कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय

कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं कामका लागि कार्यालयमा खटिने र घरका लागि समय दिन नसक्नेहरूहरू पनि धित मर्नेगरी घरेलु भएका छन् । कामकाजी पत्नी वा पतिले घरमा संगै समय विताउने अवसर कोरोनाले जुटाई दिएको छ । परिवारका सबै सदस्यहरू बाध्यात्मक परिस्थितिले गर्दा संगै समय विताउँदै छन् ।

परिवारसंगै बस्न पाउनु राम्रो कुरा हो तर अनुसन्धानहरूले कोभिडको अवस्थामा दम्पतिहरू बीच गम्भिर समस्याहरू निम्तिएको इंगित गरेका छन् । ती समस्याहरूमा आपसी झैंझगडा, मनोमालिन्य, रक्सी-सेवन, ड्रग सेवनआदि  बढेको (खासगरी पत्नीहरू उपर पतिका आक्रमणहरू बढेका वैवाहिक बलात्कार) (https://www.nejm.org/doi/full/10.1056/NEJMp2024046) भएका रिपोर्टहरू सार्वजनिक भएका छन् ।

१० जना मध्ये ४ जना महिला र १० जनामा १ जना पुरुष घरेलु हिंसामा परेर शारीरिक, मानसिक, संज्ञानात्मक तथा (यौनहिंसा) अनुभव गरेका छन् । नेपालमा पनि बन्दबन्दीका बखत पतिपत्नीहरू बीच झगडा भएका, बालिकाहरू बलात्कृत भएका, आर्थिक समस्याले आत्महत्या गरिएका र पारिवारिक झैंझगडा बढेका समाचार आइरहेका छन् । कोरोनाले सबैलाई असजिलो अवस्थामा पुर्याएको वेला पतिपत्नी बीच मन झगडा भएर तनाव बढ्नु निकै चिन्ताजनक कुरा हो ।

सधैंभरि कार्यालयमा गएर काम गर्ने व्यक्तिलाई केही दिन घरमा बस्नु रमाइलो हुन्छ तर लामोसमयसम्म घरमा ‘बन्द’ रहंदा मानसिक, शारीरिक, आर्थिक समस्या बढ्छन् । कार्यालयमा काम गर्ने बानी परेको मान्छेका लागि “घरको दैनिकी क्रमश: “दिक्दारी”को कारण बन्न पुग्छ । घरका ससाना समस्याहरू
संग जुध्नु पर्ने, पति/पत्नीका. बालबालिकाका, बुवाआमाका, छिमेकीका समस्याहरूसंग प्रत्यक्ष संलग्न हुनुपर्छ ।

विश्वभरिका मनोवैज्ञानिकहरूले यो महामारीका वखतमा मान्छेमा मानसिक तनाव हुनु, अलिअलि रीस उठ्नु, मानसिक रूपमा अशान्त रहनु, निन्द्रामा अलिअलि समस्या भोग्नु, मनमा चिन्ता लाग्नु र निराशा बढ्नुजस्ता तत्थ्यहरूलाई स्वभाविक ठान्छन् । तर विश्वका करिव २०% जनसंख्याले एस्तो परिस्थितिलाई सहजरूपले स्वीकार गर्न सक्दैनन् र अन्यका तुलनामा बढी समस्याग्रस्त हुन्छन् । यी मध्ये पनि करिव ५% जनसंख्यालाई तुरुन्त मानसिक तथा औषधिजन्य सहयोग आवश्यकता पर्छ ।

अमेरिकी समाजका समस्याहरूको ऐनामा नेपाली दम्पतिहरूका समस्या बुझ्न सकिन्न । उनीहरूको पारिवारिक संरचना, वैवाहिक मान्यता, पतिपत्नीको एकआपसी सम्बन्ध नेपालभन्दा धेरै फरक छ । उनीहरू सबै थोकमा “आर्थिकता र स्वतन्त्रता”लाई महत्व दिन्छन् भने नेपाली समाजमा उपरोक्त तत्थ्यहरूले न्यून महत्व राख्छन् । ठीकै पनि हो, सबै थोक अमेरिकी समाजकोजस्तै हुनुपर्छ भन्ने पनि छैन तर हिंसा त हिंसा नै हो । आपसी द्वन्द, हिंसा, मन-दुखाई र अपचलनबाट परिवारलाई जोगाउनुपर्छ भन्ने विषयमा विभेद हुँदैन ।

बेलायत, अमेरिका तथा युरोपेलीसंघजस्ता विकसित राष्ट्रहरूमा कोरोनाकाल तथा कोरोनाकालपछि पारचुकेको डर ह्वात्तै बढेको छ । बिबिसीले दिएको जानकारी अनुसार कोभिडकालमा ३५%ले पारचुके बढेका छन् । (https://www.bbc.com/worklife/article/20201203-why-the-pandemic-is-causing-spikes-in-break-ups-and-divorces) पतिपत्नीको मतभेद तथा मनभेदको मूल्य बालबालिकाले चुकाउने पर्ने हुन्छ । केही “आधुनिकतावादीहरूले” यी पारचुकेहरूलाई आत्मविश्वास र आर्थिक आत्मनिर्भरताको परिणाम भनेर प्रशंसा गरे पनि वास्तविकतामा परिवार, समाज र बालबालिकाका लागि अत्यन्त कष्टप्रद निर्णय हुन्छन् ।

हामी नेपाली र भारतीयहरूका लागि पतिपत्नीको सम्बन्ध सबैभन्दा पवित्र र महत्वपूर्ण हुन्छ । पति तथा पत्नी दूवैले एकअर्काको सम्मान गर्ने वचनबद्धतासंग दाम्पत्य आरम्भ हुन्छ । जवसम्म दम्पतिले एकआपसका वचनहरूको पालन गर्छन् तवसम्म परिवारमा सबै ठीक हुन्छ । गृहस्थ राम्रो चल्छ, प्रेम पनि गाढा रहन्छ । संसार स्वर्ग बन्छ र अन्त्यमा गृहस्थ धर्म पालना गर्नका कारणले मोक्ष प्राप्ति हुन्छ ।

अध्ययनहरूले कोरोनाका बखत पतिपत्नीका बीच सम्वन्ध विग्रनुका मुख्यकारणहरूमा (१) अचानक र बाध्यात्मक परिस्थितिमा लामो समय संगै बस्नु परेर (२) कुरा बाझिएर (३) खर्चको पिरलो (४) एक्लो मान्छेलाई कामको बोझ (५) अनियन्त्रित यौनचाहना (६) आफ्नो निर्णय लाद्ने प्रवृत्ति (७) शारीरिक वा मानसिक अस्वस्थ्य, (८) धन्यवाद भन्न नसक्ने अवस्था र व्यवस्था । सधैं संगै बस्नु र दैनिक कामका लागि अलग रहेर बेलुका भेटिनुमा धेरै फरक हुन्छ । आ-आफ्ना कामका बीचमा मिलनको, निर्णयको आफ्नै महत्व हुन्छ । तर सधैं संगै रहंदा प्राकृतिक तथा चाहनागत मतभेदहरू गहिरिन्छन् ।

प्रकृतिले दम्पतीलाई धेरै महत्वपूर्ण काम जिम्मा दिएको छ । कोरोनाकाल,आ देखिएका उपरोक्त समस्याहरूले तपाईंको दाम्पत्य जीवनमा प्रभाव नपरोस् । यदि परेको रहेछ भने पनि समय मै निम्न उपायहरू अवलम्बन गरेर पतिपत्नीका रूपमा, आमावुवाका रूपमा, छोराबुहारीका रूपमा, छिमेकीका रूपमा रमाइलो जीवन यापन गरौँ ।

(१) असहज अवस्थालाई सहजरूपमा स्वीकार्ने सङ्कल्प गर्नुहोस् – विश्वभरिका मान्छेले समस्या भोगिरहेका छन् । पतिपत्नी, छोराछोरी र अभिभावकहरूसंगै वसेर “महामारी”संग लड्ने प्रतिबद्धता गर्नुहोस् । सकिन्छ भने हरेक वेलुका दिनभरिका व्याबहारिक तथा भावनात्मक समस्याहरू साझा गरौँ ।

(२) घरमा धेरै “मान्छे” हुन्छन् । सबैसंग एउटा अलग मन र बुद्धि छ । तेसैले सबैको कुरा “ठ्याक्कै” मिल्नुपर्छ भन्ने पूर्वाग्रहबाट मुक्त हौँ । जव हामीले कसैको मतभेदलाई स्वाभाविक रूपमा लिन्छौं र “हामी बीच मतभेद छ” भन्ने कुरामा सहमत हुन्छौ, पतिपत्नीका बीचमा प्रेम बलियो हुन्छ ।

(३) नेपाली समाज पितृसत्तात्मक छ । यसका नकारात्मक र सकारात्मक दूवै पाटो छन् । सबै घरमा एकै पटक बस्नु पर्दा आवश्यकता बढी हुन्छन् र खर्च पनि बढी हुन्छ । यस्तो अवस्थामा पतिपत्नी दूवै मिलेर खर्चको तर्जुमा गरौँ । साथैं आपत्कालीन अवस्थाका लागि केही रिजर्व राख्ने सहमति गरौँ । खर्चहरू मिलेर गरौँ । यदि पत्नी पूर्णतया गृहिणी हुनुहुन्छ भने उहाँले घर संचालन गरेको मा आभार व्यक्त गरौँ । (नेपाली पुरुषहरूले यो कुरा सिक्नुपर्छ)

(४) नेपाली समाज आमाका सवालमा निकै निर्दयी छ । एउटी महिलाले घरका सबै काम गर्नुपर्छ अरू केवल डिमाण्ड गर्छन् । आमालाई देवी भनेर, पत्नीलाई देवी भनेर “पूर्णकालीन नोकर”को काम दलाइन्छ । पतिपत्नी र घरमुली सबै मिलेर कामहरू विभाजन गर्नुपर्छ । यसले एकमात्र महिलालाई बोझ हुँदैन । मानसिक तथा शारीरिक रूपमा स्वास्थ्य रहन मदत गर्छ ।

(५) यौन जीवनको आधारभूत आवश्यकता हो तर पत्नीपत्नी दूवैले भावनात्मक तथा शारीरिक रूपमा एकअर्कालाई स्वीकार नगरी केवल “आफ्नो” सुखका लागि जवर्जस्ती भोग गर्नु बलात्कार हो । तेसैले यौन-सम्पर्कलाई व्यक्तिगत खुसीको लागि होइन “दम्पति”को खुसीको लागि प्रयोग गरौँ ।

(६) म पत्नी हुँ/म पति हुँ भन्ने भावले एकअर्कामा आफ्नो निर्णय लाद्ने प्रवृत्तिले दाम्पत्य जीवन सबैभन्दा खराव हुन्छ । एस्ता पतिपत्नीको दाम्पत्य जीवन सबैभन्दा दुर्भाग्यपूर्ण हुन्छ । नेपाली समाजमा “निर्णय” लाद्ने खराब परम्परा छ । हिन्दू धार्मिक, सांस्कृतिक  र सामाजिक मान्यताका कारण पत्नीले प्रतिवाद गर्दैनन् । यो महामारीका बखतमा लोग्नेले लोग्नेपनको अहङ्कार र पत्नीले पत्निपनको अहङ्कार त्यागेर मित्रवत व्यबहार विकसित गर्नुपर्छ । नेपाली पतिहरूले पत्नीसंग मित्रता गाँस्ने अवसरका रूपमा यो लकडाउनलाई लिनुपर्छ ।

(७) कोरोनाको डर सबैमा छ । मानसिक रूपमा स्वास्थ्य मान्छेमा अलिअलि डर, अलिअलि चिन्ता, अलिअलि रीस, अलिअलि निराशा र अशान्ति हुनु स्वाभाविक हो । तर यदि कसैमा अत्याधिक रीस, डर, निराशा तथा चिन्ता बढेको अनुभव हुन्छ भने निजलाई सबै परिवारका मान्छेहरू मिलेर सहयोग गर्नुपर्छ । अहिलेको अवस्थामा कुनै मान्छे चिन्तित छ, रिसायो भने सहज रूपमा लिएर (निजको सम्मान गरेर, निजसंग समय विताएर) सहयोग गर्नुपर्छ । कोरोना देखियो भने अनि सावधानीपूर्वक आत्मबल बलियो पर्ने कुराहरू गर्नुपर्छ ।

(८) हामी नेपाली पतिपत्नीहरूले एकआपसमा धेरै गहिरो प्रेम गर्छौं तर एउटाले अर्कोलाई “धन्यवाद” भन्न सक्दैनौं । “धन्यवाद” यो शब्द निकै शक्तिशाली छ । हामीले एसको भरपुर उपयोग गर्नुपर्छ । श्रीमद्भागवतको दशौँ स्कन्धको ५२ अध्यायमा रुक्मिणीले पति श्रीकृष्णलाई r पति श्रीकृष्णले पत्नी रुक्मणीलाई धन्यवाद दिंदै प्रसंसा गर्नुभएको बाट हामीले सिक्नुपर्छ ।

अन्त्यमा, हिन्दू पतिपत्नीलाई “शिवपार्वती, लक्ष्मीनारायण, सीताराम”का रूपमा सम्मान गरिन्छ । हरेक पतिपत्नीले आफ्नो दाम्पत्य जीवनमा उपरोक्त सम्मानको अर्थ र मर्यदा बुझ्दै एकआपसमा व्यबहार गर्नुपर्छ । याद गरौँ, सतिको मृत्युभएपछि शिवले सतिको मृतशरीरलाई बोकेर विश्वभ्रमण गरेका थिए भने सतिले पनि आफ्ना पति शिवको अपमान सहन नसकेर aआत्मदाह गरेकी थिइन् । दाम्पत्यको यो उत्कर्ष वैदिक-संस्कृतिमा वाहेक अरू कहीं प्राप्त छैन । पतिपत्नीले सुझबुझ पूर्ण सहमति गर्दा परिवार, समाज र पतिपत्नी आफै अत्यन्त सुखी, सन्तोषी र पूर्ण हुन्छन् । सुखी दम्पति नै सुखी विश्वका आधार हुन् ।

स्वस्तिअस्तु ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.