विद्यार्थीहरुको भविष्यमाथी विश्वविद्यालयको खेलवाड

चन्द्रमोहन भट्ट

भनिन्छ कुनै देशलाइ सखाप पार्नुपर्छ भने अरु केही गर्नुपर्दैन त्यो देशको शिक्षा प्रणाली खराब भए पुग्छ, जुन कुरा आज नेपालको परिवेशमा देखिसकेको छ।
एउटा भाइले सोध्दैथियोे “दाइ हामी स्नातक प्रथम वर्षमा पढ्न लागे दुई वर्ष पूरा भयो हाम्रो जाँच कहिले हुन्छ होला?”
म के जवाफ दिउ म यस्तो शिक्षालयमा पढ्छु जहाँ विद्यार्थीको मुल्यांकन केवल ३ घण्टाको परिक्षाले गर्छ र त्यो परिक्षाको लागि पनि ३ वर्ष एउटै कक्षामा कुर्नुपर्ने ??
कलेजमा सरहरु भन्दै थिए “अब तत्काल परिक्षा हुने होइन क्यारे घर गए हुन्छ” । सबै साथीहरू कोभिड-१९ को डरसँगै घर फर्किने जमर्को गर्दै थिए तर मेरो मनमा प्रश्न उठ्दैथियो कि ” के मेरो पढाई केवल परिक्षाको लागि मात्र हो र ?” मैले पढ्ने शिक्षा त केवल परिक्षामुखी मात्र रहेछ।

यी मेरा प्रश्नको जवाफ म कहाँबाट पाउ??
यो पाली पनि लकडाउन हुने भएपछि मलाइ याद आयो गत बर्षको लकडाउन अवधीको कोठाभाडा तिर्नलाई तल्लाघरे काकाबाट मागेको पैसा अझै तिर्न बाँकी नै छ ।
कलेज बन्द भइ लकडाउन हुने भएपछि सयौं जना कोचेको बसमा २ दिनभरी चढेर बल्ल गाउँ पुगेको साथिले डाँडाबाट फोन गर्दैथियो अब अनलाइन कक्षा हुने रे कसरी लिने होला कुन्नी, न गाउमा बत्ति पुगेको छ न त ईन्टरनेट नै।
विचरा साथी ! शहर फर्किनथ्यो कोरनाले पो लाग्छ कि भन्ने डर नफर्के केवल त्यही पढाइ भनेर आजसम्मको लगानी खेर जाने डर।

आमाले फोन गरि भन्दैथिए ” बाबू सन्चै छौ नि तल्लघरे गुसाई पोहोर साल लिएको पैसा फिर्ता माग्न आएका थिए, बाबू अब तिम्रो पढाइ कहिले सक्किन्छ?” यो सुनेर अकमक्क परे म, रनभुल्ल भए म।
खुला आकशमा केही सपना सँगै लाखौंको ऋण बोकेर आएको म ,आज मेरा सबै सपनामाथी कालो बादल देख्दैछुँ।
सबै अन्धा देख्छु ,सबै बहिरा देख्छुँ म मेरा प्रश्न कस्लाइ सोधुँ?
विद्यार्थी सँगठनहरुलाई सोध्न खोज्छुँ तर रुखमा झुन्डिएका ती बोर्डहरु मात्र देख्छुँ, विद्यार्थी नेताहरु सबै आआफनै पार्टी र नेताको भक्तिमा ब्यस्त देख्छु,आअफ्ना नेताहरुका जन्मदिनले फेसबुक रंगाएको देख्छुँ, यहाँ सबै अन्धा र बहिरा देख्छुँ।
यो देखेर मलाई याद आउँछ, हातको कलम छुटाएर बन्दुक बोकाउने क्रान्तिकारिहरुको याद आउँछ, पढ्दै गरेको कक्षाबाट निकालेर टायर बालेर आन्दोलन गराउनेको याद आउँछ,भाषण ठोक्दै फोहरी राजनीतिको गन्ध लिएर क्याम्पस कमिटी गठन गर्नेहरुको याद आउँछ, कहाँ छन तिनीहरु खै त विद्यार्थीको पिडामाथि आवाज उठाएको??
मलाई आज सोध्न मन छ, शिक्षा क्षेत्रमा तपाईहरुले के गर्यौ?
फोहरी राजनीति , गुटनिती, चाकडिबाजी??
यहाँ पढाउनेले न स्वतन्त्र पढाउन पाउछ, न पढ्नेले स्वतन्त्र पढ्न पाउँछ !

त्रिभुवन बिश्वबिधालय लगायत अन्य विश्वविद्यालय नामका राजनीतिक भर्तीकेन्द्रहरु लाई मेरो आग्रह छ विद्यार्थीहरुको भविष्यमाथी खेलवाड नगरिदिनुहोस, छिट्टै विद्यार्थीलाई सहजता दिइयोस ।

(लेखक त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा B.Sc.CSIT चौथो सेमेस्टरमा अध्ययन गर्छन्)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.