वीर वीरोत्तम : राष्ट्रिय विभूति भक्ति थापा

ईश्वर भक्ति । राइनास न.पा.–९, लमजुङ ।

नेपाल सरकारको मिति २०७८ साल असार १४ गतेको मन्त्रिपरिषद्को निर्णयले नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार वीर भक्ति थापा’लाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेपछि भक्ति थापाको बारेमा नेपाली र विदेशीहरुमा जिज्ञासाहरू बढेका छन् । सरदार थापाको नेतृत्वमा नेपालको एकीकरण अभियानमा बाइसी राज्य लगायत महाकालीपारिका कुमाऊ, गढवाल हुँदै सतलज नदीसम्म विस्तार भएको थियो । अंग्रेजले भारतीय राज्यहरुलाई उपनिवेश बनाउँदै मलाऊँमा युद्धहुँदा नेपाली सेनाको नेतृत्वकर्ता सरदार भक्ति थापा थिए । ‘देउथल युद्ध’मा थापाको बहादुरी देखेपछि अंग्रेजले ‘साहसीको पनि साहसी’को रुपमा लिएका थिए । प्रतिद्वन्द्वी अंग्रेजले ‘वीर योद्धा’ स्वीकारेका थापालाई ‘राष्ट्रिय विभूति’को सूचीमा छुटाइएको थियो । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले २०७८ वैशाख ६ मा ‘२०६ औँ देउथल युद्ध तथा वीर भक्ति थापा स्मृति दिवस’ मनाउँदै गर्दा ‘राष्ट्रिय विभूति’ घोषित गर्नुपर्ने मागलाई दोहोर्याएको थियो । जन चासोको विषय रहेकोले भक्ति थापा जीवनका महत्वपूर्ण घटनाहरु समेटिएर यो लेख तयार गरिएको छ ।
(१) जन्म र बाल्यकाल ः
देशप्रेमी, अदम्य शाहसका धनी नेपाल आमाका सपुत सरदार वीर भक्ति थापाको जन्म वि.स. १७९९ सालमा पिता अमरसिहं थापा र माता माधादेवीका माइलो छोराको रुपमा लमजुङ जिल्लामा भएको थियो । उनको जन्मस्थान हालको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ ढगैबेशी (साविकको खुदी गा. वि. स वडा न. २ ) मा भएको थियो । सानै उमेरदेखि उहाँ साहसी र बलवान थिए । उहाँको बाल्यकालको जीवनको बारेमा धेरै कम मात्र थाहा छ । भक्ति थापाको प्रारम्भिक जीवनमा एउटा अविश्वसनीय घटना भएको भनाई रहेको छ । भनिन्छ सानो भक्ति थापा गाउँ नजिकैको ठुलो ढुंगामा सुतिरहेको बेलामा सर्पले छाहारी दिएको थियो । पछि उनको वीरगति भएपछि उक्त ढुंगामा ठुलो आवाजका साथ विस्फोेट भएको भन्ने भनाइ छ । यसले उनमा ईश्वरीय वरदान थियो भन्ने मान्यता पनि रहेको छ । ७३ वर्षको उमेरमा युद्धमा सेनापति भएर अदम्य साहसका साथ अंग्रेजको विरुद्धमा कसरी लड्न सक्थे भन्ने मत पनि रहेको पाइन्छ ।
(२) लमजुङ सेनाको जीवन ः
भक्ति थापा १७÷१८ वर्षमा तत्कालीन लमजुङ राज्यका अन्तिम राजा केहरी नारायण शाहको सेनामा थिए । पछि सेनाका सरदार नियुक्त भएका थिए । सरदार वीर भक्ति थापाको कार्यकालमा गोरखाली फौजले दुई पटक सम्म हमाला गर्दा उनले पाल्पा र परताको मद्दत समेत लिएर लमजुङ राज्यलाई बचाई राखेका थिए । वि.स. १८३९ मा लमजुङको तार्कुघाट (हालः राइनास नगरपालिका वडा न.–८) भएको लडाइमा सरदार वीर भक्ति थापा र पर्वतका भारदार वालीभंजन मल्ल पक्राउ परेपछि लमजुङ राज्य नेपालमा समाहित भएको थियो । उनलाई युद्धबन्दीको रुपमा काठमाडौँ लागिएको थियो ।
(३) नेपाली सेना र एकीकरण अभियानमा सामेल ः
सुरुमा त्यसबेलाको नेपाल सरकारले प्रस्ताव गरेको जागिर र पदको उनले स्वीकार गरेका थिएनन् । तर पछि वि.स. १८४५ मा बडाकाजी अमरसिंह थापाले बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहले प्रारम्भ गर्नुभएको नेपाल एकिकरणको उद्देश्यबारे प्रकाश पारेपछि देशभक्त वीर भक्ति थापा नेपाली सेनामा सामेल भई नेपाली सेनाका सरदार भएका थिए । सेनामा सामेल भएको छोटो समयमै जुम्ला र डोटी विशाल नेपालमा सामाहित गर्दा उनले देखाएको अद्भुत युद्धकौशलले सबैको मन जितेको थियो । वि.स. १८४६ माघ ३ गते राजा रणबहादुर शाहले भक्ति थापालाई पठाएको पत्रमा “सर्वोपमायोग्य राजभारासमर्थ श्रीभक्ति थापा” भनी गरिएको सम्बोधनले उनीप्रतिको भरोसा र विश्वास प्रष्ट हुन्छ । यसैको फलस्वरूप वि.स. १८५१ श्रावण ४ गते दामोदर पाँडे मार्फत पाठाइएको रुक्का अनुसार उहाँलाई चेपे मर्स्याङ्दी देखि जमुना नदी सम्मको प्रशासन र सैन्य प्रमुखको जिम्मेवारी दिइएको कुरा स्पष्ट देखिन्छ । वि.स. १८४८ देखि १८४८ सम्म मात्र दुई वर्षको छोटो अवधिमा विशाल नेपालको पश्चिमी सिमाना सतलज नदी (हाल भारतमा) सम्म फैलिएको थियो । वि.स. १८४७ सम्म पश्चिम काली नदी पार गरी कुमाऊ हुँदै वि.स. १८६० मा गडवाल समत जितेर सतजलपारि काँगडा समेत कब्जा गर्ने नेपाली फौज सफल भएको थियो । भक्ति थापाले विशाल नेपालको त्यस्तो द्रुत विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यतिखेर उत्तर चीनबाट पनि नेपाललाई आक्रमण गरेको थियो । त्यस अवधिमा चीनमा मानचु वंशको शक्तिशाली सम्राट चियाङ्गले शासन गरेका थियो । नेपाली फौजले ४ वर्ष सम्म काँगडाको राज किल्ला घेराबन्दी गरेर राखेको बेलामा वि.स. १८८३ मा सरदार भक्ति थापाले काँगडा नरेश संसार चन्दको ठुलो फौजलाई परास्त गरेका थिए ।
(४) नेपाल अंग्रेज युद्ध ः
भारतमा आफ्नो दबदबा जमाइरहेको ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा पनि गिद्धे नजर लगाएकोे थियो । बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहले प्रारम्भ गर्नुभएको नेपाल एकिकरण अभियान ब्रिटिश इष्ट इन्डिया कम्पनीलाई मन परिरहेको थिएन । नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी बीच सिमाना स्पष्ट नभएकाले अंग्रेज राज्यपालको सीमा आयोगले गरेको जबरजस्ती एकतर्फी रेखाङ्कन नेपालाई मान्य भएन । त्यसपछि अंग्रेज अधिनस्त राज्यको मैदानी क्षेत्र समेत नेपालले कब्जा बढाउन थाल्यो । फलस्वरूप अंग्रेजहरुको कलकत्ता र उत्तर पश्चिम अधिनस्त क्षेत्र बीच सम्पर्क र आवत जावत अवरुद्ध हुन थालेकाले भिडन्त अपरिहार्य भएको थियो । अंग्रेजहरुले कलकत्ता, बम्बई र मदरासदेखिका फौज एकीकृत गरी नेपाल विरुद्ध युद्धको घोषणा गरे । टिष्टादेखि सतजल सम्म पहाडफेदिका नाकाहरुमा चौकीहरु खडा गरेको थियो । अंग्रेजका प्रधान सेनापति लर्ड मोरियाले पूर्वी नेपालको सिमानामा मेजर जनरल बेन्नेट मारले र तराईबाट काठमाडौँ छिचोल्ने जिम्मा दिएर मेजर जनरल जोन सुलिभान वुदलाई खाटाए । पश्चिम सुरक्षामा रहेका बडाकाजी अमरसिहं थापाका फौजसँग भिड्न मेजर जनरल रोलो जिलेस्पी र कर्नेल डेभिड अक्टरलोनी खटिएका थिए । त्यस बखतमा जैथकमा रंजितसिंह थापा, बुटवल जितागढि़मा उजिर सिंहथापा, गडवालमा जनरल अमरसिंह थापा, नालापानीमा बलभद्र कुँवर, कुमाऊमा बम शाह, सूरजगडमा भक्ति थापा तैनाथ भएका थिए । युद्धको प्रारम्भिक महिनामा, ब्रिटिश इष्ट इन्डिया कम्पनीको आक्रमणलाई नेपालीले वीरता र युक्तिले पूर्ण विफल र निरास बनाएको थियो । ब्रिटिश इष्ट इन्डिया कम्पनीको आक्रमण पूर्ण असफलतामा समाप्त भयो । किल्लाको आश्रयमा रहेका नेपाली सेनाले आक्रमणकारी शत्रुको विरुद्धमा आफ्नो स्थिति बचाउन मात्र गरेनन् ब्रिटिशहरुलाई नाराम्रोसँग परास्त समेत गरे जसले ब्रिटिश पक्षको ठूलो क्षति भोग्नु परेको थियो । पछि ब्रिटिशहरुले युद्ध नीति परिवर्तन गरी अत्याधुनिक हतियार र सैनिक जम्मा गरी नेपाली सेनामाथि फेरी आक्रमण गरेका थिए । फलस्वरूप वि.स १८७१ कार्तिक १९ गते देखी वि.स. १८७२ फाल्गुन २३ गतेसम्म ब्रिटिश इष्ट इन्डिया कम्पनीको विरुद्द्द्धमा नेपालले आफ्नो सिमा र राष्ट्र रक्षाको लागि महान युद्ध लडेको थियो ।
(५) मलाऊँ–देउथ युद्ध ः
यो युद्ध सरदार वीर भक्ति थापाले देश र राष्ट्रिय सुरक्षाका खातिर अंग्रेज विरुद्ध गरेको साहसिक आक्रमण र अन्तिम निर्णायक भिडन्त थियो । त्यो नै नेपाल–अंग्रेज युद्धको चरम उत्कर्ष थियो जुन सदैव स्मरणीय रहनेछ । यो महाभयङ्कर युद्ध विशाल नेपालको पश्चिम सिमाना सतलज नदी छेउ गब्बर खोला र ग्रमोला खोला बिचको लागहिल डाडामा स्थित मलाउ किल्ला सँगैको देउथल चौकीमा भएको थियो । वि.स. १८७१ कार्तिक ११ गते भारतस्थित अंग्रेज राज्यपाल लर्ड वारेन हेस्टिंग्सले युद्धको घोषणा गरे । युद्ध घोषणाको अघिल्लो दिन नै कार्तिक १० गते खलंगामा अंग्रेजले हमला गरेको थियो । नालापानीको उक्त युद्धमा बलभद्र कुँवरसँगको युद्धमा अंग्रेजका जनरल जिलेस्पी मारिएका थिए । सुरुमा अंग्रेजहरुको ठुलो क्षति भयो । तर कुमाऊका चन्द राजाका भारदार हर्षदेज जोशी र अंग्रेजको मिलेमतोमा कालापानीका नेपाली किल्ला गडहरुमा तीव्र तनाव बढ्न थाल्यो । फलस्वरूप पश्चिम सुरक्षा प्रमुख बडाकाजी अमरसिंह थापा मलाऊँ किल्लामा सीमित हुने स्थिति आयो । मलाऊँ नजिकैको देउथल चहुलिका फौज पहिल्यै मलाऊँमा खिच्नुपर्ने अवस्था आइसकेको हुनाले खाली भएको थियो । त्यस ठाँउमा कर्नेल थामसनले ६ पाउन्डको तोपहरू सहित दुई वटा भारतीय बटालियनका २५ सय सैनिकहरु, लाइट बटालियनको ग्रेनेडीयर्स कम्पनीहरू र झन्डै एक हजार जति लठैतहरु र अत्याधुनिक हातहतियारका साथ देउथल चौकी कब्जा जमाएर बसेका थिए । त्यस बेला अंग्रेजहरु नेपाललाई पूर्ण रूपले आफ्नो बनाउने वा कम्पनीको अधीनमा ल्याउने भन्ने प्रमुख उद्देश्य रहेको थियो ।
(५) निर्णायक युद्ध र वीर भक्ति थापाको वीरगति ः
त्यसै बखत मलाऊँमा जुनकुनै बेला पनि अंग्रेजको आक्रमण हुन सक्ने स्थिति देखेर वि.स. १८७२ वैशाख ५ गतेका दिन अमरसिंह थापासँग भावी रणनीतिबारे छलफल गर्न भक्ति थापा सूरजगडबाट मलाऊँ आइपुगे । देउथल चौकी फिर्ता नगरे नेपाल एकीकरण नै विफल हुने विश्लेषण गर्दै यो अंग्रेजसँगको निर्णायक युद्धको नेतृत्व ७३ वर्षीय सरदार वीर भक्ति थापाले देशको सुरक्षाको खातिर आफ्नो काधमा लिनुपर्यो । यसै फलस्वरूप वि.स. १८७२ साल वैशाख ६ गते शनिवार बिहानी पख करिब सवा तीन बजे उज्यालो नहुदै करिव चार सय पैदलसेना साथ लिएर सरदार वीर भक्ति थापा देउथलतर्फ प्रस्थान गरेरे अंग्रेज विरुद्ध आक्रमण गरे । सरदार वीर भक्ति थापाको यति साहसिक र शानदार हमला भयो कि अंग्रेजको तोपचिलाई मारी तोपको मोहरी अंग्रेज फौजतर्फा घुमाउन लाग्दा अंग्रेजहरु आतंकित र भयवित हुन थाले र त्यतिकैमा उनलाई गोली लाग्यो । अंग्रेजले उपचार गरिदिन प्रस्ताव गरेपनि अस्वीकार गरि खुकुरी प्रहार गर्दा गर्दै सरदार वीर भक्ति थापाले वीरगति प्राप्त गरे । यस युद्धमा धेरैजसो नेपाली योद्धाहरुले वीरगति प्राप्त गरे भने बाँकी घायल भए । उता अंग्रेज पक्षमा यसको दोब्बर भन्दा पनि बढी क्षति भयो । अंग्रेजहरुले वीर भक्ति थापाको पार्थिव शरीर स–समान दोसल्ला ओढाई अमरसिंह थापा समक्ष मलाऊँमा पठाए र त्यहि उनको अन्तिम संस्कार गरियो । देउथल युद्धको १० दिनपछि वैशाख १६ गते कर्नेल ज्यास्पर निकोलासको टुकुडीले आल्मोडा कब्जा गर्यो । अन्त्यमा कर्नेल गार्डनर र बम शाह बीच अल्मोडामा भएको वार्ता पश्चात नेपाली फौज कालीवारि फिर्ता भयो । अन्ततोगत्वा वि.स. १८७२ फाल्गुन २३ गतेका दिन नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी बीच सुगौली सन्धी भयो र दुर्भाग्यवश नेपालको सिमाना खुम्चिन पुग्यो ।
(६) वीर भक्ति थापाको वीरता ः
७३ वर्षीय वृद्ध अवस्थामा पनि देश र स्वाधिनता रक्षाको लागि युद्धको मैदानमा नेतृत्व लिनु आफैमा अद्वीतीय साहसिक कार्य थियो । जसले नेपाल विरुद्ध भक्ति थापासँग युद्ध गर्यो त्यही अंग्रेजहरु स्वयंले पनि देउथल युद्धमा वीर भक्ति थापाको बहादुरी अद्वितीय रहेको भनी प्रसंसा गरेका थिए । अंग्रेजी इतिहासकारहरुका लागि समेत भक्ति थापाको वीर गाथा छुटायाउन नमिल्ने अध्याय बनेको छ । इतिहासकार सी. बी. खंडुरिले समकालीन अंग्रेजी इतिहासकारहरुको भनाई उध्रीत गर्दै लेखेका छन् ः सन् १८८२ मा मस्कोबाट हट्दा मार्शल नेयाले देखाएको बहादुरीलाई नेपोलियनले BRAVE LES BRAVE को उपाधी दिए जस्तै अंग्रेजहरुले अंग्रेज–नेपाल युद्ध पछि त्यसै नजिर बसाले “Such was the bravery shown by Bhkati Thapa that was the next legend of the BRAVE OF THE BRAVES had been created on the day –16 April, 1815 at Deothal .”  यस प्रकारको अंग्रेजहरुले सरदार भक्ति थापाको वीरतालाई “वीर वीरोत्तम” को उपाधि योग्य ठहर्याएको प्रष्ट छ । इतिहासकार विक्रमजित हसरतको पुस्तक History of Nepal मा “भक्ति थापाको प्राण रहेसम्म नेपालको सिमा फैलँदोक्रममा थियो तर उनको अवसान हुनासाथ विशाल नेपाल भत्कियो “Until there was life in the body of Bhakti Thapa Nepal’s territory was in a state of great expansion. Soon after his death the Great Nepal crumbled.” भनेर लेखिएको छ ।
(७) वीर भक्ति थापा र लालमोहोर ः
दुर्भाग्यवश, छोटो अवधिमा नेपालको स्थितिलाई महत्वहीन राज्यबाट दक्षिण एशियाली उपमहाद्वीपमा एक शक्तिशाली शक्तिको रूपमा रूपान्तरण गर्न भक्ति थापाको महत्त्वपूर्ण भूमिका सन् १९६० को दशकमा इतिहासकार योगी नरहरिनाथले भक्तिलाई सम्बोधन गरेको आधिकारिक लालमोहर कागजात प्रकाशित गरेपछि मात्र फेला प¥यो जुन शाही छाप लगाइएको लालमोहोर ‘हिमवतखण्ड’ (HIMABATKHANDA)  पत्रिकामा छापिएको थियो । इतिहासकार सी.पी. खण्डुरीले लालमोहरको प्रकाशनपछि नेपालको इतिहासमा एउटा पुस्तक लेखेका छन् । बहादुर शाहको शासनकालको लगभग सम्पूर्ण अवधिमा भक्ति थापाले एकीकरण अभियानको संचालनमा निर्णायक भूमिका खेलेको थियो, जुन लाल्मोहरसका अनुसार उनीमाथि निहित आभासी अधिकारीहरूबाट स्पष्ट हुन्छ । यो सबै आश्चर्यजनक कुरा हो कि भक्ति थापालाई राजधानीलाई सहयोग पु¥याउन कोष वितरण गर्ने अधिकारसमेत थियो । एउटा लालमोहरमा राजाले भक्ति थापाका भाइ र भतिजाको स्मारकलाई आफ्नो सहमति बिना कटौती नगर्न लेखेका थिए ।
(८) वीर भक्ति थापाको वंश र सन्ततिहरु ः
सरदार वीर भक्ति थापा लमजुङको मर्स्याङ्दी गाउपालिका वडा न. ३ ढगैबेशीमा पुवार थापा वंशमा जन्मिएका थिए । अहिले देशका विभिन्न जिल्लाहरुमा पुवार थापाहरुको बसोबास रहँदै आएको छ । सरदार वीर भक्ति थापाका छोरा हृदय सिंह थापाका दुई भाई छोराहरु श्री नयन सिंह थापा र श्री चेड सिंह थापाका सन्तानहरुको मुख्य बसोबास हालको राइनास नगरपालिका वडा नं. ९ मोहोरियाकोटमा राजाको शाही लालामोहोरबाट बिर्ता पाई बसोबास गर्दै आइरहेका छन् । बहालवाला नेपाली सेनाका प्रधान सेनापति श्री पूर्ण चन्द्र थापा, सार्कका पूर्व महासचिव श्री अर्जुन बहादुर थापा, पूर्ब जलस्रोत सचिव श्री डा. आनन्द बहादुर थापा, त्रि .वि का प्रा.डा. गजेन्द्र बहादुर थापा, पूर्व सशस्त्र प्रहरीका अतिरिक्त महानिर्देशकद्वय श्री रोहित थापा र श्री नारायण बाबु थापा यसै वंशका हुन् ।
(९) निष्कर्ष ः
हाम्रो देश नेपाल हाम्रा पुर्खा, राष्ट्र नायकहरुको शरीरको थोपा–थोपा रगतले बनेको र जोगाएको देश हो । विभिन्न कालखण्डमा विदेशी शक्तिहरुबाट आफ्नो ज्यानलाई बलिदान दिएर यो देशको सर्वभौमिकता, स्वाधिनता र सिमानाको रक्षा गरेका थिए र आज हामी नेपालीले छाती फुलाएर नेपाली हौँ भनी गर्वले भन्न पाएका छौँ । ७३ वर्षीय वृद्ध वीर भक्ति थापाको देउथलको निर्णायक युद्ध लेख्दा र त्यो दृश्य अनुभूति गर्दा मन भारी भएर अनायासै गहभरी आँशु भरिएर आउँछ । नेपाल र नेपालीका गौरवशाली इतिहासका राष्ट्रनायक, नेपाल आमाका वीर सपूत, नेपाल–अङ्ग्रेज युद्धका कुशल योद्धा सरदार श्री वीर भक्ति थापलाई नेपाल सरकारले मिति २०७८ साल असार १४ गते राष्ट्रिय विभूति घोषणा गरी आफ्नो धर्म निभाएकोमा आभार प्रकट गर्दछु । साथै जसरी सरदार श्री वीर भक्ति थापाले शरीरमा थोपा– थोपा रगत रहेसम्म देश, जनता, सार्वभौमिकता, अखण्डता, स्वाधिनता र राष्ट्रिय एकता रक्षाको लागि लडेका थिए त्यसरी नै हरेक नेपालीले इतिहास, सभ्यता र देशप्रति गर्व गर्दै आफ्नो ज्यान रहेसम्म यो देशको सुरक्षा, स्वाधिनता, राष्ट्रिय एकता, सार्वभौमिकता,गौरवशाली सभ्यता र इतिहास रक्षाको लागि लड्नुपर्ने आवश्यकता आएको खण्डमा जीवन समर्पित गर्नेछु भनी नेपाली जनता र श्री पशुपतिनाथलाई साक्षी राख्दै प्रतीज्ञा गर्नु पर्ने दिन आएको छ । जय नेपाल जय नेपाली ।

सन्दर्भ सूचीहरुः

वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्र (२०७८); वीर सरदार भक्ति थापालाई “ नेपालको राष्ट्रीय विभूतिहरु “ मा समाबेश गर्नुपर्ने औचित्य र आधारहर; /https://ekagaj.com/

Laxmi Thapa (2019) ; MAKING NEPAL SOUTH ASIAN POWER; Decisive Role Of Bhakti Thapa, New Spotlight,  VOL 12 No.15

Wikipedia contributors. (2021, July 1). Bhakti Thapa. In Wikipedia, The Free Encyclopedia. Retrieved 17M14, July 17, 2021

पुवार थापा बंशावली (२०७५); नेपालका पुवार थापा क्षत्रीहरुको बंशावली; पुवार थापा केन्द्रीय कल्याण समिति, काठमाडौं, नेपाल

(लेखक वीर भक्ति थापाके ७ आँै पुस्ताका वंशज हुन्)

 

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.