राजनीतिक प्रणाली नै परिवर्तन हुनुपर्छ

काठमाडाैँ । बारम्बार प्रतिनिधिसभाको विघटन र फेरि अदालतबाट पुनस्र्थापना भएर राजनीतिक अस्थिरता कायमै रहने अवस्थाप्रति मौलिक जरोकिलो पार्टीको गम्भीर ध्यानाकर्षण भएको माैलिक जराेकिलाे पार्टीले प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ। हाल बहाल रहेको संविधान अनुसार अल्पकालको लागि एउटा निकास सर्वोच्च अदालतको निर्णयले दिएको छ । तर असली समस्यालाई बृहत्तर विश्लेषणबाट बुझ्नुपर्ने पार्टीकाे धारणा छ ।

बारम्बार देशको राजनीतिमा समस्या दोहोरिरहनुले वर्तमान संविधान र यसले अंवलम्बन गरेको बहुनायकत्वको पद्धतिमा समस्या रहेको पुनः पुष्टि भएको पार्टीको धारणा छ ।
तत्कालको राजनीतिक समस्या संविधानवादको सिद्धान्त अनुसार हल गरिनु पर्ने तर वास्तविक समाधानको लागि मौलिकतामा आधारित पद्धति अवलम्बन गरिनु पर्ने मौलिक जरोकिलो पार्टीको ठहर छ ।
बहुनेतृत्त्वमा आधारित संसदीय प्रणाली नेपालको लागि असान्दर्भिक, अनुपयुक्त एवं अहितकारी रहेको हुनाले एउटा पार्टीको सट्टामा अर्को पार्टी र एक जना प्रधानमन्त्रीको सट्टामा अर्को प्रधानमन्त्री परिवर्तन गरेर समस्याको समाधान हुँदैन । अब राजनीतिक प्रणाली नै परिवर्तन गर्नु पर्छ भन्नेमा मौलिक जरोकिलो पार्टीको स्पष्ट धारणा रहेको छ ।
नेपालका लागि सान्दर्भिक, उपयुक्त एवं हितकारी राजनीतिक प्रणालीले “विशिष्ट नेतृत्त्व, सामूहिक कर्तृत्त्व एवं संस्थागत स्वामित्व“ को पद्धति र “सभा, समिति एवं परिषद्“ को संरचना अवलम्बन गर्नु बाहेक अर्को विकल्प नरहेको भन्ने पार्टीको ठहर छ ।
नेपालमा लामो समयदेखि राजनीतिक संक्रमणै संक्रमणको घनचक्कर चलिरहेको छ र यो घनचक्करबाट देशलाई मुक्त गर्ने युगान्तकारी एवं युगप्रवर्तनकारी परिवर्तनको नेतृत्त्व गर्ने जिम्मेवारी मौलिक जरोकिलो पार्टीको हुनआएको  उल्लेख छ । उपर्युक्त युगान्तकारी एवं युगप्रवर्तनकारी परिवर्तनको नेतृत्त्व गर्ने जिम्मेवारी पूरा गर्न मौलिक जरोकिलो पार्टी तत्पर रहेको  पनि पार्टी प्रवक्ता मित्रलाल शर्माले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.