हाम्रो मौलिकता, हाम्रो रोजाई 

डिल्लीराम तिमिल्सिना

१) पूर्वीय दर्शनको प्रतिपादन कुनै व्यक्ति विशेषले गरेको भएपनि त्यसको सामाजिक, सांस्कृतिक लगायत थुप्रै पक्षद्वारा ज्ञानको वस्तुनिस्ठता मापन गरिन्छ । हाम्रा ज्ञानहरुको इतिहास तिथिमिति तोकेर कुनै पात्रो र भौगोलिक सीमामा बाँध्न सकिन्न । किनकि ती कुराहरु सनातन हुन्छन्, हाम्रो ज्ञान निर्माण प्रक्रियामा चराचर जगतका हरेक पक्ष जोडिएका वा अन्तर सम्बन्धित हुन्छन् । हाम्रा ज्ञानहरु केवल एक पक्षलाइ उछालेर अन्य पक्षलाइ नकार्ने प्रकारको छैन ।
२) मैले प्लेटोदेखि अहिलेका अत्याधुनिक ज्ञानलाई अध्ययन गरेको छु । युरोपको प्रायः ज्ञान ग्रिक दार्शनिक प्लेटो र अरिस्टोटलकोको लहडी विचारको वरिपरि घुमेको छ । १५ औं शताव्दीदेखि सुरु भएको युरोपको पुनर्जागरण प्रक्रियामा दुईवटा मानवीय अंगलाई लिएर झगडा गरिएको छ ः मुटु (संवेदनात्मक) दिमाग ( तर्कात्मक ) ।
३) आजभोलि समाज विज्ञान अनि कथित कम्युनिस्ट वैचारिक जालमा परेका मानिसहरु विज्ञान वा वैज्ञानिक कुरा भन्दै युरोप र अमेरिकाले परिभाषित गरेको विज्ञान सम्मत कुराको दुहाई दिन्छन् । जब हामी आफ्नो पूर्र्वीय परम्परा र मौलिक सनातन परम्परा अपनाउन खोज्छौँ कथित सामाजिक विज्ञानका ठेकेदारको लागि त्यो अन्धविश्वास लाग्छ फेरी त्यहि कुरा इस्लाम वा इसाई समुदायले गर्दा श्रद्धा, वैज्ञानिक र आस्था बन्दछ । व्यक्ति र समुदाय बीच फरक हुने यो कस्तो विज्ञान हो ? हाम्रो सहृदयता दर्शनले कसैलाई भेद गरेको छैन । हाम्रो दर्शनले जीवन र जगतलाई जोडेको छ । यदि त्यस्तो भेद गरेको तथ्य देखाइन्छ भने त्यो गलत उल्था वा अनुवाद हो या विशेषण हो । शब्दलाई नामवाचक शब्द जालमा इतिहासमा घुलन गरिएको हो, नियोजित तरिकाले तोडमोड गरिएको गलत कथन हो ।
४) हाम्रो पद्धति बिगार्न अहिले सामाजिक विज्ञानहरु सुनियोजित र प्रायोजित रुपमा लागेका छन्, धर्म भन्ने शब्दलाई रिलिजन भन्ने युरोपियन शब्दको अनुवादका रुपमा बुझेर, हिन्दु हुँदा अन्धविश्वासी हुने तर इस्लाम वा इसाई हुँदा आधुनिक र वैज्ञानिक हुने व्याख्या गरेर लघुताभास फैलाउन हाम्रै र हाम्रा आफ्नै मानिसहरु लागिपरेका छन् । विदशी विधर्मीको नुन खाएर उनीहरुले फैलाएको अन्धविश्वासी धारणाको पछि लाग्दा कति अबोध दाजुभाइले ज्यान गुमाउने हुन् ? अन्धविश्वास भए सबै धर्म र संस्कारमा होला नि ? हामीलाई लखेट्न अनेक शब्दजाल फैलाउने कस्तो विज्ञान हो ? बुझ्न विदेशी डलरको स्रोत खोज्नुपर्दछ !
५) हिन्दु धर्मका साधु, सन्त, जोगी, महन्तलाई उनीहरुले समाज, वातावरण, गोरक्षा ,जनसंख्या नियन्त्रण तथा धर्मको प्रवर्धनमा पुर्याएको योगदानलाई आमसञ्चार तथा प्रशासनले नजरअन्दाज गर्दै भिखारी भनेर हेप्ने प्रवृतिको विकास गरिएको पाइन्छ । चर्चमा सेतो र सुकिला कपडा लगाएर विभिन्न अन्धविश्वास फैलाएर माग्ने कुरा पवित्र, हरे ! हाम्रो सोचाई र प्रवृति । भिक्षा माग्नु, भिकारिपन होइन, भिक्षा माग्नुलाई हाम्रो धर्ममा उच्च सम्मान हुने गर्दथ्यो । साधु सन्तले आफ्नो जीवन सम्पूर्ण कुरा छोडेर भिक्षा मागेर चलाउने वैदिक परम्परा हो ।
६ ) नेपालमा समाज कल्याण परिषद् नामक एक संस्था अहिले त मन्त्रालय पनि छ । अहिलेको सरकारले लिने वैदेशिक सहयोग पनि एक प्रकारको भिख नै हो, अनुवाद गरेर शब्दजाल फैलाउने नै हो भने, हाम्रा साधुसन्तलाई भिखारी (बेग्गरी) मान्ने हो भने पश्चिमा भाषामा अब सरकारलाई के भन्ने ? जय शम्भो !

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.