मूल र कूल मास्ने विकास

मित्रलाल सापकोटा

मूल शब्द सुन्दा आजको पुस्ता नै अलमलमा पर्नसक्छ कि यो मूल भनेको के हो ? सामान्यतया मूल पानीको स्रोत (मुहान) हो । जहाँबाट स्वच्छ पानीको अपेक्षा गरिएको हुन्छ । यदि यो श्रोत नै फोहर विषाक्त भएको छ भने त्यसबाट सृजित भएको धारा सदैव फोहर र विषाक्त नै हुन्छ । यस्तो कुनैपनि फोहरले भरिएको मूलको पानी पिउनु भनेको नै जीवन धरापमा पार्नु या भनौं इहलीला समाप्त पार्नु नै हो । यस अर्थमा हाम्रो नेपाली समाजमा मूल सदैव सफा पवित्र हुनुपर्छ भन्ने मान्यता बनेको हो । यसैले पनि मूललाई सधैं सफा राख्न कै लागि हरेक मूलमा ईश्वरीय शक्तिको उपस्थिति मान्दै त्यसको पूजा गरिएको हो । यो कुरा अलग हो कि हाम्रो पद्धतिलाई असभ्य र कुरीति भन्नमा आफुलाई सभ्य सम्झिनेहरुले यसलाई पाखण्ड भने । जसको परिणाम आजको पुस्ता जो तीनै मूल सफा राख्ने पद्धतिलाई पाखण्ड भन्नेहरुबाट प्रशिक्षित थिए, सबैले मूलको पवित्रताको महत्व बुझ्न सकेन ।

यहाँ प्रतिकात्मक रुपमा पानीको मूलको उदाहरण दिएर यो कुरा स्पष्ट गर्न खोजिएको छ कि स्रोत भनेको जे सुकैको होस स्वच्छ र पवित्र नै हुनुपर्छ । अपवित्र र फोहर स्रोतले पहिलो कुरा त प्रतिफल नै दिँदैन यदि कुनै कारण अपवादको रुपमा दिइहालेमा पनि त्यो ग्रहण योग्य नै हुँदैन । यसलाई अझ स्पष्ट पारौं। कुहिएको बिज रोपेर बृक्षको कल्पना गर्न सकिँदैन । दूषित बीजबाट स्वच्छ र फल दिने बिरुवा हुर्किँदैन । यस्तै बालबालिकालाई दिइने गलत शिक्षाले समाजलाई सहिमार्गमा लैजान सकिँदैन । कुसँस्कार भएका दम्पतिबाट सँस्कारित सन्ततिको कल्पना गर्नु पनि मूर्खता हो ।

अहिले नेपालको राजनीतिमा पनि देखिएको मुख्य समस्या नै मूलमा भएको फोहर नै हो । नेपालमा विगत सात दशकयता सदैव नेपालको निर्णायकत्व अरुलाई नै ठान्ने र अरुबाट नै आशा गर्ने प्रवृत्ति मौलाउँदै गएर यहाँसम्म झाँङ्गिएको हो । नेपालको आवश्यकता र यहाँको मौलिकता के हो ? यहाँको धरातलीय यथार्थ के हो ? नेपालको भूगोलसँग मिल्दो र माटो सुहाउँदो कुरा के हो ? यहाँको मूल र कूल बचाउँदै के कस्तो शासन प्रशासनको आवश्यकता छ ? हाम्रा पूर्वजहरुले जगाएर बचाएर पल्लवित गरेर ल्याएको के हो ? यो देशको आध्यात्मिक, समाजिक आर्थिक र भौगोलिक परिस्थिति यहाँको अस्मिताको एकरत्ति पनि हेक्का किन राखिएन ? यी आजपनि खुला जानकारीमा रहेका अनुत्तरित प्रश्न हुन । सबैकुरा विदेशीको नै ठिक भन्दा देशको राजनिित नै अनैतिकतातिर हानियो । उनीहरुको आदेश निर्देशन नै उपयुक्त मान्दै गइएको छ । हाम्रा पूर्खाले गरेको पाखण्ड, हाम्रा आफ्नाहरु पाखे, हाम्रो पद्धति नै असभ्य भन्नमा नै हाम्रो सारा उर्जा सकियो । हाम्रो अस्मिता मिथ्या भन्दै विदेशीहरुले आफ्नो देश र तत्कालिन त्यहाँको परिस्थिति अनुसार उनीहरुको अनुकुल बनाएका सिद्धान्तहरुलाई नेपाल जस्तो आफ्नो बिशाल पहिचान बोकेको, सृष्टिकाल देखि नै छुट्टै सभ्यता बोकेको देशमा जबर्जस्ती लाद्ने काममा अनवरत रुपमा लागियो । यहाँका हरेक जनजनको मनमस्तिष्कमा आफ्नो प्रति घृणाको बीऊ रोपियो । आफ्नालाई गाली गरेर नै महान बन्न सिकाइयो । हत्याहिंसाबाट नै शक्ति र सत्ता आउँछ भन्ने पढाइयो । पौरखीलाई लुछेर चुँडेर लतारेर सडक ल्याएपछि मात्रै समानता हुन्छ भन्ठानियो । अर्थ र काम (यौन) लाई मात्रै साधन सम्झियो । मौलिक विविधतामा विभेद देखियो । विविधतामा कित्ताकाट गरेर, एकआपसमा फुटाएर लडाएर मात्रै आफु अगाडी जान सकिन्छ भन्ने नीतिलाई अवलम्बन गरियो । सहृदयताको सम्बन्धमा कित्ताकाट र घृणाको बीऊ रोपियो । राज्य भनेको म, शासन भनेको म र मेराको मस्ती, नीति भनेको विदेशीको आदेश भन्ने मनोवृत्ति मात्रै यहाँ मौलायो ।

यहि सोचबाट नै नेपालको राजनीतिको मूहान नै दुषित भएको हो । यो एकाएक भएको भने होइन । यसले यो रुपलिन झण्डै सात दशक प्रयोग गरिएको हो । त्यहि सात दशक आसपासको नेतृत्वले आजको नेपाली राजनीतिको मूल फोहर बनाउँदै ओगटेको छ । हरेक मूलको दोष धारालाई दिएर पार पाइँदैन । धाराले त जस्तो मूलबाट आपूर्ति गरिएको हो त्यस्तै प्रवाह गर्ने हो । नेपालको वर्तमान राजनीतिको मूलमा नै कैफियत छ । यसको मूलले नेपाल चिन्दैन । नेपाल जान्दैन । नेपाल पढाउँदैन । नेपाल सोंच्दैन । नेपाली अस्मितालाई आदर गर्न उसको शिक्षाले दिँदैन । अनि कसरी यहाँ सबै राम्रै राम्रो हुन्छ स्वच्छ हुन्छ भन्ने कल्पना गर्ने ?

राजनीतिका पात्रहरु धेरै आए गए तर सुपात्र कति आए भन्ने मुख्य करा हो । यसको हेक्का त जनताले आफ्नो नीर क्षीर र विवेकले छुट्टाउन सक्नु पर्छ । कुपात्रहरुको पछाडी लाम लागेर उसका हरेक कर्ममा महानता देख्ने मनोवृति रहेसम्म यहाँको राजनीतिको मुहान सफा हुनसक्दैन । राजनीतिलाई सधैं फोहरी खेल भन्ने र मुल सफा गर्नेहरु नै राजनीतिबाट बाहिर बस्ने हो भने त्यो दुषित मुहान कहिल्यै पनि सफा हुनेवाला छैन ।
यो देशको शिक्षाको मूलमा फोहर छ किन कि यसले नेपाली धर्म, सँस्कृति, भाषासभ्यता र नेपाली अस्मितालाई गाली गर्न सिकाउँछ । अरुको धर्म, सँस्कृति, भाषासभ्यतामा सुन्दरता देख्छ । विकास देख्छ । नेपाली मौलिकतालाई पाखे भनेर सभ्यताको परिचय दिन सिकाउँछ । शिक्षालयहरुमा विज्ञताको आधारमा होइन राजनीतिक पार्टीका लठैत कार्यकर्ता लगाएर व्यवस्थापनको जिम्मा लगाउँछ ।

यहाँको विकासनीतिको मूलमा फोहर छ । किनकि यहाँको विकासले नेपाली मौलिक वास्तुकला, चित्रकला, वातावरणीय सहृदयता, समाज विकासको सिद्धान्तलाई मान्दैन, जान्दैन र त्यसमा दिगोपना देख्दैन । यहाँको श्रोत र साधनमा विश्वास गर्दैन । पानीका मुहानहरु भत्काएर, पुरेर, बीना कुनै संरक्षणको योजना पहाड छियाछिया पारेर बाटो बनाउनुमा विकास ठान्छ । आवश्यकता हो होइन त्यसको परवाह नगरिकन केहि फैक्ट्री पसलहरु सञ्चालनका लागि कंङेक्रीटको संरचना बनाउँछ । भावी सन्ततिलाई प्राकृतिक श्रोत बचाउन आवश्यक ठान्दैन । अक्सीजनका खानीबृक्ष वरपिपल मासेर, पानी संरक्षणका पोखरीहरु पुरेर बिकासको रेखा कोर्छ । नेपाली गाउँको आवश्यकता नेपाली भएर सोंच्न सक्दैन । आइएनजिओका प्यादाहरुबाट नेपालीको भाग्यरेखा कोर्छ । देशलाई बन्धकी राखेर विदेशीका योजना भित्र्याउँन मरिहत्ते गर्छ ।
यहाँको कृषिनीतिको मूलमा फोहर छ । किनकि यहाँको कृषि नीतिले नेपाली माटो चिन्दैन । नेपाली बीऊ चिन्दैन । मौलिक बीऊलाई संरक्षण गर्न जान्दैन । यहाँको आत्मनिर्भर कृषि प्रणली र किसानलाई निर्वाहमूखी भनेर बद्नाम गर्छ । यहाँको वनस्पतिको नेपाली हावापानीसँगको सहृदयता चिन्दैन । यहाँको खाद्यको महत्व जान्दैन । यहाँको भान्सालाई कुपोषणको संज्ञा दिनेहरुलाई विज्ञ ठान्छ । यहाँको जडीबुटी फलफूल तरकारीलाई प्रतिबन्ध गर्नुपर्छ मानवस्वास्थको लागि ठिक छैन पनि भन्न भ्याउँछ । यहाँका मौलिक पेय पदार्थ, मौलिक खानाका परिकारलाई सकेसम्म अवैधानिक बनाउन खोज्छ । यहाँका मौलिक रैथाने गाई, भैंसी, बाख्रा, कुखुरा आदीलाई विस्थापन गरेर विदेशी प्रजाति र नश्लका पशुपंक्षीलाई पाल्न, खान प्रोत्साहन गर्छ । लगानी गर्छ । प्रचार प्रसार गर्छ । गाईवस्तु पालेर गोबरमल, प्राकृतिक मल तयार गर्ने र माटोको उर्वराशक्ति कायम गराइराख्नेहरुलाई किसानको रुपमा चिन्दैन । जसले गोबर माटो छुँदैन, कोदालो छुँदैन उसैलाई राज्यको ढुकुटीबाट अनुदान दिन्छ ।
यहाँको स्वास्थ्यनीतिको मूलमा फोहर छ । किनकि यसले यहाँको जडीबुटीलाई वाहियात भन्छ । यहाँको परम्परागत चिकित्सा पद्धतिलाई प्रोत्साहन गर्न चाहँदैन । यहाँको बालस्याहर परम्परामा खोट देख्छ । यहाँको सुत्केरी स्याहर पद्धतिलाई पाखण्ड भन्छ । स्वस्थ जीवन बाँच्ने वैदिक आध्यात्मिक प्रचलन र व्यवहारहरुलाई असभ्यहरुको खेला र ढोंग भन्छ । तर आफु एउटा बिमारी आउँदा जनतालाई घरमा थुन्नुपर्छ भन्छ । हाम्रा पञ्चकब्य चिकित्सा, गौमुत्र गोबर आदीलाई पाखण्ड भनाउँन ठूलो लगानी गर्छ । हाम्रो पद्धतिलाई गाली गर्ने विज्ञहरुलाई पुरस्कृत गर्छ । भान्सामा पाक्ने सात्विक भोजनमा पौषिटिकता देख्दैन । बिषादियुक्त खानालाई स्वच्थकर भनेर प्रचार गर्छ । गोरसलाई कम उपयोग गर्न प्रात्साहन गर्छ ।
यहाँको साँस्कृतिक नीतिमा फोहर छ । किनकि यहाँको मौलिक सँस्कृतिमा सधैं आक्रमण गर्छ । यसलाई सधैं अविकसित देख्छ, पाखण्ड देख्छ । यहाँका मठ मन्दिर पाटी पौवा कोट थान गुम्बा चैत्यहरुलाई भत्काउनु पर्छ भन्छ । यिनका जमीन र अन्य भौतिक सम्पत्तिहरुमा झण्डा गाडेर कब्जा गराउँछ । गुठी, बडघर मासेर सभ्यताको परिचय दिन्छ । आफ्नो धर्मसँस्कृति न त पढाउँछ न चिनाउँछ । न यसमा गर्व गर्न सिकाउँछ ।

यहाँको व्यापार नीतिको मूलमा फोहर छ । किनकि यहाँ आफ्ना उद्योगहरु मासेर अरुका समानहरु बेच्ने अनुमति दिन्छ । यहाँको उत्पादनलाई कमसलको पगरी भिराएर सीमानाका र भन्सारहरु अरुका समानहरुका लागि खोलीदिन्छ । आफ्ना जनताका उत्पादनलाई सडाउन, कुहाउन, पोख्न बाध्य बनाउँछ । राजश्व आउने देखेपछि जेसुकै जस्तोसुकै समान भित्र्याएर नेपाललाई डम्पिङसाइड बनाउँछ । आफ्ना खानी बन्द गराउँछ । यहाँका पौरखीलाई सीपलाई बिस्थापन गराउँछ ।
यहाँको शहर व्यवस्थापन नीति, भूउपयोग नीति, मानव श्रोत व्यवस्थापन नीति देखि अनेकानेक नीतिहरुका मूलमा नै फोहर छ । गाउँ खाली गराएर कृषि जमीन मासेर शहर बसाउने, मान्छे खेतबाट हटाएर विदेश पठाउने, गाउँघरका खेत खलियान बाँझो राखेर शहरका छेउछाउमा सुकुम्बासी बसाउने गर्छ । गरिखाने वर्गलाई सित्तै खाने र आइएनजिओको समोसा र भत्तातिर दौडाउँछ ।
यतिसारो नीतिहरुको मुहानमा भएको फोहरको खास कारण नै राजनीतिको मूलमा भएको फोहर हो । राजनीति त सबै नीतिको सर्वश्रेष्ठ नीति हो । यदि यसको मूल नै फोहर छ भने अरु नीतिहरु सहि र स्वच्छ हुनै सक्दैनन् । यसले राजनीतिको मूल नै सफा गर्न जरुरी छ । यसलाई सफा गर्न नेपाली मौलिकताबाट नेपाल र नेपालीत्वबाट शिक्षित, दिक्षित र प्रशिक्षित युवाहरुले राजनीतिमा हस्तक्षेप गर्न आवश्यक छ । राज्य नै नरहन सक्छ जब मूल नै फोहर हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.