अबको पालो मौलिकताको


सागरमणि गौतम

नेपाल एउटा विश्वको विविध प्राकृतिक सम्पदा भएको देश हो र प्राचिन सभ्यता बोकेको पूर्वीय दर्शनको उद्गम भुमि मान्छौ । यसै भित्र हिन्दू , बौद्ध, किरात , बोन र जैन आदि मौलिक धार्मिक सम्प्रदायको उद्गम थलो हो । सन् १४९२ सम्म अमेरिका अस्तित्वमा नआउदै नेपालमा किरातीहरूले शासन गरिसकेका थिए अझ त्यस अगाडी महिसपाल र गोपाल वंशिहरुले शासन गरेको इतिहास पाइन्छ । निल घाँटीको सभ्यता, मेसोपोटामियाको सभ्यता हुँदै मोहेन्जादारोसम्म आइपुग्दा पूर्वीय दर्शनले निश्चित आकार ग्रहण गरिसकेको थियो । महर्षी वेदव्यासले वेद लेखे , मान्छेलाई नैतिक अनुशासन कायम राख्दै सामाजिक नियम नीतिमा वाध्न मनुस्स्मृतिको रचना भयो । आचार्य चाणक्यको नीतिशास्त्र जसलाई कौटिल्यको अर्थशास्त्र पनि भनिन्छ, एसियामा नै प्रख्यात छ । अहिंसा परमो धर्म भन्दै शान्तिको सन्देश दिएर गौतम बुद्धले आफ्नो ज्ञान संसारमा फैलाए । जापान, कोरिया, चाइनाको सभ्यता नेपालकै देन भन्दा अत्युक्ति हुँदैन।

२००७ सालमा प्रजातन्त्र प्राप्ति पछि २०१६ सालसम्म संसदिय परिपाटीको शुरुवाती चरणमै त्यतिखेर दलगत र व्यक्तिगत स्वार्थ र शक्तिको खिचातानीले राजनैतिक अस्थिरता पैदा भएपछि राजा महेन्द्रले शक्ति आफुमा केन्द्रित गरी पन्चायती व्यवस्थाको शुरुवात गरेका थिए । पन्चायती व्यवस्थाको शुरुवात नेपालको भूगोल र मौलिक विशेषता अनुसारको थियो जस्तै :पन्चदेव सुर्य गणेश, विष्णु, महादेव, पार्वती पन्च तत्व :पृथ्वी, जल, वायु, तेज र आकाश अनि पञ्चशीलको सिद्धान्त । यी सबै विषय वस्तुलाई आधार बनाई पन्चायत व्यवस्थाको जग बसालेका थिए । राजा महेन्द्रले त्यसबेला गरेका सुधारहरूलाई कुन नेपालीले इन्कार गर्न सक्ला ?

उद्योग धन्दाको स्थापना । गाउँ फर्क राष्ट्रिय अभियान । भूमिको सुधार र भूमिको हदबन्दी । मुलुकी ऐनको निर्माण । भ्रष्टाचार विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग । संरचना उनकै योगदान होइन र ? पूर्वजहरूको देनलाई पछिल्लो पिढीले पछ्याउन नसक्नु हाम्रो ठुलो भुल थियो । अधिकार पाउने नाममा घर जलाएर खरानीको व्यापार गर्न तल्लिन हामी अझै पनि कस्तो व्यक्तिलाई नेता बनाउने र नेतामा हुने चारित्रिक गुण कस्तो हुनुपर्छ भन्ने कुरामा रुमल्लिनुपर्ने अवस्था छ । यसको आशय यो होइन कि फेरि पन्चायत फर्कियोस् भन्ने ।

इतिहासबाट पाठ सिक्नुपर्छ । जरोकिलो आउँदो पिंढीलाई इतिहासको नीर क्षीर विवेकी भएर विश्लेषण गर्न योग्य बनाउन भने आवश्यक छ । २०४६ सालमा पुन: संसदीय व्यवस्था ल्याउन र पार्टी खुल्ला गर्न राजा बिरेन्द्रको जिम्मेवारीलाई हामीले बिर्सिन मिल्दैन । २०४६ सालमा नयाँ संविधान बन्यो, दलहरुको संसदीय शक्ति र राजसंस्थाको शक्तिको संयुक्त दस्तावेज थियो । २०४६ सालको संविधान जसमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, संसदीय शासन प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्षी यसका विशेषता थिए । तर २०४६ सालपछिका राजनैतिक घतानाक्रमहरू नेपाली जनताको लागि शान्ति र स्थिरता दिन सकेन ।

यिनै पदलोलुपहरूले पुन: ठाउँ लिँदै गए । देशको नेतृत्व गर्छौं भन्नेहरु राजनीतिलाई आफु अनुकुल व्याख्या गर्ने र राजनीतिमा स्थायी शत्रु नै हुँदैन भन्दै सत्ताको लागि हतारिने प्रवृतिले राजनीति झन् दुषित हुँदै गयो । संविधान साध्य होइन, साधन हो । यो थाहा हुँदाहुँदै पनि २०४६ को संविधानलाई विस्थापित गरी अर्को संविधान ल्याइयो ।

अब जाग्ने बेला आइसकेको छ । उही पुरानो चरित्रको शासकवर्ग फेरि अकर्मण्यताले ग्रस्त नेता भनौदालाई स्थापित गर्ने संविधान निर्माण गरेर कसरी राष्ट्रको समृद्धि हुन्छ ? राजतन्त्रदेखि गणतन्त्रसम्म, एकात्मकदेखि संघात्मकसम्म सबै व्यवस्थामा तिनै असफल पात्रहरूलाई सत्तामा पुर्याउने संविधानलाई हामीले कतिन्जेल काँध दिन सक्छौं ? भागवण्डा गरेर राज्यसंयन्त्रलाई पंगु बनाइरहेका यी कपूतन्त्रलाई जबसम्म हामीले सत्तावृत्तबाट हटाउन सक्दैनौ तबसम्म नेपालमा विकास, समृद्धि र स्थायित्व आउँदैन।

दीर्घकालिन समृद्धिको लागि देशको हावापानी, माटोका साथै भाषा, धर्म, संस्कृतिको पनि संरक्षण हुनुपर्छ । तर २०६३ पछि राज्यको नीति निर्माणको तहमा पुगेकाहरुले धर्म संस्कृति लत्याएका छन् र राजनीतिलाई आफ्नो जीवनभरको पेशा बनाएका छन् । हामी यसलाई अस्वीकार गर्नुपर्छ । हाम्रो भाषा बिगार्ने प्रयास भयो, नेपालीको पहिचान खोसिएको छ, हाम्रो संस्कृतिमाथि इसाई अतिक्रमण बढ्दो छ, हामीले भनेका थियाै । किरातीहरुको साकेला साकेवा, लिम्बु समुदायको ‘युमा ‘ वा गुरुङ्ग्को ल्होसार होस् वा बौद्ध गुम्बा यो देशको साँस्कृतिक पहिचान हो । तर आज यी धर्म संस्कृतिमाथि चौतर्फी क्रिश्चियन अतिक्रमण भइरहेको छ ।

सनातन वैदिक हिन्दू, बौद्ध, बोन, जैन र किरात जस्ता नेपालका मौलिक धार्मिक सम्प्रदायहरूको संरक्षण र प्रवर्धन पनि हुने र आफ्नै मौलिकताको आधारमा नेपालको राजनीति, शिक्षातन्त्र र अर्थतन्त्र चल्नुपर्छ । धेरै हेर्यौं आयातित सिद्धान्तहरू । अब आफ्नै मौलिकतातिर फर्किनु नै बुद्धिमत्ता हुन्छ।


प्रकाशित : २०७८ भाद्र २८, सोमबार

धेरै पढिएको

ताजा समाचार