कसरी मुलुकलाई यो संकटबाट जोगाउन सकिन्छ भन्ने तर्फ सोच्ने बेला आएको छ ।


आफ्नो ज्ञान र विवेक प्रयोग गर्दै समय सापेक्षित रूपमा आफूलाई परिवर्तन गरौँ ।

१] आज नेपालमा राजनीतिक परि-घटना एक पछि अर्को गर्दै सह्माली नसक्ने अवस्थामा पुगिरहेको छ । एउटा आफूलाई जान्ने बुझ्ने भन्ने समूह मौन छ । जस्तो सुकै परिस्थिति आए पनि नसुने झैं र नदेखे झैं गर्दछ । कसैले गल्ती गरे म मौका पाउँथे भनेर चुपचाप मौकाको पर्खाइमा रहने गरेको छ ।

२] अर्को ग्रुप जहिले पनि जुनसुकै सरकार आए पनि समस्या मात्र फलाकेर आफू चर्चामा आइरहने किसिमको हुन्छ । समस्या सबै भन्न जान्ने तर यसरी समस्या समधान हुन्छ भनेर समाधानको सूत्र नदिने । निकै बुझेको जस्तो गर्ने तर देशलाइ दुई कौडिको काम नलाग्ने र नगर्ने रहेको छ।

३] अर्को एउटा ग्रुपले सोच्दछ कि, म पुरानो राजनीतिककर्मी भएकोले मैले सारा बुझेको छु । मेरा घरमा यी सबैलाई भात ख्वाउने र सुताउने काम गर्दै प्रहरी र प्रशासनबाट जोगाएको थिएँ । आज मलाई बेवास्ता गर्दैछन् । यिनिहरुका कारण मैले दु:ख पाएको हो । यिनका खुट्टामा फित्तावाला चप्पल थिए । कसैका खुट्टामा त चप्पलसम्म थिएन । यिनीहरूको यथार्थ हैसियत मलाई थाहा छ भनेर चिच्याउने, आह्रिस गर्ने गर्दछन् । यसको कारण के हो भने, उसले राजदुत पाएन , डाइरेक्टर पाएन , प्रमोसन पाएन , सालो -साली नातागोतालाई ठाउँमा पुर्याउन वा सोचेको जस्तो लुट्न खान पाएन । हिजो आफैंले सहयोग गरेको, चन्दा दिएको मान्छेलाई मैले मान्नु पर्ने भन्दै ईर्ष्यालु भएर उसलाइ गाली गरि बस्छ । त्यस्ता प्रवृत्ति भएका मान्छेले न पार्टी छोड्छ न सकारात्मक बन्छ न अरुलाई विश्वास गर्दछ ।

४] अर्को ग्रुप छ सिजनेवल । जनताको मुम्मेन्ट वा बजारमा के कुरा हुँदैछ, त्यसको चाल बुझ्छ । बजारको अवस्था हेरेर हावादारी गफ , भाषण गर्न थाल्छ । दुईचार पैसा दुनियाँबाट उठाउने, आधा भन्दा धेरै आफैंलाई राख्ने अनि ठूलो समाजसेवी हुँदै बिहान कसैले खादा माला नलगाइ दिए पनि घरवाट निस्कदै लगाएर अरुलाई तमासा देखाउने गर्दछ । अनि दुईचार जनाले चिने पछि विचार दर्शन , गन्तव्य केही थाह छैन तर पनि दुई चारवटा पार्टी अफिस धाउँने र मलाई तपाईँहरूको विचार राम्रो लाग्यो कागज, विधान पर्चा के छ भनेर बटुल्ने गर्दछ । सबैतिरका विधान, पर्चा भेला गरेर आफूलाई जान्ने, बुझ्ने संझेर , अरुको चोरेर पार्टी खोल्दछ र जनतालाई भ्रमित पार्न सिपालु हुन्छ । आफ्नो ज्ञान र इमान्दारीता केही हुँदैन । अलिकति हुल र भिड जम्मा गरेपछि अर्को पार्टीसँग एकिकरण गरेर ठूलो पद पाउने सपना देखेर बसेको हुन्छ ।

५] अर्को पुरानो एउटा खेलाडी समूह हुन्छ । आफूलाई ठूलो संझने तर पद्धति र संस्कारविहिन हुन्छ । उसले उठाएका कुरामा सत्यता छैन भन्ने जान्दाजान्दै पनि भ्रम छर्न सिपालु हुन्छ । उदाहरणको रूपमा जो राजा राजा भनेर कुद्छन् तर राजाको सन्दर्भमा प्रश्न सोध्दा भाग्छन । राजा कसरी ल्याउने भन्दा जवाफ छैन । ६/७ बर्षदेखि सडकमा उफ्रिनछन् । यही हप्ता आयो, अब आयो , खुलासा भयो, राजा आयो भनेर बुरुक-बुरुक उफ्रिने ढाँट ग्रुप छ । न राजासँग सल्लाह छ न उनीहरुले भने बमोजिम राजा आउने ढोका छ । उनीहरुलाई राजा कसरी आउँछन भन्दा तर्क सहित दिने जवाफ पनि छैन । न राजालाई उनीहरूको सडक उफ्राई चित्त बुझेको छ न नागरिकलाई । एक हुल मानिसहरू सडकमा कुदेका छन्, नारा लगाएका छन् , ठगहरुले प्रोपोगाण्डा मच्चाएका छन् तर राजा ल्याउने वैधानिक बाटोको अत्तोपत्तो केही छैन । यी नेता भनाउँदाको ज्यादति हेरेर वरु राजा आउन भन्नेको ग्रुप पनि छ तर त्यस्ता सिधासाधा जनतालाई ठगहरूले आफ्नो स्वार्थसिद्धमा प्रयोग गरि रहेका छन ।

६] अर्को ग्रुप छ सत्तामा वा सत्ता बाहिर, देशसँग र नागरिकसँग कुनै सम्बन्ध छैन । विदेशी प्रभुले भनेको कुरा लागू गर्ने, उसैले भनेको मान्ने मात्र तिनीहरूको काम हो । देशको अस्मिता लुटियोस् वा देश विदेशीको प्रयोगशाला बनोस् उनीहरूलाई केही मतलव हुदैन । आफू सत्तामा बसेर वा एक्लै वा समूहमा संख्या अनुसारको भाग खाने, मोज गर्ने जस्ता सुकै विदेशी प्रभुका आदेश मान्ने र जनतालाइ भ्रम छरिरहने देखियो यी कसैबाट समस्या समाधान छैन र हुँदैन पनि । उनी हरु यस्ता राष्ट्रघाती परियोजना सम्झौता गर्न लागू गर्न समेत तयार छन ( क) एमसिसी ( मिलेनियम च्यालेन्जकर्पोरेसन अमेरिका परियोजना ) ( ख) विआरआइ ( वेल्ट एण्ड रोड इनिसियटिभ चीन परियोजना ) ( ग) रिभर लिंक ( इण्डियाको नदि जडान परियोजना )

७] अब नेपाली जनताले गहिरिएर सोच्ने बेला आएको छ । जहाँ जस्ले जे भन्यो त्यता कुद्ने होइन । चिल्ला कुरा र भिडलाई विश्वास गर्ने होइन । चिन्तन गर्नुहोस कि हुन सक्ने र गर्न सकिने चाहिँ के हो भनेर । हिंस्रक गतिविधि नगरि, दङ्गा नगरि, फरक तरिकाबाट देश सुरक्षित कसरी गर्न सकिन्छ, कसरी मुलुकलाई यो संकटबाट जोगाउन सकिन्छ भन्ने तर्फ सोच्ने बेला आएको छ ।

८] एक पटक जरोकिलो परिवारसँग समन्वय गरौँ । जिज्ञाासा राखौँ । मुलुक तपाईं हाम्रो हो, तपाईं हामी नै भएर देश सुरक्षित गर्नु पर्दछ विधर्मीहरुबाट देश रक्षा गर्नु सबै नागरिकको कर्तब्य हो । यो यथार्थ अनुरोधलाई मनन गरौँ। धन्यवाद । नमस्कार ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार

धेरै पढिएको

ताजा समाचार