राजनीतिक मार्गनिर्देशन दिने, तर राजनीतिक पार्टीमा नरहने र शासकीय राजनीतिक कार्यकारी पदबाट पृथक् रहने किन?


मलाई गरिने प्रश्नको ढाँचा केही परिवर्तन हुन थालेको देखेको छु । पहिले सोधिन्थ्यो  —

“तपाईँ राजनीतिमा प्रवेश गर्नुभएको हो ?” (पार्टीगत राजनीतिमा नओर्लिए हुन्थ्यो भन्ने आग्रह अन्तर्यमा)

“तपाईँ कुन निर्वाचन क्षेत्रबाट चुनावमा उठ्नु हुन्छ ?”

“कति वर्षमा नेपालको प्रधानमन्त्री वा राष्ट्रपति बन्छु जस्तो लाग्छ तपाईँलाई ?”

अचेल धेरैलाई जानकारी भइसकेको छ — म कुनै पार्टीगत राजनीतिमा सीमित भएर, चुनावमा प्रतिस्पर्धा गरेर कुनै शासकीय राजनीतिक कार्यकारी पद लिनका लागि कार्यरत होइन । राजनीतिक मार्गनिर्देशन दिने अवश्यै हो, तर कुनै वैयक्तिक लाभ, चुनावी प्रतिस्पर्धा, शासकीय पदका लागि जरोकिलो महाअभियान स्थापना गरेको होइन । उपर्युक्त तथ्यको जानकारी भएपछि पहिलेका ढाँचाका प्रश्न स्वतः असान्दर्भिक हुने नै भए ।

अचेल सोधिन्छ —

“राजनीतिक मार्गनिर्देशन दिने, तर राजनीतिक पार्टीमा नरहने र शासकीय राजनीतिक कार्यकारी पदबाट पृथक् रहने भन्नुभएको किन ?”

राजनीतिक मार्गनिर्देशन दिने, तर शासकीय राजनीतिक कार्यकारी पदबाट पृथक् रहने निर्णय लिइनुको समुचित कारण छ । ऋषिसत्ताको उत्तराधिकारी भएको हुनाले एवं आचार्य पद्धतिको कार्यान्वयनको जिम्मेवारी लिएको हुनाले धर्मनीति र राजनीतिको सम्बद्धता र पृथकताको जटिल र अपरिहार्य सवाललाई उदाहरणीय तरिकाले समाधान गर्नु मेरो कर्तव्यहो । उपर्युक्त कर्तव्य म सनातन धर्म महासङ्घको अध्यक्ष हुनुको कारणले त झन् प्रखर बनेको छ । धर्मसंस्थाको प्रमुख व्यक्तिले धर्मसंस्था भनेको पार्टीगत राजनीति र शासकीय कार्यकारी पदको तुलनामा धेरै बृहत्तर हो भन्नेतथ्यलाई मनन गर्नै पर्छ । धर्मसंस्थाको प्रमुख व्यक्तिले पार्टीगत राजनीतिमा सीमित हुन एवं चुनावमा प्रतिस्पर्धा गरेरकुनै शासकीय राजनीतिक कार्यकारी पद लिन खोज्यो भने त्यसले धर्मसंस्थाको व्यापकतालाई नकारात्मक असर पार्छ। धर्मसंस्थाको नेतृत्व राजनीतिक पार्टी वा अभियान वा सङ्गठनहरुको गुटबन्दी, कित्ताकाट तथा प्रवञ्चनाबाट मुक्त रहेर गर्नु पर्छ । आवश्यक परेको अवस्थामा चाहिँ राजनीतिक पार्टीहरुलाई निर्देशन दिन र सो निर्देशन कार्यान्वयन गराउन सक्षम नेतृत्व धर्मसंस्थामा चाहिन्छ ।

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण (जसलाई युरोपेली क्रिस्चियन परिप्रेक्ष्यमा चर्च र राज्यको पृथकीकरण “Separation of Church and State” भनियो) को व्यवहार हाम्रोमा वैदिक मान्यतामै रहेको देखिन्छ र उक्त मान्यतालाई बौद्ध, जैन, किराती आदि पद्धतिमा पनि अवलम्बन गरिएको देखिन्छ । धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले वैदिक कालदेखिनै र युरोपेली क्रिस्चियनहरुले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ ।
सारमा, आजको समयका परिप्रेक्ष्यमा भन्नुपर्दा, धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य,  सांस्कृतिक– सामाजिक– सम्प्रदाय –केन्द्रित  संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण  एउटा समान मान्यता रहेको छ, जो हामी र पश्चिमाहरु दुवैथरिले समुचित सैद्धान्तिक निष्कर्षमा पुर्याएका छौँ। कतिपय इस्लामी राष्ट्रहरुमा उपर्युक्त सैद्धान्तिक निष्कर्षमा पुग्न अझै बाँकी रहेको देखिन्छ, तर उनीहरु पनि चाँडो वा ढिलो उही सैद्धान्तिक निष्कर्षमा नपुगी सुखै छैन ।
धर्म–सम्प्रदायाधारित,  धार्मिक–परम्परा–जन्य,  सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित  संस्थाहरु  र  राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले राज्यराष्ट्र सिद्धान्तमा चौथो बुँदामा आत्मसात् गरेका छौँ । राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमारहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो।
गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाटप्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले कुनै राजनीतिकपार्टीमा रहनु, राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा चुनावमा लड्नु, राज्यको कार्यकारी राजकीय पद धारण गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य हो । वैदिक ऋषिहरुका साथसाथै कालान्तरमा आप्त मानिएका अन्य ऋषि, सन्त, महात्मा, बुद्ध, तीर्थंकर आदिको जीवनी, व्यक्तित्व, कर्तृत्वको अनुसन्धानगरी हेरौँ त, उक्त तथ्य स्पष्टै छ । उहाँहरुले राजनीतिक दर्शन, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गरेको गराएको त देखिन्छ, तर आफैँ प्रत्यक्ष राजनीतिमा सामेल भएर शासकीय सत्ताको खेलबाडमा लागेको देखिँदैन । शास्त्रीय निर्देशनहरुको अन्वेषणबाट पनि राजनीतिमा उक्त प्रकारकामहानुभावहरुको प्रत्यक्ष खेलबाडलाई अमान्य नै ठहर्याउनु पर्ने देखिन्छ ।

राजनीतिक पार्टीका कार्य धर्मसंस्था / धार्मिक सङ्गठनबाट गर्नु गराउनु असम्मेयता दोष हो, गलत व्यवहार हो, घातक परिणाम हुने प्रवञ्चना हो । धर्मसंस्था / धार्मिक सङ्गठनको कार्यराजनीतिक पार्टीहरुले खोसेर लिनु तिनीहरुले गरेको अपराध थियो । तिनीहरुले गरेका आपराधिक दुव्र्यवस्थालाई सच्याउनेतिर नलागी झन् उल्टै धार्मिक सङ्गठनलाई राजनीतिकोअखाडामा उतार्ने हो त ? धर्मसंस्था / धार्मिक सङ्गठनको नाममा धर्ममूलक कर्ममा केही नगर्ने वा पर्याप्त नगर्ने, तर राजनीतिक मुद्दाहरुमा आन्दोलन गर्ने, जुलुश गर्ने, गुटबाजी गर्ने प्रवृत्ति अस्वीकार्य छ । तृष्णा राजनीतिको भएका, तर धर्मसंस्था धार्मिक संस्थामा ढलीमली गरिरहेका व्यक्तिहरुले धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई दुरुपयोग गरिरहेको अवस्था छ ।त्यस्तो अवस्थालाई परिवर्तन गरी धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई मुख्यतः धर्ममूलक कर्ममा नै लगाऔँ ।

धर्मसंस्था/धार्मिक सङ्गठनहरुलाई राजनीतिक आन्दोलनमा उतार्ने प्रवृत्तिले धार्मिक सङ्गठनहरुले खास गर्नु पर्ने धर्ममूलक कर्ममा साधन, स्रोत एवं शक्ति पुगेको छैन । धर्म, संस्कार, संस्कृति, स्वसंस्कृतिकरण, सामाजिकीकरण, मौलिक शिक्षा पद्धति, गोरक्षा एवं धर्ममूलक सम्पदाको अनुसन्धान, संरक्षण, संवर्धन, प्रवर्धनका लागि केही नगर्ने, तर राजनीतिक मुद्दामा नाराजुलुश / आन्दोलनमा सडक तताइरहने प्रवृत्तिले घातक परिणाम निम्त्याइरहेको तथ्यप्रति विचार गरौँ । धर्मसंस्था / धार्मिक सङ्गठनहरु कमजोर हुँदा समाज, संस्कृति, सभ्यतामै नकारात्मक असर पर्छ । धर्मसंस्था / धार्मिक सङ्गठनहरुलाई कदापि कमजोर बनाउनु हुँदैन । कमजोर नहुन आफ्नो कार्यक्षेत्र जानेर सोही अनुसार कर्तव्य पूरा गर्नु पर्छ । राजनीतिकआन्दोलन यदि आवश्यक छ भने त्यो राजनीतिक सङ्गठन वा अभियान वा पार्टीहरु मार्फत् नै हुनु पर्छ र धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई मुख्यतः धर्ममूलक कर्ममा नै लगाउनु पर्छ। उही व्यक्ति धार्मिक सङ्गठनमा पनि रहन सक्छ र राजनीतिक सङ्गठनमा रहन सक्छ, तर राजनीतिक सङ्गठनको मुद्दा (एजेण्डा) को भारी धार्मिक सङ्गठनलाई बोकाउँछ भने त्यो अस्वीकार्य हो । राजनीति पनि धर्मको विवेकले चल्नु पर्ने परिस्थिति बनाऊँ, तर धर्मको नाममा अधार्मिक राजनीति गर्नेहरुलाई चलखेल गर्न नदिऊँ ।

क्रिस्चियन पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले कतिपय स्थानमा राजनीतिमा खेलबाड गरेको देखासिकीले त्यो प्रवृत्तिले कतिपय व्यक्तिहरु हिन्दू धर्मका नारा उरालेर राजनीतिमा जम्न सकिन्छ कि भन्ने कारोबारमा लागेका हुन् । अन्यत्रबाट आएका नराम्रा देखासिकीमा नलागौँ । हाम्रो मौलिक मान्यता बोध गरौँ, अवलम्बन गरौँ ।“धर्मगुरु” को चोला, आवरण, भेषभुषा लिएपछि सोही मान्यता मिल्ने व्यवहार गर्नै पर्छ । सनातन हिन्दू भित्रका सम्प्रदायका “धर्मगुरु”, “मठाधीश”, “संस्था प्रमुख” तथा बौद्धभिक्षु, जैन मुनि, क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिका परिप्रेक्ष्यमा पनि सोही अनुसार बुझौँ । ईश्वरीय आस्था र धार्मिक आस्थाजन्य उपासनाका पद्धति र संस्कारका क्षेत्रमा मुख्य भूमिका रहेपछि सो भूमिकाको महिमा र सीमा पनि सदैव मनन गर्नै पर्छ । धर्मनीति र राजनीतिको अन्तरसम्बद्धता र पृथकताको सवाललाई समुचित समाधान गर्न नसक्दा जटिल समस्यामा परिन्छ । राजनीतिका लागि राजनीतिक दर्शन, सिद्धान्त, मत आदि नै मानक हुनुपर्छ । राजनीतिक दर्शन, सिद्धान्त, मत आदिले धर्मको विवेकलाई आत्मसात् गर्नुपर्छ ।

सनातन हिन्दू भित्रका सम्प्रदायका “धर्मगुरु”, “मठाधीश”, “संस्था प्रमुख”, बौद्ध “धर्मगुरु”, किराती “धर्मगुरु”, बोन “धर्मगुरु”, जैन “धर्मगुरु” आदिलाई शासन सत्तामा राजकीय कार्यकरी पदमा जाने उद्देश्यले प्रत्यक्ष राजनीतिक खेलबाडमा लाग्दा स्वागत गरियो भने त्यो कार्यको तात्पर्य र असर के हुन्छ ? त्यो त क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले साम्प्रदायिक कित्ताकाट गराएर चुनावमा फाइदा लिई शासन सत्तामा कब्जा जमाउने बाटो बनाइदिनेहरुलाई सजिलो पार्ने कार्य हुनेछ ।जसरी क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदि, अनि बौद्ध भिक्षु, जैन मुनि आदिले उनीहरुका सम्प्रदायगत, सांस्कृतिक, नैतिक, धार्मिक गतिविधिमा आफूलाई केन्द्रित गराउनु पर्छ, उसरी नै सनातन वैदिक हिन्दू धर्मानुसार गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले पनि आफ्नाे धार्मिक, सांस्कृतिक, नैतिक सीमालाई पालना गर्नै पर्छ । पोप, पाष्टर, पादरी तथा मुल्ला, मौलवी लगायतलाई अवाञ्छित राजनीतिक चलखेल गर्न नदिनका लागि वा तिनीहरुले गरेमा रोक्नका लागि नैतिक बल हाम्रो यस्तो आचारविचारबाट आउँछ ।

हो, हामीले राजनीतिक दर्शन, सिद्धान्त, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गर्नु गराउनु अवश्यै पर्छ, तर स्वयं आफैँ राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा गुटबाजी, चुनावी तिकडम, सत्ताको खेलबाडमा लाग्ने गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य ठहरिन्छ ।प्रत्यक्ष राजनीतिचाहिँ कर्मठ गृहस्थ, बौद्धिक, श्रमजीवी लगायतका वर्गहरुले राजनीतिक दर्शन, सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, विश्वदृष्टिकोण, रणनीति, कार्यनीतिका आधारमा गर्ने हो भन्ने नै सनातन वैदिक हिन्दू मान्यता हो । यो राजनीति धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नु चाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।
राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल भएकाले त्यो भनौँ, तर “धर्मगुरु”, “मठाधीश”, “संस्था प्रमुख” को चोला, आवरण, भेषभुषा लिएकाहरुलाई बजारीकरण, नाफाखोरी, राजनीतिक खेलबाड, सत्तामुखी चलखेल, राजनीतिक पार्टीका गुटगत कित्ताकाटमा दुरुपयोग हुनबाट रोकौँ ।

राजनीतिक वैधानिकताको स्रोत कुनै चर्च वा मस्जिद हुनुहुँदैन भनेर जसले भने, संघर्ष गरे, केही हदसम्म उपर्युक्त मान्यता स्थापित पनि गराए, तिनीहरुले हाम्रा ऋषिहरुका मान्यतालाई आफ्नै आफ्नै तरिकाले अनुकरण गरे । नेपालमा पनि कसैले चर्च वा मस्जिदलाई राजनीतिक उद्देश्यको लागि दुरुपयोग गर्छ भने त्यो पूर्णतः अस्वीकार्य हो, अवाञ्छित हो । सोही मानक गुम्बा, चैत्य, गुरुद्वारा, थान, चौका, मन्दिर, मठ आदिका सन्दर्भमा त झन् बुझ्नु पर्छ । किनभने धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक्  पृथक्  कार्यक्षेत्रको  विशिष्टिकरण  (जसलाई  युरोपेली  क्रिस्चियन परिप्रेक्ष्यमा  चर्च  र  राज्यको  पृथकीकरण  “Separation of Church and State” भनियो)  को व्यवहार हाम्रोमा ऋषि, बुद्ध, तीर्थंकर, आचार्य, सन्त, महात्मा, गुरुजनद्वारा अनुमोदित  रहेको देखिन्छ ।

धर्मसंस्थामा धर्मको विवेकले चल्ने धर्मराजनीति कस्तो हुनुपर्छ भनेर चिन्तन अवश्यै गर्नु पर्छ, तर राजनीतिक कार्यसूचीले धर्मसंस्थालाई प्रदूषित गर्न दिनु त पटक्कै दिनुहुँदैन । राजनीतिक पार्टीहरु, राज्यका विभिन्न अवयवमा जिम्मेवारीमा रहेका व्यक्तिहरु र संस्थागत संरचनाबाट अधार्मिक, पापी,  आततायी क्रियकलाप भएको अवस्थामा त्यस्ता क्रियाकलापलाई रोक्ने अधिकार चाहिँ धर्मक्षेत्रका अगुवाहरुसँग अवश्यै छ । इतिहासमा बेनको अन्त्य गर्न ऋषिसत्ताले हस्तक्षेप गर्नु परेको उदाहरण यहाँ उल्लेख्य छ । तर राजनीतिक पार्टीका पछुवा हुने गरी धर्मसंस्थामा नेतृत्व गर्न आउनु र त्यस्तो अवाञ्छित क्रियाकलाप गर्नु पूरै अस्वीकार्य छ । धर्मको धारणामा समाजका सबैलाई मार्गनिर्देशन दिने हो हामीले त । राजनीतिक पार्टीलाई पनि धर्मका सन्दर्भमा मार्गनिर्देशन गर्ने हो हामीले । तिनीहरुलाई राजधर्मशास्त्र पढाउने, सिकाउने, अवलम्बन गर्न लगाउने हो हामीले ।  हामी मार्गनिर्देशक हौँ भने हाम्रो आदर्श व्यवहार पनि सोही मर्यादा अनुसारको हुनुपर्छ । राजनीतिक मार्गनिर्देशन दिने, तर राजनीतिक पार्टीमा नरहनेर शासकीय राजनीतिक कार्यकारी पदबाट पृथक् रहने मेरो निर्णय सोही मर्यादाको पालनाको लागि हो ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार

धेरै पढिएको

ताजा समाचार