हेपाहा प्रवृत्तिको अन्त्य हुनुपर्छ : जरोकिलो


शुक्रवार दार्जुलाको व्यास नगरपालिका–२ स्थित मालाघाटबाट खलंगा आउँदै गर्दा महाकाली नदी तर्नेक्रममा नेपाली नागरिक जयसिंह धामीको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको फलामे डोरी निकालिदिएका कारण महाकालीमा खसेर बेपत्ता भएको खबरप्रति मौलिक जरोकिलो पार्टीको गम्भीर ध्यानआर्कषण भएको बताएको छ ।

सीमा क्षेत्रमा समयसमयमा भारतीय सुरक्षा निकायहरुबाट भइरहने ज्यादतीबाट नेपाली नागरिकहरुको अनाहकमा ज्यान जानेसम्मका घटनाहरु दोहोरिरहनुले छिमेकी देशको हेपाहा प्रवृत्तिलाई उजागर गरेको कुरा पार्टी प्रवक्ता मित्रलाल सापकोटाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा बताईएको छ।

मौलिक जरोकिलो पार्टी नेपाल सरकारको ध्यानाआर्कषण मात्रै होइन यस्ता किसिमका घटनाहरुफेरि नदोहोरिने वातावरण बनाउन पहल होस् भन्न चाहन्छ ।

भारतीय सुरक्षा निकायले तुइन चुँडाएका कारण महाकालीमा भएको उक्त घटनाका सम्बन्धित परिवारलाई राहत दिन, तुइनको विस्थापन गरी वैकल्पिक व्यवस्था गर्न र नेपाल सरकार परराष्ट्र मन्त्रालयले भविष्यमा कुनै नेपालीको यस्ता घटनाका कारण ज्यान जाने अवस्था नआउने सुनिश्चिता गरिनुपर्छ । यस प्रकारको अमानवीय र हेपाहा प्रवृत्तिको अन्त्य गर्न घटनाका दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन तुरुन्तै ठोस कुटनीतक पहल गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ ।


प्रकाशित : २०७८ श्रावण १६, शनिबार

धेरै पढिएको

ताजा समाचार