उपनिषद् कस्ता ग्रन्थहरू हुन् ?


‘उपनिषद्’ भन्नाले वैदिक वाङ्मय अन्तर्गतको एउटा ग्रन्थ–समूह बुझिन्छ । वैदिक वाङ्मयमा चार प्रकारका ग्रन्थ–समूहहरू छन् ः ‘संहिता’, ‘ब्राह्मण’, ‘आरण्यक’ र ‘उपनिषद्’ । यसरी मूल वैदिक वाङ्मयमा पर्ने अति प्राचीन ग्रन्थहरूको एक समूहलाई जनाउन ‘उपनिषद्’ संज्ञा प्रयोग हुँदै आएको छ ।
शाब्दिक अर्थ हेर्ने हो भने संस्कृत भाषामा ज्ञानबोधक ‘षद्’ धातुमा ‘उप’ र ‘नि’ उपसर्ग तथा ‘क्विप्’ प्रत्यय जोडेपछि ‘उपनिषद्’ शब्द बन्छ । हुन पनि ‘उपनिषद्’हरू मूलतः ज्ञानसँग सम्बद्ध वैदिक परम्पराका ग्रन्थ हुन् । कस्तो ज्ञान ? यस बारे स्पष्ट पार्नका लागि संस्कृतमा दुइटा सूत्रहरू छन् ।
(१) उपनिषद्यते–प्राप्यते ब्रह्मात्मभावोनया इति उपनिषद् ।
यो सूत्रले बताउँछ —
ब्रह्मको साक्षात्कार गर्ने ज्ञान नै उपनिषद् हो ।
(२) धर्मे रहस्युपनिषत् स्यात् ।
यो सूत्रले बताउँछ —
धर्मको रहस्य जान्ने ज्ञान नै उपनिषद् हो ।
‘उपनिषद्’ मा आएको ‘उप’को अर्थ समीप (नजिक) पनि हुन्छ । ‘निषत्’ले प्रत्यक्ष उपस्थिति वा बसाइलाई जनाउँछ । प्राचीनकालमा शिष्यहरू वा जिज्ञासुहरू ऋषि एवं ऋषिका, आचार्य, गुरु वा अन्य पनि ज्ञानीका समीपमा रही प्रत्यक्ष संवाद गरेर प्राप्त गरेका तत्त्वज्ञानलाई ‘उपनिषद्’ नामक ग्रन्थ–समूहमा समावेश गरिएको मानिन्छ । उपनिषद् ग्रन्थहरूमा संवाद शैलीको समृद्ध पद्धति देखिन्छ । संवाद मार्फत् उपनिषद्ले प्रस्तुत गरेका ज्ञानमा कतिपय तत्कालीन देश–काल–परिस्थिति सापेक्ष छन् भने धेरै चाहिँ सार्वजनीन, सार्वकालिक, नित्य–नवीन तत्त्वज्ञान सम्बद्ध चिन्तन छन् । उपनिषद्ले आधिभौतिक, आधिदैविक÷मानसिक र आध्यात्मिक तीनै प्रकारका ज्ञान दिन्छन्, जुनमध्ये आध्यात्मिक पक्षका लागि उपनिषद्को बढी उल्लेख हुने गरेको देखिन्छ । उपनिषद् ग्रन्थहरूलाई दर्शनका भण्डार मानिन्छ ।
वेदका संहिता सर्वप्रथम मन्त्रद्रष्टा ऋषि एवं ऋषिका मार्फत् मानवलाई प्राप्त भए । संहिताका मन्त्रहरूको अनुशीलन, परिशीलन, शोधका क्रममा ब्राह्मण ग्रन्थ निर्माण भए । तिनीहरूकै विस्तारित ज्ञान परम्परामा आरण्यक र उपनिषद् ग्रन्थहरू संरचित भए । वेदका मन्त्र भाग (संहिता) अपौरुषेयका साथै नित्य पनि हुन् र तिनीहरूको अविच्छिन्नता एवं शुद्धताका लागि बडो सुव्यवस्थित पद्धति एवं परम्परा रहेको छ । तसर्थ ती अद्यापि पूरा एवं जस्ताको तस्तै उपलब्ध छन् । संहिता ग्रन्थहरू चारवटा छन् (ऋक्, यजु, साम र अथर्व) । ब्राह्मण, आरण्यक र उपनिषद् ग्रन्थहरूको सङ्ख्या धेरै छ । ब्राह्मण, आरण्यक र उपनिषद् ग्रन्थहरूमध्ये कतिपय अद्यापि प्राप्य छन् र कतिपय अहिले उपलब्ध छैनन् ।
प्राचीन कालमा १ हजार १ सय ८० वटा उपनिषद् थिए भन्ने मान्यता वैदिक धर्मावलम्बीहरूको रहेको छ । वेदका प्रत्येक शाखाको उपनिषद् हुने मान्यताका आधारमा उपनिषद्को उक्त सङ्ख्या निर्धारित भएको हो । तर ती सबै उपनिषद् ग्रन्थहरू हाल प्राप्य छैनन् । अर्कोतिर, हाल उपनिषद् भनेर बजारमा बिक्रीवितरण भइरहेका सबै पुस्तकहरूमध्ये सबका सब नै अति प्राचीन उपनिषद् ग्रन्थ होइनन् । शीर्षकमै उपनिषद् राखिएका हाल उपलब्ध पुस्तकहरूमध्ये कुनै अति प्राचीन कालका हुन्, कुनै प्राचीन (पुराणकालीन) हुन्, कुनै अर्वाचीन (सम्प्रदायकालीन) हुन् र एकादुई त भारतवर्षमा विदेशी विधर्मी आक्रमणपछि तिनीहरूद्वारा भ्रम छर्नलाई बनाइएका जाली (fake) पनि हुन् भन्ने तथ्य स्मरणीय छ ।
अघिल्लो पुनर्जागरण कालमा जगद्गुरु आचार्य शंकर (आदि शंकराचार्य) द्वारा भाष्य गरिएका उपनिषद्हरूको प्राचीनता असंदिग्ध छ । १० वटा उपनिषद्का शांकरभाष्य प्रसिद्ध छन् । तसर्थ इशावास्य, केन, कठ, तैत्तिरीय, ऐतरेय, मुण्डक, माण्डूक्य, प्रश्न, छान्दोग्य र बृहदारण्यक उपनिषद्को अति प्राचीनता सर्वमान्य छ । बाँकीमध्ये, हाल उपनिषद् भनेर प्रकाशित भइरहेका भएतापनि, कुन कुन अति प्राचीन कालमा ऋषि एवं ऋषिकाहरूद्वारा नै संरचित एवं साँच्चै वैदिक वाङ्मयमा पर्ने उपनिषद् हुन्, अनि कुन कुन पुराणका समकालीन हुन् र कुन कुन ती भन्दा पनि अझै अर्वाचीन कालमा सम्प्रदाय विशेषले आफ्नो महत्त्व बढाउन उपनिषद् नाम राखेका रचना हुन् भन्ने सवाल अन्वेषकहरूका सामुन्नेमा रहेको छ । यो सवालको पूरा यथायथ भइसकेको छैन ।
मुक्तिकोपनिषद्मा १ सय ८ वटा उपनिषद्को नाम उल्लेखित छ । निर्णयसागर प्रेस (बम्बई र मुम्बई) ले मुक्तिकोपनिषद्मा उल्लेखित सबै उपनिषद्को प्रकाशन गरेपछि ती सार्वजनिक पहुँचमा आए । अडियार लाइब्रेरी (मद्रास र चेन्नइ) द्वारा प्रकाशित संग्रहमा १ सय ७९ उपनिषद् समावेश भए । गीता प्रेस (गोरखपुर) द्वारा प्रकाशित कल्याण उपनिषद् अंकमा २ सय २० वटा उपनिषद्हरूको नामावली सूची दिइएको छ । तर तीमध्ये १ सय १२ वटा प्राचीन हुन् भन्ने एउटा मान्यता छ । अर्को मान्यता अनुसार तीमध्ये १ सय ८ वटा मात्र प्राचीन हुन् ।प्राचीन वा अर्वाचीन जस्ता भएतापनि वेद संहितासँग सम्बद्ध रहेका सबै उपनिषद्लाई वैदिक परम्पराको मान्नु पर्ने र शीर्षकमा उपनिषद् राखेतापनि पाठ्यवस्तु वा अन्तर्वस्तुमा वेदको आइनोसाइनो नभएकालाई जाली (fake) तथा त्याज्य मान्नु पर्ने मत बढी मान्य छ । अझै बृहत्तर वा समावेशी हिसाबले हेर्दा जहिलेका र जुन स्रोतबाट निःसृत भएतापनि यदि उपयोगी ज्ञान र विज्ञान पाइन्छ भने जुनसुकै पुस्तकलाई पठनपाठनमा स्वीकार्न किन कन्जुस्याइँ गर्ने भन्न पनि नसकिने होइन । तर नाम (शीर्षक) मै उपनिषद् शब्द परेका वा राखिएका ग्रन्थहरूमध्ये कुन कुन अति प्राचीन कालमा ऋषि एवं ऋषिकाहरूको प्रत्यक्ष संवादको फलस्वरूप अस्तित्त्वमा आएका ग्रन्थ हुन् र कुन कुन कालान्तरमा उपनिषद् नाम राखी तयार पारिएका ग्रन्थ हुन् भन्ने छुट्ट्याउनु महत्त्वपूर्ण कार्य नै हो । ऋषि एवं ऋषिकाहरूको प्रत्यक्ष संवादको फलस्वरूप अस्तित्त्वमा आएका उपनिषद् ग्रन्थले मन्त्रद्रष्टाका देखाइ (साक्षात्कार) लाई बढी आधिकारिक स्वरूपमा प्रस्तुत गरेका होलान् भन्ठान्नु तर्कानुग्राहक हुन्छ ।
उपनिषद्का पाठ्यवस्तु वा अन्तर्वस्तुको विस्तृति (दायरा) लाई वैदिक जीवनदृष्टिकै परिप्रेक्ष्यमा विश्लेषण गर्नु समीचीन हुन्छ । वैदिक जीवनदृष्टिमा आधिभौतिक, आधिदैविक र आध्यात्मिक आयामहरू समन्वित हुनाले धर्म, अर्थ, काम र मोक्ष सबैलाई मावन जीवनको प्राप्तव्य (पुरुषार्थ चतुष्टय) मानिएको छ । उपनिषद् ग्रन्थहरूले उपर्युक्त वैदिक जीवन मान्यतालाई अवलम्बन गरेका छन् । स्थूल, सूक्ष्म र कारण तह सबैलाई उपनिषद्ले सम्बोधन गरेका छन् । अविद्या र विद्या दुइटैलाई महत्त्वपूर्वक लिने र मोक्षका लागि साधन मान्ने उपनिषदीय मान्यताको कारणले उपनिषद्का पाठ्यवस्तु वा अन्तर्वस्तुमा विज्ञान र ज्ञान दुइटै सहउपस्थित रहेका हुन् ।
उपनिषद्मा विज्ञान खोज्ने वा आधुनिक विज्ञानका दृष्टिबिन्दुबाट उपनिषद् ग्रन्थहरूको अन्वेषण, विश्लेषण, अर्थापन गर्ने उपक्रम वा प्रयास उपनिषद् चिन्तन परम्परानुकूल हो । छान्दोग्य उपनिषद्मा दुई ऋषिहरू (बाबु उद्दालक आरुणी र छोरा श्वेतकेतु) को जुन संवाद छ, त्यसले परीक्षण वा प्रयोग (Experiment) र पर्यवेक्षण (Observation) विधि एवम् कारणकार्य सम्बन्ध (Causality) बारे वैदिक ऋषिहरू जानकार रहेको देखाउँछ । उता प्राचीन ग्रीसमा मिलेटस निवासी थेल्स (Thales of Miletus) पनि परीक्षण र पर्यवेक्षण विधिका प्रयोगकर्ताकै रुपमा देखिन्छन् । आधुनिक युगको अनुभववाद (Empiricism)र उद्दालक र थेल्सका अन्वेषण विधिमा सामान्य तादात्म्य रहेको छ, यद्यपि उद्दालक र थेल्सका निष्कर्ष र आधुनिक विज्ञानका निष्कर्षका तुलनात्मक विश्लेषण आजको विषय होइन । जीवन र जगत्को अन्वेषणका लागि सुसंगत प्रणाली (Systematic methodology) विकास गर्ने प्रयत्न पूर्व र पश्चिम दुवैतिर प्राचीन कालदेखि नै भएको थियो भन्न सकिने आधार उद्दालक र थेल्सका प्रसङ्गबाट थाहा हुन्छ ।
अस्तित्त्वबारे चिन्तन नै दर्शनशास्त्रको मूल प्रश्न हो भनेर मान्नेहरूको ठूलो तर्क के रहेको छ भने भौतिक र अभौतिक तत्त्वहरूको उत्पत्तिको कारण, तिनीहरूको अन्तर्सम्बन्ध, अभौतिक तत्त्व अर्थात् चेतनाको प्रकृति, पदार्थ र चेतनाले सामाजिक जीवनमा पार्ने प्रभाव जस्ता सवालहरूको समाधान नगरी जीवन र जगत्को समुचित ज्ञान हुन सक्दैन । जगत् बोधगम्य छ कि छैन भन्नेमा पनि ठूलो बहस शताब्दयौँदेखि हुँदै आएको छ, यद्यपि पूर्वमा मन्त्रद्रष्टा ऋषिहरूकै पालादेखि र पश्चिममा चाहिँ उनीहरूले भन्ने गरेको प्रबोध युग वा ज्ञानोद्दीपन युग देखि जगत् बोधगम्य छ भन्ने मान्यता अघि आएको हो । तर पूर्वमा पुराण युगका आख्यानकेन्द्रित संकथन र पश्चिममा उत्तरसंरचनावाद, विनिर्माणवाद, उत्तरआधुनिकतावाद आदिका संकथनले सत्य र तथ्यको वस्तुनिष्ठता (Objectivity) लाई भन्दा विषयनिष्ठता (Subjectivity) लाई अघि सारेका छन् । अरु कुरा जे सुकै भएतापनि, जगत् र मानव जीवन सम्बद्ध विविध प्रश्नहरूलाई उजागर गर्ने, चिन्तन गर्ने, बहस गर्ने, विमर्श गर्ने, संवाद गर्ने कार्य सबैतिरका सबैथरी अध्येता, चिन्तक, विचारक, दार्शनिकहरूको साझे विशेषता रहिआएको छ । उपनिषद् ग्रन्थहरूको त आधारशिला नै संवाद हो ।
संवादको पद्धति उपनिषद्मा कतिसम्म गाढा छ भने यहाँ ज्ञान र विज्ञान संवादका सहभागी हुन् । ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्नेजस्तो वा फिजिक्स र मेटाफिजिक्स अलग अलग भनेर कित्ताकाट गरेजस्तो द्वैविध्य दृष्टिकोण (binary opposites) वेदको दृष्टिकोण होइन र तसर्थ उपनिषद्को पनि होइन । विज्ञान र ज्ञानको समन्वय, सामञ्जस्य र सन्तुलन उपनिषद्को मार्गनिर्देशन हो । अविद्या र विद्या एकअर्काका विपरित होइनन्, परिपूरक हुन् र इनीहरूको आफ्नो आफ्नो महत्त्व छ भन्ने दृष्टिकोण उपनिषद्सम्मत हो ।
वेद वा उपनिषद् र विज्ञानको अन्तरविषयात्मक अन्वेषण गर्नेहरूले मनन गर्नु पर्ने तथ्य के हो भने वेद,उपनिषद् आदिमा विज्ञान पनि छ, तर उपनिषद्मा विज्ञान मात्र छैन । वेदमा र उपनिषद्मा पनि विज्ञान सहित अरु धेरै कुराहरू छन् । विज्ञान भनेको सुसंगत, क्रमबद्ध, पद्धतियुक्त, प्रणाली सहितको, वस्तुनिष्ठ, परीक्षणीय, विश्वास्य एवं प्रामाणिक विधि हो, जुन विधि वेदमा र उपनिषद्मा पनि आधिभौतिक आयामको परिप्रेक्ष्यमा अन्तर्निहीत छ, अवलम्बित छ । विज्ञानलाई विज्ञानकै परिप्रेक्ष्यमा बुझेर उपर्युक्त सम्मेयताका दायरामा हेर्ने हो भने वेद र विज्ञानमा, अनि उपनिषद् र विज्ञानमा वैपरित्य देखिँदैन, वस्तुतः ऐक्य नै छ । हो, वेद र उपनिषद्मा प्रकृति विज्ञान र समाज विज्ञानका विधि र अन्तर्वस्तु दुवै समावेश छन्, तर वेद र उपनिषद्को विषयवस्तु विज्ञानको दायरामा मात्र सीमित छैन ।
प्रायोगिक विज्ञानसँग सम्मेयता भएको प्रत्यक्ष प्रमाण हो । तसर्थ प्रत्यक्ष प्रमाणका दायरामा रहेका आधिभौतिक परिघटनामा विज्ञानको पद्धति र आधुनिक विज्ञानको पद्धतिमा पूर्ण संगति छ । यो विषयवस्तुका प्रकरणमा उपनिषद्मा निहित ज्ञान र विज्ञानको व्यावहारिक प्रयोग आधुनिक विज्ञानका मानकबाट पनि सम्भव हुन्छ । तर, प्रत्येक उपनिषद्का एक एक अक्षर, एक एकश्लोकको आधुनिक विज्ञानपरक अर्थ मात्र गर्न खोज्ने हो भने त्योचाहिँ असंगत हुनजान्छ । उपनिषद्मा निहीत आधिदैविक र आध्यात्मिक आयाममा पनि जहिल्यै भौतिक विज्ञान मात्र खोज्नु त असम्मेयता दोष हुनेछ । उपनिषद्हरूमा विद्या र अविद्या भनेर बताउँदै अन्ततोगत्वा अविद्या र विद्याको समन्वयले मात्र मोक्ष हुनेमा जोड दिइएको किन होला भन्ने विचार गर्नासाथ वैदिक मतमा विज्ञानको स्थान प्राथमिक छ भन्ने तथ्य बोध भइहाल्छ, तर विज्ञानले मात्र पुग्दैन भन्ने पनि उत्तिकै सत्य हो । सारमा, भौतिक, मानसिक, आध्यात्मिक सबै आयाममा सर्वाभ्युदयको लागि वैदिक ज्ञान एवं आधुनिक विज्ञानलाई समन्वय गर्नु पर्छ । उपनिषद् त वेदकै उपबृंहण (व्याख्या, विस्तार, चिन्तन) हो ।
वेद संहिताको तुलनामा उपनिषद् सहज बोधगम्य मानिन्छ । वेदमा मन्त्रहरूको प्रयोग यज्ञ मार्फत् सिकाइएको हुनाले आधुनिक अन्वेषकअध्येताले यज्ञीय प्रक्रिया बुझेर के अनुसन्धानक्षेत्रगत तथ्यतथ्याङ्क हो र केचाहिँ सामान्यीकरणीय अवधारणा र सिद्धान्त हो भन्ने जान्नु आवश्यक हुन्छ । यज्ञ पद्धतिको मेसोभाँति नभएका व्यक्तिले वेदका मन्त्रको अभिधार्थ मात्र लिँदा त उसले केही पनि नपाउने वा गलत मतलब बुझ्ने (त्रुटी हुने) सम्भावना रहन्छ । तर वैदिक ज्ञान र विज्ञानका विषयवस्तु उपनिषद्मा जसरी प्रस्तुत छन्, त्यो ज्ञानमीमांसाबाट बोधगम्य छ । प्रायोगिक विज्ञानको दृष्टिबिन्दुबाट उपनिषद्को अन्वेषण, अनुशीलन, अनुसन्धानले मानव समाज थप समृद्ध हुनेछ । धर्म र विज्ञानको सम्बन्धलाई सातत्यको सम्बन्धमा व्याख्या गर्नका लागि उपनिषद्ले आधार बनाएका छन् भन्ने तथ्यलाई विचार गर्दा वर्तमान युग र भविष्यको लागि उपनिषदीय प्रतिमानको महत्त्व झन् उजागर हुन्छ । साथै, उपनिषद्को ज्ञानलाई फगत् भौतिक र मानसिक तहबाट मात्र जाँचपरख गर्न खोज्दा असम्मेयता दोष हुन्छ भन्ने पनि ख्याल राख्नु पर्छ । उपनिषद्को ज्ञानबाट पूरा लाभान्वित हुनको लागि भौतिक, मानसिक र आध्यात्मिक सबै आयामबाट हेर्ने समष्टिमूलक पद्धति आवश्यक पर्छ ।


प्रकाशित : २०७८ बैशाख ६, सोमबार

धेरै पढिएको

ताजा समाचार