राष्ट्रिय लज्जा छोरी भ्रुण हत्या

डा. गोविन्दशरण उपाध्याय

छोरीलाई देवीका रूपमा सम्मान गर्ने र पूजा गर्ने नेपाली परम्परामा शिक्षितहरूको जमात बढ्दैगर्दा “छोरी” भ्रुणहत्या गर्नेहरूको सङ्ख्या बढ्दै गरेको “कृपा”को खोजले निर्दिष्ट गरेको छ । अनुसन्धानहरूले हरेक वर्ष करिव ५० हजार बालिका भ्रुणको हत्या गरिन्छ र यी मध्ये ९८% शहरी क्षेत्रमा हुन्छन् ।

अभिभावक र चिकित्सकको मिलोमतोमा कन्या भ्रुणहत्या गर्नेहरू अशिक्षित होइनन्, पढेलेखेका, संसार देखेका र शिक्षित भएको दम्भ गर्ने समुदाय हुन् । कन्या भ्रूण हत्या गर्नेहरूमा पढालेखा दम्पति नै अगाडी छन् ।

भाषणमा छोरीको पक्षपोषण गर्ने तर व्यवहारमा छोरी भ्रुणको हत्या गर्न “नर्सिंग होम” पुग्नेहरूप्रति धिक्कार भन्न मन लाग्छ । सरकारी जागिरे, शिक्षक, अमेरिका-बेलातय गएर संसार बुझेकाहरू नै धेरैजसो भ्रुण हत्याका लागि अग्रसर भएको देखिन्छ । यी व्यक्तिहरूलाई पापको डर हुँदैन ।

जन्मदै नजन्मेका छोरीका विरुद्ध आमा, बाबु, परिवार र चिकित्सकहरूको अपराध “शिक्षा”को विकासले निम्त्याएको होइन भन्न मिल्दैन । यदि शिक्षित हुनुको अर्थ “हत्यारा” हुनु हो भने अशिक्षित रहनु नै उचित ।

अशिक्षित अभिभावकहरूले बच्चा जन्माउँछन्, हत्या गर्दैनन् । “भ्रुण हत्या गर्नु जघन्य अपराध हो, नर्कमा परिन्छ” भन्ने धार्मिक आदेशमा विश्वास गर्छन् ।

उच्चशिक्षा प्राप्त गरेका विवाहित दम्पतिकै मिलोमतो आफ्नै आमाको गर्भाशय छोरीहरूका लागि असुरक्षित छ भने छोरीहरू कसको शरणमा जाने ? आजका शिक्षित अभिभावकहरूले जन्मदै नजन्मेका छोरीहरूको हत्या गरेर प्राकृतिक सृष्टिको बाटो नै अवरुद्ध गर्ने अपराध गरेका छन् ।

मैले सबै “शिक्षित”हरू दोषी छन् भन्ने मूर्खतापूर्ण कुरा गर्दिन । छोरीप्रति अन्यायपूर्ण व्यबहार हुँदैन भन्दिन । विश्वमा जताततै महिलाहरू अन्यायमा छन् । जुन देशमा देवीशक्तिका रूपमा महिलाको पूजा हुन्छ, जुन संस्कृतिमा कन्याको गोडा ढोगिन्छ, तेही संस्कृतिमा कन्याको भ्रूणहत्या हुनु लाजको विषय हो । कन्या (छोरी)को सम्मान व्यवहारमा हुनुपर्छ । हाम्रो समाज यहाँ चुकेको छ । यो चूकले हामी अपराधिमा रुपान्तरित भएका छौँ ।

छोरी हत्याको दोषी पुरुष मात्रै हुन्न । पेटमा बोक्ने शिक्षित आमा नै “हत्याघर”मा पुग्छिन् भने दोषी तिनी पनि हुन् । छोरी भएर कसैको पेटमा आउनु छोरीको अपराध होइन । दम्पतीको गत्तिको दण्ड कन्या भ्रुणले किन पाउने ?

छोरीप्रति हाम्रो सोच, व्यवहार उदार हुँदो छ, राम्रो कुरा हो । तर एस्तो उदारता जब पेटको कन्याभ्रूणप्रति निर्मम हुन्छ, हत्यारा बन्छ । ईश्वरले हामीलाई क्षमा गर्ने छैन । आफ्नै मन र बुद्धिले अपराध बोध बोकेर हिड्नुपर्छ । कन्या भ्रुणको हत्या गर्ने पतिपत्नी दूवै हत्यारा हुन् । भ्रुण परीक्षण गरेर हत्याको स्वीकृति लिने र हत्या गर्ने चिकित्सक ती अभिभावक भन्दा बढी अपराधी हुन् ।

यदि पुरुषप्रधान सामाजिक सोंचले छोरी भ्रुणको हत्या हुन्थ्यो भने गाउँगाउँबाट अशिक्षित-अर्धशिक्षित ओइरो लागेर लिंग परीक्षण गराउँन शहर पस्थे, छोरी भएको खण्डमा फालेर जान्थे । अनुसन्धानहरूले गाउँका तुलनामा शहरमा केटाहरूको सङ्ख्या बढी छ ।

दोष आधुनिक उपभोक्तावादी “शिक्षा-प्रणाली”मा छ जसले धेरै सन्तानको बिरोध गर्छ र दोष परम्परागत चिन्तनको छ जसले छोरा घरको मालिक हुन्छ भन्ने दोषपूर्ण दृष्टिकोण दिन्छ ।

छोरा जोगाउने र छोरी मार्ने परम्परागत चस्मा नै गलत छ । शास्त्रले भ्रूण हत्यालाई जघन्य अपराध भनेको छ । छोराछोरी भनेर लिंग छुट्याएको छैन । बरू छोरीलाई देवी मान्ने भएकोले छोरोको भ्रुणको हत्या गर्नु भन्दा बढी पाप छोरी भ्रुण हत्या गर्दा लाग्ने हुन्छ भन्न मिल्छ ।

कानुनले असहज र जीवन रक्षाको अवस्थामा मात्र भ्रुण हत्याको इजाजत दिन्छ । लोभी चिकित्सक र विवेकहीन दम्पतिको हत्यारा मनोवृत्तिका कारण छोरी भ्रूणका लागि आमा र घरनै असुरक्षित हुनु मेरो लागि सबैभन्दा लाजको कुरा हो ।

शक्तिको उपासक नेपालमा शक्तिका स्रोत कन्या भ्रुण हत्या हुनु लाजमर्दो विषय हो । जीवित देवीका रूपमा “कुमारी”को आराधना गर्ने नेपालीका लागि लज्जाको विषय हो । कोटकोटमा देवीको आराधना गर्ने नेपालीले कन्या भ्रुणको हत्या गर्नु धार्मिक अपराध हो । हरेक नवरात्रीको अन्त्यमा कन्याहरूको पूजा गर्ने नेपालीका लागि सबैभन्दा लज्जाबोध हो ।

जुन दिन छोरी बोक्ने आमाहरू “भ्रूण परीक्षण” गर्ने/गराउने विषयको विरुद्ध उभिन्छन् तेस दिन “छोरी”हरूको जित हुन्छ । नत्र भने शिक्षित भएका पाखण्डीहरूको पाखण्डमा “छोरी”हरू आमाको पेटमै आफ्नो अस्तित्व गुमाउँनुपर्छ ।

स्वस्ति अस्तु ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.