आयातित मताग्रहको बन्दी कहिलेसम्म बन्ने ?

मिश्रादेवी कार्की

नेपाल एउटा विविधतामा एकता भएको देश हो। यहाँ एकै भुगोलमा धेरै जातजातिको बसोबास भै रहेको छ। सबैका आ आफ्नै मौलिक धर्म संस्कार र संस्कृति छन् । मौलिक धर्म संस्कृति अवलम्बनका आ-आफ्नै तरिका छन् । चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिमा विविधता भएपनि सबैको राष्ट्रियता भने एउटै हो । भूराजनीतिक वैधानिकता प्राप्त नेपालमा नागरिकका हैसियतमा बसोबास गर्ने नेपालीहरूको साझा राष्ट्रियता भनेको एउटै हुन्छ । विविधतालाई फरक फरक राष्ट्रियता देख्नु भनेको राष्ट्रको परिभाषामा युरोपेली चस्मा लगाउँदा भएको दृष्टिदोष हो ।

यहाँ धेरैलाई भ्रम भैरहेको देखिन्छ राज्य र राष्ट्रमा के भिन्नता छ भनेर। हावामा बोल्नु भन्दा पहिला विषयवस्तुलाई गहिरोसंग अध्ययन गरेर बोल्न जरुरी छ। राष्ट्र र राज्य भनेको अलग अलग हो भन्ने वहुल राष्ट्रियताको जस्ता कुरा गर्नेहरू युरोपेली प्रतिमानको नक्कल गरेर बोली रहेका छन् ।

राज्य भनेको भूमी र जन दुवैको सुविधाको निम्ति बनाइएको संरचना हो । राज्य एउटै भएपछि राष्ट्र पनि एउटै हुन्छ। विविधतामा एकता भएको हाम्रो देश भित्र बस्ने सम्पूर्ण नेपालीहरूको राष्ट्रियता साझे राष्ट्रियता हो। केही दिन अघि मात्र के पी शर्मा ओलीले १७ औं पटक मन्त्री मण्डल गठन गर्दा उप प्रधानमन्त्री पद पाएर शपथ ग्रहण कार्यक्रमपछि राजेन्द्र महतोले बुझेर वा नबुझेर वा हतारमा बोल्दा थाहा न पाएर नेपाल वहुल राष्ट्रियताको देश हो भनेर भन्नु भएको थियो । उप प्रधानमन्त्री महतोको यो भनाईपछि नेपालीहरूमा एक खालको तरंग पैदा भएको छ । सच्चा देशभक्त नेपालीहरूले अलिकति आफुलाई माथि उठाएर सोच्नुस त यसरी सधैंभरि विदेशीको गोटी भएर नेपालमा विदेशीको आदेश लागु गर्न पाइन्छ ? संविधान जारी गर्दा संविधानको जलाउने पनि राजेन्द्र महतो नै अग्रपंक्तिमा थिए । नाकाबन्दी भारतले लगाएको होइन भन्दै बचाउ गर्ने पनि उनी नै थिए । तर अहिले आएर फेरी त्यही संविधानभित्र छिरेर उपप्रधानमन्त्री बन्दा खेरी बुझ्न सकिन्छ की यी एउटा छेपारो जस्तो रंग बदल्न नसकेर बोली बदल्दै सरकारमा सहभागी भएका छन र नेपाल र नेपालीहरू निमित्त घात हुने बोली बोल्न अलिकति पनि विवेक प्रयोग गर्न सक्दैनन् । चौविस घण्टा समय नबित्दै आफूले बोलेको बोलीलाई सच्याउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । तर यो नै सत्य भने चाहिँ होइन। यस भन्दा अगाडि बाबुराम भट्टराईले बहुराष्ट्रिय राज्यको कुरा गर्दा चर्को आलोचना खेप्नुपरेको थियो ।

विदेशी फोटोकपी सिद्धान्त लादेर, विदेशी प्रतिमानको भरिया बनेर र विदेशी आँखाले स्वदेशी समस्या हेर्ने मानसिक गुलामहरू मात्रै छैनन् यो देशमा । मौलिक जरोकिलो पार्टी पनि उदाएको छ मूलधारको शक्ति बनेर । जति नै तिकडम गरेपनि । छेपारो रंग फेरे जस्तो फेरे पनि । मौलिक जरोकिलो पार्टीले आफ्नो मौलिकताको अध्ययन र अनुसन्धान गरेर राज्य, राष्ट्र र राष्ट्रियता सम्बन्धि पर्याप्त चिन्तन गर्दै आएको छ । युगद्रष्टा गुरुले अभिनिर्माण गर्नुभएको राज्यराष्ट्र सिद्धान्तको चिन्तन महतो र भट्टराई भन्दा कता हो कता वैज्ञानिक र परिवर्तित विश्वको लागि सान्दर्भिक छ ।

कुनै एक किसिमको पोसाक लगाउनेको एउटा राष्ट्रियता, अर्को किसिमको पोसाक लगाउनेको अर्को राष्ट्रियता । कुनै एउटा भाषा बोले एउटा राष्ट्रियता अर्को भाषा बोले अर्को राष्ट्रियता भन्दै जाति, प्रजाति, भाषा, सम्प्रदाय सबैलाई राष्ट्रियता भन्दै राज्य निर्माण गर्नु कति घातक हुँदो रहेछ भनेर युगोस्लाभिया, सोभियत युनियन, संयुक्त अधिराज्य र स्पेनमा भएका घटनाहरूबाट पाठ पढ्न सकिदैन ?

बुझ्नको लागि हिँसा भड्किनै पर्ने हो ? यस्तै अदूरदर्शी र विदेशी दृष्टिकोणधारीहरूको कारण नेपाल आज यो अवस्थामा आइपुगेको छ । तर हामी ढुक्क छौं। ढिलो चाँडो राष्ट्रियताको परिभाषा जाति, प्रजाति, नश्ल, भाषाको सिमित घेरामा कैद गर्नेहरूको बुद्धिको बिर्को खुल्नेछ । र आफ्नै मौलिकतामा आधारित उदार राष्ट्रियताको चिन्तन बोकेको राज्यराष्ट्र सिद्धान्तको महत्व जनजनले बुझ्नेछन् । आफ्नो भाषा, संस्कृति, परम्परा सबैलाई प्यारो हुन्छ । यसको संरक्षण, प्रवर्धन र विकास गर्नुपर्छ भन्ने कुरामा कसैको दुईमत छैन । संरक्षण कसरी गर्ने भन्ने कुरामा विमति हो । राज्यराष्ट्र सिद्धान्तले नेपालका सबै मौलिक धर्मसंस्कृतिको संरक्षण र अवलम्बनमा अग्राधिकार दिन्छ । तीन करोड नेपाली जनताको राजनीतिक तथा नागरिक अधिकारको पनि प्रत्याभूत गर्छ ।

नेपाललाई विदेशी सिद्धान्तधारीहरूको पञ्जाबाट जति छिटो मुक्त गरिन्छ त्यतिनै छिटो नेपालका मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण हुन्छ । आफु टाई लगाएर हिंड्ने तर पोसाकको संरक्षण गर्ने भन्दै छुट्टै राज्यको वकालत गर्नु मुर्खता हो । आफु कम्युनिस्ट र पूँजीवाद भन्दै विदेशी मताग्रहको नक्कल गर्ने अनि आफ्नो संस्कृतिको संरक्षण गर्न छुट्टै राज्यको वकालत गर्नु दुई जिब्रे प्रवृत्ति हो । आफ्ना सन्तानलाई अंग्रेजी बाहेक अरु भाषा बोले सजाय दिने विद्यालयमा पढाउने तर आफ्नो मातृ भाषाको संरक्षणको लागि छुट्टै राज्यको वकालत गर्नु विरोधाभास हो ।

आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, परम्पराको अविच्छिन्न अवलम्बन गरौँ । साथै, हाम्रा मौलिक चिन्तनको राजनीतिक, आर्थिक, शैक्षिक व्यवस्था पनि अवलम्बन गरौँ । हरेक विषयमा विदेशीले दिएको परिभाषा लाद्न खोज्दा ताप्केबाट उछिट्टिएर भुङ्ग्रोमा खसेको जस्तो नहोला भन्न सकिदैन।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.