ज्ञानमार्गमा चरैवेति चरैवेति

डा. निर्मलमणि अधिकारी । सहप्राध्यापक, काठमाडौँ विश्वविद्यालय ।

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्रको हाम्रो लागि उपयोगिता के छ ? दर्शनशास्त्र पढेर के फाइदा हुन्छ ? यस्ता प्रश्नहरू विश्वविद्यालयमा प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले सोधिरहन्छन् । आफ्नो अनुभव यस्तो प्रश्नहरू आइरहने रहेको हुनाले प्राध्यापन गर्ने व्यक्तिहरूका अगाडि यस्ता प्रश्नहरू आइरहन्छन् होला भन्ठान्छु । दर्शनशास्त्रका पुस्तक लेख्ने, प्रकाशन गर्ने र पढ्नेहरूका लागि पनि उक्त प्रश्नहरू सान्दर्भिक छन् । दर्शनशास्त्रका अनेक परिभाषाहरूमा प्रवेश गर्नुभन्दा पहिल्यै उक्त प्रश्नहरूमा घोत्लिनु आवश्यक पनि छ ।
जिज्ञासा मानवका आधारभूत विशेषताहरूमध्येको एक हो भन्दा अत्युक्ति हुँदैन । जीवनमा आइपर्ने समस्याका समाधानका लागि गरिने प्रयत्न होस् कि थाहा पाउने वा फगत् जान्ने इच्छाले गरिने सोधखोज, अन्वेषण, अनुसन्धान होस् — कुनै न कुनै रूपमा जिज्ञासाले भूमिका खेलिरहेकै हुन्छ । दुःख–जिज्ञासा र सुख–जिज्ञासा । अर्थ–जिज्ञासा र काम–जिज्ञासा । धर्म–जिज्ञासा र ब्रह्म–जिज्ञासा । सारमा भन्नुपर्दा, जीवन र जगत्लाई जान्ने आवश्यकता र चाहना । आत्म–दर्शन र आत्म–प्रदर्शनको उहापोह । जिज्ञासारूपी आधारशिलामा खडा भएर जीवन र जगत्को अन्वेषणका लागि सुसंगत प्रणाली (Systematic methodology) विकास गर्ने प्रयत्न पूर्व र पश्चिम दुवैतिर प्राचीन कालदेखि नै भएको थियो । आजको दर्शनशास्त्र सोही प्रयत्नको फलस्वरूप अस्तित्त्वमा आयो ।
पश्चिममा ‘फिलोसफी’ (Philosophy) भनिएको विधा र हामीले ‘दर्शनशास्त्र’ भनेको विधा एकै हो त ? हो पनि, होइन पनि । हो किनभने त्यही हो भनेर मान्दै/भन्दै/लेख्दै आएका छौँ । होइन किनभने ‘दर्शन’ को भावभूमि पूर्ण समावेश गर्ने गरी व्याप्तिन ‘फिलोसफी’ असक्षम छ । जे होस्, व्यवहारमा समानार्थी नै मानिएका छन् । ‘दर्शन’ नै किन भन्ने ? ‘चत्वारि वाक्’ जानियो भने स्पष्ट होला ।
वैखरी शब्द श्रवण गर्छौँ । त्यो वैखरी अस्तित्त्वमा आउनुमा परा, पश्यन्ती र मध्यमा पनि अस्तित्त्वमान् रहेकाले सम्भव भएको हो । अर्थात्, परा, पश्यन्ती, मध्यमा र वैखरीको सम्बन्ध सातत्य (Continuum) को सम्बन्ध हो । उसैगरी श्रवण, मनन, निदिध्यासन र साक्षात्कारको अन्तःसम्बन्धलाई पनि बुझ्नु पर्छ । वैखरी श्रवणीय छ, पश्यन्ती दृश्य छ । शब्दलाई सुन्ने त जति पनि छन्, तर शब्दलाई देख्न सक्ने शक्ति सबैसँग हुँदैन । मन्त्रात्मक शब्दलाई देख्नेहरू ऋषि हुन् । ऋषयो मन्त्रद्रष्टारः । शब्दब्रह्मलाई साक्षात्कार गर्ने द्रष्टाहरूको ‘दर्शन’ र ज्ञानप्रतिको आकर्षणले उहापोह गर्ने ‘फिलोसफर’हरूको ‘फिलोसफी’को तुलना रोचक छ । तिनीहरूसँग आधिभौतिक एव अस्तित्त्वको अनुसन्धान गर्ने वैज्ञानिकहरूका कति कुरा साझे छन् र कति छैनन् भन्ने जान्नु पनि रोचक हुन्छ । वैदिक मतमा स्थूल, सूक्ष्म र कारणको सातत्यको सम्बन्ध मानिएको हुनाले हाम्रो ‘दर्शन’मा उताको ‘फिलोसफी’ सहजै अटाउँछ ।
स्थूलको तहमा वैविध्य तथा वैभिन्न्य धेरै दृष्टिगोचर हुन्छ । सूक्ष्मको तहमा त्यो विभेदको मात्रा कति रहला ? विचार गरौँ त ! कारणको तहमा जाँदा ऐक्यबोधमा सहजता हुन्छ । तुरीयमा त ऐक्यको साक्षात्कार अवश्यै हुन्छ । साक्षात्कार हुनका लागि देख्न सक्ने पात्रता अवश्यै चाहिन्छ । आधिभौतिक र आधिदैविक तहमा मात्र सीमित भएर बस्ने हो भने त्यो पात्रता नमिल्न सक्छ । सम्मेयता गुण त हुनै पर्छ । वैखरीलाई सुन्ने (श्रवण गर्ने) हो, मध्यमालाई मानस (मन) ले मनन गर्ने हो, पश्यन्तीको निदिध्यासन हुने र पराको साक्षात्कार हुने हो ।
जगत् बोधगम्य छ कि छैन भन्नेमा पनि ठूलो बहस शताब्दयौँदेखि हुँदै आएको छ, यद्यपि पूर्वमा मन्त्रद्रष्टा ऋषिहरूकै पालादेखि र पश्चिममा चाहिँ उनीहरूले भन्ने गरेको प्रबोध युग वा ज्ञानोद्दीपन युग देखि जगत् बोधगम्य छ भन्ने मान्यता अघि आएको हो । तर पूर्वमा पुराण युगका आख्यानकेन्द्रित संकथन र पश्चिममा उत्तरसंरचनावाद, विनिर्माणवाद, उत्तरआधुनिकतावाद आदिका संकथनले सत्य र तथ्यको वस्तुनिष्ठता (Objectivity) लाई भन्दा विषयनिष्ठता (Subjectivity) लाई अघि सारेका छन् । वर्तमान युगमा पनि त्यस्ता दुई फक्लेटे वादविवाद बन्द भएका छैनन् । तर अद्यावधिक् दर्शनशास्त्रीय चिन्तनले यो वा त्यो भन्ने दुई फक्लेटे (Binary) पद्धतिलाई असान्दर्भिक र सातत्य (Continuum) को पद्धतिलाई सान्दर्भिक ठहर्याएको जस्तो मलाई लाग्छ ।
ज्ञान पाउने इच्छा, ज्ञानप्रतिको अनुराग वा ज्ञानलाई गरिने प्रेम भनियोस् वा आत्म–दर्शनको विधा मानियोस् — दर्शनको महत्ता पूर्व र पश्चिम दुवैतिर उच्च मानिएको अकारण होइन । अर्थात्, पश्चिमको फिलोसफीको परम्परा र पूर्वको दर्शनको परम्पराको तुलनात्मक विश्लेषण गर्दा आधारभूत तहमै केही मतान्तर अवश्यै छ तर केही आधारभूत समानता पनि पक्कै छ । सोही समानताले दिग्दर्शित भएर दर्शनशास्त्र/फिलोसफी (Philosophy) नामकरण भएको विधाको पाठ्यक्रम एवं पठनपाठनका सामग्रीहरू चयन गर्दा वैभिन्न्यबाट होइन, वैविध्यको समावेशितालाई ध्यान दिइन्छ । अरु कुरा जे सुकै भएतापनि, जगत् र मानव जीवन सम्बद्ध विविध प्रश्नहरूलाई उजागर गर्ने, चिन्तन गर्ने, बहस गर्ने, विमर्श गर्ने, संवाद गर्ने कार्य सबैतिरका सबैथरी अध्येता, चिन्तक, विचारक, दार्शनिकहरूको साझे विशेषता रहिआएको छ । दर्शनशास्त्र भनिने विधामा पाठ्यवस्तु वा अन्तर्वस्तु के के हुने भन्ने सवालमा मतैक्य नहुन सक्छ तर केही न केही आधारभूत तत्त्व साझे अवश्य भेटिन्छ । दर्शनको विशेषतामा वैविध्य, वैभिन्न्य र ऐक्य पनि पर्नु स्वाभाविक हो ।
हुन त दर्शनशास्त्रको तुलनामा बढी लोकप्रियता कमाएका अनेकौँ विधाहरू छन् । मात्रात्मक मापदण्डबाट हेर्दा वा बजारमा रोजगारीका अवसरका हिसाबले हेर्दा दर्शनशास्त्रको उपयोगिता कस्तो देखिएला भन्ने कुराले यसको औचित्य निर्धारण हुने हो त ? त्यस्तो भएको भए त दर्शनशास्त्रको प्रवाह उहिल्यै बाधित हुँदो हो । त्यस्तो होइन । मानव जीवनका शाश्वत् प्रश्नहरूको उत्तर दर्शनशास्त्रबिना सम्भव नदेखेर मानव समाजले यो विधालाई अविच्छिन्न महत्त्वपूर्वक लिइरहेको देखिन्छ ।
मानव जीवनको लक्ष्य के हो ? यो प्रश्नको उत्तर दिने अनेक तरिकाहरू हनु सक्छन् । दर्शनको दायरा कति विस्तृत हुने भन्ने कुरा उपर्युक्त अनेक तरिकाहरू वा दृष्टिकोणहरू अनुसार फरक पर्न सक्छ । तथापि दर्शनको बीज त मानव अस्तित्त्व नै हो भन्नको लागि अल्मलिनु पर्दैन । हाम्रो जीवन र हामी अस्तित्त्वमान् रहेको जगत् नभएको भए दर्शनशास्त्रको आवश्यकता पर्ने नै थिएन । हामी अस्तित्त्वमा छौँ, जगत् पनि अस्तित्त्वमा छ र हामी आफू स्वयंदेखि सारा सृष्टिसम्म जान्न चाहन्छौँ । यो जिज्ञासाकै कारणले दर्शनशास्त्र पनि आवश्यक परेको हो । हामीलाई केही देख्ने दरकार वा सरोकार छ, त्यसैले दर्शनशास्त्रको औचित्य रहेको हो । देख्नु वा दर्शन प्रक्रियालाई यहाँ सारा ज्ञानमार्गको उपलक्षणका रूपमा लिइएको छ ।
वैदिक मान्यता अनुसार मानव भएर जन्मेपछि पाउनु पर्ने चारवटा लक्ष्य (पुरुषार्थ) छन् — धर्म, अर्थ, काम र मोक्ष । किन यी चारवटा ? पहिलो पुरुषार्थका रुपमा रहेको धर्मले हामीलाई आफ्नो अस्तित्त्व, विशेषता, चरित्र, जीवन, जगत् र कारण समेतको ज्ञान दिन्छ । धर्मको धारणा भएपछि हामी वास्तवमा मानव बन्छौँ । त्यसैले धर्मलाई प्राथमिक पुरुषार्थ मानियो । यसले पात्रता निर्धारण गर्छ । पात्रता भइसकेपछि अधिकारभेद अनुसारका प्राप्तव्य हुन् त्रिवर्ग (अर्थ, काम र मोक्ष) । किन त्रिवर्ग ? किनभने हाम्रो अस्तित्त्व नै त्रिआयामी छ । पहिलो हो — स्थूल । दोस्रो हो — सूक्ष्म । तेस्रो हो — कारण । हाम्रो शरीर हो स्थूलको उदाहरण । हाम्रो मन हो सूक्ष्मको उदाहरण । जीवात्मा हो कारणको उदाहरण । तुरीयमा पुग्न स्थूल, सूक्ष्म र कारण नजानी हुँदैन । स्थूल जगत्को प्राप्ति हो अर्थ । सूक्ष्म जगत्को प्राप्ति हो काम । कारण जगत्को साक्षात्कार हो मोक्ष । त्रिआयामी अस्तित्त्व छ, त्यसैले पुरुषार्थ चतुष्टयमा त्रिवर्ग समाविष्ट छन् । त्रिवर्ग भन्दा पनि पहिल्यै धर्म छ किनभने यसले पात्रता निर्धारण गर्छ ।
शरीरको विभु मन हो र मनको विभु आत्मा हो । आत्मा हो परमात्माको अंश । यी सबै सृष्टिमा सहअस्तित्त्वमान् छन् सातत्यमा । सृष्टि नै लय भएको अवस्था अर्कै हो । तर जहाँसम्म सृष्टिको दायरा छ त्यहाँसम्म त शरीर, मन, आत्मा र परमात्मा सबै सातत्यको सम्बन्धमा छन् । त्यसैले शरीर पनि जान्नु पर्छ, मन पनि जान्नु पर्छ र आत्मा पनि जान्नु पर्छ । आत्मज्ञानले परमात्मा साक्षात्कार हुने हो । मोक्ष सोही अवस्थाको संज्ञा हो । मोक्षको लागि मानव शरीरलाई नै साधन मानिनुको तात्पर्य बुझ्ने हो भने शरीर, मन र आत्मा तीनवटैको सातत्यको सम्बन्ध स्पष्ट भइहाल्छ । त्यसैले धर्म, अर्थ, काम र मोक्ष सबै महत्त्वपूर्ण छन् । त्यसैले अविद्या र विद्या दुइटै जान्नु पर्छ । वैज्ञानिकतायुक्त धर्म एवं धार्मिकतायुक्त विज्ञान भनिएको कारण यसरी बुझ्न सकिन्छ ।
कठोपनिषद्, द्वितीय अध्याय, तृतीय वल्ली, श्लोक ७—८ मा भनिएको छ ः
इन्द्रियेभ्यः परं मनो मनसः सत्त्वमुत्तमम् ।
सत्त्वादधि महानात्मा महतोऽव्यक्त मुत्तमम् ।।
अव्यक्तात्तु परः पुरूषो व्यापकोऽलिङ्ग एव च ।
यं ज्ञात्वा मुच्यते जन्तुरमृतत्वं च गच्छति ।।
अर्थात् इन्द्रिय भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि उत्तम छ, बुद्धि भन्दा त्यसको स्वामी जीवात्मा उच्च छ र जीवात्मा भन्दा अव्यक्त शक्ति (प्रकृति अथवा माया) उत्तम छ । परन्तु अव्यक्त भन्दा पनि परमात्मा श्रेष्ठ छन्, जो निराकार रूपले सर्वत्र व्याप्त छन् । यही ब्रह्मतत्वको ज्ञान भएर नै जीवात्मा मुक्त हुन्छ र अमृतस्वरुप ब्रह्ममा प्राप्त हुन्छ । शब्दब्रह्मका मान्यतामा ब्रह्मको साक्षात्कार हुने हो । परा साक्षात्कार । परा र अपराको थप चिन्तन पनि छ ।
शरीर अनित्य छ । जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु पनि हुने निश्चित भएकाले शरीर विनाशी छ । यस्तो आदि र अन्त्य भएको शरीर परम् सत्य हुन सक्दैन । इन्द्रियहरू पनि नाशवान् हुन् । वस्तुतः शरीर आत्माको साधन मात्र हो । आत्मा नित्य र अविनाशी छ । यो न कहिल्यै जन्मिन्छ, न त कहिल्यै मर्छ, यो त अजन्मा, अविनाशी, प्राचीन र सनातन हो । हामी जो मृत्यु भएको भन्दछौं, त्यो त मानिसले पुराना फाटेका लुगाहरू त्यागेर नयाँ लुगा लगाएझैं वा सर्पले काँचुली फेरेझैं आत्माले आफ्नो वासस्थान फेरेको हो । जबसम्म विषय–वासनाबाट मन विरत हुँदैन, तबसम्म यस्तो प्रक्रिया चलिरहन्छ —जसलाई पुनर्जन्म भनिन्छ । तर आत्मज्ञान प्राप्त भइसकेपछि पुनः जन्मने कुनै प्रयोजन नै बाँकी नरहने हुनाले पुनर्जन्म हुँदैन । मानिसको जन्म ठूलो पुण्यले मात्र मिल्ने हुनाले यसलाई मोक्ष पाउनको लागि सदुपयोग गर्नैपर्दछ ।
भौतिक सुखलाई हामी निषेध गर्दैनौं, प्रत्युत महत्वपूर्ण ठान्दछौं । हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । वैदिक हिन्दू अवधारणामा पञ्चतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ, त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र ! क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पु¥याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा ।
नेपालमा प्रचलित म्हपूजा हेरौँ वा मष्टपूजा हेरौँ — मानव देह र चैतन्यको समुचित महत्त्वलाई बुझाउने राम्रो उपक्रम त्यहाँ देखिन्छ । शरीरमाद्यं खलु धर्म साधनम् । शरीरमा मात्रै नअल्झनू, तर शरीरको दिव्यतालाई पनि जान्नू । यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ–चतुष्टयका रुपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो; मानव जीवन पाएर पनि मोक्ष नपाउनेले महानतम् अवसर गुमाएको ठानिन्छ; किन्तु त्यस शृंखलामा अर्थ, काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रुपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रुपमा रहेको छ । अवश्य नै धर्मले परलोक सुधार्छ; तर धर्मको ध्येय त्यतिमात्रै चाहिँ हुँदैहोइन । ‘इहलोक’ पनि यसले सुधार्नु पर्दछ र सुधार्दछ पनि । यदि यसले ‘इहलोक’ सुधार्न नसक्ने हो भने यसको उपादेयता नै प्रश्नको घेरामा पर्दछ ।
अस्तित्त्वबारे चिन्तन नै दर्शनशास्त्रको मूल प्रश्न हो भनेर मान्नेहरूको ठूलो तर्क के रहेको छ भने भौतिक र अभौतिक तत्त्वहरूको उत्पत्तिको कारण, तिनीहरूको अन्तर्सम्बन्ध, अभौतिक तत्त्व अर्थात् चेतनाको प्रकृति, पदार्थ र चेतनाले सामाजिक जीवनमा पार्ने प्रभाव जस्ता सवालहरूको समाधान नगरी जीवन र जगत्को समुचित ज्ञान हुन सक्दैन । दर्शनशास्त्रको विषयवस्तुमा भौतिक र अभौतिक दुइटै तत्त्वहरू समावेश छन् । यस्तो हुनु नै स्वाभाविक हो ।
अर्थात्, दर्शनको दायरामा जीवन र जगत्का सबै विषयवस्तु पर्छन् । उदाहरणका लागि, धर्म र विज्ञान दुइटैलाई दर्शनशास्त्रको विषयवस्तु मानिन्छ । ‘धर्म’ र ‘विज्ञान’बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनु पर्ने हो भन्ने बारेमा धेरै चिन्तन–मनन भइसकेको छ । यो यस्तो विषय हो, जसबारेमा आउँदा दिनहरूमा अझै बढी चर्चा–परिचर्चा हुनेछ । यदि नहुने छाँटकाँट देखिएमा समाजका विद्वत्जनले यस सम्बन्धमा हल्लाखल्ला मच्चाइहाल्नु पर्दछ । कुनै युगमा पनि मानवलाई ‘धर्म’ र ‘विज्ञान’को आलोकबाट पर रहन दिनु हुँदैन । धर्म र विज्ञानको सम्बन्ध सातत्यको सम्बन्ध हो । यिनका स्वरूप तथा यी दुईबीचको अन्तरसम्बन्ध सर्वसाधारण जनसमुदायलाई बोध भई मानिसले वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान अवलम्बन गरेको दिनमा हाम्रो संसारका सबै समस्याहरू समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु । मानिसले पल–पल वास्ता गर्नु पर्ने, तर त्यतिधेरै चासो दिन नसकेका विषय–वस्तु हुन् ‘धर्म’ र ‘विज्ञान’ ।
धार्मिकता र वैज्ञानिकता, दुबैको लक्ष्य सत्य उद्घाटन गर्नु नै हो । ‘धर्म’ र ‘विज्ञान’ प्रक्रियागत रूपमा कसरी फरक छन् भने विज्ञान भौतिक जगत्को जगमा स्थित जिज्ञासाको घरमा बसेर सत्यको अन्वेषण गर्दछ भने धर्म आन्तरिक रुपमा आत्मामा प्रतिष्ठित भएर सत्यको साक्षात्कार गर्दछ । अर्को तरिकाले भन्नु पर्दा, धर्म प्रायः शाश्वत सत्य को उद्घाटनप्रति बढी झुकाउ राख्दछ भने विज्ञानलाई पहिले सापेक्ष सत्य जान्ने चासो पर्दछ । विज्ञानको पनि संतृप्त अवस्थामा पुग्नु पर्ने ठाउँ त्यहीँ हो, जहाँ धर्मले लैजान्छ ।
यहाँनेर ज्ञातव्य कुरा के छभने दार्शनिकहरू विविध प्रकारका छन् ः कोही शाश्वत सत्य को उद्घोष गर्नेहरू; अनि कोही सापेक्ष सत्य को उद्घोषण गर्नेहरू । शाश्वत सत्य उद्घोषण हो धर्मको क्षेत्र; यता सापेक्ष सत्य उद्घोषण विज्ञानको क्षेत्र हो । शाश्वत सत्य लाई समयको प्रवाहले कुनै फरक पार्दैन; त्यसैले अनेक युगमा जति ऋषि, सन्त, महात्मा, ज्ञानी, गुरु, आचार्य, योगी अवतरित भए पनि तिनीहरूले बारम्बार उही कुरा दोहो¥याउने गरेका हुन् । वेदपश्चात् आएका उपनिषद्कालीन ऋषि देखि लिएर तिनका उत्तरवर्ती बुद्ध, तीर्थङ्कर, गुरु, सबैले उनै कुरा बताइरहेका छन्; यद्यपि शैली फरक छ, भाषा फरक छ, हावभाव फरक छ । तर गुदी कुरो उही हो । कन्फ्युसियस, लाओत्जू, जरथ्रुस्त, जीसस क्राइस्ट, पैगम्बर मुहम्मद, ओशो, कृष्णमूर्ति, साईबाबा, ब्रह्माकुमारी जो कसैले पनि भनेको गुदी कुरो त उही हो; परन्तु भन्नेका शैली र ग्रहण गर्नेका ल्याकतले पो फरक पारेको छ । यता भौतिक विज्ञानका महारथीहरूका प्राप्तिका सार पनि ती भन्दा फरक छैनन् ।
सापेक्षसत्य का अनुयायीहरू युगानुसार प्रासंगिक वा अप्रासंगिक ठहरिने हुन्छन् । हिजोका वैज्ञानिकका सिद्धान्त र सूत्रहरू आज मिल्दैनन् र आजका सिद्धान्त र सूत्रलाई भोलीका वैज्ञानिकले अझ विकास गर्नेछन् । धर्मकै नाममा आएका भए तापनि असत्य कुराहरू समयक्रममा त्यागिँदै छन् । तिनमा रहेका शाश्वत सत्य मात्र सदैव स्वीकार्य रहने हुन् । वास्तवमा सापेक्ष सत्यशाश्वत सत्य बीचमा तालमेल मिलाउन कठिन छ । तर नमिलाई सुखै छैन । युगका अगुवाहरूले ‘शाश्वतसत्य’ र ‘सापेक्षसत्य’ दुबैको गतिसँग आफ्नो हिंडाइलाई तालमेल मिलाउनु पर्दछ । हाम्रो युगलाई पनि त्यसकिसिमको तालमेलको आवश्यकता छ ।
धर्म र विज्ञान यी दुबैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो; अनि मानव कल्याण र शान्ति नै हो । सफलता–असफलता तथा सदुपयोग–दुरुपयोग चाहि“ पछिल्ला कुरा हुन् । उदाहरण खोज्न थाल्ने हो भने धर्मको पनि सदुपयोग र दुरुपयोग दुवै थोक गरेको पाइन्छ भने विज्ञानको पनि सदुपयोग र दुरुपयोग दुवै थोक गरेको पाइन्छ । कुनै उदाहरण विशेषलाई औंल्याएर छारो उडाइरहनु र त्यसैलाई सार्वजनीन ठान्नु मूर्खता हो । यो त पात्रता अनुसार फरक पर्ने कुरा हो । वास्तविकतामा धर्म र विज्ञानबीचमा कुनै मौलिक विरोध छैन । धर्म र विज्ञानको सम्बन्ध सातत्यको सम्बन्ध हो ।
मानवलाई धर्म र विज्ञान दुबैले अरु सबै जीवभन्दा उच्चतहमा राखेका छन् । यो मानव शब्द बनेको छ तीन अक्षर मिलेर । मा – अज्ञान, अविद्या । न – बिना । व – वर्तन ( कार्य ) । अर्थात्, अज्ञान–अविद्या त्यागेर कार्य गर्नेलाई मानव भनिएको छ । अज्ञान त्याग्नु भनेको ज्ञान प्राप्तितर्फ लाग्नु हो, ज्ञान प्राप्त गर्नु ज्ञानी बन्नु हो, ज्ञानी बन्नु भनेको आफू र आफ्नो जगत् तथा त्यसको कारण जान्नु हो । यसरी आत्मज्ञानको स्थितिमा पुगेपछि आत्मज्ञान नै परमात्मा– ज्ञान (ईश्वरप्राप्ति) को सोपान हो र ईश्वर वा ब्रह्मतत्व साक्षात्कार गर्नु नै परमसत्य हो । मानवको परमलक्ष्य ‘मोक्ष’ हो ।
हाम्रा धर्मशास्त्रहरूले बारम्बार हामीलाई बताइरहेका छन्— धर्म नै सत्य हो । धर्मबिना मानव व्यर्थ छ । अनि त्यो वैज्ञानिक, जसको लक्ष्य नै जीवन र जगत्को सत्य अन्वेषण गर्नु हो, कसरी परमसत्य ब्रह्मतत्वबाट पर रहन सुहाउ“छ ? उसको खोज नै सत्यतर्फ परिलक्षित हुनेहु“दा ध्रुवसत्य एवं परमसत्य परब्रह्मलाई वैज्ञानिकले नकार्न मिल्दैन । धर्मको शुद्ध स्वरूप र विज्ञानको पनि शुद्ध स्वरूप छर्लङ्ग हु“दा धर्म र विज्ञानको एकत्व सहजै दृष्टिगोचर भइहाल्छ । धर्मले मान्छेको आध्यात्मिक, आधिदैविक, आधिभौतिक अभ्युदय गराउँछ । विज्ञान यो दायराभन्दा बाहिर छैन ।
धर्म शब्द ‘धृ’ धातु (धारणा गर्नु)बाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरू प्रदान गर्दछ । ती धारणाहरूको फलस्वरुप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम–कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम, राम्रा गुण, असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक–चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन्, तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरूको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि, मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य, क्षमा, दम (‘विषय–वासना’ हटाउनु), अस्तेय, शौच, इंद्रियनिग्रह, धी (बुद्धि), विद्या, सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् । यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय, उन्नति या कल्याण हुन्छ तथा मुक्ति प्राप्ति हुन्छ त्यही धर्म हो (यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः) —तब कहाँनेर छ विवाद/ अस्वीकार गर्नुपर्ने ठाउँ ?
धर्म र विज्ञानको समन्वय अबका दिनहरूमा झन् झन् अत्यावश्यक देखिएको छ । सबभन्दा महत्वपूर्ण सवाल के हुनसक्छ भने धर्मले मानव समुदायलाई भविष्यमा कस्तो योगदान पुर्याउला ? त्यही योगदानमा नै यसको महत्व पनि प्रष्टिएला । धर्म र विज्ञानकाबीचमा सामञ्जस्यले मानव जातिमा प्रकाशमय प्रभाव पार्नेछ । दर्शनशास्त्रको भूमिका यसमा के रहन्छ त ? यो बडो विचारणीय प्रश्न छ ।
वास्तवमा धर्म र विज्ञानको समन्वय नभई पुरुषार्थ चतुष्टयको पूर्ण–प्राप्ति हुँदैन । वैदिक परम्पराका दर्शन–शास्त्रको विशेषता छकि यी मनुष्यका आधिभौतिक, आधिदैविक, आध्यात्मिक सबै तहलाई सम्बोधित गर्दछन् । धर्म र विज्ञानको ऐक्यता, सहकार्य, सह–अस्तित्व, सामञ्जस्यताले मानव समुदायको हित हुने कुरामा विश्वस्त हुन सकिन्छ । आजको पुस्ताको हरेक व्यक्तिले यसैको निमित्त प्रयत्न गर्नु उसको ‘युगधर्म’ हो ।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद र जीवन विज्ञान वा अन्य केही संज्ञा दिएर वर्तमान युगमा जति पनि प्रयत्नहरू गरिँदैछन्, तिनीहरूले हाम्रा प्राचीन ज्ञान पद्धतिलाई वर्तमान परिप्रेक्ष्यमा व्यवहारमा अवलम्बन गर्न गराउन खोज्दैछन् । शरीर, मन र आत्माको सातत्यको सम्बन्धलाई बोध गर्न सके र सोही अनुसारको पद्धति कार्यान्वयन गर्न सके भने योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जीवन विज्ञान आदि क्षेत्रका साधकहरूका जीवनमा कल्याणकारी एवं सुखद् प्रभाव पर्ने सुनिश्चित देखिन्छ । दर्शनशास्त्रको भूमिका मानव जीवनको प्रायोगिक पाटोमा कहाँनेर छ भनेर सोधखोज गर्ने वा परख गर्ने प्रवृत्ति बढ्दो छ जसले विचार र आचारको सातत्यको सम्बन्ध मागिरहेको छ ।
नेपालीजनमा दर्शनशास्त्रबारे चासो तथा जिज्ञासा बढेको छ । यो स्वाभाविक हो । हाम्रोमा दर्शनको सुदीर्घ परम्परा रहेको छ । हाम्रोमा दर्शनशास्त्रको मूल वेदमै मानिन्छ । हाम्रा पुर्खाले शब्दब्रह्मको दर्शन गरेर ऋषि बने । वेदका संहिता सर्वप्रथम मन्त्रद्रष्टा ऋषि एवं ऋषिका मार्फत् मानवलाई प्राप्त भए । संहिताका मन्त्रहरूको अनुशीलन, परिशीलन, शोधका क्रममा ब्राह्मण ग्रन्थ निर्माण भए । तिनीहरूकै विस्तारित ज्ञान परम्परामा आरण्यक र उपनिषद् ग्रन्थहरू संरचित भए । मन्त्रद्रष्टाले दर्शन गरेका मन्त्रमा निहित ज्ञानको मात्रात्मक (बाह्यजागतिक) विस्तार उत्तरोत्तर हुँदै गएको तर्क गरेको पनि देखिन्छ । ज्ञानको समृद्धि भइरहको छ वा छैन भन्ने सवालमा अलग अलग मत होलान्, तर दर्शनशास्त्रको महत्त्व झन् झन् उजागर हुँदै गइरहेको अवश्यै छ ।
दर्शनशास्त्रका हामी त स्वाभाविक उत्तराधिकारी हौँ । वैदिक, बौद्ध, जैन, किराती, बोन आदि परम्पराबाट दर्शनशास्त्रका अनेक विषयवस्तुहरू हामीसम्म आइपुगेका छन् । ज्ञानको विष्फोट वा प्रविधिजन्य सञ्जाल मार्फत् ज्ञानको अपूर्व विस्तार भइरहेको भनिने वर्तमान युगमा हाम्रा छरछिमेक र अन्यत्रबाट पनि ज्ञानका अनेका विधाहरू हामीसम्म आइपुगेका छन् । दर्शनशास्त्रका विषयवस्तुहरू, अन्तर्वस्तुहरू, दृष्टिकोणहरू सबैमा वैविध्य वृद्धि भएको छ । वर्तमान अवस्थामा ज्ञानमार्गको चरैवेति चरैवेति झन् सान्दर्भिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.