मौलिक जरोकिलो पार्टीको माग – तत्काल स्वास्थ्य संकटकाल घोषणा

कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त जनजीवनलाई निकास दिलाउन मौलिक जरोकिलो पार्टीले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग माग गरेको छ । आज जारी विज्ञप्तिमा उक्त माग गरिएको हो।

त्यस्तै कोरोना संक्रमणको दोस्रो लहरले जनजीवन आक्रान्त परेको बेला सत्तावृत्तमा रहेका दलहरू निकृष्ट राजनीतिक दाउपेचमा लिप्त भएको घटनाप्रति पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा भइरहेका लज्जास्पद राजनीतिक घटनाप्रति पार्टीले चिन्ता व्यक्त गरेको हो ।

प्रवक्ता मित्रलाल शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – स्थायी सरकारको नारा दिएर सत्तामा पुगेको दल सत्ताको लुछाचुँडीमै आफ्नो कार्यकालको अधिकांश समय व्यतित गरिसकेको छ । कोरोना संक्रमणको पहिलो लहरमै पर्याप्त तयारी नगरी एउटा गुट विरुद्ध अर्को गुटले शक्ति प्रदर्शन गर्नमै व्यस्त रहे । एकातिर मुलुकमा गम्भीर स्वास्थ्य संकट देखापरेको बेला अस्पतालमा शैया उपलब्ध गराउन सकिन्न भन्दै गैरजिम्मेवार अभिव्यक्ति आउने अर्कोतिर आफ्नो सत्ता टिकाउन सांसद अपहरण, बिरामी नभएका सांसद आईसीयुमा भेटिने, आपराधिक पृष्ठभूमिका व्यक्ति मन्त्री बन्ने र रातारात समीकरण परिवर्तन भएको जस्ता समाचार आउनुले नेपालको सत्तावृत्तमा रहेका कपूतन्त्रका घटकहरुले जनस्वास्थ्य भन्दा कुर्सीलाई महत्व दिएको आशंका जन्मिएको छ ।
पार्टीले कोरोना संक्रमणबाट निकास दिलाउन निम्न लिखित ६ बुंदे माग अघि सारेको :

१. तत्काल स्वास्थ्य संकटकाल घोषणा गरियोस् ।
२. सेना, प्रहरी, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मीको समन्वयमा उच्च स्तरीय संयन्त्र निर्माण गरियोस् ।
३. शैक्षिक संस्था तथा निजी क्षेत्रका स्वामित्वमा रहेका संरचनालाई अस्थायी कोरोना अस्पतालमा रुपान्तरण गरियोस् ।
४. रोकिएको कन्ट्याक्ट ट्रेसिंगलाई द्रुत गतिमा बढाएर संक्रमणको शृङ्खला तोड्न पर्याप्त जनशक्ति परिचालन गरियोस् ।
५. निषेधाज्ञा लम्बिनसक्ने संकेत देखिएकोले तत्काल श्रमजीवी, मजदुर तथा साना व्यवसायीको लागि राहतको कार्यक्रम घोषणा गरियोस् ।
६. कोरोना भाइरस महाव्याधिमा केन्द्रित रहेको निहुँमा अन्य रोगबाट पीडित बिरामीहरुलाई बेवास्ता गर्ने तथा असहजता हुने परिस्थित नहोस् भन्नेमा विशेष सावधानी अपनाइयोस् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.