कोरोना बढ्दै अक्सिजन सिलिण्डर घट्दै


कोरोना संक्रमणको आँकडा बढ्ने क्रममा देखिएको छ तर अक्सिजन आपुर्ति र व्यवस्थापन भने निकै भद्रगोलको स्थितिमा पुगेको छ । अक्सिजन सिलिण्डर प्रयोगको लागि लगिएपछि रिफिलका लागि उद्योगसम्म नपुग्दा आपूर्ति र व्यवस्थापनमा झनै समस्या देखिएको छ । सीता मेडिकल अक्सिजन उद्योगका सञ्चालक तथा अक्सिजन उत्पादक संघका सदस्य प्रल्हाद तिमिल्सिनाका अनुसार बजारमा गएको सिलिण्डर कुनै पनि उद्योगसम्म रिफिलिङका लागि आइनपुगेको र अक्सिजन भण्डारण गर्ने व्यवस्था नभएका कारण खाली सिलिण्डर समेत पुनः रिफिलका लागि नआएपछि उद्योगहरुले उत्पादन बन्द गरेर बस्नुपर्ने अवस्था आएको छ ।

यता तेस्रो भेरियन्ट आउनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनमा चासो देखाएको छ । संक्रमणको अवस्थालाई मध्यनजर गरी अक्सिजन व्यवस्थापन गर्न प्रदेशलाई निर्देशन दिएपनि प्रदेश सरकारले प्रभावकारी तयारी गर्न सकेको छैन ।

साथै दोस्रो भेरियन्टमा प्रदेशमा बाँडिएका अक्सिजन सिलिण्डरहरु पनि उद्योगमा रिफिलका लागी फिर्ता नआउँदा उद्योगहरु बन्द गरेरै बस्नु परेको व्यवसायिहरुले बताए । खाली भएका सिलिण्डर रिफिल गरिएन भने आवश्यक पर्दा सजिलै आपूर्ति गर्न सरकारलाई गाह्रो पर्ने भएकाले यस तर्फ सावधान रहन र पूर्वतयारी गर्नुपर्ने अक्सिजन उत्पादक सङ्घका सदस्य तिमिल्सिनाको सुझाव रहेको छ ।


प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार