स्वर्ग जाने चिता…

डा. गोविन्दशरण उपाध्याय

जिन्दगी चलिनैरहेको थियो । मान्छेहरू आ-आफ्नो काममा व्यस्त थिए । तेसै बीच केही नौला मान्छेहरू आएर भने “तिमी नर्कमा छौँ, हामीसंग यो ठाउँलाई स्वर्ग बनाउँने क्षमता छ ।तेसपछि उनीहरूले घरघर गएर स्वर्गका सुखहरू बताउँन थाले । स्वर्गप्राप्तिका लागि एकजुट हुन आग्रह गरे ।  स्वर्गमा पाइने सुखका कथा सुनेपछि मान्छेलाई जिउंदै जान मन लाग्छ । मान्छेहरू एकत्र भए । नौला मान्छेहरूले “ठाउँ” स्वर्ग बनाउदिने न भए स्वर्ग नै पठाउने ठेक्का लिए । धेरै समय वित्यो त्यो ठाउँ स्वर्ग बन्न सकेन । पुरानो व्यबस्थामा बाँच्ने कला रहेन । मान्छेहरूले भने “खै तपाईंहरूले ल्याउने स्वर्ग ?” नेताहरूले भने “हामीलाई यहाँ स्वर्ग ल्याउँन गार्हो भएको छ । तर तपाईंहरूलाई हामी स्वर्गको सुख भोग्न पठाउँछौँ । तपाईंहरू भोलिविहानै यहाँ आउनु हो । त्यो ठाउँका सबै मान्छेहरू भोलिपल्ट आर्यघाटमा आए । सबै स्वर्गको सुख भोग्न, देख्न चाहन्थे । तेहा हजारौं चिताहरू सजाइएका थिए । जनताले भने “हामीलाई स्वर्गका सुख चाहिएको हो । हामी मर्न चाहन्नौं । सुख हाम्रो लक्ष हो हामी आफ्ना सन्ततिहरूको सुख सुनिश्चित गर्न चाहन्छौं ।नेताहरूले भने “पहिले स्वर्ग गएर तेहाको सुख तपाईंका लागि ठीक छ कि छैन ? बहुमतले निर्णय गर्नुस् । तपाइँहरू चितामा बस्नुस् । हामी “शक्ति प्रयोग” गरेर स्वर्ग पठाई दिन्छौं । स्वर्गमा गएर तेहाका सुखमा अल्मलिने धेरै हुन्छन् । तपाईंहरू “बहुमत” फर्कनु हुन्छ भन्ने विश्वास गर्छौं ।सबै मान्छेहरू सुखको चाहनामा खुसिखुसी चितामा चढे । घाटमा सेनाका ब्याण्डहरू जोडजोड़ले बजिरहेका थिए । नेताहरू एकआपसमा खुसी साटासाट गर्दै थिए । तेसै बखत नेपाल खाल्टोमा जर्मनीका स्वर्गीय कार्लमार्क्स, अमेरिकाका जर्ज वाशिंगटन र जन क्याल्भिन प्रकट भए, नेताहरूसंग मिसिए । अनि सबै मिलेर तरुणतपसीको यो श्लोक जोडजोडले गाउँन थाले – “मै खाउँ मैं लाउँ सुखसयल वा मोज म गरूँ, मैं बाँचु मैं नाचूँ अरू सब मरूँन् दुर्वलहरू “। यसरी त्यो देश नेताहरूका लागि स्वर्ग र जनताहरूका लागि स्वर्ग जाने चिताका रूपमा चलिनै रहेको छ । न नेताले स्वर्ग ल्याउँने बाचा छोडेका छन्, न जनताले चितामा बसेर स्वर्गमा पुगिने विश्वास नै मारेका छन् । कोरोनाका चिताहरू आर्यघाटमा जलिरहंदा लोकतान्त्रिक गणतन्त्रका लेखकहरू हाँस्दै रहेका छन् । जनता स्वर्ग जाँदैछन् । नेताहरू स्वर्ग भोग्दैछन् । कठै ! हाम्रो भाग्य !!

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.