जय सिंह धामीको न्यायको लागि हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न


श्रावण १५ गते दार्चुलाको व्यास गाउँपालिका-०२ मालघाटबाट सदरमुकाम खलङ्गा जाने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबि) ले तुईन काटिदिंदा बेपत्ता भएका जय सिंह धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेशले सुरु गरेको हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले श्रावण २३ गतेदेखि नौ हजार जनाको हस्ताक्षरको लक्ष्य सहित हस्ताक्षर संकलन अभियान सुरु गरेकोमा नौ हजार पाँच सय ७ जनाको हस्ताक्षर संकलन गरेर सम्पन्न भएको जानकारी दिनुभयो ।

अध्यक्ष जोशीले भने “नेपाल सरकारले यस घटनामा कुनै ठोस कदम नचालेको हुँदा पिडितलाई न्याय दिलाउन सरकारलाई दबाव दिने उद्देश्यले हस्ताक्षर संकलन गरेको बताउनुभयो । स्थानिय जनताको स्वतस्फुर्त उपस्थिति र समर्थनले लक्ष्य भन्दा बढी हस्ताक्षर संकलन भएको बताउनुभयो ।
दार्चुला जिल्लाको गोकुलेश्वरमा पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीको नेतृत्वमा एक हजार (१०००) जना, कैलालीको गोदावरीमा बैतडी जिल्ला संयोजक पुस्कर राज भट्टको नेतृत्वमा पाँच सय सात (५०७) जना, धनगढीमा उमेश बडुको नेतृत्वमा दुई हजार (२०००) जना, र कञ्चनपुर जिल्लामा स्वयम् आफ्नो नेतृत्वमा छ हजार (६०००) जना गरी जम्मा ९५०७ जनाको हस्ताक्षर संकलन भएको प्रदेश अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

संकलन गरिएका हस्ताक्षर पार्टीका केन्द्रिय अध्यक्ष सुशील गौतम मार्फत प्रधानमन्त्रीलाई बुझाइने योजना रहेको बताउनुभयो ।


प्रकाशित : २०७८ भाद्र ५, शनिबार

धेरै पढिएको

ताजा समाचार