मृत्यु जित्ने दुई पौराणिक योद्धा 

डा. गोविन्दशरण उपाध्याय

(१) महाभारतमा सत्यवान र सावित्रीको कथा आउँछ । सत्यवानको अचानक मृत्यु हुन्छ । सत्यवानकी पत्नी सावित्रीले सत्यवानको मृत्यु उचित लाग्दैन । उनी पतिब्रता थिइन् ।  आफ्ना पति सत्यवान् संग असाध्ये प्रेम गर्थिन्न । उनको यो प्रेम आत्मिक थियो, शरीरसंग थिएन । उनले यमराजबाट आफ्ना पति सत्यवान्लाई फर्काउने सङ्कल्प गरिन् । उनको निस्वार्थ, निश्छल र दृढ सङ्कल्प देखेर यमराजले सत्यवानको जीवन फिर्ता दिए । सावित्रीको सङ्कल्पले विजय प्राप्त गर्यो ।

(२) ऋषिपुत्र बालक मार्कन्डेयलाई विधाताले जम्मा १२ वर्षको आयु दिएर संसारमा पठाएका थिए । ज्योतिषीहरूले आफ्ना वुवाआमासंग “मार्कन्डेयको उमेर जम्मा १२ वर्ष छ” भन्दै गरेको सुनेका मार्कन्डेयलाई सम्पूर्ण जीवन जिउने तीब्र इच्छा जाग्यो । बुवाको आज्ञा लिएर उनले महामृत्युन्जय भगवान् शिवको आराधना गर्न थाले । जीवनको लागि आराधना गर्दागर्दै काल आयो । कालले प्राण तान्दा उनीले भगवान् शिवको मूर्तिलाई अँगालो हाले । आफ्नो साधना छोडेनन् । मार्कन्डेयको जीवनप्रति अदभूत सङ्कल्प देखेर भगवान शिवले काललाई रित्तो हात फर्कन बाध्य बनाए । बालक मार्कन्डेयले काललाई जिते ।

यी दुवै सनातन हिन्दू संस्कृतिका प्रचलित कथा हुन् । कथाको कुनै नकुनै ऐतिहासिक जग हुन्छ । मलाई थाहा छैन सत्यवान-सावित्री थिए कि थिएनन् र मलाई मार्कन्डेय ऋषिको अस्तित्व वारे पनि ऐतिहासिक जानकारी छैन । पुराणहरूले दूवैको अस्तित्वलाई अजरअमर बनाएका छन् । हिन्दूहरूको जीवनका आदर्श स्त्री र पुरुष बनाएका छन् । मार्कन्डेय ऋषिका नाममा मार्कन्डेय पुराणनै लेखिएको छ । सत्यवान् सवित्रिको कथामा आधारित रहेर नेपालको दोश्रो चलचित्र बनेको थियो ।

म यी दूई प्रसंगलाई यहाँ उल्लेख गरें किनभने कोरोनाले विश्वका सबै मान्छेलाई हायलकायल बनाएको छ । हरेक  मान्छेले मानसिक रूपमा आफ्नो अस्तित्वका लागि सङ्कट अनुभव गरिरहेको छ । हामी सबै मान्छे कोरोनाबाट घेरिएका छौं र भयभित छौँ । जीवनको सङ्कटमा सत्यवान र मार्कन्डेय थिए । सावित्रीले सङ्कट निवारणका लागि यमराज भेटेकी थिइन् भने मार्कन्डेयले भगवान् शिव । दूवैले मृत्यु उपर विजय प्राप्त गरेका थिए । उनीहरूले आफ्नो अस्तित्व रक्षा गरेका थिए ।

सावित्रीको पतिप्रेमको (पातिव्रत्य) कथा सुनेर “अन्धविश्वासी” भन्ने पनि होलान् तर आफ्ना पतिसंग/पत्नीसंग निष्काम, निस्छ्ल तथा आत्मिक प्रेम गर्नेले हरेक परिस्थितिमा सहकार्य गर्न छोड्दैनन् । मानौं आज सवित्रिका पति सत्यवान् कोरोनाले ग्रसित भएको भए पनि सावित्रीले पूर्ण सकारात्मक चेतना र श्रद्धाका साथ सत्यवानको सेवा गर्थिन्, सायद सत्यवानले पनि सवित्रिका लागि तेस्तै गर्थे । सावित्रीको दृढ सङ्कल्पले सत्यवानले जीवन प्राप्त गरेका हुन् ।

कोरोनाले समस्त मानवजातिलाई मृत्युले मार्कन्डेयलाई घेरेझैं घेरेको छ । आज प्रत्येक मान्छेमा जीवनका लागि मार्कन्डेयको झैं सङ्कल्प आवश्यक छ । आज (कोरोनाले ग्रसीत भए पनि) हामीले आफुभित्र ऋषि मार्कन्डेयको सङ्कल्प जगाउँनु आवश्यक छ । परिवारका हरेक सदस्यले दृढतापूर्वक, सावधानीपूर्वक तीब्रसङ्कल्प शक्तिका साथ “रोगी”को सेवा गर्नुपर्छ । कालले लैजाने आँट गर्ने छैन । घरका हरेक व्यक्तिमा सावित्रीको विश्वास हुनुपर्छ ।

“रोगी” आफैले पनि आफुभित्र मार्कन्डेय ऋषिझैं जीवनप्रति पूर्ण सकारात्मक हुनुपर्छ, हामीभित्र रहेको शिव अर्थात् आत्मशक्तिले काललाई रित्तो हात फर्कादिने छ । निराशाभन्दा आशाको, विश्वासको, भक्तिको शक्ति धेरै फराकिलो र महत्वपूर्ण छन् ।

विश्वभरी १४ करोड मान्छेले करोना (काल)लाई पूर्णतया जितेका छन् । जित्नेहरूले कुनै नकुनै रुपमा सावित्रीबाट सहयोग र मार्कन्डेयझैं आफुभित्र जीवन बाँच्ने बलियो रहर राखेका थिए । सधैं मृत्युलाई जित्न सकिन्न तर “जित्ने” दृढ इच्छाशक्ति भए कू-समयमा मृत्युले पनि छोडेर जान्छ । सत्यवान्लाई सावित्रीले मृत्युबाट खोसेकी थिएन भने मार्कन्डेय आफैले काललाई जितेका थिए ।

विश्वका मनोवैज्ञानिक, दार्शनिक तथा राजनैतिक व्यक्तिहरूले सत्यवान् सावित्री र मार्कन्डेयको कथा पढून् । जीवनप्रति आत्मविश्वास र दृढ इच्छाशक्तिको कथालाई जीवनको आदर्श बनाऊन् ।

स्वस्ति अस्तु

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.