जैन दर्शनमा सप्तभङ्गी न्याय

डा. गाेविन्दशरण उपाध्याय

डा. गोविन्दशरण उपाध्यायले लेख्नुभएको मौलिक दर्शनको परिचयात्मक पुस्तक मंगलवार लोकार्पक हुँदैछ । जरोकिलो प्रतिष्ठिान नेपालले प्रकाशन गरेको उक्त पुस्तक भानुजयन्तीकाे अवसर पारेर लाेकार्पण गनर् लागिएकाे हाे । नेपालका विभिन दर्शनहरुको बारेमा चर्चा छ । कोभिड महाव्याधिको समस्याको कारण पुस्तकको लोकार्पण प्रविधिको माध्यमबाट हुनेछ । डा. उपाध्यायले लेख्नु भएको पुस्तकको केही अंश ः

स्याद्वाद सापेक्ष ज्ञानको सिद्धान्त हो । झट्ट हेर्दा स्याद् संशयवाची पद प्रतीत भए तापनि जैनदार्शनिकहरूका मतका स्याद् पदको अर्थ सापेक्षतया हुन्छ । जैनदर्शनकाअनुसार मानवीय ज्ञानसापेक्ष र आंशिक हुन्छन् । यस्तै परामर्श वाक्य पनि आंशिक नै हुन्छन् । “स्यात्” यसै सापेक्ष सत्यको सूचक शब्दावली हो । जैन दर्शनका अनुसार ज्ञान र तद्विषयक वाक्य तीन प्रकारका हुन्छन् – दुर्णय, नय एवं प्रमाण । कुनै वस्तु पूर्ण सत्य छ भनेर ठोकुवा गर्नु दुर्णय हो । किनभने यसो गर्नाले उसको अन्य स्वाभाविक धर्म निवारण हुन्छ । कुनै वस्तुका विषयमा वर्णन गर्दा उसका कुनै पनि पक्षको निराकरण नगरी वर्णन गर्नु नय हो । नयमा सत्य पूर्णतः प्रकट हुँदैन । तथापि दुर्णयका तुलनामा अधिक व्यापक हुन्छ । यस सम्बन्धमा सातजना अन्धा र हात्ती सम्बन्धी लोकोक्ति जैनदर्शनमा अत्यन्त प्रसिद्ध छ । अन्धाहरूका संयुक्त निर्णयले हात्तिकै स्वरूपको अभिव्यक्त हुन्छ तर व्यक्तिगत तवरमा प्रत्येक व्यक्ति अपूर्ण नै हुन्छन् । यस सन्दर्भमा, जैनदर्शन अत्यन्त उदार छ ।
जैनदर्शनमा वस्तुका सम्बन्धमा अत्यन्त उदार नयप्रणालीको व्यवस्था गरिएको छ जसलाई सप्तभङ्गी न्यायका रूपमा चिनिन्छ । सामान्यतया न्याय वाक्य विधानात्मक र निषेधात्मक वाक्य गरी दुईप्रकारका हुन्छन् । तर जैनमतमा निम्न सातवटा न्याय वाक्यलाई स्वीकार गरिएको छ ।
१. स्याद्–अस्तिः सापेक्षतया वस्तु अस्तित्वशील छ ।
२. स्याद्–नास्तिः सापेक्षतया वस्तु अस्तित्वशील छैन ।
३. स्याद् अस्ति नास्तिः सापेक्षतया वस्तु अस्तित्वशील छ र छैन ।
४. स्याद् अव्यक्तम्ः सापेक्षतया वस्तु अव्यक्त छ ।
५. स्याद् अस्ति अव्यक्तम्ः सापेक्षतया वस्तुको अस्तित्व छ र ऊ अव्यक्त छ ।
६. स्याद् नास्ति च अव्यक्तम्ः सापेक्षतया वस्तु छैन र अव्यक्त छ र
७. स्याद् अस्ति च नास्ति च अव्यक्तम्ः सापेक्षतया छ, छैन र अव्यक्त पनि छ ।
उपरोक्त सप्तभङ्गी न्यायको व्याख्या गर्दा प्रथम न्यायवाक्यका विषयमा विचार गरौँ । सापेक्षतया वस्तुको अस्तित्व छ अर्थात् फलामको कराही देश–काल र रूप विशेषले विद्यमान छ । दोस्रो न्यायवाक्यले उपरोक्त कराहीको निराकरण गर्छ र तेस्रो न्यायवाक्यका आधारमा उपरोक्त फलामको कराही एकठाउँमा विशेष रूपले काल–विशेषमा उपस्थित छ तर अर्को ठाउँमा त्यो अविद्यमान छ । चौथो न्यायवाक्यका अनुसार कराही नै उसको स्वरूप हो भनेर किटान गर्न सकिन्न । उसमा अस्तित्व र नास्तित्व दुवै विद्यमान रहन्छ । यहाँ अव्यक्तम्को अर्थ हो–निर्वचन असक्यता । अन्य तीनवटा न्यायवाक्यहरू क्रमशः प्रथम, द्वितीय र तृतीय न्याय वाक्यका सम्मिश्रणबाट बनेका छन् ।
परम्परागत दार्शनिकहरूले यस सप्तभङ्गी न्यायको निन्दा गर्दै बौलाहाहरूको प्रलाप भनेका छन् तर समग्र जैन दर्शनको अध्ययन गर्दा उपरोक्त आरोप निराधार प्रतीत हुन्छ । वास्तवमा, सप्तभङ्गी न्यायले जीवनसँग सीधा सरोकार राख्छ । यो पूर्णतः व्यावहारिक सिद्धान्त हो, विरोधी गुणलाई समेत वस्तुकै स्वाभाविकता स्वीकार गरेर जैन दर्शनले विश्वदर्शनमा अत्यन्त व्यापक नजरीया प्रस्तुत गरेको छ । “मेरो गोरुको सय टक्का” भन्ने मताग्रही धार्मिक र दार्शनिक समुदायका लागि जैनदर्शन एक प्रकारको सटीक शिक्षा हो । अतः जैनअनेकान्तवाद साँच्चिकै अत्यन्त महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.