
नेपालमा ‘नदी केन्द्रीत’ चिनियाँ सडक निर्माणका मुख्यतया दुई उद्देश्य अनुमान गर्न सकिन्छ । एक, आफ्ना विभिन्न (रणनीतिक तथा आर्थिक) स्वार्थ परिपूर्ति गर्दै अन्य सम्भावित परियोजनाका (हाइड्रो पावर) लागि पनि आधार तयार गर्ने, तथा अन्य प्रतिस्पर्धी देशलाई (भारत) रणनीतिक चुनौती दिने, यस सन्दर्भमा पृथ्वी राजमार्ग (नौबिसेदेखि पोखरा) र पछि त्यससँगै जोडिएको चिनियाँ लगानीकै नारायणघाट गोर्खा सडकले पृथ्वीराजमार्गलाई पनि जोडी तराईलाई काठमाण्डौ तथा पोखरासम्म जोड्न सहायता ग¥यो र भारतीय लगानीका दुई पुराना त्रिभुवन (रक्सोल हेटौँडा हुँदै काठमाण्डौ) र सिद्धार्थ राजमार्गलाई (जसले भारतको सिमालाई बुटवल, पाल्पा हुँदै पोखरा जोडेको छ) धेरै हदसम्म असान्दर्भिक बनाइदिएको मान्न सकिन्छ, यद्यपि ती राजमार्गहरूको महत्व दक्षिणी छिमेकलाई जोड्ने सवालमा रहेको छ । यसरी उसले भारतलाई रणनीतिक चुनौती दिएको देखिन्छ ।
चिनियाँहरू आफ्नो राष्ट्रिय “शि”लाई नै सर्वोपरी ठान्ने, त्यसलाई मजुबुत गर्न उपलब्ध सम्पूर्ण तौरतरिका आपनाउने हुनाले, पश्चिमा देशको जसरी कुनै पनि देशसँग सम्बन्ध तथा सहकार्यका लागि निश्चित आइडियोलोजी तथा राजनीतिक व्यवस्थाको अपेक्षा नगर्ने देखिन्छ, जसले उसको सहकार्य जस्तोसुकै राजनीतिक व्यवस्था भएका मुलुकसँग पनि स्वार्थका अधारमा रहेको देखिन्छ । यद्यपि पछिल्लो समय नेपालसँगको सहकार्यमा कम्युनिस्ट विचारधारायुक्त पार्टीलाई बढी प्रथामिकता तथा उनीहरूबीचको एकीकरण गराइ बलियो स्थायी मित्र बनाइदिन खोजेको सर्वविदितै छ । यद्यपि त्यस योजनामा उनीहरू असफल भएको देखिन्छ ।
अहिलेको परिवेश हेर्ने हो भने, चीन नेपालमा उसको मुख्यतया सुरक्षा चासो, आर्थिक तथा राजनितिक स्वार्थ परिपूर्ति गर्न अझ बहुआयामिक तौरतरिका समग्रतामा आपनाइरहेको देख्न सकिन्छ, भुकम्पपछि भारतलाई उछिन्दै सबभन्दा ठूलो फरयन डिरेक्ट इन्भेस्ट (Foreign direct investor) मुलुक चीन भएको छ । नेपाल तिब्बतका लागि मुख्य द्वार भएको र नेपालमा भारतपछि सबभन्दा बढी तिब्बतीको सिमानामा रहेको हुनाले, चीनको नेपालमा सुरक्षा चासो देखिँदै आएको छ ।
भूकम्पमा मुख्यतया, नेपालका उत्तरी जिल्लाहरू बढी क्षति भएको अवस्थामा चीनको सुरक्षा चासो रहेका ती क्षेत्रमा उसले बढी प्रथामिकतामा राखी पीडितलाई सहायता तथा त्यसपछिको पुर्ननिर्माणमा खेलिरहेको भूमिका भिन्न रहेको देख्न सकिन्छ । उसको भूकम्प सहयाताका सवालमा पनि आफ्ना विभिन्न स्वार्थहरूलाई केन्द्रमा राखी स्वतन्त्र रूपमा काम गरिरहेको देखिन्छ । यद्यपि नेपाल सरकारका निकायहरूको एकद्वार प्रणाली तथा उचित समन्वयको कमी रहेको पनि देखिन्छ । उसले पुर्ननिर्माण गरिरहेका योजनाहरू मुख्यतया, सार्वजनिक कुटनीति (public diplomacy) लाई केन्द्रमा राखेर गरिरहेको देखिन्छ, जस्तो काठमाण्डौ मध्यमा अवस्थित दरबार हाइ स्कुल, वसन्तपुर दरबार क्षेत्र, तथा अन्य बढी देखिने खालका विकासका काम जस्तै, कोटेश्वर कलङ्की सडक मर्मत, सिभिल सर्भिस हस्पिटल मर्मतजस्ता जनचासोका योजनाहरूबाट विशेषत सार्वजनिक कुटनीतिलाई विशेष प्रथामिकता दिएको बुझ्न सकिन्छ ।
पछिल्लो समय चीनले बहुआयामिक परियोजना बि आर आइ (Belt and Road Initiative) तथा सफ्ट पावरका (Soft power) रूपमा आफ्नो प्राचीन भाषा तथा संस्कृतिलाई फैलाउन कन्फुसियस सेन्टरहरू खोलेको देख्न सकिन्छ, त्यसले नेपालीजनहरूको उसप्रति हेर्ने दृष्टिकोण चीनको अनुकूलता बनाई राख्न सहायता गर्ने हेतु बुझ्न कठिन छैन । यसरी, चीनले नेपालसँगको सहकार्यमा जन मनोविज्ञानको पहेलुलाई राजनीतिक स्वार्थ परिपूर्ति गर्ने सवालमा प्रयोग गर्न खोजेको देखिन्छ । बि आर आइ अन्तर्गतका योजनाहरू निश्चित नभइसके पनि, त्यसमार्फत ठूलो धनराशी भीमकाय विकास योजना नेपालले पाउने निश्चित जस्तै छ, त्यसले नेपालको आर्थिक विकाश गर्ने भनिएता पनि नेपालले सूझबूझ नगमरे ठूलै आर्थिक निर्भरता बढाउने पनि देखिन्छ, जसले चीनको प्रभाव अझ बढ्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ, त्यसले चीनलाई आफ्ना स्वार्थ सजिलै रक्षा गर्न सघाउनेछ ।
नेपाल चीनको तिब्बतसँग जोडिएको पेरिफेरि (Periphery) मुलुक हुनाले, जसमा चीनले अति नै सुरक्षा चासो देखाउँदै आइरहेको छ, जसबाट उत्पन्न हुन सक्ने असुरक्षा उसको राष्ट्रिय “शि” लाई प्रभावित पार्न सक्छ । नेपालमा भारतको परम्परागत प्रभाव रहेको अवस्थामा चीनले नेपालसँगको सम्बन्ध तथा सहकार्यमा चीनले मुख्यता आफ्नो हातमाथि पार्दै, उसले राष्ट्रिय “शि” को रक्षा गर्न र आर्थिक तथा राजनितिक स्वार्थ परिपूर्ति गर्दै आफ्नो “शि” लाई अझ मजबुत गर्न चीनले नेपालमा समग्रताको (Holistic) तरिका अपनाइरहेको देखिन्छ, जसमा उसले लामो तथा छोटो समयका लागि उपलब्ध तौरतरिका अपनाई आफ्ना स्वार्थ पूरा गर्ने उसको प्राचीन चिन्तन तथा कार्यप्रणाली उसको रणनीतिक संस्कृतिमा निहित रहेको देख्न सकिन्छ । जुन कुरा हामीले उनीहरूको सांस्कृतिक, रणनीतिका संस्कारबाट बुझ्न सक्छौँ ।

Bibliography:
Kissinger , H. (2012). On China. New York : New York : Penguin Books.
Mott, W., &Ù Kim, J. (2006). The Philosophy of Chinese Military Culture: Shih vs. Li. Palgrave Macmillan US. https://doi.org/10.1057/9781403983138.
Lama, M. (1989). Indian and Chinese aid to Nepal since 1950M a comparative study in the political economy of foreign aid. Retrieved from: aidttps://shodhganga.inflibnet.ac.in/handle/10603/19089#
Nisbett, Richard E. (2003). The geography of thought : how Asians and Westerners think differently and why. New York: Free Press.

 


प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार

धेरै पढिएको

ताजा समाचार