नयन

पदम राना

आमाको काखमा बसी संसारै नियाले जस्तो
सुरक्षीत हुँदैन घुरेर हेरिरहन्छ यो नयन ||१||

गर्दैन कसैसँग भेदभाव राम्रो नराम्रो भनी
सबैलाई एकरूपले हेरिदिन्छ यो नयन   ||२||

सुन्दर वस्तु देख्ने चाहानामा लालायित भई
आजीवन एकोहोरो बाटो हेरिरहन्छ यो नयन  ||३||

गिद्धे दृष्टि साधुका पनि, नारीका मृगनयन
महादेवका त्रिनेत्र भए स्वयम्भूका पनि दुई नयन ||४||

पिंजडैपिच्छे बखान भो विचरा नयनको
बेकसुर हुँदा नि चुपचाप सहिरह्यो यो नयन  ||५||

मृत्युशैय्यामा छटपटिदै, बाच्ने झिनो आशा लिएर
धुरीसँग विन्ती गर्दै टुलुटुलु हेरिरहन्छ यो नयन  ||६||

अर्काको दु:खमा रसाई दिने, आज गह भरी आँसु लिएर
आफैं पञ्चतत्वमा विलीन हुदैछ यो नयन  ||७||

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.