के थियो २०१७ सालको नेपालगञ्ज काण्ड


ग्रीष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’, दोश्रो भाग (आमनिर्वाचन र त्यसपछि), २०३३ पहिलो संस्करण को पृ. ४३८ देखि ‘नेपालगंज काण्ड’ शीर्षकमा उल्लेख गरिएका वृत्तान्तहरु अहिलेको सन्दर्भमा पुनः पढ्न योग्य देखिएका छन् । पहिले तिनै वृत्तान्तहरु हेरौँ । ‘नेपालको राजनीतिक दर्पण’, दोश्रो भाग (आमनिर्वाचन र त्यसपछि) पुस्तकमा यस्तो लेखिएको रहेछ :— “नेपालगंज काण्ड, ०१७।१।७ को समाज दैनिक पत्रिकामा‘ नेपाल विरुद्ध प्रचार गर्न र षडयन्त्रलाई सफल गराउने प्रयासमा जनतामा विष फैलाउने साधन स्थानीय नारायण इण्टर कालेज र यस्मा काम गर्ने विदेशी प्राध्यापकहरु नै रहेछन् । जो नेपालगंज मात्र हैन नयाँ मुलुक नै भारतको हो र पछि अंग्रेजले भारतबाट कट्टी गरी सन् १८५७ को गदर पछि नेपाललाई दिएको हो भन्ने प्रचारमा लागेका छन् । जिल्लाका ठूला व्यापारी पनि यस षडयन्त्रमा सम्मिलित भएको कुरा पुलिसलाई थाहा भइसकेको छ, तर पुलिस प्रमाणको पछाडी छ । यस्तै भारतीय अधिकारी जो भारत र नेपालको सम्बन्ध सुधार्न नियुक्त छन् उनको पनि यस षडयन्त्रमा हात छ । यी षडयन्त्रकारीहरु मध्ये हिन्दुस्थान समाचार एजेन्सी लिमिटेडका स्थानीय सम्वाददाताको साथै नेपाल स्थित अन्य दुई भारतीयहरुलाई स्थानीय पुलिसले गिरफ्तार गरी हिरासतमा राखेको छ ।’ भन्ने प्रकाशित भयो । बैशाख २० गतेको समाज दैनिक पत्रिकामा ‘यी पुन षडयन्त्रकारीहरु आफ्नो षडयन्त्रकारी कार्यक्रमलाई स्थगित झैँ राखी गुप्त कार्यक्रममा संलग्न छन् । गुप्त वार्ता र छलफल हुने ठाउँ नेपाल सरहदका एक नामी, धनी व्यापारीको निवासस्थानमा हुने गरेको छ, जुन कुरा पुलिसलाई थाहा नभएको हैन तर पनि पुलिसले छापा मार्न सकेको छैन । यसरी षडयन्त्रकारीहरु पक्रिए पनि तिनीहरुको दल अझै सकृय हुनाले शहरको स्थितिमा भय व्याप्त छ ।’ भन्ने प्रकाशित भयो । प्रधानमन्त्री विश्वेश्वप्रसाद कोइरालाले ०१७।१।२४ को प्रतिनिधिसभामा प्रश्नोत्तरको समयमा ‘हालै नेपालगंजमा साम्प्रदायिक तथा मदिस पहाडी भावना फैलाएको अभियोगमा पुलिसले केही व्यक्तिलाई गिरफ्तार गरेको छ र तिनीहरु उपर कानूनी कार्यवाही गरिंदैछ । सन् १८५७ को गदरपछि नेपालगंज नेपाललाई प्राप्त भएको हो र सो इलाका भारतमा जानु पर्दछ भन्ने प्रचार पनि ती व्यक्तिहरुले गरेका थिए ।’ भन्नुभयो । बैशाख ३० गतेको समाज दैनिक पत्रिकामा ‘सर्वश्री शामलाल पाण्डे र दानबहादुरलाई पुलिसले फेरि यसपाला पनि जिल्ला निकाला गरेको समाचार छ । यी दुबै व्यक्ति पहिले ०१३ सालमा पनि जिल्ला निकाला गरिएका थिए । तर भारतीय कमरसियल एटैचीको जोड र पश्चिम नेपालका ठूला व्यापारी श्री टण्डनले यी नभए नारायणी इण्टर कलेज नै चल्न नसक्ने जस्तो तर्क पेश गरी दोश्रो चाहिले जमानत जस्तो बसी जिल्लामा हुलेका थिए । यस पटक तिनीहरुले नारायण इण्टर कलेजका छात्रहरुलाई नै नेपाल र भारतको कलहको बिउ बनाउने प्रयास गरी दक्षिण भारतको झण्डा गाडी छात्रहरुलाई अबैध तालिम दिन लागेको समय पुलिसले स्थलमै पक्राउ गरेकोले ती एटैची र व्यापारी निमुख भएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन गएका महाधिवेशन सदस्यहरुमा पनि यस दलका (विदेशी नागरिक) सदस्य हुनाले ती दुबै जना फेरि काठमाण्डौं पुगेका छन् । नेपालगंज छोड्नु अघि आफूहरुलाई नेपालगंजबाट कुनै शक्तिले निकाल्न सक्ने छैन भन्ने गर्व पनि गरेर गएका छन् ।’ भन्ने आदि प्रकाशित भयो । यातायात तथा संचार सहायक मंत्री श्री ललितचन्द नेपालगंजको पूरा विवरण प्राप्त गर्नको निमित्त ०१७।२।७ मा त्यस जिल्लातर्फ प्रस्थान गर्नुभयो । पश्चिमाञ्चल डी.आई.जी.को यस विषयमा ०१७।२।७ को भनाइ ‘विगत २९ चैत्रको दिन बेलुकी भारतीय राष्ट्रिय स्वयम्सेवक संघको शाखाद्वारा स्थानीय तरुणहरु, केही छात्रहरु र अन्य केही व्यक्तिलाई पनि लट्ठी तरवार इत्यादि दिई भारतको झण्डा भगवाध्वज गाडी ट्रेनिङ दिइरहेको समयमै पुलिसले पक्राउ गरेको छ । ट्रेनिङ शहरको उत्तरपट्टिको रानीतालाब बगैचामा हुने गरेको रहेछ । पुलिसले पक्राउ गर्दा झण्डा, लट्ठी र तरवार समेत बरामद गरेको छ । भारतीय आर.एस.एस. को कार्य अराष्ट्रिय र साम्प्रदायिकता फिजाउने भएकोले पक्राउ भएकामा श्री दानबहादुर सिंह (संचालक नारायण शिक्षा प्रसार योजना),  श्री श्यामलाल पाण्डे (प्रिन्सिपल नारायण इण्टर कालेज), श्री खेमराज शाह (नेपाली नागरिक शिक्षक नारायण इण्टर कालेज),  श्री गयाप्रसाद मिश्र (प्रतिनिधि हिन्दुस्थान समाचार), श्री शिवशंकर सिंह (शिक्षक नारायण इण्टर कालेज) र श्री पि.डि. गुप्त समेत ६ जवान छन् । यी सब आर.एस.एस.का विशेष ट्रेनिङ (ओ.टी.सी. र आइ.टी.सी.) पनि पाएका साबित भएका छन् । बैशाख ३ गतेका दिन स्थानीय बडाहाकिमले सर्वश्री दानबहादुर सिंह र श्यामलाल पाण्डेलाई नेपाल छोड्न आदेश दिनु भएको छ र अरुले माफी मागी सरकारलाई कागज लेखि दिएकोले एक पटकलाई माफी दिनु भएको छ । यी सब पक्राउ भएका व्यक्तिहरुमाथि अराष्ट्रिय भन्ने चार्ज लगाइएको हो । सर्वश्री दानबहादुर र श्यामलाल पाण्डेलाई २०१३ सालमा पनि यही चार्जमा जिल्ला निस्कासन गरिएको थियो ।’ भन्ने थियो । प्र.मं. श्री विश्वेश्वर प्रसाद कोइरालाको ०१७।२।१५ को पत्रकार सम्मेलनको भनाइ ‘नेपालगंजलाई पुनः भारतमा मिलाइयोस् भन्ने भारतले माग गरेको छ भन्ने कुरा बिल्कुलै निराधार, निरर्थक र केही गैर जिम्मेदार व्यक्तिहरुको प्रचारमात्र हो र भारत सरकारले त्यस प्रकारको माग गरेको छैन, न गर्ने कुरै छ । त्यहाँ दुई तीन जना गैर जवाफदेहि व्यक्तिहरुले नारायण शिक्षा प्रचार समितिको आड लिएर नेपाली भाषा विरोधी प्रचार र पहाडी मधिसेको भावना ल्याई विभेद पैदा गर्ने प्रयत्न गरेका थिए । यस सिलसिलामा २ जनालाई देशबाट निस्कासित गरिदिइएको छ र नारायण शिक्षा प्रचारिणी समितिलाई आफ्नो हातमा लिने कुरा उपर सरकार विचार गर्दैछ’ भन्नुभयो । यसपछि ०१७।४।११ को स्थानीय पत्रिकाहरुमा ‘इण्टर कालेजको सञ्चालक मंडलका श्री कृष्णगोपाल टण्डन नेपालगंज काण्डलाई लिएर राजधानी आउनु भयो । वहाँ आउनाको कारण बडाहाकिमको केही महिना अघिको फैसलालाई रद्द गराई जिल्ला निस्कासन गरिएका व्यक्तिहरुलाई फेरि उक्त कलेजमै राख्ने थियो । राजधानीमा वहाँले श्री ५ को सरकारका अधिकारीहरुसँग कुराकानी गरी शिक्षा डाइरेक्टरलाई नै आफ्नो पक्षमा गराई जाँच गराउने बहानामा काठमाण्डौंबाट प्रस्थान गर्नु भएको छ । जाँच कुन किसिमको हुने हो र २०१३ को झैं फेरि पनि श्री टण्डन आफ्ना मकसदमा सफल हुनुहुन्छ भन्ने चर्चा छ ।’ भन्ने प्रकाशमा आयो । तर यसपछि यसप्रति के कस्तो कारवाही भयो त्यो जनसमक्ष आएन ।”


प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार

धेरै पढिएको

ताजा समाचार