अष्टावक्रको कथा (सरल संस्करण)


धेरै पहिलेको कुरा हो— कहोड नामका एक जना ऋषि हुनुहुन्थ्यो । उहाँ वेद लगायतका शास्त्रका विद्वान हुनुहन्थ्यो । उहाँको विवाह प्रसिद्ध महर्षि उद्दालककी छोरी सुजातासँग भएको थियो । कहोड र सुजाता दुवैजना पढेलेखेका र आपसमा कुरा मिल्ने भएकाले धेरैजसो समय पढ्ने, लेख्ने, शास्त्रका कुराहरू चर्चा गर्ने गरेर बिताउनु हुन्थ्यो । कहोड र सुजाताको विवाहको केही समयपछि सुजाता गर्भवती हुनुभयो ।
एक दिन कहोडले मिथिलाका राजा जनकको दरबारमा १२ वर्षसम्म चल्ने यज्ञ सुरु हुँदै छ भन्ने थाहा पाउनुभयो । त्यो यज्ञको अवसरमा विद्वानहरूको शास्त्रार्थ पनि आयोजना गरिएको उहाँलाई जानकारी मिल्यो । त्यो युगमा विद्वानहरू बसेर शास्त्रका विषयमा वादविवाद, विचार विमर्श र बौद्धिक प्रतिस्पर्धा गर्ने कार्यलाई शास्त्रार्थ भनिन्थ्यो । त्यस्तो शास्त्रार्थमा जित्ने विद्वानको ठूलो सम्मान हुन्थ्यो । साथै, उनीहरूलाई धेरै धन सम्पत्ति पुरस्कार पनि दिने गरिन्थ्यो । कहोडलाई राजा जनकद्वारा आयोजना गरिएको यज्ञमा पुगेर शास्त्रार्थमा भाग लिन मन लाग्यो ।
कहोडले घर पुगेर श्रीमती सुजातासँग सल्लाह गर्नुभयो । आफ्नी गर्भवती श्रीमतीलाई छोडेर जान उहाँको मन मानिरहेको थिएन, तर राजाले आयोजना गरेको ठूलो यज्ञमा पुगी शास्त्रार्थमा भाग लिनु निकै ठूलो अवसर थियो । सल्लाह गर्दा सुजातालाई उहाँका बुबा महर्षि उद्दालकको घरमा छोडेर कहोड शास्त्रार्थमा भाग लिन जाने निर्णय भयो । कहोड मिथिलाका राजा जनकको दरबारतिर जानुभयो ।
एक दिन, दुई दिन गर्दै धेरै दिन बित्दा पनि कहोड फर्किनु भएन । उहाँको निधन भयो रे भन्ने सूचना पो सुजाताले पाउनुभयो । श्रीमानको निधन हुँदा उहाँलाई ठूलो मानसिक चोट प¥यो । शोकको अवस्था हुनाले आफ्नो स्वास्थ्यको विचार गर्ने होस पनि उहाँलाई भएन । यस्तै अवस्थामा उहाँले छोरा जन्माउनुभयो ।
कहोड र सुजाताका छोरा जन्मिँदा नै शरीर आठ ठाउँमा बाङ्गिएको (वक्र) थियो । त्यसैले उनलाई मानिसहरूले अष्टावक्र (आठ ठाउँमा बाङ्गिएको) भनेर बोलाउन थाले । कसैको पनि शरीरको स्वरूपलाई इङ्गित गरेर नाम राख्नु नराम्रो हो । तर ती बालकको नाम नै त्यसरी चिनिन थाल्यो ।
महर्षि उद्दालकले आफ्नो नाति अष्टावक्रको पढाइलेखाइमा निकै ध्यान दिएर पढाउनुभयो । विद्या नै सबैभन्दा ठूलो हो र अष्टावक्र ठूलो विद्वान भए भने उनको जीवन सम्मानित हुनेछ भनेर उहाँले सोच्नुभएको थियो । हजुरबुबाको इच्छा अनुसार नै अष्टावक्रले सानैदेखि पढाइलेखाइमा निकै मिहिनेत गरे । उनको बौद्धिक क्षमता देखेर सबैले प्रशंसा गर्थे । उनको उमेर १२ वर्ष पुग्दासम्ममा उनले वेद तथा अन्य शास्त्रहरू पढिसकेका थिए ।
अष्टावक्रलाई उनको बुबा कहोडको बारेमा केही बताइएको थिएन । जन्मेदेखि नै सधैँ आमा, हजुरबुबा, हजुरआमा र मामासँग बस्दै आइरहेका हुनाले उनलाई बुबाको अभाव महसुस भएको पनि थिएन । धेरै समय उनी हजुरबुबासँगै हुन्थे र पढाइलेखाइमा रमाउँथे । एक दिन मामा श्वेतकेतुसँग झगडा हुँदा पो अष्टावक्रलाई आफ्नो बुबाबारे थाहा भयो । उनले आमासँग धेरै सोधपुछ गरे । बुबा आफू नजन्मिँदै घर छोडेर जानुभएको र नफर्किनु भएको थाहा पाएपछि अष्टावक्रले बुबाको खोजी गर्न राजाको दरबारमा जान्छु भनेर आमासँग सल्लाह गरे ।
छोराको कुरा सुनेर आमा आत्तिनुभयो । आफ्नो श्रीमान जस्तै छोरालाई पनि केही हुने हो कि भनेर उहाँलाई चिन्ता भयो । तर धेरै विचार गरेपछि अष्टावक्रको विद्याको शक्तिको कारणले उनी जहाँ गए पनि सम्मानित हुनेछन् र बुबाको खबर पनि यथार्थ थाहा पाउनेछन् भन्ने ठानेर उहाँले छोराको अनुरोध मान्नुभयो । अष्टावक्र घरबाट राजदरबार जाने भनेर हिँडे ।
अष्टावक्र राजदरबारमा पुगेको समयमा राजा जनकको १२ वर्षे यज्ञ सकिइसकेको थिएन । त्यसैले त्यहाँ वरपर ठूलो उत्सवको वातावरण थियो । यज्ञ चलिरहेको ठाउँमा जानका लागि अष्टावक्र ढोकातिर अघि बढे । ढोकापालेले उनलाई देखेर ढोकैमा रोके । यज्ञमा त धेरै उमेरका, नाम चलेका विद्वानहरूलाई मात्र जान दिइन्छ भन्दै ढोकापालेले रोकेका थिए । अष्टावक्रले आफू सानो उमेरको भए तापनि वेद र अन्य शास्त्रहरू पनि पढिसकेको व्यक्ति भएकाले यज्ञमा जान पाउनुपर्ने बताए । त्यति सानो उमेरको बालक भए तापनि विद्या पाइसकेका व्यक्ति हुन् भन्ने सुनेपछि पालेले भित्र गएर अष्टावक्रको बारेमा जानकारी दिए । राजाको आदेश पाएपछि अष्टावक्रलाई भित्र लगियो ।
सानै उमेरको बालक आफूहरूसँग शास्त्रार्थ गर्न आएको भन्ने सुनेर कतिपय व्यक्तिहरू उनलाई दुस्साहसी भन्ठानेर गिल्ला गर्दै हाँस्न थाले । कति जनाले त उनको शारीरिक अवस्थाको उल्लेख गर्दै नराम्रो व्यवहार गरे । अष्टावक्रले त्यस्ता प्रवृत्तिका व्यक्तिहरूसँग कत्ति पनि नडराई विद्या नै सबैभन्दा ठूलो भएका हुनाले शरीरलाई नहेरी आफ्नो विद्याको परीक्षा लिन हाँक दिए । राजा जनकलाई उनको तर्क ठिक लाग्यो ।
राजाको आदेश अनुसार अष्टावक्र र अन्य विद्वानहरूको बीचमा शास्त्रार्थ भयो । शास्त्रार्थमा अष्टावक्रले बन्दी नामक विद्वानलाई समेत जिते । बन्दीले पहिले अष्टावक्रका बुबा कहोडलाई जितेका रहेछन् र सर्त अनुसार कहोडलाई बन्दीका बुबा वरुणको घरमा राखिएको रहेछ । आफ्नो विद्याको बलमा अष्टावक्रले ठूलो सम्मान त कमाए नै, उनलाई प्रशस्त धन सम्पत्ति पनि पुरस्कार स्वरूप मिल्यो । सबैभन्दा ठूलो त उनले आफ्ना बुबालाई भेटेर बुबा र आमाको पुनर्मिलन गराउन सफलता पाए । पहिले उनको शारीरिक अवस्थालाई लिएर नराम्रो कुरा गर्नेहरू लज्जित भए र क्षमा मागे ।
उनलाई महर्षि अष्टावक्र भनेर ठूलो सम्मान गरियो । विद्याको शक्तिले अष्टावक्रको प्रसिद्धि युग युगसम्म फैलिइरहेको छ । उनले दिएको उपदेश अष्टावक्रगीता नामक पुस्तकको रूपमा अहिले पनि छँदै छ । ज्ञानको खोजीमा रहेका व्यक्तिका लागि अष्टावक्रगीता निकै उत्कृष्ट स्रोत मानिन्छ ।


प्रकाशित : २०७८ श्रावण ११, सोमबार

धेरै पढिएको

ताजा समाचार