एउटा सपना जो यथार्थ बन्दैछ

अनिमेश भट्टराई

कोभिडको सन्त्रासमा घरमा मै बसिरहेको समयमा विभिन्न सामाजिक संजालमा युगनिर्माण दिवस, युगद्रष्टा गुरुदेवको जन्मदिन आदि सन्दर्भहरु देखेकाले विगत केही दिनदेखि त्यसको सामान्य अनुसन्धानमा जुटेको थिएँ ।
त्यसबाट प्राप्त केही विशेषताहरु हजुरहरु सामुन्ने राख्ने अनुमति चाहन्छु ।
१ तनहुँको म्याग्दे गाउँमा पिता रुद्रमणि अधिकारी र माता रमादेवी अधिकारीको कोखबाट २०३३ साल जेठ १ गतेका दिन डा. निर्मलमणि अधिकारीज्यूको जन्म भएको हो ।
२ २०५८ सालमा २५ वर्षको उमेरमा कविवर भानुभक्त पोख्रेल अध्यक्ष रहनु भएको युगनिर्माण अभियान नेपालले डा. अधिकारीको युगप्रवर्तनकारी विचार, सिद्धान्त , दर्शन र दृष्टिकोणबाट प्रभावित भई युगद्रष्टाको उपाधिले सम्मान गरिएको थियो । हाल सोही सन्दर्भलाई निरन्तरता दिदै सयौँ संस्थाहरु लगायत जरोकिलो महाअभियानले उहाँलाई उक्त पदवीले सम्मान गर्छ ।
३ युगद्रष्टा गुरुदेवले नेपाल भित्रकै विभिन्न विश्वविद्यालयहरुमा विज्ञान, सञ्चार, संस्कृत, अंग्रेजी आदि विषयमा औपचारिक अध्ययन गर्नु भएको छ । र उहाँले विद्यावारिधि (पि एच डि) लगायतका डिग्री हासिल गर्नु भएको छ । साथै उहाँ आधिभौतिक र आधिदैविक र आध्यात्मिक तीनै आयाममा निपूर्ण व्यक्ति हुनुहुन्छ ।
४ सन् २००३ मा युगद्रष्टाले पूर्वीय दर्शनमा आधारित रहेर सञ्चारको सिद्धान्त बनाउनु भएको हो । एसिया महादेशबाट सञ्चार सिद्धान्त बनाउने पहिलो र पूर्वीय दर्शनमा आधारित रहेर सञ्चार सिद्धान्त बनाउने विश्वकै एकमात्र व्यक्ति हुनुहुन्छ ।
५ युगद्रष्टालाई विश्वका विभिन्न राष्ट्रहरुमा आचार्य, महामहोपाध्याय, महागुरु, समकालिन विश्वका अत्यन्त असाधारण विद्वान र प्रभावशाली व्यक्तित्व भनेर सम्बोधन गरिन्छ । उहाँ हाल काठमाडाँै विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ । उहाँलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुले आकर्षक सुविधा सहित प्राध्यापनका लागि आमन्त्रण गरेको तर उहाँले स्वदेशमै बसेर नेपाललाई विश्वको केन्द्र बनाउने कृतसङ्कल्पित हुनुहुन्छ । युगद्रष्टा नेपालको एकमात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जसको नेपालको पढाईलाई अन्तर्राष्ट्रिय क्षेत्रका विश्वविद्यालयहरुले त्यस तहमा सम्मान गरेको छ । उहाँको सिद्धान्तलाई विश्वका विभिन्न विश्वविद्यालयहरुले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ ।
६ डा. अधिकारीले पूर्वीय सभ्यतामा करीब २३०० वर्ष अगाडि चाणक्यले प्रतिपादन गर्नु भएको राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक आदि सिद्धान्त र करिब २०० वर्ष अगाडि कार्लमार्क्सले प्रतिपादन गर्नु भएको सिद्धान्त पश्चात लामो कालखण्डको रिक्ततालाई पूर्ण गर्दै सहृदयता दर्शनमा आधारित राजनीतिक, आर्थिक, सामाजिक आदि सिद्धान्तहरुको अभिनिर्माण गर्नु भएको छ ।
७ युगद्रष्टाले कैयौँ बर्षको अनुसन्धान, अनुष्ठान एवम् साधनाको फलस्वरुप नेपाल लगायत समग्र विश्वलाई युगप्रवर्तन गर्ने सामथ्र्य राख्ने सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यामक प्रगतिवाद एवम् आधारशीला चतुष्टयको अभिनिर्माण गर्नु भएको छ । आधारशिला चतुष्ट्यमा विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध पर्ने र यही आधारशिलाको जगमा वैज्ञानिक सत्ययुगको लक्ष्य निर्धारण गरिएको छ । राजनीतिक सिद्धान्तको रुपमा राज्यराष्ट्र सिद्धान्त रहेको छ ।
पश्चिमी प्रतिमानले राष्ट्र निर्माणको आधार जाति, धर्म, भाषा इत्यादिलाई मानेको भएता पनि यो गतार्थ परिभाषा भएकाले त्यसप्रकारको राष्ट्रराज्यको अवधारणालाई खारेज गर्दै सबै जाति, धर्म, भाषा आदि सहृदयतामा आधारित रहकोे सार्वभौमसत्ता सम्पन्न निश्चित भूगोलमा बसोबास गर्ने मानिसहरुको एकत्व पहिचानलाई राष्ट्र मानेको छ । यो राज्यराष्ट्र सिद्धान्तले जाति, धर्म, भाषा, नश्ल आदि राज्यको आधार हुनुहँुदैन भनेर नवीन परिभाषा स्थापित गरेको पाइन्छ ।
८ युगद्रष्टाले २०७२ सालमा नेपाललाई विश्वको केन्द्र बनाउँदै वैज्ञानिक सत्ययुगको स्थापना गर्ने सङ्कल्प लिएर सज्जनहरुको सङ्घ जरोकिलो महाअभियानको घोषणा गर्नु भएको छ । युगद्रष्टा आफै सकृय राजनीतिमा नआई शिक्षित, प्रशिक्षित र दीक्षित व्यक्तिहरु तयार गरी राजनीतिको अभिभारा सुम्पनु भएको छ । धार्मिक सत्ताले जहिले पनि राजनीतिक सत्तालाई निर्देशन दिने अधिकार राख्छ भन्दै वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञानको दृष्टिकोण प्रस्तुत गर्नु हुने गुरु निश्चय नै युगद्रष्टा हुनुहुन्छ ।
९ नेपालको दुरावस्था हुनमा पराई प्रतिमानमा आधारित दर्शन, सिद्धान्त, वाद, मताग्रह जिम्मेवार रहेकाले यसको समूल अन्त्य गर्दै मौलिक प्रतिमानको स्थापना गरी नेपाललाई विश्वको केन्द्र बनाउने महाअभियानमा सबैको सकरात्मक योगदान हुनुपर्नेमा युगद्रष्टा गुरुको जोड रहेको छ ।
१० युगद्रष्टाले अभिनिर्माण गर्नु भएको दर्शन र सिद्धान्तले घृणा, कित्ताकाट, विभाजन एवम् द्वन्द्वलाई निस्तेज तुल्याउँदै समानभावले सबैजना मिलेर अघि बढ्नु पर्दछ भन्ने सत्प्रेरणा दिएको छ ।
अनुसन्धान र खोज गर्दै जाँदा अझै धेरै विशेषताहरु पाइयो । समय अभावले सबै जानकारी दिन पाइएन, क्षमाप्रार्थी छु ।
यो अध्ययन पश्चात म चाहिँ के निष्कर्षमा पुगेँ भने ऋषिसत्ताका उत्तराधिकारी, आचार्य पद्धतिका वर्तमान प्रधान आचार्य, वैज्ञानिक सत्ययुगका मार्गनिर्देशक आदरणीय गुरुदेव युगद्रष्टा डा. निर्मलमणि अधिकारीज्यू निश्चय नै युगान्तकारी, युगप्रवर्तनकारी एवम् नवयुग निर्माण गर्न सामथ्र्य राख्ने शक्तिपुञ्जका श्रोत हुनुहुन्छ ।
मैले आफूलाई धन्य र भाग्यमानी सम्झेको छु कि मैले पनि प्रारब्धको कारणले युगद्रष्टाको समयमा नै जन्म लिने अवसर प्राप्त गरेको छु । युगद्रष्टाको युगमा जन्म लिन पाउनु मेरो अहोभाग्य हो ।
अन्त्यमा,
युगद्रष्टा गुरुदेवको प्रत्यक्ष वा परोक्ष निर्देशनमा रहेर जरोकिलो महाअभियानको लक्ष्य र उद्देश्य बमोजिम युगनिर्माणको मार्गमा आफूलाई समर्पित गर्ने सङ्कल्प गर्दछु ।
साथै युगद्रष्टा गुरुदेवको जन्मदिनलाई आफ्नो गौरव मान्दै हार्दिक नमन व्यक्त गर्दछु ।
युगनिर्माण दिवसको शुभकामना ।
(सफ्टेरिका कलेज, काठमाडाँैमा अध्ययनरत विद्यार्थी अनिमेश भट्टराईले युगनिर्माण दिवशको अवसरमा लेख्नुभएको लेख)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.