दर्शनशास्त्रको परिचय पुस्तक लोकार्पण

दर्शनशास्त्रको परिचय पुस्तक लोकार्पण गरिएको छ । डा. गोविन्दशरण उपाध्यायले लेख्नु भएको दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।
आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर मंगलवार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको कारण प्रविधिको माध्ययमबाट पुस्तक लोकार्पण सम्पन्न गरिएको थियो । पुस्तकको लोकार्पण शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गर्नुभएको थियो ।
दर्शनजस्तो गहन विषयमा नेपाली भाषामा पुस्तक प्रकाशन भएकोले सर्वसाधारण नेपालीले मौलिक दर्शनको महत्ता बुझ्ने अवसर पाएको प्रा.डा. कोइरालाले बताउनुभयो ।
पुस्तक समीक्षा गर्नुहुँदै प्रा.डा. आनन्दप्रसाद घिमिरेले समग्र हिमवत् खण्ड ज्ञानभूमि, तपो भूमि रहँदै आएको साक्ष प्रस्तुत गर्नुहँुदै यहाँको जाज्वल्यमान ज्ञानपरम्पराको सामान्य ज्ञान दिन पुस्तकको पहल सफल रहेको बताउनुभयो ।
पुस्तक लोकार्पण सत्संग जरो किलो महाअभियानका संकल्पकर्ता तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतिको आसनबाट बोल्नुहुँदै डा. अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरणको लागि अन्य गतिविधिसँगै पुस्तक प्रकाशनलाई पनि प्राथमिकतामा राखेकोे बताउनुभयो । प्रतिष्ठानले लेखकहरुको लेखकीय स्वतन्त्रलाई पूर्ण सम्मान गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक डा. गोविन्दशरण उपाध्यायले पुस्तक मौलिक चिन्तन पद्धतिको सागरको थोपा भएको बताउनु भयो । पुस्तकमा रहेका कमी कमजोरीलाई आगामी संस्करणमा सुधारिने पनि उहाँले बताउनुभयो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीराम प्रसाद पोखरेलले प्रतिष्ठानले धर्म, संस्कृति, भाषा, कला साहित्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यहरु सम्पन्न गरिसकेको जानकारी दिनुभयो । दर्शनशास्त्रको परिचयसँगै जरो किलो प्रतिष्ठान नेपालले आठवटा पुस्तक प्रकाशन गरिसकेको र नावौँ पुस्तक पनि प्रकाशनको क्रममा रहेको जानकारी दिनुभयो ।
सत्संगको सहजीकरण प्रतिष्ठानका संस्थापक सदस्य बलराम प्रजापतिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.