नेपालको पुनर्जागरणको लागि आचार्य पद्धतिको पुनर्जागरण अनिवार्य

बलराम प्रजापति

हाम्रो मौलिक मूल्य मान्यता र अभ्यासहरुलाई पराई प्रतिमानको आधारमा बुझ्ने प्रयास गर्दा समस्या उत्पन्न हुन्छ । यसको पछिल्लो उदाहारण बनेको छ आचार्य पद्धति । मौलिक ज्ञानपरम्पराको आधारभूत ज्ञानको अभावमा, मौलिक प्रतिमानको अभावमा मौलिकतामा रहेका जुन कुनै पनि कुरालाई लादिएको वैचारिक जालको आधारमा विश्लेषण गरिनु त स्वाभाविक हुन जान्छ । मौलिक ज्ञान, यसका मूल्यमान्यताको सघनता र अन्तरनिहित पद्धति बुझ्नलाई त मौलिक अवधारणा, दर्शन, सिद्धान्त र विचारधारको बोध हुनु वाञ्छनीय हुन्छ ।
तर, मौलिक पद्धतिलाई विद्यमान विदेशी अभ्यासहरुको आडभरोसामा मात्रै बुझ्ने प्रयास भयो भने त्यसले पक्कै पनि यथार्थ सम्म पुर्याउने भन्दा पनि पर धकेल्ने काम गर्छ । वेस्टमिन्स्टर मोडल, ह्वाइटहाउस मोडल, पोप, खोमेनी, कम्युनिष्ट, सर्वसत्तावादी अथवा अन्य पराई पद्धतिलाई पढेर यहाँको आचार्य पद्धतिलाई मुल्यांकन गरे वास्तविकता उजागर हुँदैन नै । यसको लागि यहाँको मौलिक पद्धतिमा रहेको अवधारणा देखि अभ्यास सम्म खेज्ने खोतल्ने गर्नु नै पर्छ ।
आचार्य पद्धति उल्लेखित पद्धतिहरु भन्दा नितान्त फरक अवधारणा हो । यसमा ऋषि सत्ता र राज सत्ताको विशिष्टीकृत व्यवस्था रहेको हुन्छ । ऋषि सत्ताले दर्शन, सिद्धान्त तथा अवधारणाहरु अभिनिर्माण गर्ने र समाजलाई आवश्यक मार्गनिर्देशन गर्न साधनारत रहन्छ । यसले राज सत्ताको भोग गर्ने र अनावश्यक हस्तक्षेप गर्ने गर्दैन । राजसत्तालाई सहिमार्ग निर्देशन गर्ने र सत्ताको अहंकारबाट पथभ्रष्ट भएमा त्यसलाई सहिबाटोमा ल्याउने काम ऋषि सत्ताको हुन्छ ।
राजसत्ताको लागि आवश्यक शिक्षित, प्रशिक्षित र दीक्षित शिष्यहरुको शिक्षा, प्रशिक्षा र दीक्षा गर्ने गराउने र आवश्यकता अनुसारको जिम्मेवारी प्रदान गर्न काम आचार्यको जिम्मेवारी हुन्छ । यसले गर्दा गुटगत गतिविधिमा निरर्थक उर्जाको दुरुपयोग हुँदैन र क्षमताको विकासमा केन्द्रीत हुने र योग्य व्यक्तिले दक्षताअनुसारको जिम्मेवारी पाउने वातावरण बन्छ ।
आधिभौतिक, आधिदैविक र आध्यात्मिक, यी त्रिआयमिक रुपमा परिपुष्ट आचार्य मात्रै प्रधान आचार्यका रुपमा सम्मनीत हुन्छ । जसले गर्दा सबै आयामबाट कुनै पनि कुरालाई गहन चिन्तन गरेर मात्रै अथवा बृहत्तर समाजको हितको लागि मात्र आचार्यको प्राथमिकता हुन्छ । आफू स्वयम् राजसत्ताको उपभोग नहुनाले यस प्रतिको मोह र यसकालागि हुने गरेका अनेकौँ तिकदमको अवश्यकता वा बाध्यता यस पद्धतिमा हुँदैन ।
तर दुई फक्लेटे मानसिकता कि त टाउको गन्ने पद्धति हुन्छ कि त सर्वसत्तावादी हुन्छ भन्ने मान्यताका कारण आचार्य पद्धतिका बारेमा भ्रम सिर्जना गर्ने दुस्प्रचारहरु हुन थालेका छन् । हाम्रोमा हजारौँ वर्ष अभ्यासमा रहेको भएर पनि केही शताब्दीदेखि ओझेलमा परेको यस पद्धतिबारे यथार्थ जानकारी सर्वसाधारणमा नभएको कारण यसबारे भ्रम पैदा गर्न खोजिनु स्वभाविक हो । त्यसैले यसबारेमा थप प्रचारप्रसार र सत्संगहरु हुनु आवश्यक छ । ऐतिहासिक भूराजनीतिक कारणले गर्दा विश्वविद्यालयमा, विद्यालयमा पनि पढाइ नभएको तर हाम्रो मौलिक अभ्यासमा रहेको यस पद्धतिको पुनर्जागरण र यसको मूलप्रवाहीकरण अनिवार्य हुनुपर्छ ।
मूलतः आचार्य पद्धतिको बारेमा बुझनै पर्ने मूलभूत कुराहरु निम्नानुसार छन् ः
१) आचार्य पद्धति स्वीकार्ने वा नकार्ने भन्ने कुरा विचारधाराको कुरा हो । यो कुनै फलानो व्यक्तिलाई आफ्नो गुरु मान्ने वा नमान्ने भन्ने कुरा होइन । यस कारण आचार्य पद्धतिको बारेमा भइरहेको बहस एउटा वैचारिक संघर्ष हो । “जरोकिलो” रोज्ने वा अरू रोज्ने ? “आचार्य पद्धति” वा “गुरुकुल विधि” हाम्रो मौलिकता हो । जसले वेस्टमिन्स्टर मोडल, ह्वाइटहाउस मोडल, बेजिङ मोडल, मास्को मोडल, दिल्ली मोडल मन पराउँछन्, तिनीहरूलाई “आचार्य पद्धति”/ “गुरुकुल विधि“ को विरोधी बन्न मन लाग्नु स्वाभाविक हो । मुखले मौलिकताको कुरा गर्ने, तर मौलिक विचारधारा नभएका र पराईको वैचारिक जालमा फसेका कसैलाई पनि “आचार्य पद्धति” / “गुरुकुल विधि” मन पर्दैन । हामी पो विचार तथा व्यवहार दुवै आयाममा मौलिक प्रतिमान अवलम्बन गरिरहेका छौँ, त्यसैले निर्धक्क, निर्द्वन्द्व, ढुक्कसँग “आचार्य पद्धति” / “गुरुकुल विधि“ अवलम्बन गर्छौँ ।
२) आचार्य पद्धति हाम्रो यस भूमिमा पहिलेदेखि विद्यमान पद्धति हो । “आचार्य पद्धति” / “गुरुकुल विधि“ हिमवत्खण्डमा हजारौँ वर्ष सफलापूर्वक चलिसकेको हो । वैदिक, बौद्ध, किरात, जैन, बोन आदि परम्परामा यसका प्रमाणहरू छन् । केही शताब्दी मात्र भएछ आचार्य पद्धति” / “गुरुकुल विधि” क्रियाशील नभएको । यदि हामीले नेपालको मौलिकताको पुनर्जागरणको अपेक्षा गरेकाछौँ भने अब “आचार्य पद्धति” / “गुरुकुल विधि” को पुनरुद्धार, पुनः जागरण हुनै पर्छ । मौलिकतामा रहेका अथाहा ज्ञानपरम्पराको स्थितिगत्यात्मक पुनर्जागरणबाट नेपाललाई समृद्ध र अग्रणी हुनबाट कसैले पनि रोक्न सक्दैन ।
३) हामी राज्यराष्ट्रवादी हौँ । विविधता हाम्रो निहित चरित्र हो । “आचार्य पद्धति” / “गुरुकुल विधि” मा एक जना मात्र आचार्य, एक जना मात्र गुरु रहनुहुन्छ भन्ने होइन होइन । ऋषि परम्परा, बुद्ध परम्परा, मुहिगुम अङ्सीमाङ परम्परा, तोन्पा परम्परा, तीर्थङ्कर परम्परा, नाथ परम्परा, अनेकौँ गुरु परम्पराका उत्तराधिकारीहरू यहाँ रहनुहुन्छ । उहाँहरूमध्ये एक जना प्रधान आचार्य अवश्य हुनुहुन्छ । वर्तमान समयमा युगद्रष्टा डा. निर्मलमणि अधिकारी गुरुलाई हामीले ऋषिसत्ताका उत्तराधिकारी एवं “आचार्य पद्धति“ का प्रधान आचार्य मान्छौँ । उहाँको सर्वोच्च नेतृत्त्वमा धेरै जना आचार्यहरू / गुरुहरू सहितको बृहत्तर परिवार हो यो जरोकिलो महाअभियान परिवार । नेपालको मौलिक पद्धतिका अनुयायी जुनकुनै समुदायका पनि आचार्यका उत्तराधिकारी हुन सक्नुहुन्छ ।
४) अहिले हाम्रा बारेमा सकारात्मक र नकारात्मक बहसहरु तीव्र रुपमा बढिरहेका छन् । वैचारिक सङ्घर्ष झन् झन् तीव्र र कडा हुनु यस महाअभियानको लागि अनुकूल हो । जति हाम्रो आलोचना र बहस हुनेछ, उति नै हाम्रो प्रचार र शक्ति बढ्नेछ । “आचार्य पद्धति” / “गुरुकुल विधि” का अनुयायी हुनु गौरवको कुरा हो । यो विजयपथको यात्रा हो । सगौरव आचार्य पद्धति“ / “गुरुकुल विधि” को प्रचार प्रसारमा जुटौँ । अघि बढौँ यो युग हाम्रो हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.