कोरोनासंग लड्ने सपना

डा. गोविन्दशरण उपाध्याय

बिहानै प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेता देउवालाई फोन गरेर भन्नुभयो “सबै मिलेर राष्ट्रिय सरकार गठन गरौँ । हामी सबैको पहिलो प्राथमिकता कोरोनाको संकटबाट जनतालाई जोगाउनु हो । कोरोनासंग लड्न म प्रधानमन्त्री पद छोड्न तयार छु ।”

ओलीको फोन सुनेर देउवाले भने “तपाईंले आफ्नो कार्यकालमा एउटामात्र असल कामको प्रस्ताव राख्नु भयो । प्रधानमन्त्री जो बने पनि विपक्षीको नाताले कोरोना जित्न सहयोग गर्नेछौँ ।”

माधवकुमार नेपालले प्रधानमन्त्रीको कुरा मिडियामा आएपछि भन्नुभयो “केपीले गल्ति गरेका छन् तर कोरोनाबाट अहिले लड्न उहाँको कुरामा समर्थन गर्छु । कोरोना सकिएपछि ठेगान लगाउने कुरामा पछि पर्ने छैन ।”

देउवा र ओलीको फोन-सहमति सुनेर उपेन्द्र यादव र महन्थ ठाकुरले भने “ओलीसंग धेरै कुरामा हाम्रो असहमति छ । तर कोरोनाको कहरबाट जनताको रक्षा गर्न हामी राष्ट्रीय सरकारमा जानेछौं ।”

यसै बीच चित्रवहादुर केसीले भने “त्यसो त हामी संघिएताको विपक्षमा छौँ तर कोरोनाको बेलामा हाम्रा राजनैतिक कार्यकर्ताहरू कोरोनासंग लड्न मैदानमा उत्रने छन् । हामी सरकारसंग हुन्छौं ।”

ओलीले प्रचण्डलाई फोनमा भने “कमरेड, तपाईंले मेरो विश्वास गर्नु हुन्न, मलाई थाहा छ तर कोभिडको सङ्घर्षमा तपाईंको सहयोग चाहिन्छ । राष्ट्रिय सरकार बनाउँ ।”

प्रचण्डले भने “तपाईंले राष्ट्रिय सरकारको बाचा पुरा गर्नुहुन्छजस्तो मैले ठान्दिन तर कोरोनासंग लड्न तपाईंकै नेतृत्वमा सरकार बने पनि हामी सघाउने छौँ ।”

अन्य स-साना पार्टीले पनि भने “ओलीले राख्नु भएको प्रस्ताव स्वागतयोग्य छ । हामी कोरोनासंग लड्न उहाँसंग छौँ । कोरोना नियन्त्रणका नाममा विदेशीहरूको भरथेग गर्न र आफ्नै जरोकिलोमा प्रहार गर्न पाइन्न ।”

——–

भोलिपल्टको गोरखापत्र, नेपाल टेलिभिजन, कान्तिपुर, जनता सबैको हेडलाइन एस्तो थियो – ” नेपालका राजनैतिक शक्तिले विश्व कीर्तिमान कायम गरे, सबै मतभेदहरू थाती राखेर कोरोना विरुद्ध सहकार्य गर्ने ।”

मैले आज विहान यस्तो । संवाद भएको सपना देखें । यदि यो सपना तपाईंलाई मन पर्छ र आजका राजनैतिक शक्तिहरूले जनताको सपना बुझ्नुपर्छ जस्तो लाग्छ भने सबैतिर फैलाउँ । मेरो नाम राख्न पर्दैन । आफ्नै नाम राखेर सामाजिक संजालमा पोस्ट गरे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.