बिरामीलाई दिइने अक्सिजन यसरी बनाइन्छ


कोरोना संक्रमणको दोस्रो लहर चलेसंगै नेपालका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरिएको छ । छिमेकी राष्ट्र भारतमा अवस्था अत्यन्त गम्भीर बनेको समाचारहरु आइरहेका छन् । संक्रमितहरुको अवस्था गम्भीर बनेपछि अक्सिजनको समेत हाहाकार मच्चिएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेका बिरामीहरूलाई कृत्रिम अक्सिजन दिएर बचाउने गरिन्छ । हावामा सहजै पाइने अक्सिजन किन र कसरी सिलिण्डरमा भरिएको हुन्छ भनेर जिज्ञासा उत्पन्न हुनु स्वाभाविक हो ।

पृथ्वीको वायुमण्डलमा नाईट्रोजन ७८ प्रतिशत, अक्सिजन २१ प्रतिशत र अन्य ग्यास एक प्रतिशत रहेको हुन्छ । कृत्रिम अक्सिजन प्लाण्टमा चाप र तापको प्रयोग गरेर सिलिण्डरमा अक्सिजन भरिन्छ । अक्सिजन प्लाण्टमा रहेको पम्पले वायुमण्डलमा रहेका हावालाई एउटा तान्छ । यो हावामा सबै खालका ग्यास मिसिएको हुन्छ । त्यसपछि तानिएको हावालाई कम्प्रेस अर्थात उच्च चापमा खाँद्ने काम गरिन्छ । यो भागमा हावा वायुमण्डलबाट भित्र त जान्छ तर बाहिर निस्कन सक्दैन । त्यसपछि खाँदिएको हावा तरल नाईट्रोजन रहेको भागमा राखिएको क्वाईल ट्युब हुँदै अर्को भाँडोतिर जान्छ । तरल नाईट्रोजनको तापक्रम माईनस एक सय ९६ डिग्री रहेको हुन्छ । अत्याधिक चिसो अवस्थामा रहेको नाईट्रोजनले क्वाईल ट्युबमा रहेको हावालाई ग्यासबाट तरलमा परिणत गर्छ ।

त्यसपछि भने हावामा रहेको कार्बनडाईअक्साइड छुट्टिन्छ । विभिन्न ग्यासहरुको उम्लिने बिन्दु फरक फरक हुने गर्दछ । कार्बनडाईअक्साइडको उम्लिने बिन्दु माईनस ७८ दशमल ५ हुने हुँदा यो खण्डमा कार्बनडाईअक्साइड छुट्टिएर सुख्खा बरफमा परिणत हुन्छ । त्यसपछि भने तरल हावा ठुलो खानामा पुग्छ जसलाई एयर डिस्टिलेसन कोलम भनिन्छ । यो भागमा तरल अवस्थामा रहेको मिश्रित हावाको तापक्रम बढाईन्छ । तापक्रम माइनस दुई सयबाट बढ्दै गएर एक सय ९६ पुगेपछि मिश्रित हावामा रहेको नाईट्रोजन छुट्टिएर अर्को भाँडोमा जान्छ । जसलाई मल बनाउन र विभिन्न उद्योगहरूमा प्रयोग गर्न लगिन्छ । त्यसपछि माईनस एक सय ८६ डिग्री पुगेपछि आर्गन ग्यास बाहिर निस्किन्छ । यो ग्यास फलाम उद्योगहरूमा प्रयोग गर्न लगिन्छ । त्यसपछि उक्त खानामा अक्सिजन ग्यास मात्रै बाँकी रहन्छ । यो ग्यासलाई पम्प गरेर अक्सिजन ट्यांकीमा भरिन्छ ।

पम्प गरेर फरक फरक आकार र क्षमताका ट्यांकीमा भरिन्छ । यसरी संकलन गरिएको अक्सिजन अस्पतालमा रहेका बिरामीको निम्ति पनि प्रयोग गर्न सकिन्छ भने विभिन्न उद्योग कलकारखानाहरूमा पनि प्रयोग गर्न सकिन्छ ।

एजेन्सीहरूको सहयोगमा

 


प्रकाशित : २०७८ बैशाख १६, बिहीबार

धेरै पढिएको

ताजा समाचार