प्रधानमन्त्रीले पाएनन् विश्वासको मत

विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछी प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुने व्यवस्था छ ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका थिए ।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

१२१ सांसद सहित एमाले संसदको सबभन्दा ठूलो दल भएता पनि प्रधानमन्त्री ओलीले आफ्नै दलबाट सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टीका एक सांसद तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.