जनताको चासो समिकरण होइन, भेन्टिलेटर – मौलिक जरोकिलो पार्टी

आम नेपाली जनतालाई संसद भवनमा बन्ने समिकरणको भन्दा अस्पतालमा हुने भेन्टिलेटरको चासो भएको हुँदा प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि अब जुनसुकै राजनीतिक समिकरण बनेपनि आम नेपाली जनताले बाँच्न पाउने अधिकारलाई आफ्नो घृणित राजनीतिक दाउमा नराख्न पार्टीले अनुरोध गरेको छ । संसदमा आज प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत गुमाएपछि मौलिक जरोकिलो पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुरा अनुरोध गरिएको हो।

विज्ञप्तिमा भनिएको छ – नेपालमा विकसित राजनीतिक घटनाक्रमले राजनीतिक स्थायित्वसंगै समृद्ध नेपाल सुखी नेपालीको नारामा नेपाली जनतालाई पुन: एकपटक झुक्याईएको मौलिक जरोकिलो पार्टीले ठहर गरेको छ । एकातिर संक्रमणबाट गम्भीर बिरामी बनेकाहरू भेन्टिलेटर नपाएर भौतारिंदै गर्दा संसद भवनमा देखिएको घोचपेच, आरोप प्रत्यारोप र राजनीतिक अस्थिरताको संकेतले नेपाली जनताले महाव्याधिमा अझै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको छ ।

कोरोना संक्रमणको पहिलो लहरमै पर्याप्त तयारी गर्नुपर्नेमा सत्ताको लुछाचुंडी, आरोप प्रत्यारोप र राजनीतिक लेनदेनमै समय खेर फालेका थिए । सत्तावृत्तमा रहेका दलहरूको सत्तालिप्सा र अकर्मण्यताको कारण पर्याप्त तयारी नहुँदा नेपाली जनताले अकालमा मृत्युवरण गरेर त्यसको मूल्य चुकाउनु परेको आरोप लगाएको छ ।

वि. सं. २००७ सालदेखि नेपालको राजनीतिमा सिण्डिकेट जमाएर बसिरहेका कपूतन्त्रे दलहरू नै नेपालको राजनीतिक स्थायित्वको बाधक रहेको कुरा प्रमाणित भएको पार्टीको ठम्याई छ । कपूतन्त्रको समूल अन्त्य नभएसम्म नेपालको समृद्धि सम्भव छैन भन्ने कुरामा झनै दृढ संकल्पित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.