चौथो विश्व संस्कृत दिवसको निर्देशन समिति गठन


चौथो विश्व संस्कृत दिवसको निर्देशन समिति गठन काठमाडौं । विश्व संस्कृत दिवसको तयारी बैठक त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभाग, कीर्तिपुरमा आज मिति २०७८ साउन २५ गते, सोमबार सम्पन्न भएको छ । बैठकमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र त्रि.वि. संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम सहितका प्राध्यापकहरुका साथसाथै जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता इन्टरनेशनल र जरो किलो प्रतिष्ठान नेपालद्वारा गठित विश्व संस्कृत दिवस कार्यपरिषद्का पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकबाट निम्नानुसारका मुख्य निर्णयहरु गरिएको छ —

(१) जरो किलो प्रतिष्ठान नेपालद्वारा प्रारम्भ गरिएको विश्व संस्कृत दिवसको चौथो वर्षको मूल समारोहका आयोजक संस्थाहरुमा नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ नेपाल र सहृदयता इन्टरनेशनल (अमेरिका) पनि रहने निर्णय गरियो ।

(२) उक्त ६ वटा संस्थाहरुको संयुक्त आयोजनामा मनाइने चौथो विश्व संस्कृत दिवसलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि डा. गोविन्दशरण उपाध्यायको संयोजक र आकाश नीलम् (गोविन्द) सदस्य सचिव रहनुभएको विश्व संस्कृत दिवस कार्यपरिषद्ले कार्यकारी भूमिका पूरा गर्ने निर्णय गरियो ।

(३) चौथो विश्व संस्कृत दिवस आयोजनालाई सुसम्पन्न गर्न निम्नानुसारका पदाधिकारीहरु रहनुभएको निर्देशन समिति गठन गर्ने निर्णय गरियो — प्रा.डा. यादवप्रकाश लामिछाने (उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय) प्रा.डा. नारायणप्रसाद गौतम (प्रमुख, संस्कृत केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय) डा. निर्मलमणि अधिकारी (जरो किलो प्रतिष्ठान नेपाल र सहृदयता इन्टरनेशनलका संस्थापक अध्यक्ष) डा. माधवप्रसाद पाण्डेय (उपाध्यक्ष, सनातन धर्म महासङ्घ नेपाल) डा. नवराज कट्टेल (महासचिव, जयतु संस्कृतम्)

स्मरणीय छ – विश्व संस्कृत दिवस ऋषितर्पणीको दिनमा मनाइन्छ । २०७८ को ऋषितर्पणी भदौ ६ गते परेको छ ।


प्रकाशित : २०७८ श्रावण २५, सोमबार

धेरै पढिएको

ताजा समाचार