आन्दोलनकारी ल्याउने बसहरू खोई ?

कमल न्यौपाने

एउटा गुट संसद विघटन गरेर शक्ति र सत्ताको उन्मादमा थियो । अर्को गुट संसद विघटन विरुद्ध सडकमा “हामी यहाँ छौं” भनेर पोस्टर छातीमा टाँसेर सडकमा थियो । एक अर्कालाई आफ्नो पक्षमा कति मान्छे छन् देखाउनुथियो । गाउँ गाउँबाट एसी वाला बस, डिलक्स वाला बस घरघर पुर्याएर मान्छे काठमाडौँ उतारियो।

मोहन लामा रुम्बाले हिसाब निकालेका छन् – एउटा गुटले आमसभामा मान्छे उतार्न चितवन जिल्लाबाट मात्रै २०५ वटा बस रिजर्भ गरिएको रहेछ जसको खर्च मोटामोटी एक करोड निकालेका छन् । चितवन भन्दा टाढा टाढाका जिल्लाबाट मान्छे ल्याउन झनै महँगो पर्ने कुरा अनुमान गर्न गाह्रो छैन ।
प्रचण्ड र माधवकुमार नेपालले भाषण गरे खड्गप्रसाद ओली खत्तम हो । सर्वसाधारणले भाषण सुने । ताली बजाए । खड्गप्रसाद ओलीले आमसभा भन्दै मान्छे उतारे र भाषण गरे प्रचण्ड र माधव खत्तम हुन् । वास्तविक नेता त ओली हुन् । सर्वसाधारणले सुने ताली बजाए । सर्वसाधारणको तालीको महत्व थियो । टाउकोको संख्या महत्व थियो । त्यहि भएर घरघर पुगेर बसले लिएर काठमाडौँ ल्याएको थियो ।
गत वर्ष लगभग यहि समयमा कोरोना संक्रमणको पहिलो लहर चल्यो । श्रमिक, मजदुर, सर्वहारा खोइ के – के नाम दिएर तिनीहरुले राजनीति गर्थे । ति काठमाडौँमै थिए । ज्यालादारी गर्थे, दिनभरी मजदुरी गरेर हातमुख जोर्थे । लकडाउन घोषणा भयो । एकदुई हप्ता त जेनतेन चल्यो । त्यसपछि चुलो बल्न छोड्यो । डेरामा चुल्हो बल्न छोडेपछि गाउँ फर्किनेको ओईरो लाग्यो । नागढुंगाबाट प्रहरीको आँखा छलेर अघि बढेका कदम रोल्पादेखि ताप्लेजुङ्गसम्मका थिए । साना केटाकेटी पिठ्युमा बोकेर ४-५ दिन भोक प्यास केही नभनी आफ्नो थाँतथलो फर्किए । केही समाजसेवीले बाटोमै खानेकुरा र पानी राखिदिएका थिए र ति बाँचेर घर पुगे ।
परिस्थिति लगभग पुरानै विन्दुमा आइपुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर अलि कडा छ । संक्रमण डर तीव्र छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको छ । काठमाडौँ छोड्न चाहनेलाई २ दिन समय दिइएको थियो तर त्यो दुई दिनमा काम गर्ने कि फर्किने ? फर्किए पनि बसको टिकट पाइन्छ ? बसपार्कबाट टिकट नपाएर फर्किनेको लर्को थियो । निषेधाज्ञा सुरु भएको दोस्रो दिनसम्म पनि कलंकीमा अझै घर फर्किन गाडी कुरिरहेका यात्रु भेटिन्छन् ।

कहाँ गए ती आमसभामा मान्छे भर्न ल्याउने डिलक्स र एसी बसहरु ? जब एउटा गुट विरुद्ध अर्को गुटले शक्ति देखाउनु थियो, घरै पुगेर श्रमिक, मजदुरहरु ओसारिएका थिए । जब श्रमिक र मजदुरहरु संकटमा पर्छन् अचानक कता लुक्छन् ती डिलक्स र एसी बसहरु ? निषेधाज्ञाको कारण दैनिक मजदुरी गर्नेहरुको रोजीरोटी गुमेको छ । साना व्यवसायीहरु भाडा तिर्न नसकेर हैरान भएका छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाउँदै मर्नुपर्ने अवस्था छ तर सत्तावृत्तमा रहेका कपूतन्त्रका मतियारहरुको गतिविधि हेर्दा लाग्दैन यिनीहरुलाई लाग्दैन यिनीहरु सर्वसाधारणको मर्काप्रति संवेदनशील छन् । सरकार ढाल्ने कि राख्ने भन्ने हिसाबकिताब गरेरै दिन बित्ने गरेको छ । कतै सांसदद्वारा फ्लोर क्रस, कतै बिरामी नभई सांसद आईसीयुमा भर्ना, कतै सांसद अपहरणमा परेको उजुरी ।

परिक्षणको कुन कसीलाई हामी प्रतीक्षा गरिरहेका छौं ? विगत २००७ सालदेखि यिनै छन् र यस्तै गरिरहेका छन् । तैपनि हामी चेतेका छैनौं । सांसद किनबेच, सुरासुन्दरी काण्ड, सांसद अपहरण, गुण्डालाई मन्त्री, भ्रष्टलाई संरक्षण त यिनीहरुले पहिल्यैदेखि गर्दै आएका थिए । हामीले किन यिनलाई पाखा लगाउन सकेनौं ? कुन समयको प्रतीक्षा गर्दैछौं ? आफै मृत्युको मुखमा पुगेपछि बल्ल चेत्छु भनेर कुर्दा अलि ढिला हुन्छ कि ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.