उत्थानको नाममा देखाएको छुद्रता

डा. गोविन्दशरण उपाध्याय

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाली जनताले तिरेको राजश्वबाट चल्ने संस्था हो । नाम पढ्दा आदिवासी जनजातिको जीवनस्तर उत्थानका लागि (राम्रो मनसायले) स्थापना गरेको संस्था हो । यो संस्थाले संविधानले आदिवासी-जनजाति भनेर वर्गीकरण गरेका जातजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक उत्थानका लागि काम गर्नु पर्ने बुझ्नुपर्छ । आदिवासी-जनजातिले आफ्नो संस्कृति, परम्परा, विज्ञान, दर्शन, आदर्शहरूको अभिलेख गर्दा हिन्दूहरूलाई अपजस दिने, गालीगलौज गर्ने र दोषारोपण गर्न आवश्यकता देखिन्न ।

मैले यो प्रतिष्ठानले अन्य विभिन्न गैर-सरकारी संस्था तथा बौद्धिक व्यक्तिहरूसंग सहकार्य गरेर लेखेका र प्रकाशित गरेका किताबहरू अनुसन्धानका लागि सङ्ग्रह गरेर पढ्दै गर्दा मानसिकरूपमा बडो कष्ट भएको छ र प्रतिष्ठानका कर्ताधर्ताप्रति आक्रोश बढेको छ ।

प्रतिष्ठानको आर्थिक सहयोगमा अनुसन्धान (नामको मात्र) गरेर प्रकाशित गरिएका अधिकांश पुस्तकहरूमा लेखक र प्रकाशक दूवैले निम्न पूर्वाग्रहसहित काम गरेको बुझ्न सकिन्छ :
१. हिन्दूहरू १४ शताब्दितिर भारतबाट शरणार्थीका रूपमा नेपाल छिरेका थिए ।
२. हिन्दूहरूले नेपालका आदिवासी जनजातिहरूको थलो खोसेका हुन् ।
३. हिन्दूहरूले आफ्नो धर्म (हिन्दू) आदिवासी-जनजातिमा लादेका हुन् ।
४. हिन्दूहरूले यहाँका रैथाने जातिहरूको संस्कृतिमा प्रत्यक्ष हस्तक्षेप गरेर हिन्दू करण गरेका हुन् ।
५. हिन्दू संस्कृति पूर्णतया विदेशी हो, नेपाल र नेपालीसंग यसको प्राचीन नातो छैन ।
६. नेपालमा जति विभेद, द्वन्द तथा समस्याहरू छन् ती सबै हिन्दूहरूले निम्त्याएका हुन् ।
तेसैले
१. हरेक आदिवासी जनजातिले हिन्दूले मान्ने सबैथोक त्याग्नुपर्छ ।
२. दशैंतिहार आदि चाडवाडहरूको बहिष्कार गर्नुपर्छ ।
३. कुनै पनि सरकारी वा अन्य अवसरहरूमा हिन्दूहरू (नाक चुच्चो भएका)हरूलाई कम महत्व दिनुपर्छ । (यदि कुनै नाक चुच्चेले धर्म परिवर्तन गरेर इसाई वा मुस्लिम भाको छ भने यो शर्त लागु हुँदैन)
४. यदि राज्यले कानून नै बनाएर हिन्दू (नाक चूच्चे)हरूलाई बहिष्कार गर्ने नीति ल्याएन भने आदिवासी जनजातिहरू एकठाउँमा उभिएर प्रतिकार गरेर सत्ता हत्याउनुपर्छ ।
५. जुन आदिवासी जनजातिका उपरोक्त कुराबाट सहमत हुँदैन, उ हिन्दूहरूको झोले हो, उसलाई पनि बहिष्कार गर्नुपर्छ ।

धेरैजसो अनुसन्धान कार्यको दिशा मूलत: “हिन्दूहरूबाट आदिवासी जनजाति कसरी अलग छ र हिन्दूहरूबाट कसरी छुटकारा प्राप्त गर्नुपर्छ” भन्नेतिर निर्देशित छ । देशको ८२% जनसंख्याको अहंमा प्रत्यक्ष प्रहार गर्ने र विदेशी-आक्रमणकारीका रूपमा अतिरञ्‍जित गर्ने यी प्रकाशनहरुले एउटा ठूलो समुदायलाई बहिष्करणमा पार्ने दीर्घकालीन रणनीति लिएको बुझ्नुपर्छ ।

अनुसन्धानको धर्म र मर्म विपरित व्यक्तिगत पूर्वाग्रह, राजनैतिक सोच, छोटो मानसिकता र वैचारिक छुद्रताका कारणले पुस्तकहरूका धेरै असल र बुझ्न योग्य र बुझ्नै, जान्नै पर्ने तत्थ्यहरूलाई ओझेल पारेको छ । अनुसन्धानको दिशा मूलत: जनतालाई जोड्नेतिर हुनुपर्छ भन्ने वैश्विक मान्यता विपरित यी प्रकाशनहरूले “मिलेर बसेकालाई छुट्याउन” प्रेरित गर्छन् । नपत्याउनेले प्रतिष्ठानका प्रकाशनहरू खोजेर पढे हुन्छ ।

नेपालका हरेक जातजातिहरू नेपालआमाका सन्तान हुन् । सबैको महत्व समान छ, सबैले समान तहमा अधिकार पाउनुपर्छ र कर्तव्य पनि पालन गर्नुपर्छ । हरेक भाषा, हरेक संस्कृति तथा पहिचानको सुरक्षा हुनुपर्छ । एकअर्काले एकअर्काको भाषा जान्नु, सिक्नुपर्छ । हरेक भाषाका आ-आफ्ना पाठ्यक्रम हुनुपर्छ । यसले नेपालको जरोकिलो बलियो बन्छ । आफ्नो पहिचान सुरक्षित गर्ने अधिकार सबैको हो भने अर्काको पहिचान र अस्तित्व सुरक्षित पार्ने कर्तव्य हामी सबैको हो । गालीगलौज गरेर कुनै महान् हुँदैनन्, सहकार्य गरे सबै महान् हुन्छौं ।

यदि साच्चिकै आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठान नेपाल र नेपालीको भलो र सहअस्तित्वमा विश्वास गर्छ भने ठुलो विविधता भएका नेपालीहरू कमसेकम ३५०० वर्षदेखि मिलेर बसेका जोड्ने तत्थ्यहरूको खोज गरेर विश्वसामु पस्कने हिम्मत गरोस् । यसले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने काम गर्ने छ । नेपाल प्राचीनकालदेखि नै समावेशी-सामाजिकीकरणको सशक्त उदाहरणका रूपमा स्थापित गर्न सकिन्छ भन्ने दिशातिर अनुसन्धान हुनसक्थ्यो तर पूर्वाग्रहका कारण शक्ति र पैसा दूवैको दुरुपयोग गरियो । यी साहित्यहरूले नेपाली समाजलाई जोड्ने होइन तोड्नेकाममा बढी टेवा दिने छन्, तेसैले आपत्तिजनक छन् ।

अन्यथा, आम नेपालीले तिरेको करबाट यो प्रतिष्ठान खारेज गर्नुपर्छ । नेपाली-नेपाली बीच घृणा फैलाउने एस्ता संस्थाको लागि जनताले राजश्व तिर्नु हुँदैन । रहन, सहन, भाषा, संस्कृति तथा अन्य विविधता वारे पढ्दा/बुझ्दा खुसी हुने मन हिन्दू-संस्कृति विरुद्ध खनिएको देख्दा निकै पिरोलिन्छ ।

स्वस्तिअस्तु ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.